Skip to content

थारु संगीतमा प्रेम र समर्पण


अरी कहासेन सिरिजल चकियाक पिह्रिया
अरी कहासेन सिरिजल चकियाक खुटिया

विवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा ‘माँगर’ भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय ऋतुअनुसारका लोकभाका र संगीतमा रम्ने गर्छन्। वसन्त ऋतुलाई ‘रोमान्स’को ऋतु मानिन्छ। यो बेला रोमान्सका गीत गाउने चलन छ।

गुरुङ र मगर समुदायमा रोधी गाएजस्तै थारु गाउँमा ‘सजना’ गाउने चलन रहेको थारु लेखक तथा संस्कृतकर्मी सुशील चौधरीले बताए। उनी भन्छन्, ‘वसन्त ऋतुमा नयाँ पालुवा पलाएसँगै सजना गाएर थारु समुदायका युवायुवती मनका भावना पोख्छन्।’ सजनाको अर्थ ‘प्रेमिका’ हो।

बारा, पर्सा र रौतहटका थारु गाउँमा श्रीपञ्चमीको दिन ‘समत’ गाड्ने चलन छ। समतले ‘यौनिकता’लाई दर्साउँछ। समत गाडेसँगै त्यहाँका युवाले यौनसम्बन्धी कुरा गर्ने, गीत गाउने छुट पाउँछन्। यो क्रम फागु पूर्णिमासम्म चल्छ।

फागु पूर्णिमामा पूर्वदेखि पश्चिम तराइसम्म ‘होरी’ गाउने चलन छ। पूर्वका जिल्लामा तीन दिनसम्म होरी गाइन्छ भने कञ्चनपुरमा एक महिनासम्म होरी गाउने चलन रहेको सुशील चौधरीले बताए।

होरी गीतले युवायुवतीको भावलाई दर्शाउने थारु साहित्यकार हृदयनारायण चौधरीले बताए।

असारमा रोपाइँ सुरु हुन्छ। रोपाइँमा पनि पूर्व र पश्चिम तराईका थारु समुदायमा छुट्टाछुट्टै लोकभाका गाउने चलन छ।

एउटै व्यक्तिको तीन–चार ठाउँमा खेत हुन्छ र रोपाइँ पनि तीन–चारचोटि नै गर्नुपर्छ। अन्तिम खेतको रोपाइँलाई ‘नियारी’ भनिन्छ। नियारीमा रोपाहारले गीत गाउनैपर्छ। पश्चिम तराईका थारु गाउँमा पनि रोपाइँका क्रममा गीत गाउने चलन रहेको अर्का संस्कृतिविद अशोक थारुले बताए। कृष्ण जन्माष्टमीमा ‘अष्टिमकी’ गाउने चलन छ। पश्चिम नेपालको थारु बस्तीका युवायुवतीले राधा–कृष्णको प्रसंग जोडेर गीत गाउँछन्। पूर्वी तराईमा चाहिँ अष्टिमकी नभनिए पनि राधा–कृष्णको प्रसंगमा गीत गाउने चलन छ।

अष्टिमकीपछि थारु समुदायमा ‘सख्या’ नाचिन्छ। यो नाच असोज–कात्तिक अर्थात् दसैंका बेला नाचिन्छ। अष्टिमकीमा गाइने भाकासँग मिले पनि सख्या नाचको छुट्टै महत्व छ। दसैंको आगमनसँगै थारु गाउँका युवायुवती मादलको तालमा सख्या नाच्ने गर्छन्। यो क्रम दसैंभरिरहने सुशील चौधरीले बताए। उनका अनुसार यो नाच राष्ट्रियस्तरमै लोकप्रिय मानिन्छ।

थारुहरू नयाँ वर्ष (माघी)सँगै ‘मघौटा’ नाच्ने गर्छन्। उमेरअनुसारको समूहमा नाचिने ‘मघौटा’मा बुढाबुढी, अधवैंसे, युवा सबै सहभागी हुन्छन्। उनीहरू मादल, झाली र कस्तारलगायत बाजा पनि प्रयोग गर्छन्।

थारु समुदायको अर्को प्रचलित नाच ‘बडका नाच’ हो। नयाँ आर्थिक वर्षसँगै पश्चिम थारु गाउँमा ‘गुरुबा’ राख्ने चलन छ। तिनै गुरुबाले गाउँलाई

विपदबाट बच्न ‘बडका नाच’ नचाउने गर्छन्।

यो नाच पनि विशेषतः दसैं–तिहारमै नाचिन्छ।

माघी आउनुअघि अर्को प्रचलित नाच ‘डफ’ अर्थात् ढुमरु नाच्ने चलन छ। यो नाचले शिव र पार्वतीको प्रेम प्रसंगलाई उजागर गर्छ। यो नाचमा प्रेम र समर्पणको भाव देख्न सकिने सुशील चौधरीको कथन छ। यो बेला ‘मैना’ गीतसमेत गाइन्छ।

थारु समुदायको साँस्कृतिक नाचमा मादल, डमरु, झाली, कातर, तबला, मुमुरा, घोङ्गना, घुङ्गरु, थपोटी, ढोलक, टिम्की, पिङ्ग्री आदि बाजा प्रयोग गर्छन्।

कुनै बेला थारु लोकसंगीत सुन्न पाहुनाको ओइरो लाग्थ्यो। पाहुनाको सत्कारमा विभिन्नखाले लोकनृत्य देखाइन्थ्यो। तर, अहिले त्यस्तो छैन। बेलाबेला हुने महोत्सवमा बाहेक यी नाच पूर्णरुपले बन्द छन्। यसप्रति युवापुस्ताले चासो दिन छाडेको छ।

बुढापाकाबाट युवाले नसिकेकाले यो नृत्य लोप हुँदै गएको सुशील चौधरी बताउँछन्। ‘युवा पुस्ता परम्परागत लोक संगीतभन्दा पश्चिमा संगीतमा आकर्षित भएको छ,’ उनी भन्छन्, ‘आफ्नो संस्कृतिलाई चटक्कै बिर्सिनु राम्रो होइन।’

यही कुरासँग सहमत छन् अशोक थारु। भन्छन्, ‘थारु लोक संगीतलाई पुनर्जीवन दिन युवा पुस्ता अगाडि आउनुपर्छ।’

सरकारले मैथिली भाषा संरक्षणका लागि ‘विद्यापति’ पुरस्कार व्यवस्था गरेको छ। तराईमा बोलिनेमध्ये तेस्रो स्थानमा रहेको थारु भाषालाई पनि पुरस्कार व्यवस्था हुनुपर्ने सुशील चौधरी बताउँछन्। थारु समुदायको लोकसंगीतप्रति सरकार उदासीन भएकाले यसको संरक्षण हुन नसकेको उनले बताए।

माघी महोत्सव, जितिया महोत्सव र थारु होमस्टेले केही मात्रामा यसको प्रवर्द्धन गरे पनि पर्याप्त नरहेको उनको तर्क छ।

कछुवा गतिमा बनिरहेका थारु चलचित्रले पनि संगीत जगेर्नामा भूमिका खेलेको पाइन्छ। कमैया, गनियाके लागला, हटाइ, कुहिरो, भुइँहार, बुहाँराव जस्ता थारु फिल्ममा लोक संगीतको प्रयोग भएको छ। आधुनिक गीति एल्बमहरूमा पनि थारु लोकसंगीतको प्रयोग बढ्दो छ।

मदन चौधरी
नागरिक दैनिक
15 Feb 2014
३ फागुन, २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *