Skip to content

उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात जहाँ जाँदा पनि प्रशंसा गर्नेको घुइँचो हुँन्थ्यो । यति ठाँट्टिएर बैंस देखाउँदै कता लागेकी हो ठाँट्टिएर हिँड्न त कसैले सिकाउँन पर्दैन नि भनेर आफ्नै साथीहरुले ईष्र्या गरेको पनि अहिले त जुग बितिसकेको छ । उसलाई रुन मनलाग्यो एतिखेर । ‘चिया खानु पर्यो’ उसले मनमनै चिया खाने निर्णय गरी र भान्छा भित्र पसी । स्टोभ बाली र कित्लीमा चिया उमाल्न थाली । उसको छाती पनि चियासँगै उम्लन थाल्यो । उसले उम्लिएको चिया र आफ्नो उम्लिएको छातीको तुलना गरी । उम्लिएको छातीले दिएको पीडालाई सहन नसकेर तुरुक्क आँसु झारी । यो कर्म पनि सँधैको अभागी रहेछ । कस्तो साइतमा जन्म भएको रहेछ । बरु जन्मेकै बेला साल नाल सहित आमाले तल खोल्सामा फ्यालिदिएको भए त हुन्थ्यो नि ! आखिर बाँचेर पनि के नै हुने हो र उसलाई वैराग्य लागेको छ । आँखाभरि आँसु भरिएर आएको छ ।

‘तिमी निर्मला हैनौ निर्मला थापा ‘ आज बिहान अचानकै ग्वंगबु बसपार्कमा एउटा स्नेहसिक्त स्वरले उसलाई झस्काएको थियो । ‘मलाई चिन्यौ म चिनाकुमार ! उही सिन्धुली बजारको चिनाकुमार ।’

‘ए चिनाकुमार के गर्दर्छौ । कहाँ थियौ यत्तिका वर्षसम्म कुनै खोजखबर पनि गरेनौ ‘ उसले ग्वंगबु नजिक टिकट किन्ने काउन्टर भन्दा अलिक अगाडिको सानो बेन्चमा बस्दै प्रश्न गरी । चिनाकुमारलाई भेटेकोमा ऊ खुशी भई र हर्षको दुई थोपा आँसु झारी ।

उसको र चिनाकुमारको हिमचिम भएको ऊ सिन्धुली माडीमा सात कक्षामा पढ्दा देखि नै हो । त्यत्तिबेला चिनाकुमार आठमा पढ्थ्यो । घरबाट स्कूल पुग्न लगभग डेढ कोसको बाटो त्यो पनि उकालो ओरालो चढेर पुग्नुपथ्र्यो । बाटाभरि फलेका ऐँसेलु आरु र अम्बाहरु टिप्दै कसरी आठ नौ जनाको हूल एकैचोटि स्कुल जाने र आउँने गथ्र्यो । ऊ होचो कदकी भएकीले अम्बाको बोटमा पुग्न सक्दिनथी । त्यत्तिबेला कसरी चिनकुमारले अम्बा टिपेर उसको पोल्टामा हालिदिन्थ्यो । ऐँसेलुको काँडाले घोच्छन् भनेर कसरी ऊ आफै ऐंसुलु टिपेर उसलाई दिन्थ्यो । हात समातेर सबै इष्टमित्र र जोरीपारीका अगाडि कसरी दुबै जना ठाँट्टिएर हिँड्ने गर्थे । सालको पातमा साँधेको गुन्द्रुक भुटेको मकै र अघाउन्जेल मोही खाएर कसरी दुवैजना उत्तर पट्टीको सानो जंगलमा गाइबस्तु चराउँन जान्थे । ‘वारि जमुना पारि जमुना जमुनाको तिरैमा मनकामना’ भन्ने गीत गाउँदै गाउँका तन्नेरीहरुसित बनभोज खान्थे उनीहरु । एक साँझ घरका ठूलालाई छलेर रोधीघरमा गीत गाउँन गएका दिन कसरी चिनाकुमारले ुझुम्के फुली नाकैमा बुलाकी यसपालि त घरजमै होला कि ? भनेर दुनियाँको सामु उसलाई अंगालोमा कसेको थियो । उसले अर्थात् निर्मला थापाले यो भन्दा बढी विगत संम्झन सकिन र फेरि तुरुक्क आँसु झारी । ‘मसँग बिहे गरेर काठमाडौं जाने है । काठमाडौंमै सानो तिनो डेरा गरी दुःख सुख बाँड्दै काम गर्नुपर्छ । कर्ममा छ भने सुख पनि पाइएला । राम्रो काम पनि पाइएला । सानो तिनो टिचिङको काम भएपनि गर्नुपर्छ । दसैँको टिकाको पाँचौ दिन पल्लाघरे नन्दकुमार खत्रीको घरनजिकको पीपलकोबोट मुनि चिनाकुमारले प्रस्ताव राखेको थियो ।

‘बिहे मुखले भने जस्तो सजिलो कहाँ हुन्छ र बाउको विहे देखिन्छ । फेरि राम्रो कमाइ भएन भने त वित्यास पर्छ नि । पहिले त राम्रो नोकरी नै खोज्नुपर्छ । काठमाडौंमा पनि पैसा बुटामा फुल्दैनन् क्यारे । त्यहाँ त झन् यहाँको जस्तो मर्दा पर्दा हेर्ने पनि कोही हुँदैनन् ।’ उसले यसरी चिनाकुमारलाई सम्झाएको पनि अस्ति जस्तो लागेको छ उसलाई ।

‘तर बुझ्यौ मलाई त तिमी हवल्दार भइदिए हुन्थ्यो जस्तो लागिरहेछ । हवल्दार्नी भएर सबैलाई थर्काएर राख्ने थिएँ । आफ्ना जोरी पारीको सामू इज्जत पनि बढ्ने थियो ।’ उसले यसरी मनको बह पोखेर चिनाकुमारलाई हसाउँन खोजेकी थिई ।

उम्लिरहेको चियालाई उसले कपमा खनाई र भित्र कोठामा पसी । कोठाको उत्तर पट्टि सानो थोत्रो ऐना झुण्डिएको छ । त्यतैतिर पाइला बढाई र मुखमा पाउडर गाजल थपी । सन्दुक खोलेर उहिल्यै देखि थुपारेका सबै चुरा र गहना लगाई । आपुूले लगाएको सारी उसलाई नसुहाएको जस्तो लाग्यो त्यसैले म्याक्सी लगाउँने विचार गरी र हिजो मात्र मधेसीले घुमाउँन ल्याउँदा पैसट्ठी रुपैयाँमा किनेको म्याक्सी लगाई । ऐना हेरेर आफ्ना गालाहरु छामी । उमेरमा तिनै गाला पोटिला र रसिला थिए अब विस्तारै ओइलाएका छन् । उमेरमा जस्तो शरीरमा पुूर्ति पनि अब छैन । जुनसुकै लोग्नेमान्छेलाई पनि मोहित बनाउँने आँखाहरु पनि शिथिल छन् । खै चिनाकुमारले मलाई मन पराउला र उसलाई यतिखेर ऐना अगाडि भक्कानिएर रुन मन लागेको छ । यिनै आँखा हेरेर चिनाकुमारले गीति कविता लेखेका कापीका पन्नाहरु सानी दिदीको कान्छो छोराको हातमा म भएका ठाउँमा पुर् याउन लगाउँथ्यो । दिनमा एक चोटि तिमीलाई देखिन भने नत भात खान मन लाग्छ नत रातभर निद्रा नै पर्छ भन्ने त्यो चिनाकुरमारले यो दुनियाँमा तिमीजस्ती राम्री कोही भए काशी जान्छु भनेर कसम खाने चिनाकुमारले अहिले पनि त्यसरी नै माया गर्ला त ?

उसले मनमनै प्रतिप्रश्न गरी । चियाको कप हातमा लिई र चिया पिउँन थाली । चिनाकुमार चार बजे आउँछु भन्थ्यो । अहिलेसम्म फोन पनि गरेको छैन । चार बज्न त दश मिनेट पनि छैन । उसले मनमनै चिनाकुमार आउँने बाटो कुर्न थाली । पहिले पहिले पनि चिनाकुमार उसको घर आउँछु भनेको दिन कसरी पसाचौं पटक कुदेर बरण्डामा चिनाकुमार आएको छ कि छैन भनेर हेर्न पुग्थी । छि अब त चालीस नाघिसकेको बुढेसकालमा पनि कस्तो बैंस जागेको भनेर चिनाकुमारले भन्ला मैले आपुूलाई सम्हाल्नु पर्छ । उसले झ्यालको पर्दा लगाई र ओछुनमा पल्टी । छाती छामी । ढुकढुकी सहन नसक्ने गरेर बढेको छ उसको ।

‘निर्मलाको घर यही हो ‘ मुन्तिर आँगनमा चिनाकुमार बोलेको आवाज सुनी उसले । ऊ हत्तपत्त उठी । ऐना अगाडि पुगेर आँखाको गाजलको कोस ठिक पारी । छेउकै गमलामा भरखरै फक्रन लागेको गुराँसको थुम्को दाहिने कपालको मुन्तिर काँटाले सिउँरी । रातो टिका र गुलाबी लिपिस्टिक लगाई र दौडेर तल पुगी । अगाडि चिनाकुमार उभिरहेको थियो ।

यति धेरै बर्ष पछि हाम्रो भेट भयो । भगवान्ले हाम्रो मिलन भने जुराइदिए भन्ने सोची र श्वासै नफेरी बोली- ‘माथि आउनु न । किन आउँन ढिलो गरेको’ पहिलो वाक्य पूरा हुँदा नहुँदै उसले हतनपत्त फेरि सोधी हाली ।

‘कहाँ ढिलो भएको छ र घडी हेर न पाँच मिनेट यता उता हुँदा त के फरक पर्छ र हैन त’ उसले अर्थात् चिनाकुमारले यसो भन्दा ऊ झस्किई । ‘आज पाँचै मिनट पनि तिम्रो लागि यत्रो कठिन भयो त यत्रो वर्षसम्म नभेट्दा त भएको थियो भने’ चिनाकुमारले त पूरा वाक्य नबोलेर उसलाई छेड हान्यो । हुन त गाँउमा हुँदा पनि बातै पिच्छे छेड हान्ने गथ्र्यो चिनाकुमार ।
दुवैजना कोठाभित्र पसे । ‘कोठा त राम्रो रहेछ । गमलामा लटरम्म फुलहरु फुलेका रहेछन् । आपुूलाई आवश्यक पर्ने सबै सामान जुटाएका रहिछ्यौ । कहाँ काम गर्छौ विहे गर् यौ कि गर्न बाँकी छ ‘ चिनाकुमारले यसरी व्यक्तिगत प्रश्न सोध्ला भन्ने उसले सोचेकै थिइन । ‘मैले पनि बिहे गरेको छैन । तिमी जस्ती केटी पनि पाइएन न त खोजी नै गरियो ।’ उसले अर्थात् चिनाकुमारले पुनः आफ्नो कुरा पनि खोल्यो ।

ऊ अवाक भई । उसका आँखा भरि आँसु भरिए । चिनाकुमारले किन विहे गरेन उसलाई झन् छटपटी बढेको जस्तो भयो र भित्र भान्सामा पसी । चिनाकुमारलाई भुटन मन पर्छ । त्यसैले बिहानै आधाकेजी भुटन लिएर आएकी थिई । त्यही भुटज भुट्न थाली । स्टोभ बाली र चिया बसाली । भुटन चिया र चिउरा चिनाकुमारको अगाडि राख्दै भनी ूतिमीले विहे गरेका छैनौ भन्ने कुराले दुःख लाग्यो । वास्तवमा तिमीले विहे गरेको भए यत्तिखेर वालबच्चा पनि भैसक्थे होलान् । तिम्रो आफ्नै दुःख सुखको संसार हुन्थ्यो होला । मैले यो भन्दा बढी अरु के नै भन्न सक्छु र ? यसो भन्दा निर्मलाको मुटु नराम्रोसँग काँमेको थियो । आँखाभरि आँसु टल्पलाएको थियो । उसलाई चिनाकुमारसँग अगालो हालेर रुन मनलागेकेा थियो ।

‘किन रोएकी मलाई थाहा थियो । तिमीले पनि त मेरा लागि अरुसँग विहे गरिनौं । तीस वर्षसम्म नभेट्दा पनि हाम्रो तन र मन मात्र हैन शरीर पनि चोखो र निर्मल छ निर्मला । तिमीलाई संझेर कतिचोटि रोएको छु । तिमीलाई मैले लेखेको डायरीहरु पढ्यौ भने पनि थाहा हुनेछ । घरमा बुवा आमाले जति गर्दा पनि विहे गर्न मानिन । त्यही चिन्ताले आमा परार साल बित्नु भयो । बुवालाई मुटुको रोग लागी ओछ्यान पर्नु भएको तीन वर्ष पुरा भएर चार वर्ष लागेको छ । मैले त चिने जानेका सबैसँग तिम्रो बारेमा सोधेको सोद्दै तीस बर्ष बिताएकोछु ।’ चिनाकुमार पनि निर्मलासँगै भक्कानियो । निर्मलाले विस्तारै चिनाकुमारको हात समाती र उसको आँसु पुछी । चिया चिसो हुनलागि सक्यो । भुटन पनि चिसो भयो पहिला खानु- भोक लागेको होला । अनि त्यस पछि कुरा गराँैला । कुरालाई अन्त मोड्दै उसले चिनाकुमारलाई खाजा खान अनुरोध गरी ।

‘मैले पनि धेरै दुःख कष्ट गरेर आइ। ए। पास गरेँ । अहिले मालपोतमा स्थायी जागिर खाइरहेको छु । कति मान्छेले विहेको प्रस्ताव देखि मायाको प्रस्तावसम्म राखेर हैरान पारेका छन् । तर कसैको आँखामा पनि तिमीमा देखिने अपनत्व महसुस हुन सकेन । कुरा र बनावटी शब्दहरुमा यो मायाको स्पर्श र उच्चता कसरी महसुस हुनसक्छ र ?’ निर्मलाले चिनाकुमारको हात समाती । दुबै जनाले तीस वर्ष लामो विछोडको पीडा आँसुसँगै बगाउँन थाले ।

1 thought on “संयोग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *