Skip to content


हिजोआज स्वेच्छिक आप्रवासीको जीवनमा आधारित लेखनलाई पनि डायस्पोरिक मानिन्छ। भी.एस. नयपालका अनुसार, सङ्क्रमणकालीन द्वैध मनोविज्ञानको आग्रहसहित तनाव र अभिघातका पात्रहरूका आधारमा डायस्पोरा साहित्य सिर्जना हुन्छ। आप्रवासीको जीवन सङ्घर्ष, विरानोपना, आत्मपहिचान, पीडाप्रद अनुभूति, मानसिक अवस्था आदि कुराहरू डायस्पोरा लेखनका विषय हुन्। राजवको पछिल्लो उपन्यास मोटेल अमेरिका यस्तै डायस्पोरिक कृति हो जसमा अमेरिकास्थित आप्रवासी नेपालीहरूको मनोदशा चित्रित छ। उपन्यासले आप्रवासीका जीवन सङ्घर्ष, पीडा, मानसिकता जस्ता विषय-सन्दर्भहरूलाई उतारेको छ।

सपनाको भारी बोकेर अमेरिका पुग्नेहरूमध्ये बेरोजगारहरूको दुःख कस्तो हुन्छ? कसैको पाल्तु कुकुर जसरी बेकार बस्नुको ग्लानि कस्तो हुन्छ? अनि जब काम पाइन्छ, डलरको कमाइ हुन थाल्छ, त्यसपछिको खुसी कस्तो हुन्छ? त्यसपछि उनीहरू पहिलेको दुःख बिर्सन्छन्। डलरमा डुब्दै गएपछि देश बिर्सन थाल्छन्, घर बिर्सन थाल्छन् र आमाबाबुसमेत बिर्सन थाल्छन्। आप्रवासीको अवस्थालाई उपन्यासकार राजवले यसरी नियालेका छन्।

अमेरिका पुगेको एक्लो छोरोलाई क्यान्सर पीडित बाबुको मृत्युमा घर आउने फुर्सद हुँदैन। ऊ आमाको विह्वल मनलाई दुई हजार डलर पठाएर थुमथुम्याउन खोज्छ। बाबु मरेको आठ महिनामा आमाले छोरालाई एकपटक घर आऊ भन्दै आठसय पटक फोन गर्छिन्। शुरु-शुरुमा आमालाई सान्त्वना दिए पनि पछि-पछि र्झ्को मान्न थाल्छ। हुँदाहुँदा हैरान मानेर फोन उठाउनै छाड्छ। ऊ प्रत्येक हप्ता ब्याङ्क खातामा डलर जम्मा गर्ने रसमा लिप्त बनिसकेको छ। मान्छेलाई पैसाको लालचले यस्तै बनाउँछ? उपन्यासकार राजवले यही प्रश्नमा आप्रवासी जीवनलाई खोतल्ने काम गरेका छन्।

उपन्यासकारले मोटेल अमेरिका मा मूल कथासँग सान्दर्भिक बनाएर धेरै विषय उठाएका छन्। अमेरिकी पूँजीवाद सङ्कटापन्न हुँदा व्यक्तिको व्यवसाय, रोजगारी र जीवनयापनमा परेको प्रभाव, कमाइ शून्य हुँदा एउटा आप्रवासी नेपालीको अवस्था र डलर कमाउन थालेपछिको परिवर्तनको सेरोफेरोमा बुनिएको उपन्यासमा अनेक चरित्र तथा तिनका उपकथाहरू छन्। उपन्यासमा डलरका लागि कठोर परिश्रम गरेर राति निद्रामै रुने चरित्रसँगै दर्शनशास्त्रको चारित्रिक रूपबाट पतीत प्रोफेसरको चर्तिकला पनि छ, जसबाट व्यक्ति, व्यवहार, काम र चरित्रको भिन्नता प्रस्तुत भएको छ। बगैँचाको साँझ्मा नोस्टाल्जिक हुँदै एकैछिन रमाउने खुसी तनका दुःखी मनसँगै कुण्ठाग्रस्त चरित्रहरू पनि छन्, उपन्यासमा। राजवले ६ लोग्ने र नौ छोरीकी आमासँगै प्रसिद्ध उपन्यासकार रिचर्ड फोल्हर, कवि टिम रसेल र प्रोफेसर रोनाल्ड टि वुन्डीलाई पनि उपन्यासका पात्र बनाएका छन्।

अहिलेको जीवन अनेकौं मृगतृष्णाहरूबाट जेलिएको छ। त्यसमा पनि सम्पत्तिको लालचले मान्छेको जीवनलाई कस्तोसम्म परिबन्दमा पुर्‍याउँछ, यसै भन्न सकिन्न। त्यस्तै परिस्थिति र परिबन्दमा बुनिएको मोटेल अमेरिका को पूर्वार्द्ध निकै बलशाली छ। यसरी अगाडि बढेको पूर्वार्द्धको मूल कथानक-शृङ्खला गम्भीरता र प्रभावका साथ अन्य विषय-चरित्रहरूको उपस्थितिसँगै उत्तरार्द्धमा धेरैतिर फैलिन पुगेको छ। उत्तरार्द्धमा मोटेलका महिला कर्मचारी र पाहुनाका रूपमा प्रवेश गर्ने यौनवासी, अल्पवासी र दीर्घवासीकै चर्चामा बढी केन्द्रित छन्, उपन्यासकार। यसबाट पूर्वार्द्धको उत्कर्षउन्मुख गम्भीरतालाई उत्तरार्द्धले पूर्ववत् वहन गर्न नसकेको महसुस हुन्छ। तथापि, नेपाली डायस्पोरा साहित्यमा यो उपन्यासलाई विशेष उपलब्धि मान्नुपर्छ।

जटिल विषयलाई सरल पारामा प्रस्तुत गर्ने आफ्नो लेखकीय विशेषतालाई राजवले पछिल्लो कृतिमा पनि शक्तिशाली ढङ्गले कायम गरेका छन्। क्लिष्ट र बोझ्िलो लेखनका अगाडि राजव मोटेल अमेरिका मा पनि एक किसिमको चुनौती नै भएर उभिएका छन्।

शार्दूल भट्टराई

वर्ष २१, अङ्क १५
पूर्णाङ्क २९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *