संगीतमा राष्ट्रिय पहिचानको खोजी


सांगीतिक भाषाको परिधि पहिल्याउन जति कठिन छ, यसले बोक्ने पहिचानको स्वरुप अथ्र्याउन त्यति नै जटिल । यही जटिलताले हुनुपर्छ, संगीतलाई पृथक खाले भाषाको रूपमा लिने गरिन्छ । बुझ्न सजिलो तर अमूर्तता मिसिएको भाषा । यसलाई छाम्न, देख्न नसकिने हुनाले अमूर्त । अमूर्त भएकोले अभौतिक पनि । त्यसो भनेर संगीतको ध्वनि-शृङखला पहिचान नै गर्न नमिल्ने रहस्यमात्र हो भन्नेचाहिं होइन । उसो भए, यस्तो अमूर्त र अभौतिक कुराले कसरी आफ्नो आकार ग्रहण गरेर पहिचान कायम गर्छ त ? संगीतको माधुर्यलाई हामीले छामेर, देखेर महसुस गर्न नसके पनि यसको प्रभावले हामी छोइन्छौं । संगीतले हामीलाई छुन्छ । यसरी छोइने कुराको पहिचान मानव चेतनाले नगरी रहन सक्दैन । त्यसैले संगीत विश्व भाषा हुँदाहुँदै पनि यसको ढप हुन्छ । त्यही ढप र पाराले पहिचान बोक्ने हो । हामी सबैलाई जुनसुकै ढपको संगीतले उत्तिकै प्रभावकारी ढंगले छुन्छ भन्नेचाहिं हुँदैन । छोइनु आ-आफ्नो रुचि, संस्कार र परिवेशमा भरपर्ने कुरा हो । हामीले हाम्रो रुचिअनुरुप संस्कार र परिवेशको निर्माण गरिरहेका हुन्छौं र फेरि त्यही परिवेशले हामीलाई प्रभावित पनि गरिरहेको हुन्छ । हामी जुन समाजमा हुन्छौं, त्यसले पनि आफ्नो रुचि अनुसारको चालचलन र संस्कारलाई प्राथमिकता दिइरहेको हुन्छ । व्यक्ति वा कलाकारले पनि समाजलाई प्रभावित पार्न चाहिरहेका हुन्छन् । त्यसैले समाजको स्वभावसित संगीतकर्मी र तिनका सिर्जनाको गहिरो सम्बन्ध रहेको हुन्छ । हाम्रो राज्यको केन्द्रले संगीतलाई अति सामान्य रूपमा लिइरहेको छ । सामाजिक परिवर्तनका सम्वाहक अधिकांश राजनीतिक व्यक्तित्वहरू त संगीत र कलाप्रति विगतका सामन्तजति पनि सचेत नभएको अवस्था छ । सामन्तहरूले त कला र कलाकारलाई प्रेरित गरेर आफ्नो सत्ताको शान प्रदर्शन गर्ने गर्थे । आफूलाई कलाप्रेमी शासक प्रमाणित गर्न चाहन्थे । एकबेला त्यो प्रवृत्ति संसारभर फैलिएको थियो । दरबारहरू आफ्नो बैठकमा प्रसिद्ध कलाकारका प्रस्तुति गराउन प्रतिस्पर्धा गर्थे । हुन त त्यसले कलाका माध्यमबाट सत्ता चाटुकारिता गर्ने शैलीलाई पनि हुर्कायो । तर जब सामन्तहरू सत्ताच्युत हुँदै गए, सचेत र ठूलो जनसंख्या भएका देश र त्यहाँका पुँजीपतिहरूले संगीतलाई आफ्नो ब्रान्ड, इज्जत र आर्जनसित जोड्ने बाटो खोले । हाम्रोमा भने त्यो सम्भावनातर्फ ध्यान गएन । हामी यसरी टाक्सिनुमा त्यही नयाँ सम्भावनाका ढोकातर्फ ध्यान नजानु र समाजको लगाम समातेकाहरूले संगीतलाई अनुत्पादक र हलुका मनोरञ्जनको विषयमात्र ठान्नु हो । खासमा हाम्रो बसोबास सम्भावना नै सम्भावनाले भरिएको छ । हाम्रोमा अनेकौं जातजाति छन् । तीसित सुन्दर धुनहरू छन् । तिनको शृङखलाबद्ध परम्परा छ । तिनलाई जोगाउँदै परिमार्जन गर्नेतर्फ हाम्रो ध्यान हिजो पनि गएन । आज पनि गइरहेको छैन । बरु हाम्रो तथाकथित ‘सांगीतिक मूलधार’ मुम्बईको फिल्मी व्यवसायले स्थापना गरेको बजारमुखी संगीत र अझ परबाट आयातित अनुकरणहरूमा मस्त भयो । मस्त छ । यसो हुनुमा सांगीतिक कर्म गरेर गुजारा गरिरहेका संगीतकर्मीमात्र दोषी छैनन् । किनभने सांगीतिक वातावरणको व्याख्या गर्दा सम्पूर्ण समाजको विकासक्रमलाई पनि ध्यानमा राख्नु जरुरी हुन्छ । समाज सञ्चालनको मूलनीति राजनीतिले नै मौलिक पहिचान स्थापना गर्न नसकेकोे अवस्था हाम्रो सामुन्ने छ । त्यो पनि त कतै न कतैबाट आयातित भएकै छ । त्यस्तै हाम्रा सहरी र गाउँले भवनहरूले पनि मौलिकता गुमाउँदै गएका छन् । के हाम्रा जातजाति र भूगोल अनुसारका घरबासलाई समयअनुरुप आधुनिक या अत्याधुनिक बनाउन सकिँदैनथ्यो ? हामीले त्यतातिर विरलै कुरा उठाउने गरेका छौं । कहिलेकाही ‘संसार सानो गाउँमा परिणत हुँदैछ, त्यसैले पहिचानमा अल्झनु साँघुरो सोच हो’ भन्ने गरिन्छ । यो बजारले प्रचार गरेको भ्रमबाट उब्जेको हलुका चिन्तन हो । संसार सबै सीमाबाट मुक्त भएको त छैन नि ! देश छन् । तिनका सिमाना छन् । सबैले आफ्नो पहिचानका विम्बहरू निर्माण गर्ने क्रम जारी छ । यस्तोमा संगीतले स्वःपहिचान र राष्ट्रियताको झलक दिँदैन भन्नु वास्तविकता हुँदैन । भलै संगीतले निर्माण गर्ने राष्ट्रियता राजनीतिक नाराले उछाल्ने खाले हुँदैन । सोलुको शेर्पा वाद्यवादकले बजाएको टुङ्नाको धुनमा सोलुकै सुगन्ध हुन्छ, संसारभरका श्रोताको मन छुन सोलुको कलाकारले आफ्नोपारा फेर्नुपर्छ भन्ने पनि छैन । उसको संगीत सोलुकै जस्तो भएर पनि विश्वभर परिचित हुनसक्छ । तर फेरि मौलिक संगीत सधैभरि उस्तैमात्र रहिरहनुपर्छ भन्ने पनि होइन, यो परिवर्तनशील कला हो । संगीतका परिवर्तन दुई खालले हुन्छन् । पहिलो, स्वःस्फुर्त । दोस्रो, योजनाबद्ध । स्वःस्फुर्त परिवर्तनमा सचेतना कम हुनसक्छ । यसलाई धेरैजसो बजारले निर्देशित गर्ने सम्भावना हुन्छ । किनभने बजारले चल्ने र बिक्ने कुरालाई प्राथमिकतामा राख्छ । त्यो नै बजारको धर्म पनि हो । राष्ट्रिय पहिचानलाई प्राथमिकतामा राख्नु बजारको बाध्यताको विषय होइन । यो नेपालमा मात्र होइन, संसारभर चल्दैरहेको कुरा हो । सिर्जनशील संगीतलाई योजनाबद्ध परिवर्तनको पहल गर्नु सचेत राष्ट्रको धर्म हो । कलाको चेतना फैलाउन मस्तिष्कको ढोका ठिक्क र मनको ढोका बढी खुल्नु जरुरी हुन्छ । तर हाम्रो वर्तमान भने मनको ढोका ढप्काएर बसेको अवस्थामा छ । यस्तोमा योजनाबद्ध परिवर्तन गर्नु निकै कठिन हुन्छ । यसका निम्ति चाहिने पहिलो शक्ति सकारात्मक सोच नै हो । त्यो सोच सबैभन्दा पहिले नीति निर्मातामा उब्जनुपर्‍यो । संगीत अनुत्पादक र रमझमको विषयमात्र हो भन्ने गलत सोचलाई परिवर्तन गर्नुपर्‍यो । संगीतले राष्ट्रको आकर्षणलाई उज्यालो पार्छ र उज्यालो कहिल्यै अनुत्पादनशील हुँदैन ।

सिर्जनशील संगीतलाई उत्पादनशील बनाउनका निम्ति यसको पहिचानलाई मौलिकताले सजाउनु जरुरी हुन्छ । हाम्रोजस्तो जातीय विभिन्नता रहेको देशमा स्थानीय पहिचानले ठूलो महत्त्व राख्छ । त्यसलाई स्थानीय रूपमै संरक्षण गर्नु पहिलो कर्तव्य हो । कतिले संरक्षणको अर्थ दूरदराजमा रहेका सांगीतिक परम्परालाई मिडियामा पुर्‍याएर प्रचार गर्ने भन्ने बुझेका हुन्छन् र कतिले तिनलाई रेकर्ड गरेर अभिलेखालयमा थन्काउने भन्ने बुझेका हुन्छन् । ठिकै हो । त्यसबाट भविष्यलाई फाइदा हुन्छ । तर स्थानीय संगीतलाई संरक्षण गर्नु भनेको तिनलाई त्यही माटोमा हुर्कने वातावरण तयार गर्नु हो । उदाहरणका निम्ति- हामीले कास्कीका गाइनेको सांगीतिक परम्परालाई संरक्षण गर्नका निम्ति तिनले आफ्नो भौगोलिक परिवेश छोड्नुपर्ने अवस्थाको अन्त्य गर्न सक्नुपर्छ । जन्मजात संगीतको आराधना गर्ने गाइनेहरूले स्थानीय स्तरमै सानो वाद्य समूह -च्याम्बर अर्केष्ट्रा) निर्माण गर्ने वातावरण बनाउने हो भने पर्यटन नगरी पोखरा माछापुच्छ्रे र तालको मात्र होइन, ‘गन्धर्व अर्केष्ट्रा’को सहर भनेर पनि चिनिन सक्छ । पर्यटकहरू चाहे बाह्य हुन् या आन्तरिक, नदीनाला, हिमाल र पहाड हेर्नमात्र निस्केका हुँदैनन् । ती त मान्छेका सीप र कला हेर्न, बुझ्न, सिक्न पनि निस्केका हुन्छन् । त्यसैले देशका धेरै भूभागमा स्थानीय विशेषताहरूसित जोड्दै ससाना ‘अर्केष्ट्रा’ निर्माण गर्ने हो भने ती क्षेत्र थप आकर्षक हुनेछन् । हामीले देशभर योजनाबद्ध तरिकाले यसलाई एउटा अभियानको रूपमा अगाडि बढाउने हो भने हाम्रो संगीतले स्वतः राष्ट्रिय पहिचानको बाटो समात्नेछ । यसरी योजनाबद्ध तयार पारिएको राष्ट्रव्यापी संगीतले एकआपसको स्वरुप र शैलीमा अन्तरसम्बन्ध कायम गर्नेछन् र नेपालको संगीतले नयाँ र आकर्षक रूप धारण गर्नेछ । यसले राष्ट्रियतालाई भावनात्मक रूपले बलियो बनाउनेछ । राष्ट्रियता बलियो बनाउने कला कसरी अनुत्पादक हुनसक्छ ?

(लेखक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव हुन् ।)

http://www.kantipuronline.com/np/2069/11/10/full-story/363033.html#sthash.K6iZIFr6.dpuf

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *