Skip to content


दिनभरि मिहिनत – मुजुरी गरेर जब साझ घर फिर्किनुहुन्छ नवराज दाइ । त्यसपछि घरपाला रक्सीका एकाध बोत्तल रित्त्याएर माम खानुहुन्छ र मीठो निद्रा निदाउनुहुन्छ । म सधैं उनका कुरा सुन्दछु । उनको वाणीमा कुनै कपटता र अभिमानका शब्द मैले भेटेको छुइँन । र, बेला-बेला जब उनले यस्तो भन्नुहुन्छ – “भाइ तिमी धेरै पढेको मान्छे; हामी भन्दा धेरै जान्ने छौ ।” तब मलाई आफैं प्रति लज्जाबोध हुन्छ । दुई-चार वर्ष क्याम्पसको पर्खालभित्र कुनै यौटा कोठामा बसेर ती अनाम सिद्धान्तहरू, जुन सिद्धान्तहरूको प्रयोग अत्यन्तै न्युन छ वा भनौं छदैं छैन हाम्रो मुलुकमा; त्यस्ता सिद्धान्तहरू जानेर मलाई महापन्डित हुने कुनै रहर छैन । धूर्तता, छल, कपट यी आदि-अनादी कुराहरू आफ्नो वशमा राख्न सक्ने मानिस नै यथार्थमा महापन्डित हो । त्यस कारण म दाइलाई भनिरहन्छु – “दाइ पी.एच.डी.को उपाधि नै किन न पाउँ मैले त्यो उपाधि पनि महापन्डित हुनका निम्ति प्रयाप्त हुँदैन । महपन्डित त हजुरलाई सुहाउँछ । हजुर धुर्त हुनुहुन्न, हजुरको कुदृष्टि कसैउपर हुँदैन ….”

“भयो भयो !” – दाइ भन्नुहुन्छ – “बढी नौनी दल्नु पर्दैन मेरो मुहारमा ।”

***

भातको गाँस मुखमा हाल्दै दाइले आफ्नो हृदयवाणी सुनाउनु भयो, हिजो । वास्तविक ‘खाते’ को हो भनेर कुरा निस्क्यो । यसबारे दाइको अन्तरमनबाट निस्केका शब्दहरू सुन्दा कसैले यो कुचेष्टा गर्न सक्दैन कि हाम्रो दाइ नपढेका-अनपढ्-गँवार हुन, भनेर । डाक्टर मन्साराम हाम्रो छिमेकी हुन । उनी टाई लगाउँछन, अङ्ग्रेजी पहिरनका बडा शोकिन मानिस एक हाम्रा डा. मन्साराम पनि हुन । समयका बडा पक्का छन, बिहान सात बजे अस्पताल पुग्छन, चार बजे घर फिर्किन्छन र चारबाट छ बजेसम्म आफ्नो निजी क्लिनिकमा समय बिताउँछन । छ बजे घर फिर्केर कार्टुन नेट्वर्क हेर्दै दुई-चार कोसा केरा, एक गिलाँस दुध र केही टुक्रा काजु-बदामका-ग्रहण गर्दछन्, उनी । मासु र मासुजन्य सामग्री उनी रुचाउँदैनन । जाँड, रक्सी, चुरुट-खैनी, भाङ्-धतुरको कुलतबाट उनी कोसौं पर छन । बिमारी मान्छेले यति दुस्साहस गर्न सक्तैन कि साझको छ बजे पश्चात डाक्टर साहब कहाँ जचाउँन पुगोस । अस्ति एकदिन पखाला लागेर मेरो प्राण नै जाला जस्तो हुँदा म डाक्टर साहब कहाँ पुगेको थिएँ । उहाँ टम एन्ड जेरी हेर्दै हुनुहुन्थ्यो । मैले भनें – “डाक्टर साहब ! मर्नु मात्र बाँकी छ अब पखाला लागेर; केही औषधी लेखिदिनोस हजुरले!”

डाक्टर साहब रिसले मुर्मुरिनु भयो-“यो मेरो अस्पताल होईन, घर हो । Go away!”

“तर …..” म केही बोल्न खोज्दै थिएँ, डाक्टर साहबको पारा एक्कासी १०० डीग्री भयो – “Go away Bastard! Don’t disturb me.”

तत्पश्चात, अरु केही बोल्ने मेरो साहस भएन । पेट गुड्गुड गर्न थाल्यो । भागेर शौचालय पुगें ।

***

साझ पख पौषको जाडो छल्न भनी सडक-बालबालिकाहरू एक-आपसमा गुजुल्टिएर बस बिसौनीमा सुतिरहेका थिए । तापक्रम त्यस्तै १-२ डीग्री सेल्सियस हुँदो हो । दाइ बाहिर बसेर चुरुटका सर्का तान्दै हुनुहुन्थ्यो । अँध्यारो बढिसकेको थियो, चिसो सिरेटोले मुटु च्वास्स छुन्थ्यो । डाक्टर साहबले आफ्नो चमचमाउँदो चार पाङ्ग्रे वाहन बाहिर निकाल्नु भयो । दाइलाई डाकटर साहबले आवाज लगाउनुभयो – “ए नवराज ! ह्याँ आ त !”

डाक्टर साहबले नवराज दाइलाई अर्हाउनु भयो – “ती बोराहरू गाडीको डिक्की भित्र हुल्नु पर्यो ।”

“के छ डाक्टर साहब ती बोराहरूभित्र ?” – दाइले प्रश्न गर्नु भयो ।

“सुन छ सुन !” – डाक्टर साहब अलिक ऊँचो स्वरमा बरबराउँनु भयो – “साला डाँकाहरू! महिनामा चार दिन आँउछ्न फोहर बटुल्न तर पगार भनें पुरै महिनाको पचाउँछन । केही हुनेवाला छैन यस मुलुकको । खाते मुलुकका खाते मानिसहरू!”

दाइले बोरा डिक्कीभित्र हुल्नु भयो । कुहिएको सामग्रीबाट दुर्गन्ध आइरहेको थियो । दस सेकेन्डभित्र गाडी त्यही स्थाननेर पुग्यो जहाँ ती सडक बालबालिकाहरू पौषको त्यो जाडो छल्न भनी सँघर्षरत थिए । डाक्टर साहबले भन्नुभयो – “खातेका बच्चाहरू! त्यही छेउमा फालिदे नवराज ती बोराहरू ।”

“अन्तै फाल्दा हुँदैन र डाक्टर साहब?” – दाइले प्रश्न गर्नुभयो ।

“तँ यति साह्रो गन्थन किन गर्छस नवराज ? चुपचाप अह्राएको गर न! ” – डाक्टर साहबले भन्नुभयो – “यी खातेहरू जन्मिनु नै यिनीहरूको महापाप हो ।”

***

दाइले भातको अन्तिम गाँस मुखमा हाल्दै भन्नुभयो – “तिमी नै भन मलाई, खाते को हो – त्यो डाक्टर वा ती सडकमा सुतिरहेका बालबालिकाहरू ?”

म मुक रहें । दाइ पुन: बोल्न थाल्नुभयो, अलिक आवेष र असन्तोष वहाँको बोलिमा झल्किन्थ्यो – “खाते त ती डाक्टर जस्ता असभ्य मानिसहरू हुन जोसँग केही दिन फोहरको गाडी नआउँदासम्म समेत, फोहरको डूङ्गुर आफ्नो घरभित्र समालेर राख्न सक्ने धैर्यता हुँदैन । अझ तिनीहरूनै अरुलाई खाते भन्छन । एक पटक तिनीहरूले आँफुलाई ऐनामा नियालुन, सत्य पस्किदिन्छ ऐनाले । साला खाते डाक्टर! ”

नवराज दाइले यौटा प्रश्न छाडिदिनुभएको थियो मेरा लागि – समाजका वास्तविक खाते को हुन, भनेर । यस प्रश्नको उत्तर अध्ययन गरेका तमाम सिद्धान्तहरूको प्रयोग गरेर पनि मैले पाउन सकिन ।

मेरो आदर्श र सिद्धान्तको पढाई, आज नवराज दाइले छाडेको प्रश्नसामु नतमस्तक भई उनको चरण स्पर्शमा व्यस्त छ ।

2 thoughts on “खातेहरू”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *