Skip to content

तिमीबाट माया पाउँदा….


तिमीबाट पाएको माया पोल्टाभरि पोको पार्न पाउँदा,
गेगरले भरिएको बाटोमा पनि
नाङ्गा पैतालाले हिँड्न सक्ने भएकी छु म
तिमीले कोरेका एक हरफ पढ्न पाउँदा,
शब्दलाई सङ्गीतको तरँगमा
बदल्न सक्ने भएकी छु म
तिम्रै स्नेहको कारणले,
मुटु जलाउने अग्निका कुरा समेत
हाँसेर पचाउन सक्ने भएकी छु म
बन्द नयनले कोरेका कल्पना भित्र
सपनाको महल ठड्याउन सक्ने भएकी छु म
त्यो सपनाको महलमा,
तिम्रो न्यानो अँगालोमा बाँधिएकी छु म
लजाएका आँखा र झुकेको शिरका साथ,
तिम्रो छातीमा टाँसिएर
दुःखको भारी बिसाउन सक्ने भएकी छु म
ती अँगालोहरूलाई हिरा, मोती र जवाहारतभन्दा मूल्यवान
स्थान दिन तयार भएकी छु म
मेरा सपनामा तिमी हुन्छौ र म हुन्छु,
हामी बीच हाम्रा कामना हुन्छन
निश्चल भावना र मौन वार्ताको त्यो क्षणमा,
थूप्रै थूप्रै कथा बग्छन
तिम्रा ती न्याना स्पर्शले तरँगित पार्दै अलौकिक सन्तुष्टि छर्छन
मेरा आँकाक्षाहरूले आकाश छुने कोशिस गर्छन
आकाशमा स्वच्छन्द भएर रमाउने पँक्षी झैँ
सार्थक जीवनको गाथा भर्छन
त्यसैले म भन्छु,
तिमीबाट पाएको माया पोल्टाभरि पोको पार्न पाउँदा,
गेगरले भरिएको बाटोमा पनि
नाङ्गा पैतालाले हिँड्न सक्ने भएकी छु म|

Leave a Reply

Your email address will not be published. Required fields are marked *