Skip to content

खल्तीबाटै चल्छन् साहित्यिक पत्रिका

  • by


एक सय ११ वर्ष भनेको एउटा युग । एउटा सिड्ढो युग हाँकेर यहाँसम्म आइपुगेको साहित्यिक पत्रकारिता अझै धरमरको स्थितिमा छ । समय प्रवाहसँगै प्रगति हुने हो भने साहित्यिक पत्रकारिताको स्थिति अहिले अत्यधिक प्रगति भएको अवस्थामा हुने थियो । जति जति समय बढ्दै गयो साहित्यिक पत्रकारिता त्यति त्यति दुर्गतितिर उन्मुख भइरहेको छ । न सरकारी नीति न सकारात्मक दृष्टिकोण, न कुनै सहयोग । मानौँ साहित्यिक पत्रकारिता भनेको त्यसका सम्पादक र प्रकाशकको रूचिको मात्र विषय हो । यसबाट मुलुकलाई केही लिनुदिनु छैन ।

साहित्यिक पत्रकारिताको यो उपेक्षा, यो दयनीय अवस्थाका बारेमा आवाज उठ्न थालेको पनि दशकौँ भइसक्यो । गत चैत ३० गते सम्पन्न नेपाल साहित्यिक पत्रकार सङ्घको बैठकमा त सम्पूर्ण साहित्यिक पत्रकारहरूले सरकारले यसप्रति देखाएको उपेक्षा र अपहेलनाको रोष प्रकट गरे । साथै, यस्तो कार्यको घोर विरोधमा उत्रिने निर्णय समेत गरे – विरोधको स्वरूप साहित्यिक पत्रिकाका सम्पादकीयमा लेखेर गर्ने रे !

विगत ४० वर्षदेखि ‘अभिव्यक्ति’ साहित्यिक पत्रिका निकाल्दै आउनु भएका वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले त ‘अभिव्यक्ति’ वैशाख जेठ २०६६ को सम्पादकीयमा यस किसिमको विरोध निष्प्रभावी हुने बताउनुभएको छ । उहाँ लेख्नुहुन्छ -“अन्याय र अत्याचारको विरोध गर्नुपर्छ गरौँ तर मलाई चाहिँ के लाग्छ भने यस किसिमको शिष्ट विरोधको सरकारले कुनै वास्तै गर्दैन । सरकारको ध्यान आकषिर्त गर्न त टायर बाल्नुपर्छ । सडक जाम गर्नुपर्छ । लुटमार, हत्या, बलात्कार र अपहरण गर्नुपर्छ । सरकारी तथा निजी सवारी साधन र घर पसलहरूमा तोडफोड गर्नुपर्छ – आगो लगाउनुपर्छ । यसरी अराजकताको हद पार गरेर सरकारमा बसेकाहरूको कुर्सी हल्लाउन सक्नुपर्छ जुन हामीबाट हुँदैन । त्यसकारण हाम्रो यो कागजी विरोध त हाम्रो आत्मसन्तुष्टिका लागि मात्र हुन्छ – आत्मरति जस्तै ।

चार दशकको साहित्यिक पत्रकारिता गरिसक्नुभएको उहाँको यो असन्तुष्टि र निराशा यसै आएको होइन । अधिकांश साहित्यिक पत्रकारहरू र यसका हर्ताकर्ता यस्तै गुनासो गर्नुहुन्छ । निराशाजनक स्थितिमा पनि साहित्यिक पत्रपत्रिकाको प्रकाशन भइरहेकै छ । रचना, अभिव्यक्ति, भानु, शारदा, जनमत, उन्नयन, शिव पुरी सान्देश, अक्षर, सम्पे्रषण, पल्लव, वनिता, आदिको प्रकाशनले यस क्षेत्रमा निजी क्षेत्रको सक्रियता झल्कन्छ । कसरी सम्भव छ त ? एउटा साहित्यिक पत्रिकालाई निरन्तरता दिन, कुन स्रोत हो यो पत्रिका चलाउने, के सन्तुष्टि पाउँछन् हाम्रा साहित्यिक पत्रकारहरू न बिक्री वितरणको व्यवस्था, न विज्ञापनको सहयोग, न सरकारी सुदृष्टि न त कुनै सम्भावना । र पनि साहित्यिक पत्रकारिताले आफ्नो इतिहास धानेकै छ ।

४९ वर्ष भयो वरिष्ठ पत्रकार रोचक घिमिरेले ‘रचना’ निकाल्न थाल्नुभएको । बीचमा केही अङ्क टुटेपनि ५० वर्षे यात्राको सङ्घारमा आइपुगेको ‘रचना’ को सर्वस्व रोचक घिमिरे नै हो । आफ्नै खल्तीको पैसा खर्चेर, परिवारको गाँस काटेर, फजुल खर्च नगरेर रोचक घिमिरेले ‘रचना’ मा सम्पत्ति मात्र खर्चिनु भएको छैन, श्रम, सीप, सिर्जनशीलता पनि त्यत्तिकै समर्पण गर्नुभएको छ । रचनाले आफूलाई राम्ररी चिनाएको, अधिकांश साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरेको र साहित्यिक क्षेत्रमा समेत चिनाएकोले ‘सन्तुष्टि’ पर्याप्त मात्रामा पाउनुभएको छ रे उहाँले । बरू उहाँ भन्नुहुन्छ – “सरकारी निकायको चित्त नबुझ्दो पाराले हतोत्साही भएपनि निजी क्षेत्र र साहित्यकारहरूको सहयोगले भने उत्साहित बनाएको छ उहाँलाई ।

विगत ४० वर्षदेखि ‘अभिव्यक्ति’ प्रकाशन-सम्पादन गर्दै आउनुभएका नगेन्द्रराज शर्माको कथन पनि उस्तै छ । अमेरिका दुई वर्ष बस्दा अभिव्यक्ति प्रकाशन नभएबाटै प्रष्ट हुन्छ अभिव्यक्ति र नगेन्द्रराज शर्मा एक अर्काको परिपूरक । निजी क्षेत्र र लेखक साहित्यकारको सहयोगबाट कृतज्ञ भएपनि सरकारी निकायको उपेक्षा र असहयोगप्रति गुनासो भने छैन उहाँको । उहाँ भन्नुहुन्छ -“अभिव्यक्तिको प्रकाशन मेरो निजी इच्छा, निजी लगानी, निजी परिश्रम र पसिनाको प्रतिफल हो । अतः सकेसम्म, आमाले आफ्नो बच्चालाई गरेजस्तै म आफैँ यसको लालनपालन र भरणपोषण गर्न चाहन्छु । कसैसँग कुनै आशा/अपेक्षा नगरिकन चलाउन चाहन्छु । र, जसरी आजसम्म चलाएँ भोलि पनि त्यसैगरी चलाउन चाहन्छु । केही गरी सकिन भने, जतिसुकै दुःख लागे पनि, कुनै ललरी नगाइकन चुपचाप बन्द गरिदिन्छु ।”

मोफसलमा बसेर पनि विगत २६ वर्षदेखि ‘जनमत’ लाई अघि बढाउने मोहन दुवाल पनि एक्लो प्रयासमा ‘जनमत’ अघि बढाइरहनु भएको छ । जनमतको सयौँ अङ्कमा उहाँले भन्नुभएको छ “अझ पनि थुप्रै समस्याहरू छन् ती समस्याहरूसँग जुझ्न दह्रो मुटु र मन चाहिन्छ । लरतरो मन र मुटुले यस खालको सुख्खा र निस्सासिँदो साहित्यका पहाड चढ्न गाह्रो हुन्छ । जनमतलाई यस रूपमा ढाल्न मैले के मात्र गरिनँ । शुत्रको पाउ लागँें, मित्रलाई गुहारेँ र आफूभन्दा पछाडिका पुस्तासँग मीठो मायाका आलिड्ढन र बल गुहारेँ । थुप्रै समस्याहरूसँग जुझ्दै साहित्यिक पत्रकारिताको इतिहासमा एउटा नाम बनाउनका लागि हालसम्म पनि जुझ्दै रहृयौँ ।”

यसरी साहित्यिक पत्रकारिताको पथमा बल गरेर हिँडिरहनुभएको छ भवानी घिमिरे- भानु, अच्युतरमण अधिकारी -उन्नयन, आदि … कतिञ्जेल चल्छ व्यक्तिको खल्तीबाट खर्च गरेर साहित्यिक पत्रकारिता ? कतिञ्जेल थेग्छन् हाम्रा साहित्यिक पत्रकारहरूले ।

मुलुकको भाषा साहित्यिका लागि केही गरौँ भनेर दिनरात लागिपरेर कैयौँ स्रष्टा जन्माउने यस्ता साहित्यिक पत्रकारहरू सम्मानका हकदार त छन् नै यिनलाई सघाउन सहयोगी हात र सहयोगी विचारको पनि उत्तिकै खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *