Skip to content

पुरेतको भेषमा बीपी र कृष्णप्रसाद

  • by


बीपी कोइरालाको पहिलो काठमाडौँ आगमन र उहाँसँग जोडिएका केही रमाइला प्रसंग मेरो स्मृतिपटमा ताजै छन् । कृष्णप्रसाद भट्टराईलाई साथ लिएर बीपी काठमाडौँ आउँदा उहाँहरूलाई भूमिगत राखेर सुरक्षाको बन्दोबस्त मिलाउने काम तत्कालीन नेपाली कांग्रेसका ‘कोरग्रुप’का सदस्यका अतिरिक्त संगठन विस्तारमा लागेका हामीहरू जस्ताकै थियो ।
विसं २००४ को दसैँ-तिहारतिर हुनुपर्छ, बीपी बनेपा हुँदै काठमाडौँ प्रवेश गर्नुभयो । उहाँहरूको उद्देश्य संगठन विस्तारका साथसाथै केही व्यक्तिहरूलाई भेटेर पूर्णकालीन कार्यकर्ता बनाउने र पार्टी सञ्चालनका निम्ति चन्दा संकलन गर्ने पनि रहेछ । उहाँ काठमाडौँ छिरेपछि हामीले कहिले डिल्लीबजार त कहिले मैतीदेवी, कहिले असन त कहिले इन्द्रचोकका भित्री घरहरूमा बस्ने प्रबन्ध मिलायौँ । कहिलेकाहीँ त मुख्य सडकसँगै जोडिएका घरहरूमा पनि राख्यौँ, ताकि कसैलाई शंका नहोस् । त्यसै क्रममा उहाँ केही समय पूर्णबहादुर एमएको घरमा पनि बस्नुभयो ।
कतिपय अवस्थामा बीपीलाई हामीले वहालबाला कर्मचारीकै घरमा पनि लगेर राख्यौँ । त्रिरत्न साहूका अतिरिक्त डिल्लीबजारका सूर्यबहादुर बस्नेतको घर बीपी कोइरालाका लागि उपयुक्त स्थल हो भन्ने हाम्रो बुझाइ थियो । तर दुर्भाग्य, त्रिरत्न साहूको घरबाटै बीपी पक्राउ पर्नुभयो । उनी जवाहरातका व्यापारी थिए । बीपीसँग उनको कलकत्तामै छँदा चिनजान भएको रहेछ । उनले दुःखका बेला कहिलेकाहीँ सहयोग गरेका पनि रहेछन् । पछिसम्म पनि बीपी उनको कुरा गररिहनुहुन्थ्यो ।
एकपटक कलकत्तामा पैसाको निकै अभाव भएका बेलामा त्रिरत्न साहूले कुनै राणाजीले बेच्न दिएको करबि ३६ हजार रुपियाँ पर्ने हार त्यसभन्दा बढीमा बिक्री गरी गर्जो टार्न बीपीलाई दिएका रहेछन् । ३६ हजार रुपियाँचाहिँ फिर्ता गर्न भनेछन् । तर, बजारमा देखाउँदा कसैले पनि ३६ हजार रुपियाँभन्दा बढी मोल दिन नमानेपछि बीपीले त्यो हार फेर िसाहूलाई नै फिर्ता गरििदनुभएछ ।
बीपी गणेशमान सिंहलगायतका नेता सम्मिलित जयनगरको बैठकमा सामेल भएर दरभंगा हुँदै काठमाडौँ आएको प्रसंग मलाई रोचक लाग्छ । बीपी प्रायः दाह्रीजुँगा काट्ने मान्छे हो । तर, त्यसबेला दाह्री काटे पनि जुँगा राख्नुभएछ । मेटलको फ्रेम भएको चस्मा, त्यो पनि आधा भाँचिएको, यसो हेर्दा बूढाबूढीले लगाउने जस्तो चस्मा र चन्दन लगाई टुपी ठूलो पारी पूरै बाहुनको पहिरन गर्नुभएछ । कृष्णप्रसाद भट्टराईलाई पनि उस्तै पहिरनमा शिष्य बनाएर बाटो लाग्नुभएछ । केदारमान व्यथितलाई भने राँगा किन्न तराईतिर झरेको नेवार साहूको भेषमा हिँडाउनुभएछ । व्यथित काश्मिराको कोट, राम्रो जुत्ता, मयलपोस सुरुवाल र टोपी लगाएर पूरै व्यापारी भएर हिँडेको कुरा बीपी बडो रमाइलो र रोचक ढंगले हामीलाई सुनाउनुहुन्थ्यो ।
जनकपुरतिरका बीपीका मित्र बोधबाबुले उहाँलाई काठमाडौँ पठाउन ठूलै सहयोग गरेछन् । उनले आफ्नो पहाडघरतिर दसैँ मनाउन जान लागेको निहुँ पारी पूरै परविार लिएर बीपीहरूलाई चिसापानीको गढी पार गराइदिएछन् । बनेपामा आइपुग्दा नपुग्दै उहाँहरूको पूर्णबहादुर एमएका भाइसँग सम्पर्क भएछ, जो त्यहाँ शिक्षण पेसामा संलग्न थिए । उनीसँग व्यथितको पुरानो चिनजान थियो । तर, समस्या पर्‍यो काठमाडौँ आउन । किनभने, त्यसबीचमा एउटा ठूलो चौकी थियो । चारभञ्ज्याङ भनिने काठमाडौँको एउटा नाका त्यहीँ पर्थ्यो ।
पूर्णबहादुरका भाइको दिमागमा एउटा जुक्ति फुरेछ । तिहारको बेला परेकाले जुवा फुकेको थियो । सबै जुवामा मस्त रहेका बेला गुरु-चेलाकै भेषमा बीपी र कृष्णप्रसादलाई भक्तपुर हुँदै काठमाडौँ ल्याउने योजना बनाएछन् । तर, भक्तपुर आउनुअगावै समस्या पर्‍यो, गढी कसरी पार गर्ने भन्नेबारे । साँघुरो बाटो छ, त्यस गढीमा । बीपीले जुक्ति लगाउनुभएछ । जुवा जमिरहेको छ, पुलिसहरू पनि च्याँखे थापिरहेका छन् । सबै रमाइरहेका बेला रातो टीका लगाएर हातमा बोतो समाई कतै जजमानी गरेर फर्किरहेको चालमा उहाँहरू अगाडि बढ्नुभएछ ।
बीपीले भन्नुभएछ, “हामी पनि च्याँखे थापौँ न !” परबाट हेररिहेको पुलिसले भनेछ, “पण्डितजी होस गर्नुहोला, जजमानीबाट कमाएको सबै दक्षिणा स्वाहा होला नि  !” पुलिसको यस भनाइले बीपीलाई ठूलो राहत दियो । ‘अब चाल पाउँदैनन्’ भन्नेमा उहाँ ढुक्क हुनुभयो । चार-पाँचपटक जुवामा मोहर हाले पनि कुनै दाउ परेनछ । त्यसपछि पुलिसले नै भनेछन्, “घरमा बजै कत्रो आश गरेर बसेकी होलिन्, जजमानीबाट कमाएको सबै जुवामा जाला ! अब नखेल्नूस् ।”
त्यसपछि कसैले उहाँहरूको बाटो रोक्ने कुरै भएन । सरासर भक्तपुर आएर एउटा ट्रक समाउनुभएछ । व्यथित त्यहाँ जुत्ता पसले बनेछन् । पूर्णबहादुर एमएका भाइ ट्रकको अगाडिको सिटमा बसेछन् । ड्राइभरले जुत्ता पसलेलाई अगाडिको सिटमा बस्न कर गरेछन् । तर, उनले बाहुनलाई अगाडि राख्न भनेपछि बीपी ड्राइभरसँगैको सिटमा बस्नुभएछ । कृष्णप्रसाद र व्यथित पछाडि बसेर काठमाडौँ घन्टाघरमा उत्रिनुभएछ ।
यसरी अनेक जुक्ति गरेर काठमाडौँ भित्रिनुभएका बीपीलाई काम फत्ते गरेर सकुशल बाहिर पठाउन भने हामीले सकेनौँ । गणेशमानजीले धेरै जनालाई चिट्ठी लेखेर आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको थियो । तर, कसैले पनि सहयोग गरेनन् । सुन-चाँदीको काम गर्ने एक जना बालकृष्ण साहूले दुई सय रुपियाँ दिए । मलाई सम्झना भएसम्म त्यसबेला उठेको रकम त्यत्ति मात्रै हो । त्यो पैसा कृष्णप्रसाद भट्टराईलाई काठमाडौँबाट बाहिर पठाउन काम लाग्यो ।
हामीलाई बीपी र कृष्णप्रसादको बसोबास र सुरक्षाको जिम्मेवारी तोकिएको थियो । उहाँहरूलाई हामीले भिन्दाभिन्दै ठाउँमा बसोबासको बन्दोबस्त मिलाएका पनि थियौँ तर त्रिरत्न साहूकहाँ छापा मार्‍यो, राणा सरकारले । व्यथित हट्टाकट्टा भएकाले पुलिसलाई झट्कारेर भाग्न सफल भए, बीपी भने पक्राउ पर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *