अनुत्तरित प्रश्न (संस्मरण)

  • by


ती दिनहरूमा म भागीभागी हिँड्थेँ । भरसक मान्छेका सामु नपर्नु परे हुन्थ्यो जस्तो लाग्थ्यो । हुनपनि कसले बाँकी राखेनन् मलाई त्यो प्रश्न सोध्नलाई । जस्को मुखमै पनि एउटै प्रश्न हुन्थ्यो “श्यामि! भनन! किन? त्यो घटनाको कारण के थियो ?”

घर, छिमेक, मेलापात, स्कुल, कलेज, जताततै सबै सबैले यतीसम्म हैरान बनाउथेकी कुनैबेला त भाउन्न भएर बान्ता नै होला जस्तो हुन्थ्यो । जस्ले पनोइ त्यही प्रश्न गर्थ्यो जुन प्रश्नको जवाफ म आँफैसँग थिएन । म आँफै अँध्यारो गुफामा थिएँ र खोज्दै थिएँ त्यही प्रश्नको जवाफ तर मलाई थाहा छैन भनेर कसैले पत्याउदैनथिए । कसैले पनि विस्वास गरेनन् । हरेकक्षण म आँफै सुन्यतामा सोधिबस्थेँ “हे भगवान! के हुन सक्थ्यो त्यो घटनाको कारण ?”

आज झन्डै दशौँ बसन्तले फड्को मारेर समय कहाँ पुगिसक्यो । समय सङ्गै त्यो घटना र कारणको जिज्ञासा पनि सबैले भुलिसकेहोलान् । जिन्दगीको अपत्यारिलो यात्रामा मेरै जीबनमा कैयौ उतारचढाब आयो गयो, जीवन बाँच्ने घुम्ती र गोरेटो पार गर्ने यो दश बर्षको अवधिमा अन्य कैयन घटना घटे बिलाए । कैयन उतारचढाब स्‍मृतिपटबाट सदाको लागि मेटिएर गए । तर त्यो डरलाग्दो घटना, भयङ्कर आँधी, त्यो बिनाशी तुफान र त्यसले छोडेर गएको प्रश्नले यतिका समयपछिसम्म पनि मलाई सताइरहेकै छ । र त्यही प्रश्न सङ्गै ती दिन त्यो बातावरण एकनाशले मेरो मथिङ्गलमा घुमिरहन्छ । निसास्सिएको मनले फेरि उही पुराना कुरा र उही प्रश्न दोहोर्याइ दोहोर्याइ अगाडिअौछ ।

S.L.C पछिका विद्यार्थीलाई त्यति बेला हाम्रोतिर फुकेको साँढे भन्ने चलन थियो । अँझै पनि भन्छन होला । स्कुले तन्मयता, पावन्दी, गुरुहरूको निर्देश र निगरानीबाट उम्केका ती सुरुका दिनमा साच्चैनै हरेकका अनुहारमा एउटा बेग्लै उत्साह, उल्लास र चन्चलता देख्न लायकको हुन्थ्यो । घरदेखि ५ रुपैयाँ भाडा को दुरिमा पहिलो दिन ११ क्लासको उपस्थिति जनाउन जाँदा मैले खैरो रङ्गको कुर्ता सलवार लगाएको थिएँ । त्यो ठाउमै प्रथम पटक १०+२ सन्चालनमा आएको हुंदा अँझै विद्यार्थी युनिफर्मको टुङ्गो नलागिसकेको अवस्थामा स्वतन्त्र लुगा लगाउन पाइएको थियो । पहिलो दिन हुन गैरहेको क्लास, थोरै डर, उमङ्ग सबै एकैपटक भुमरी खेल्दै थ्यो मनमा । हिच्किचाहट बोकेर कलेजको गेट भित्र पाइला राख्न साथ् जोड्ले खोकी लाग्यो, पहिलो खोकिको तोड्मै बिडम्बना! मेरो सुरुवालको इंजार पछाडिबाट झ्वाट्ट चुँडियो । आत्तिएर निली हुँदै कुर्ता बाहिरैबाट कुहिनोले सुरुवालको इँजार कमरमा अड्याएर हतार हतार एताउता कुर्ताको फेरोमा कतै सेफ्टी पिन छकी भनेर खोजेँ तर थिएन । मैले सोचेँ एकमनले घर फर्किउँ! तर कसरी? म त एकपाइला पनि सार्ने अवस्थामा थिइन । पहिलो दिनको कलेज मेरो! म जड्वत उभिइरहेँ रसिलो आँखा लिएर ।

अचानक कोही पछाडिबाट आएर सोध्यो,

“तपाईं क्लास लिन आउनुभएको हो ?”

झस्किँदै फर्केँ, एउटी चन्चले आँखावाली केटिरहिछ हातमा चारवटा कपी किताब च्यापेकी । मैले उसको हो सङ्गै आफ्नो पीडा पनि सुनाइहालेँ एकै श्वासमै । लामो हाँसो हांसिसकेर उसले आफ्नो कुर्ताको भित्री फेरोबाट दुईटा लामा लामा सेफ्टी पिन झिक्दै भनी,

“नो टेन्सन!”

अनिउसैका आडमा च्यापिँदै सौचालय भित्र घुसेर ती सेफ्टी पिनका सहाराले सुरुवाल अड्याएर आफूलाई सेफ गरेँ । उसको नाम सन्जू रहेछ । पातलएे अग्ली लामो केश चन्चले आँखा र हमेसा ओठमा फैलिरहने उसको मुस्कानको कारण सबैका आँखा ऊ तिरै अडिन्थे ।

त्यही सुरुको दिनको मेरो सुरुवालको इँजार र उसको सेफ्टी पिनले सुरु भएको हाम्रो मित्रताले तुरुन्तैबाट रङ्ग देखाउन थाल्यो । त्यही क्षणबाट हामी अत्यन्त नजिक भयौँ । मिलेर नोट गर्ने, एकको अनुपास्थितिमा अर्कोले कभर गर्ने, बिहान जो पहिले पुग्छ उसले अर्कोलाई कलेजको गेट्मै पर्खिरहने, क्लासमा बस्दा सङ्गै बस्नुपर्ने, बाहिर जता निस्किँदा पनि हातमा हात गाँसेर हिँड्नुपर्ने, क्यान्टिनमा खाजा खाँदा पहिले एक भाग अर्डर गरेर एउटा प्लटेमा दुई तिरबाट खानु पर्ने, अनि अर्को भाग पनि त्यसै गर्ने, एउटै कपमा चिया पिउनुपर्ने, तीन ताका हाम्रो मित्रताको त्यो रुप देखेर सबै छक्क पर्थे । मलाई थाहा छ कतिले त भित्र भित्रै इर्श्या पनि गर्थे । यतीसम्म कि कहिले काही प्रश्नोत्तरको क्लासमा कुनै दिन उत्तर दिन नसकेको बेला गुरुहरूले समेत आज तिमी दुई जन अलग अलग बस भनेर सजाय दिनुहुन्थ्यो ।

साच्ची भनु भने सन्जू बाहेक अरु कोही त साथी नै होइन या जरुरत नै पर्दैन भने झैँ लाग्थ्यो मलाई । हामी दुई बिच दु:ख सुख, कल्पना, भविस्यका समेत कुरा हुन्थे । १०+२ सकेर काठमाण्डौ जाने, एउटै डेरामा बस्ने, जागिर खाने, सँगै मिलेर भबिस्यको खाका कोर्ने यस्तै यस्तै कुर हुन्थे हामी बिच । ऊ भबिस्यमा फेसन डिजाइनर बन्ने सपना बुन्थी । म समाजशास्त्र पढ्ने रहर गर्थेँ । तर हामी दुइको साझा रुची साहित्य थियो । सन्जू साहित्य पढेर आनन्द लिन्थी, म कहिलेकाहीँ लेखी पनि टोपल्थेँ ।

छोटो अवधिमै सन्जू मेरो जीवनै अभिन्न अँग जस्तो बन्न पुगेकी थिई । हामी धेरैसँगै रुन्थ्यौं, हाँस्थ्यौँ, यस्तो लाग्थ्यो हामी पूर्व जनम देखिकै अभिन्न साथी हौँ ।

फरासिली र सुन्दरताकी धनी अग्ली सन्जु कलेजको प्राङ्गणमा ठुलो स्वरले हाँस्दै गर्दा सबै केटाहरू फर्केर हेर्थे । कति केटीहरू जल्थे पनि । कुनै दिन ऊ या म क्लास नआउँदा अरुले सोधेर हैरान पार्थे । यस्तो कि हामी दुबैलाई थाहा हुन्थ्यो एक अर्काको हरेक समस्या र कारण । पछि त हामीले एकजनाको काम परेको बेलामा दुई जनै नआउने गर्न थाल्यौँ । एक अर्का बिना क्लासनै शुन्य लाग्थ्यो । एक्दिन मैले जिस्किएर उसलाई भनेको थिएँ,”ओई! सन्जू! म अब बिहे गर्छु यार । केटाहरू घरमा आकोआकै छन् माग्नलाई ।” यतिमै अँध्यारो मुखलागएर त्यो दिन सन्जू निक्कै बेर रोएकी थिई । हामी सँगसङै मिलेर आफ्नो खुट्टामा उभिने, मिलेर भविस्य बनाउने भनेर तिमी अहिले नै बिहे गरेर मलाई एक्लै छोडेर जाने ?” लामो बेरको सुँक्सुँक पछि सन्जूले यसरी मेरो बिहेको कुरोको प्रतिवाद गरेकी थिई ।

एकदिन उसले भनी “श्यामि! एकदिन मेरो घरमा हिँड न ! मेरो बाबा आमाले तँलाई खुब भेट्न खोज्नुभाको छ । ”

त्यो दिन २०5७ साल मँसिर २३ गते शुक्रबार थियो । मैले आईतवार क्लास लिन आउँदा आमालाई सोधेर आउँछु भने । क्लासपछि घर जानेबेलामा म गेटको बाहिरै गाडी कुरेर बस्थेँ घर जानलाई । उसको घर चाँहीँ रोड काटेर धानको फाँटै फाँट झरेर तल खोल्ची तरेर जानु पर्थ्यो । मेरो गाडी नआउन्जेल म सङ्गै उभिरहन्थी, अनी मात्र आफ्ना बाटा लाग्थी सँधै त तर त्यो दिन गेटमा पुग्नासाथ मलाई फर्केर पनि नहेरी भनेकी थिई, “श्यामी! म गएँ है! आइतबार भेटुँला ।”

मलाई थोरै अचम्म लाग्यो तर बाइ! भनेर उसलाई जाँदै गरेको हेरिरहेँ । फाँटबाट ऊ ओझेल परेपछि मेरो गाडी पनि आयो, म घरतिर लागें । बेलुकी घरमा खाना खानेबेलामा आमलाई सन्जू को प्रस्ताब सुनाएँ । पहिले त आमाले छोरी मान्छे अर्काको घरमा बासै बस्नेगरी किन जानु! भन्दै अन्कनाउनुभयो । हुन पनि मेरोपरिवारले सन्जूलाई कहिल्यै देखेको पनि थिएन । सिवाय मैले गर्नेगरेको उसको चर्चा र देखाएको फोटो बाहेक ।

तर मेरो जिद्दी पछि आमाको तर्फबाट सहमति आयो । त्यसपछि त खुशीले मैले खाना पनि मन गरेर खाइन । जसो तसो शनिबार याने कि २४ गते बित्यो । आईतवार २५ गते बिहान हतार हतार कलेजको लागि तयार भएँ । भरे सन्जूको घरमा रहँदा लगाउने लुगा पनि ब्यागमा कोचेर उत्सुकता साथ कलेज लागेँ । घरबाट निस्किनै लाग्दा चोटाबाट आमा कराउनुभयो “भोलि आउँदा सन्जूलाई पनि लिएर आइज नि!”

मँसिरको झिस्मिसे जाडो बिहान, एउटा राक्षसी चिसो हावाको झोँकाले बेस्सरी छिरल्यो मेरो कपाल जब म कलेजको गेटमा पाइला राख्दै थिएँ । सन्जू सँधै जसो त्यहा उभिएकी थिइन । मैले सोचेँ आज त म पो पहिले आएछु । त्यहीँ उभिएर उसलाई पर्खिँदै तल तल फाँटतिर आँखा कुदाएँ । अहँ ऊ आइन ।

त्यतिकैमा क्लासकै एउटा केटो नजिकै आयो र भन्यो,”श्यामी! सन्जूले त हिजो स्युसाइड गरी रे नि हो ?”

थाहै नपाई मेरो हात बज्रिएछ केटोको गालामा । ठिक त्यही बेला एक्जना गुरु आएर भन्नुभयो “श्यामी! कुरो यही हो, होसमा आउ!”

उनिहरूलाई लागेछ मैले थाहा पाएर पनि स्विकार्न सकिरहेको छैन ।

म यो बकवास हो भन्दै चिच्याउँदै थिएँ, पछि पानीले निथ्रुक्क भिजेको अवस्थामा कलेजको प्राथमिक उपचार कक्षमा पाएँ आफूलाई ।

अरुका अनुसार म रुँदारुँदै अचेत भएछु अनि साथीहरूले पानी पट्टी लगाइँदै राखेछन । चेत आएपछि मैले सन्जूको घरमा जान जिद्दी गरेँ, जहाँ सोही दिन क्लासपछि जाने भन्ने सन्जूको र मेरो पूर्वयोजना थियो । आधी घण्टा धान खेतैखेत हिँडेपछि खोल्ची हुँदै जानुपर्नेरहेछ उसको घर । हामी ३ जान गुरु समेत ४३ जाना त्यता लाग्यौँ । सन्जू सबैकी प्यारी थिई त्यसैले पनि पुरै कलेज अत्यन्त मर्माहत थियो उसलाई गुमाउदा । म त शुन्यमा थिएँ, सपनामा छु जस्तो लाग्दै थियो । बाटोको खोल्चिमा ३, ४ टुक्रा काठ खरानीमाथि धुँवाउँदै थियो । सबैले मेरो मुखमा हेरेर खास्खुस गरे, त्यही खस्खुसको फुस्फुसमा मैले सुनिहालेँ कसैको मुखबाट “यहीँ हो उसलाई जलाएको । श्यामीलाई भन्नु हुँदैन ।” म फेरि आकाश छेड्नेगरी चिच्यौँदै रुन थालेँ, मलाई लाग्यो त्यो खरानीमा लट्पटिउँ, त्यहीँ म पनि जलुँ । साथीहरूको कब्जामा सम्हालिँदै सन्जूको घर पुग्यौँ । टन्न मान्छेहरू भीड लागेका, सबै रुँदा रुँदा थाकेका । मेरो तस्बिर मात्रै देखेको उसकी आमाले मलाई चिनिहालिन र चिलले चल्ल झम्टे जस्तो गरी मलाई छोप्दै सोधिन् “श्यामी! तिमी होइन श्यामी! तिम्री साथीले सबैलाई छोडेर टाढा गई! किन गई? किन यो घटना घट्यो? भन श्यामी ! तिमीलाई त थाहा छ अवस्य, किन श्यामी!”

हो त! किन? किन यो घटना घट्यो? किन सन्जू मरी? किन अचानक? किन कहिल्यै मलाई केही भनिन? सानो सानो कुरा देखि सुदुर भबिस्यको कुरा गर्थी मसँग उसले, किन यही कुरो भनिन? सबैले हाम्रो मित्रता माथि इर्श्या गर्थे के सन्जूले हाम्रो मित्रता माथि विस्वास गरिन? यती क्रुर र अन्तिम निर्णय गर्नु अघी किन उसले मलाई, उस्को जीवनको सबैभन्दा नजिकको प्यारी साथीलाई केही भनिन? मैले कुनै दिन जिस्केर बिहे गर्छुभन्दा कति भावुक हुँदै रोएकी थिई कि म उसलाई छोड्दैछु भनेर, तर आज! त्यति टाढा गई, कहिल्यै नफर्किने गरी! मलाई एक्लै छोडेर? मैले सँधै सोच्थेँ हामी दुई बिच केही कुरो लुकेको छैन, तर उसले त्यस्तो सोचेको थीइन? के थियो कारण? किन मलाई पनि भनिन?

किन? किन? भन्दै म फेरि अचेत भएछु र यसपाली मलाई नजिकैको प्राथमिक उपचार चौकीमा लगेछन साथीहरूले । निक्कै बेर पछि होशमा आएपछि मलाई मेरो घरमा पुर्याइदिए ।

त्यसपछि सबैले त्यही एउटा प्रश्न सोधेर मलाई हैरान बनाउथे । “श्यामी! तिमीलाई त थाहाछ त्यो कारण, किन भन्दिनौ ?”

शिक्षक, साथी, परिवार, आफन्त सबैको आँखामा एउटै प्रश्न हुन्थ्यो मेरो सामु “किन? किन गरी सन्जूले त्यस्तो ?”‘ सबैले यही सोचेकि मलाई थाहा छ, मसँग त उसले अवस्य आफ्ना समस्या दु:ख बाँडी होली । तर अफसोश ! म आँफै अनभिग्य थिएँ । त्यो प्रश्नको जवाफ कहिल्यै कसैले जान्न नसक्ने गरी सन्जूले आफ्नै साथ्मा जलाएर लगिसकेकी थिई । हाम्रो छोटो समयमै अप्र्त्याशित मौलाएको मित्रताको कारण म माथिको सबैको त्यो प्रश्न जायज पनि थियो । मैले लाख पटक भनेँ कि म जान्दिन तर कसैले विश्वास गरेन । कसैले भने यो कति कप्टी केटी हो! चिसी! अब ऊ ता मरिसकी, त्यो कारणभन्दा के हुन्थ्यो ?” कोही भन्थे “साथीलाई दिएको वचन निभाएको होली!” तर सोच्न चाँही सबैले त्यही सोचेकि म जान्दथेँ त्यो किन को कारण । त्यसपछि अतिनै भएपछि म मान्छे देख्नासाथ तर्केर हिँड्न थालेँ । कैयन रातरात म अनिदो रहेँ । भोकै त कति बसेँ बसेँ । यती पीडा त मैले बाबा गुमाउदा पनि भोगिन कि!उस्को मृत्‍युले म एकाँकी मात्र भइनकी सबैको आँखामा एउटी चिसो मनकी कपटी पनि बनेँ । हरपल म हावासँग, आकाशसँग, शुन्यसँग सोधिरहन्थेँ “किन? किन त्यस्तो गरिस सन्जू? हेर! म आज कति एक्लो छु, मैले हाँस्न भुलेँ तँ नहुँदा । कसरी सबैका ध्यान खिच्नेगरी हाँस्थ्यौँ हामी, के थियो त्यस्तो समाधान ननिस्किने समस्या जसको लागि तैले चुपचाप जीवन चढाइस? किन सन्जू किन ?”

पुरै क्लासका विद्यार्थीहरूले युनिफर्मको कालो पेन्ट लगाउँदा उसैको रहरमा हामी दुइले मात्र कालो स्कर्ट लगाउने गर्थ्यौँ, उसको बिदाइ पछि मैले कहिले त्यो कालो स्कर्ट फर्केर पनि आजसम्म हेरेको छैन । त्यही “किन ?” दिमागमा घुमिरहँदा अगेनुमा हात घुसेको पत्तो नपाउँदा झन्डै सदाको लागि मैले हात गुमाइन, त्यही तर्कनामा एकदिन एउटा गोडामा लेडिज चप्पल र अर्कोमा जेन्स चप्पल लगाएर कलेज समेत पुगें । मेरै परिवार समेत डराए कि म अब पागल हुन्छु भनेर । तर सन्जूले मबाट, दुनियाँबाट टाढा जाँदा त्यो भयानक कारण आँफैसँग लगी । र मलाई सिर्फ त्यो “किन ?” प्रश्न छोडेर गई । जसको जवाफ मैले अब कहिल्यै पाउन सक्नेछैन ।

आज पुरा १० बर्ष हुन लाग्यो । सन्जू मसँग छैन तर उसको याद, ती मिठा क्षणहरू, त्यो कालो भयानक आँधीको दिन, त्यो सदाको लागि अत्यन्त क्रुर बिछोड, त्यसपछिका अन्त्यहीन बिरह र बेदनाका दिनहरू सबै सबै मेरो मन र मस्तिस्कबाट हट्न सकेको छैन ।

अँझै पनि एकान्तको अवस्थामा त्यो २०५७ मंसिर २३ गते शुक्रबार बिहान १०:३० बजे कलेजको गेटबाट हल्लिँदै भागेका उस्का प्यारा हातहरू र उस्को मन भित्र त्यो बेला गुम्सिरहेको उक्त भयानक घटनाको कारण अनि, सदा सदाको लागि मलाई छोडेर गएकी त्यही प्रश्न “किन” अनुत्तरित बनेर मेरो आँखामा मनमा आइरहन्छ, बस् अनुत्तरित प्रश्न…. ।

दीप्स शाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *