Skip to content


पोहोर साल घरबाट आउँदा
साथीले कोशेली ल्याएर
तिमीलाई दिएको देश
यसपाला तिमीले नि
कसैलाई दिएर जाऊ है
किनकि देशबाट विदेश जाँदा
देश कोशेली लाने हो
विदेशबाट देश जाँदा
देश कोशेली लाने हैन

देशमा देश छैन साथी
सबै देश विदेशमा छन्
देशमा जनता छैनन्
सबै जनता विदेशमा छन्
देशमा त केवल नेता छन्
देशमा त केवल नेताका दास छन्
अनि तिनीहरूसँगै
विदेशमा रहेका
देशका आफन्त छन्
जो आफू जनता भएको
रतिभर विश्वास गर्दैनन्
जो आफू देशमा भएको
रतिभर अनुभूति गर्दैनन्
त्यसैले,
जहाँ तिमी फर्कंदै छौ
त्यहाँ देश छैन
त्यहाँ मात्र तिम्रो देशप्रेम छ
र जहाँबाट तिमी जाँदैछौ
त्यहाँ तिमीले थाहै नपाई
देश छोडेर जाँदैछौ

उता देश लानु पनि हुन्न साथी
किनकि,
घरदेशमा देश लुटिइरहेको छ
देश बलात्कृत भइरहेको छ
देश शोषित र शासित भइरहेको छ
अनि देश दिन प्रतिदिन
आफूलाई खुम्च्याएर
विदेशमा रहेका देशहरूलाई
चुनौती दिइरहेको छ
त्यसैले
यदि सक्छौ बचाउन भने
देश लैजाऊ तिमी
यदि सक्छौ हँसाउन भने
देश लैजाऊ तिमी
यदि दिन सक्छौ माया भने
देश लैजाऊ तिमी
हैनभने
छाडिदेऊ देशलाई विदेशमै
र जाऊ तिमीमात्र
आफ्नो देश विनाको घर

इन्द्रमणि नेपाल
दोहा, कतार

1 thought on “देश छाडेर जाऊ”

  1. ”देशमा जनता छैनन्
    सबै जनता

    ”देशमा जनता छैनन्
    सबै जनता विदेशमा छन्
    देशमा त केवल नेता छन्
    देशमा त केवल नेताका दास छन् ” Yo asatya kura ho
    je lekhe pani hunchha ra kabitama ????

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *