‘चितवनका कवि र कविता’ कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न

20130928_SharanAansu_01


संरक्षण कविता आन्दोलन कविताको माध्यमबाट संरक्षण चेतना अभिवृद्धि गराउने नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । आफ्ना सर्वकालिक र सार्वभौमिक उद्देश्यहरूका कारणहरूले यो आन्दोलन कुनै समय, सन्दर्भ र स्थान विशेषमा सीमित छैन अनि कुनै उद्देश्य पूर्ति भए पछि टुंगिने भाषिक अभियानहरूभन्दा यो पृथक छ र वीजको आन्दोलन माटोमा चले झैं निरन्तर चलिरहने यो आन्दोलन कुनै वाद या परिवेश र परिस्थितिको आयतनमा अटाउँदैन।

कविहरूले कुनै ठाउँको विम्वहरूलाई टिपेर कविता लेखेपछि त्यो कविताको प्रथम पाठक या श्रोता हुने अधिकार पनि त्यही ठाउँको मानिसमा नै रहन्छ भन्ने यथार्थबोधका साथ कविताका माला उनेर तदस्थानीय मानिसहरूलाई नै पहिर्याइ जीवन र जगतप्रतिको अस्तित्वबोध गर्दै ‘जीवनका लागि संरक्षण र संरक्षणका लागि जीवन’ भन्ने उद्घोषका साथ आन्दोलनका प्रणेता सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्ताङ को मुक्तिनाथ स्थित रानीपौवा भन्ने ठाउँमा पाँच सूत्रीय घोषणा पत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपाङ बस्तीहरूमा पुगेर कविता यात्राको ५७ वटा शृंखलाहरू पार गरेको छ र हालै यसको ५७ औ शृंखला चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको सौराहामा सम्पन्न भएको छ ।

संरक्षण कविता आन्दोलनको यो शृंखलाको अघिल्लो दिन अर्थात २०७० असौज ४ गते शुक्रबार नारायणगढ स्थित रामेश्वर पुस्तकालयको सभाकक्षमा प्रमुख अतिथि कवि सरुभक्तद्वारा चरैवेति साहित्यिक त्रैमासिक पत्रिकाद्वारा प्रकाशित ‘चितवनका कवि र कविता’ कृतिको लोकार्पण तथा विशेषत पोखराका कविहरूको कविता वाचन कार्यक्रम पनि सम्पन्न भएको छ । ‘चितवनका कवि र कविता’मा ७८ जना कविका परिचय, कविता सम्बन्धि धारणा र केही प्रतिनीधि कविता संग्रहित छन् । यस कृतिको भूमिकामा डा. लक्ष्मणप्रसाद गौतमले लेख्नु भएको छ – ”ऐतिहासिक मूल्यका दृष्टिले यस कृतिको महत्व विशिष्ट देखिन्छ । चितवनका यति धेरै कविहरूलाई एकै ठाउँमा राखेर यति ठुलो कृति प्रकाशन गर्नु महत्वपुर्ण कुरा हो । यस किसिमको बृहत कविता संग्रह प्रकाशनका दृष्टिले यस कृतिले चितवनमा प्रथम हुने अधिकार राख्दछ। नारायणी अंचलकै इतिहासमा पनि यो पहिलो हो । परिमाणात्मक मूल्यका दृष्टिले पनि यति धेरै कवि र तिनका कविताको समाविष्टि तथा आयामगत विस्तार यसका प्राप्ति हुन् ।”३ जना अतिथि कविहरू तथा ७५ जना समकालीन कविका कविता संग्रहित एवं एल.वि. क्षेत्री, भूपिन, सुरेन्द्र अस्तफल, रमेश प्रभात र बालकृष्ण थपलियाको कवि समूहद्वारा सम्पादित यो कृति चितवनको कविताको समग्र अनुहार देखिने ऐना बनेको छ ।

चरैवेतिको निम्तोसित जोडिन आएको यो यात्रा पनि अत्यन्त रोचक रह्यो । असौज ४ गते शुक्रबार पोखराबाट सरुभक्त दाइको साथमा गएका आन्दोलन कविहरूको स्वागतार्थ नारायणगढ पुल्चोकमा कवि भूपिन, निमेष निखिल ,सुरेन्द्र अस्तफल, रमेश प्रभात र प्रभाकर पण्डित उपस्थित हुनुहुन्थ्यो । केही समय पछि काठमाडौंबाट कवि तथा निवन्धकार दाजु रोशन शेरचन पनि आइपुग्नु भो’ र खानापश्चात हामी लाग्यौं – रामेश्वर पुस्तकालयको सभाकक्षमा । चितवनका मानक श्रष्टा, सम्मानित व्यक्तित्व तथा साहित्यिक श्रीवृद्धिमा लागि परेका विद्यार्थीहरूले भरिएको उक्त कक्षमा पोखरा र हेटौंडाका कविहरूको समेत उपस्थिति थपिएपछि करिव ३ बजे कार्यक्रमको शुभारम्भ गरियो । कवि एल. वि. क्षेत्रीको सभापतित्वका साथ कवि सुरेन्द्र अस्तफलले संचालन गर्नु भएको ‘चितवनका कवि र कविता ‘लोकार्पण तथा कविता वाचन कार्यक्रममा कवि भूपिनले स्वागत मन्तव्य राख्दै उक्त कृति चितवनको समग्र कविताको इतिहास र यसको शक्ति अनि सीमाको जानकारी प्राप्त गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भो’ । त्यसपछि कार्यक्रमका प्रमुख अतिथि कवि सरुभक्तले कृतिको लोकार्पण गर्नु भो’ र लोकार्पित कृति उपर डा. डि. आर. पोख्रेल तथा कवि निमेष निखिलले आ आफ्ना समालोचकीय मन्तव्य राख्नु भयो । कवि प्रेम बिनोद नन्दन, रोशन शेरचन तथा गौतम बिजुक्छेको विशेष उपस्थितिरहेको उक्त कार्यक्रम पश्चात कविता वाचनको शृंखला सुरु भयो र अन्त्यमा कवि बालकृष्ण थपलियाले धन्यवाद ज्ञापन गर्नु भयो । यस शृंखला अन्तर्गत कवि सरुभक्तका साथै पोखराबाट आउनु भएका आन्दोलन कविहरू सरस्वती प्रतीक्षा, ईश्वरमणि अधिकारी, दीपक समीप, जीवन सगर भण्डारी,सुरेश रानाभाट,प्रकाश ज्ञवाली, डा.वसन्त गौतम, फडिन्द्र अकिञ्चन, अल्पज्ञानी र शरण आँसु अनि हेटौंडाका कवि निमेष निखिल र चितवनका कवि प्रेम बिनोद नन्दन लगायतका कविहरू तथा कवि रोशन शेरचनले आआफ्ना कविता वाचनगर्नु हुँदा सभाकक्ष नै स्निग्ध र कवितामय बनेको प्रतित भयो ।

यस ऐतिहासिक कार्यक्रम पश्चात साँझ एक हुल आन्दोलन कविहरू कैलाशनगर, कविडाँडास्थित कवि एल. वि. क्षेत्रीज्यूको घरमा आइपुगियो । वहाँ र वहाँको परिवारबाट प्रदत्त विशिष्ट आतिथ्य सत्कारले रमाएका कविहरूको माहोल अत्यन्त मोहक थियो । यो माहोलमा सबैले मुक्तक, गजल र कविताहरू सुनाउनु भयो र संरक्षण कविता आन्दोलनका विशिष्टता औ यसको अभिलेखीकरण, विस्तार र भावी कार्यक्रमका बारेमा गहन छलफल भए । अत्यन्त सुमधुर र कवितामय भयो त्यो रात अनि आन्दोलन कविहरूको रातो सपना ।

भोलि पल्ट अर्थात असौज ५ गते शनिबार, संरक्षण कविता आन्दोलनको ५७ औं शृंखलाको कार्यक्रमका लागि बिहान ७;३० बजे नै हामी सौराहास्थित जंगल सफारी होटेलमा पुगियो । होटलका संचालक तथा कवि सुमन घिमिरेको प्रेमपूर्ण सत्कार र कार्यक्रम स्थलको पूर्ण तयारी एवं त्यस क्षेत्रका मानक जनसमुदाय र कविहरूको बाक्लो उपस्थितिले हामीलाई गौरवान्वित तुल्यायो । बिहानको खाजापछि डेढ घण्टासम्म कोही राप्तीको किनारमा, कोही होटेलको चौरमा, कोही कोठामा, कोही हरिया वनको विचमा यत्रतत्र छरिएर कविहरूद्वारा कविता लेखिए । अनि खाना पश्चात ११;३० बजेतिर कार्यक्रम सुरु भयो ।

संरक्षण कविता आन्दोलनकै एक जना संस्थापक कवि भूपिनद्वारा संचालित ५७ औं शृंखलाका सभापति हुनुहुन्थ्यो कवि सुमन घिमिरे । मन्चमा आसिन हुनुहुन्थ्यो – संरक्षण कविता आन्दोलनका परिकल्पनाकार र प्रणेता सरुभक्त, कवि एल. वि. क्षेत्री, गजलकार धनराज गिरी र पर्यटनकर्मी रामचन्द्र अधिकारी । मन्चको अगाडि विशिष्ट कवि, समालोचक, प्राध्यापक,साहित्यकार एवं स्थानीय भद्र,महिला र सज्जनबृन्द तथा अन्दोलन कविहरू उपस्थित हुनुहुन्थ्यो । आसन ग्रहणहरू पश्चात आन्दोलनका संयोजक सरुभक्तले स्वागत मन्तव्यका साथ संरक्षण कविता आन्दोलनको इतिहासको सिंहावलोकन गर्दै ‘जीवन र जगतको संरक्षणका लागि कविताको औचित्य ‘ माथि प्रकाश पार्नुभयो । वहाँले भन्नुभयो -” कविता त आँफै संरक्षित छ, हामी कविताको माध्यमबाट शृष्टिको सहअस्तित्वमा रहेका पृथ्वी अनि पृथ्वीवासीको संरक्षण गर्न चाहन्छौं । यो आन्दोलन कुनै वाद या आयातित सिद्धान्तहरूबाट प्रभावित नभई अनवरत चलिरहने मौलिक आन्दोलन हो ।”

यस शृंखलामा आन्दोलन कविहरू सरुभक्त, सरस्वती प्रतीक्षा,रोशन शेरचन, भूपिन, ईश्वरमणि अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, शरण आँसु, डा. वसन्त गौतम, जीवन सागर भण्डारी, दीपक समीप, सुमनराज श्रेष्ठ, रमेश प्रभात र अल्पज्ञानी लगायत कार्यक्रममा सरिक ५० जना कविहरूले आआफ्ना कविता वाचन गर्नु भएको थियो र कवि साम्व ढकाल, निमेष निखिल, प्रेमबिनोद नन्दन, एल वि क्षेत्री, बालकृष्ण थपलिया, गोविन्द राज विनोदी, आर आर चौलागाईं, संगीत आयाम, धनराज गिरी, सुरेन्द्र अस्तफल, प्रभाकर पण्डित,बिष्णु तिवारी उषा, शान्ति शर्मा, रमेश सायन, धनेश्वर भट्टराई, एक नारायण ढकाल, ईश्वर कंडेल,मुक्त उदास, रामकृष्ण पौडेल ‘अनायास’,हरिहर सविता,जेनन नेपाल, सिर्जन अविरल, खनाल रेवतीरमण, बटुक लाल तामाङ, सि एम रिमाल, उमेश तिमील्सिना, सुवास खनाल, सुमन घिमिरे, विश्व सुबेदी, रिम जि सि लगायतका कविहरूको बेजोड प्रस्तुतिरहेको यस शृंखलाको कार्यक्रमले संरक्षण कविता आन्दोलनलाई थप विशिष्टता प्रदान गर्यो ।

कवि लेखकहरूले साटे- शुभकामना र शुभ अपेक्षा । कार्यक्रम सकियो । सबै आआफ्नो गन्तव्यतिर प्रस्थान गरे। साँच्चै भन्ने हो भने पीडामय थियो – एक्लै एक्लै फर्कनु तर सबै कविहरूको गन्तव्य साझा थियो – जीवनका लागि संरक्षण र संरक्षणका लागि जीवन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *