नारी अस्तित्व (सामाजिक कथा)


“सिरानघरे पन्डितको छोरा क्या त गोपाल साह्रै मिजासका छन् । समाजसेवामा लाग्या छन् रे । हेर्दा पनि खाइलाग्दा गाउँघरमा नि सबैको प्यारो भएर हिँडिरा’ छन् । हाम्री ज्योतिसँग राम्रो जोडा मिल्छ ।” गाउँका सबै भद्रभलाद्मी र आफन्तहरूद्वारा विवाहको लगन जुराए । बिचरी ज्योति यसैपाली प्रवेशिका परिक्षा दिएर बसेकी पराइघर, बुहार्तन र आफ्नो कर्तब्य नै कहाँ जानेकी थिई र ? नाइ-नास्ती गरी । तर त्यसै बलिको बोका झैं हार खाएर बसी । भर्खरै फक्रदै गरेको यौवन, बिभिन्न सपनाहरू बुन्न थाली भावी दिनहरूका मौनताभित्र रगडिंदै । र एकदिन आफ्नो जन्मघर, बाबा र साथीसंगीहरू सबैलाई बिदाइको हात हल्लाउँदै पराईको सँघारमा पाइला टेक्न पुगी ।

गोपाल, सामाजसेवामा लागेर गाउँमा आफ्नो भिन्नै पहिचान बनाउन सफल व्यक्तिको आर्धाङ्गिनी बन्न पाउँदा अनि आफूलाई जन्म दिने आमा-बाबा जस्तै सासू-ससुरा पाउँदा आफूभित्रै दंग पर्दथी ऊ । विवाह पछिका दिनहरूमा ऊ सबैको आँखाको नानी भई । ज्योतिकी आमा, जसले एउटा जीवनलाई संसार देखाएर आफूले सदाका लागि धर्तीबाट बिदा लिएकी थिइन । मनमनै सोच्थी, “सानो छ्ँदा आमाको माया पाउन नसके पनि बाबाले कहिल्यै मलाई आमाको अभावको आभाससम्म दिनु भएन । म कति भाग्यमानी आज आएर यस्तो परिवारमा आफ्नो भूमिका निभाउन पाइरहेकी छु ।”

समयको कालचक्रसँगै आफूलाई डोर्याउँदै लैजादा बिस्तारै- बिस्तारै बुहार्तनका ठेलीमा पर्न गएकी ऊ एकदिन घाँस काट्दा काट्दै रुखको डाली भाँचिएर तल ढुंगामा बज्जारिन पुगी । उसको पेटमा हुर्कदै गरेको बच्चा खेर गयो । डाक्टरको सल्लाह अनुसार जीवनमा कहिल्यै आमा बन्न नपाउने भई । यसरी वात्सल्यताको अनुभव गर्न नपाउँदै त्यस घरमा दुखकी कैदी बनेर रहन थाली । त्यसपछिका दिनमा सासूका तीखा बचन र लोग्नेको त्रासदीय र दानवीय व्यवहारको शीकार भएर बाँच्न थाली । सबै कुरा सहेर आफूलाई सम्हाल्दै अन्तरात्मासँग प्रश्न गर्थी, “आखिरमा एउटी नारीको अस्तित्व के हो ?” भनेर ।

हिन्दु नारीहरूको महान चाड तीज पनि नजिकिदै आइरहेको थियो त्यो बर्ष पनि । ज्योतिको माइतीमा एक्लो बाबा ज्वरोले सिकिस्त छोरी लिन आउन सकेनन् । कोही व्यक्तिद्वारा छोरीलाई भेटन आओस भनी खबर पठाएका थिए । एकपल्ट तैपनि जान दिइहाल्छन् कि भनी ओठ कपाउँदै बोली, बाबालाई भेट्न जाने प्रस्ताव राखेर । तर उसले त्यहाँ आफूले सोचेभन्दा भिन्न ब्यवहार हुन्छ भनेर कहाँ सोचेकी थिई र ? अनि सुरु भयो सासूको भाषण, “यो कुल्लंघार्नीले हाम्रो कुलकै नाश गरी, यस्तालाई घरमा राखेर हाम्रो नाकै जाने भो । तीजमा लिनसम्म आउन नसक्ने माइतीमा को छ र जान्छेस् ? ए गोपाल निकाल न यस अलच्छिनीलाई ।”

गोपाल गाउँ-गाउँमा नारी हक र अधिकारको वकालत गर्दै हिंड्ने व्यक्ति आफ्नै घरभित्र नारीहिंसामा लागिरहेको थियो, मात्र एउटा बंश धान्ने निहुँमा । ज्योतिकी सासू जो एउटी नारी भएर पनि अर्की नारीको दर्दमा नुनचूक छर्कीरहेकी थिई ।

तर ज्योति, त्यो दिन उसको आँखामा आँशु थिएन । पर क्षितिजमा हेरेर त्यसै टोलाइरहेकी थिई । त्यस नरकबाट मुक्तिको समय पर्खेर । रातको निष्पट्ट अँध्यारो, उसका वरिपरिका सबै जीवात्माहरू स्वप्न संसारमा डुलिरहेको बेला ऊ बिस्तारै ढोकाबाट बाहिर निस्किई एउटा सानो आशा बोकेर “एउटा समाजसेवीको घर त यो हालतमा छ भने आज तीजको दिन हाम्रो अशिक्षित गाउँका चेलीहरू कतिजना मेरो अवस्थामा छट्पटिएर बस्न विवस होलान् । एकदिन म जस्ता हजारौं चेलीहरूलाई एक बनाएर अवश्य पनि यस अन्धकारलाई फोरेर यहाँ उषाको किरण छर्नेछु र हरेक चेलीको आँगनमा बिहानीको लालीले पोत्नेछु ।”

पर अन्धकारलाई छिचोल्दै एउटा मानव आकृति अघि बडिरहेको थियो त्यस नारकीय स्थानलाई सदाको लागि विदा गर्दै । एउटा सुनौलो आशाको ज्योति बोकेर ।

(२०६० भाद्र २७ गते रेडियो सगरमाथा १०२.४ MHz को कार्यक्रम ‘सह अस्तित्व’ मा प्रसारित कथा)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “नारी अस्तित्व (सामाजिक कथा)”

  1. ठिस बुढा

    उषा न्यौपाने ज्यूको सामाजिक कथा
    वाह !!
    सुभकामना।
    धन्यवाद,

Leave a Reply

Your email address will not be published. Required fields are marked *