एउटा निबन्ध छ, एउटा फुच्चेले लेखेको। जापानका प्रसिद्ध उपन्यासकार सिगा नायोयाको नातिले लेखेको निबन्धको शीर्षक छ, ‘मेरो कुकुर’।

नायोयाले नातिको निबन्धको राम्रा राम्रो बुँदालाई टिपोट गर्दै त्यहाँको नाम चलेको एउटा साहित्यिक पत्रिकामा प्रकाशन गरे- मेरो कुकुरले बिरालोको अनुहार देखाउँछ, ऊ स्यालजस्तो पनि देखिन्छ र त्यसरी नै दौडिन्छ। मेरो कुकुर भालुजस्तो पनि देखिन्छ, ब्वाँसोजस्तो पनि देखिन्छ।

कथासँगसँगै कुकुरका अनेक विशेष चरित्र पनि बयानमा अघि बढ्छ, एक अन्य जनावरसित तुलना गर्दै यो कथा जनावरको साम्राज्यमा रहेका अन्य प्राणीसित तुलना हुँदै अघि बढ्छ। जब यो निबन्ध अन्त्यमा पुग्छ, यस्तो पंक्ति कोरेको पाइन्छ- तर यो अन्तमा यो कुकुर नै हो, ऊ कुकुरजस्तै देखिनुपर्छ। यो निबन्ध पत्रिकामा छापिँदा हाँसो र चर्चा निकै चलेको थियो।

यो निबन्ध पढेपछि ओस्कार विजेता चलचित्रकर्मी आकिरा कुरोसावाले खुब सराहना गर्दै भनेका थिए, ‘म सम्झिन्छु जब यो निबन्ध छापियो, म खुब हाँसेको थिएँ। तर, यो हाँसोभित्र पनि गम्भीर बुँदा बन्छ, सिनेमाका बारेमा। सिनेमा के हो भनेर मलाई धेरैले सोध्छन्, म त्यति बेला यही निबन्ध सम्झिन्छु। सिनेमाले कतिपय अरू कलाको प्रतिनिधित्व गर्छ। यदि सिनेमासित अत्यन्त साहित्यिक गुण छ भन्ने मान्ने हो भने यसभित्र रंगकर्मीय धरातल पनि प्रशस्त छन्। दार्शनिकी पक्ष घना छ। चित्रकलाको पनि आफ्नै भावभूमि छ। वास्तुकला, मूर्तिकला, काष्ठकला, संगीत अनेकानेक छन् तर सिनेमा अन्तत: सिनेमा नै हो। त्यो कुकुर भनिएजस्तै।’

आकिरा कुरोसावा
कुरोसावाले जीवनमा धेरै चलचित्र बनाए, साहित्यलाई आत्मसात् गरेर। उनले रियोनोसुके आकुतागावाको कथामा रासोमोन बनाएर एसियाली भूमिको पहिचान दिलाए पचास दशकपूर्व नै। उनको चलचित्रले ल्याएको परिवर्तनपछि एसियाबाट सत्यजित रे, ऋत्विक घटक, मृणाल सेन देखा परे।

कुरोसावाको सन् १९५४ मा बनेको सेभेन सामुराई चलचित्रको त हलिउडले म्याग्निफिसेन्ट सेभेन नामबाट स्वीकृतिसहित पुनर्निर्माण पनि गर्‍यो। यही सिनेमा हलिउडपछि बलिउडमा पनि बन्यो। कुरोसावा पुनरुक्ति भइरहे।

सन् १९१० मा पुरानो सामुराई परिवारमा जन्मेका कुरोसावाले अन्तर्राष्ट्रिय बजारमा एसियाली चलचित्रको मुहार नै फेरिदिए। उनी सिनेमामा कला पक्षमा जति जोड दिन्थे, त्यति नै मर्मान्तक रूपमा साहित्यलाई पनि सम्हाल्थे। उनले सदैव एउटै कुरामा जोड दिए, साहित्यिक समन्वयमा। कुरोसावाको यो क्षमता अतुलनीय थियो। यसअघि वा यही समयमा इटालीका भिटेरियो डे-सिका देखा परे।

भिटेरियो डे-सिकाको पनि बलियो पक्ष साहित्य नै थियो। उनी नवयथार्थवादी धारका निर्देशक थिए, उनी रंगमञ्चीय संरचना तोडेर सिनेमा जीवन र दर्शन हुनुपर्छ तर प्राविधिक बनोटमा होइन भन्थे।

उनको र कुरोसावाको सिनेमाबाट प्रभावित भएर सन् १९५५ मा भारतको कोलकाताबाट सत्यजित रे देखा परे। भिटेरियो डे-सिकाको सिनेमा हेरेर प्रभावित भएका सत्यजित रेले डे-सिकाको सिनेमा ‘द बाइसाइकल थिप्स’ हेरेपछिको आफ्नो अनुभव र अनुभूति यसरी बाँडेका थिए, ‘सिनेमा हेरेर निस्केपछि मैले निधो गरेँ, अब म फिल्मकार नै बन्छु।’

भिटेरियो डे-सिकाको यही सिनेमाबाट रेको जीवन बदलियो। उनले पनि स्वदेश फर्केर आएलगत्तै सिनेमा निर्माणको सोच बनाए जसमा उनले छाने, बंगाली भाषाका चर्चित उपन्यासकार विभूतिविभूषण बन्द्योपाध्यायको कालजयी कृति ‘पाथेर पाञ्चाली’।

भिटेरियो डे-सिका

भिटेरियो डे-सिका
साहित्यिक कृतिमा भारतमा यसअघि पनि सिनेमा नबनेका होइनन् तर रेले छानेको यो कृति फरक धारको थियो, निर्माणको दृष्टिले। पुँजीको अभावले रोकिँदै तन्किँदै बन्दै गरेको ‘पाथेर पाञ्चाली’ सत्यजित रेको पहिलोमात्र होइन, अनुभवको आधारमा अत्यन्त श्रात शैलीको सिनेमा थियो तर उनले यसमा कमाल गरे।

सिनेमा सार्वजनिकीकरण हुनेबित्तिकै चर्चापरिचर्चा सुरु भइहाल्यो। यसको पहिलो व्यापक प्रचारप्रसार रेले आफूले मानेका निर्देशकले नै गरिदिए जसमध्ये एक उदाहरण थिए, जापानी फिल्मकार कुरोसावा। कुरोसावाले ‘पाथेर पाञ्चाली’ हेरेपछि यसो भने, ‘म कहिल्यै पनि बिर्सन सक्तिनँ यो सिनेमाको अन्तिम रूप हेरेपछि मेरो मस्तिष्कमा कस्तो उद्वेलन भयो भनेर। भन्ने कुरै थिएन।’

यो साँचो कुरा पनि हो ‘पाथेर पाञ्चाली’को कथा, त्यसमा पात्रको लय विधान अनि व्यापक रूपमा गरिएको अनुसन्धानात्मक कार्य। रविशंकरको संगीत। कथा सुहाउँदो लोकेसनको छनोट। सारा कुराले सिनेमालाई सघाएको थियो। अप्पु, दुर्गा, हरिहर र उनकी पत्नी सर्वजयाको भूमिकामाथि फरकफरक शैलीको संगीत।

दुर्गाको देहान्त हुँदा तारसहनाईको उच्चउच्च अझै उच्च वादनले दर्शकलाई भयभीत र त्रसित बनाउँछ। यसका कारण पण्डित रविशंकरको संगीत लोकप्रियमात्र भएन, अमिट नै बन्न पुग्यो सिनेमामा।

यो सिनेमाको प्रदर्शनपछि सत्यजित रेले पाएको अन्तर्राष्ट्रिय छवि र सम्मानले बलिउडको कायाकल्पलाई पनि साहित्यिक कृतिको निकट पु:यायो। यसपछि बलिउडमा भी शान्ताराम, विमल राय, गुरुदत्त पनि साहित्यिक कृतिप्रति विस्तारै आकर्षित देखिए।

सत्यजित रेले पनि यसपछि विभूतिविभूषण बन्द्योपाध्यायकै कृतिमा अपूर संसार, अपराजितो आदि बनाए।

सत्यजित रे
पचास दशकको मध्यदेखि नब्बे दशकसम्म सत्यजित रेले जति पनि सिनेमा बनाए, ती सबैजसो साहित्यिक कृतिमा आधारित सिनेमा थिए र भाषागत रूपले सबै बंगाली थिए। जब उनी हिन्दी सिनेमामा पदार्पण गरे, त्यति बेला पनि उनले साहित्यिक कृतिमा नै सिनेमा बनाए। त्यो थियो, प्रेमचन्दकृत शतरञ्ज के खिलाडी।

यो सिनेमा पनि विविध कारणले चर्चित रह्यो।

रेकै बाटोमा बंगाली फिल्म निर्देशक मृणाल सेन देखा परे। उनले पनि प्रेमचन्द, प्रेमेन्द्र मित्र, समरेश बसुका कृतिमा सिनेमा बनाए। यी र यस्ता सिनेमामा निर्देशकसित साहित्यिक पृष्ठभूमि भएका व्यक्तित्व हुनु महत्त्वपूर्ण थियो। अर्का बंगालीभाषी फिल्म निर्देशक विमल रायको हरेक महत्त्वपूर्ण फिल्ममा साहित्यकार नवेन्दु घोष उनका सहयोगी वा लेखकका रूपमा आबद्ध हुनु एउटा सौभाग्य नै थियो।

नेपालमा पनि साहित्यिक कृतिमाथि सिनेमा बन्ने प्रचलन हीरासिंह खत्रीको ‘परिवर्तन’देखि सुरु भयो। जनार्दन समको चेतना नामक नाटकमा आधारित परिवर्तनपछि धेरै अन्य सिनेमा साहित्यिक कृतिमाथि नै बने पनि त्यसमा साहित्यिक तत्त्व नै नाश भएको मानिएको छ। सिन्दूर, जीवनरेखा र कुमारी यसका ज्वलन्त उदाहरण हुन्।

तीसको दशकको अन्त्यमा अभिनेता नीर शाहले ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’माथि ‘वासुदेव’ बनाएर नयाँ भंगिमा दिए तर यो सफल साबित हुन सकेन। व्यापारिक घराना चौधरी परिवारको प्रत्यक्ष संलग्नतामा बनेको यो सिनेमा घाटाको व्यापार भयो। यसपछि चौधरी परिवार सिने व्यवसायप्रति आकर्षित भएन।

हारुकी मुराकामी
बसाइँ, मुनामदन, बलिदान, जारजस्ता सिनेमा चर्चा र सन्दर्भका आधारमा साहित्यिक मानिए पनि यिनले स्तम्भ बनाउन सकेनन्। यसका केही मूलभूत समस्यामा प्रमुख बाधक कारण हो- साहित्यिक कृतिलाई व्यावसायिक धार दिनु।

यसरी धेरै कृति मारिएका छन्। अहिले चर्चामा रहेको ‘झोला’ यस प्रसंगमा लेखक धरावासी स्वयंले सफल मानेका छन् तर यसको अन्य द्वारदरवेश खुल्नै बाँकी छ।

साहित्यिक कृतिमा सिनेमा बनाउनु आफैंमा ठूलो चुनौती हो र फेरि लेखकका निम्ति यो स्वीकार्य हुनु जरुरी पनि छ। नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध उपन्यासकार गार्बिएल गार्सिया मार्खेजको चर्चित कृति ‘हन्ड्रेड इयर्स अफ सोलिच्युड’लाई फिल्मीकरण गर्न स्वीकृति मागियो।

उनले अस्वीकार गरे। उनले भने, ‘आज जब मेरा पाठक मेरो पुस्तक पढ्छन् त हरेक पात्र या घटनालाई आफ्नो व्यक्तिगत अनुभवको माध्यमबाट अर्थ लगाउँछन्। त्यो कुनै सामान्य ढर्रामा बाँधिएको छैन। मेरा हरेक पाठकभित्र मेरो उपन्यासको हरेक पात्रको अलग विम्ब छन्। मेरा सबै पाठकले मेरो उपन्यासमाथि आफ्नै फिल्म बनाएका छन् वा बनाउनेछन्। म त्यो अधिकार कुनै सिनेमायी प्रविधिभित्र खुम्चिएर खोसिएको हेर्न सक्दिनँ।’

कठिन तर कठिनतम मानिने यो विधामा सिनेमाका निम्ति साहित्य चुनौती पनि हो तर सदैव साहित्यको सहारामा सिनेमा टिक्न वा बिक्न पनि गाह्रो छ। सिनेमा सबै कलाको समाविष्ट कला भएको हुनाले यसले सबै बनोट, छनोट र बनावटलाई चुन्नु जरुरी छ।

नीर शाह
विश्वका कैयन् राम्राराम्रा निर्देशक अझै पनि साहित्यिक कृतिमाथि सिनेमा बनाइरहेका छन्। कतिले बनाएर आफ्नो भाषा, साहित्य र गाथालाई अमर बनाएका छन्। पोल्यान्डका रोमन पोलोन्स्की, स्विडेनका फेडरिको फेलिनी, इँगमार बर्गमान, चीनका झाँग यिमाउ, जापानका मिचोगुची, ओझु यसका पर्याप्त उदाहरण हुन् तर अन्तत: प्रश्न एउटै छ- के त्यसले कृतिले बनाएको रेकर्ड तोड्न सक्छ?

प्रश्न यथावत् छ। हालैका दिनमा जापानका प्रसिद्ध उपन्यासकार हारुकी मुराकामीले उपन्यास नर्वेजियन उडमाथि बनेको फिल्मलाई सार्वजनिक प्रदर्शनी गर्नबाट रोक लगाए र उनले दुई वर्षपछि त्यस सिनेमालाई प्रदर्शन गर्न स्वीकृति दिँदा सिनेमामा यसको बजार शिथिल भइसकेको थियो।

सिनेमामा पाठक वा दर्शकको पुस्तक पढ्दा जस्तो एकल सहभागिता हुन गाह्रो छ, ऊ सिनेमा हेर्दै गर्दा अरू दर्शकसँगै समवेतमा रमाउँदै हाँस्दै वा विमति जनाउँदै हेरिरहेको हुन्छ।

सिनेमामा उसको उपस्थिति गणतन्त्रात्मक हुन्छ, ऊ पूर्णत: सरिक हुन्छ तर मास अपिलको आधारमा। यही निर्मित माललाई बजारले जसरी स्वीकार्छ, त्यसैलाई हिट वा फ्लपको भाषामा हेर्छ अन्यथा यो अरू उत्पादनजस्तै कुना च्यापेर बस्छ। कुरोसावाले भनेजस्तै सिनेमा अन्तत: सम्पूर्ण रूपमा सिनेमा नै हो।

अन्नपूर्ण पोष्‍ट
२०७० फागुन १७, शनिबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *