काउन्टरको रसिद बुक


यस्ता कर्मचारी थिए उनी जो जीवनभरि एकै कार्यालयमा निवृत्त हुनु पर्ने नियति बोकेको होस्, जो कसैको चाकरी नगरी, बेइमानी नगरी र सादा जीवनमा जीवनलाई भोगचलन गरिरहेको होस् । जुनसुकै इमान्दार कर्मचारीका अनुहारमा देखिएझैं उनका अनुहारमा पनि दुःखी र निम्छरोपन देखिन्थ्यो । दारी पनि हतपत काट्दैनथे, लुगा पनि मैलाधैला लाउँथे । सधैं हतार हतार गरेर कार्यालयमा जानु पर्दा सफासुघरमा उति वास्ता गर्दैनथे । वास्ता हुन्थ्यो उनलाई समयमा कार्यालयमा पुग्ने । सधैं झैं उनी समयमा कार्यालयमा आइपुग्थे र नयाँ रसिदका केही बुक र ग्राहकको नाम भएका केही ठेली लिएर लाग्थे काउन्टरतिर । अफिसका बाहिर महसुल बुझाउन आएका ग्राहकको घुँइचो लाग्नु अघि नै उनी काउन्टरको टेबुलमा तयारी भएर बस्थे । उनको दैनिकी नै यही थियो ।
यसरी नेपाल खाने पानी संस्थानको कुनै कार्यालयको काउन्टरमा नै उनको जीवनको उत्तराद्र्ध शुरु भएको थियो । यही काम रसिद काट्दाकाट्तै त्यहींबाट निवृत्त हुन लागेका अमुक कर्मचारीलाई यहाँ उनी भनेर सम्बोधन गर्न लागिएको छ । उनको यो भन्दा बढी अर्काे परिचय अहिले नगरुँ । यसैले यहाँ उनी भन्नाले माथिको बेहोराबमोजिमका कार्यालयका परिधिमा जीवनभरि बुढिएका र अहिले यहाँ चर्चा गर्न लागिएका दामोदर मास्टरसाहेबलाई बुझ्नु पर्छ । तर कार्यकालमा जीवनभरि एकै स्थानमा निवृत्त हुन लागेका कतिपय व्यक्तिहरु अरु पनि हुन सक्लान् । ती सबैलाई उनी र उनीजस्तैको हिसाबमा राखेर वा त्यही भनेर बुझ्न नसकिएला, उहाँ भन्नु पर्ला वा ऊ पनि भन्नु पर्ला । यहाँ भने उनी भन्दा दामोदर मास्टरसाहेबलाई नै बुझ्नुपर्छ । हो, अहिले विषय वा प्रसङ्गले अर्काे अर्थ नलगाऊँ र यो उनीभित्र दामोदर मास्टरसाहेबलाई नै बुझिराखौं । यति उति भनेर वर्ष नतोकौं, तर उनी निकै वर्षदेखि खाने पानी संस्थानको महसुल बुझ्नका लािग खोलिएको काउन्टरमा रसिद काट्ने फाँटमा रसिद काट्ने काममा लागेका छन् लागेका छन् । उनको इमानदारिता नै उनलाई एकै ठाउँमा थुपरिनका लािग अजबको वस्तु बनेको छ । यसै ठाउँमा रहेर काम गर्ने उनी भन्दा अघि अरु पनि धेरै थिए । यो कुरा पिउनले सुनाएको हो उनलाई । पिउनले सुनाए बमोजिम निकै जनाले रसिद काटेका थिए अरे दामोदरकै ठाउँमा बसेर । तर ती कता पुगे कता ! कसैले कुम्लो पारे महिनाभरिको रसिद काटेको पैसा, कसैले दिक्क मानेर शाखा सरुवाको बाटो लिए, कसैले भने लोकसेवा पास गरेर घुस कुम्ल्याउने ठाउँको बाटो तताए । उनले पिउनबाट सुनिएका अरु धेरै कुराहरु पनि थाहा पाएका छन् । थाहा पाएर के भयो र ? दामोदर ता अहिले यसै काउन्टरबाट रिटायर्डको बेलामा आइपुग्न लागेका न छन् । यहींका यहीं छन् । अब ता रसिद काट्न पनि कम्प्युटरबाट पाइने भो भन्ने उनलाई अलिकति खुसी पनि छ । तर त्यसको सुविधा पाइहालेका छैनन् । सायद त्यो सुविधा पाउने बेलासम्ममा उनी रिटायर्ड भइसक्लान् ।
महसुल बुझाउनेको धुइरो थियो । उनी बडो नियमित रुपमा सबैलाई पङ्क्तिबद्ध भएर नगद भुक्तान गर्न सल्लाह पनि दिन्छन् । अनि काममा लाग्छन् बडो अनुशासनका साथ ।
आजको धुइरो केही कम भइसकेको थियो । आज ता पैसा पनि सधैं भन्दा चौगुना उठेको थियो । निकै जनाले पुरानो बक्यौता र फाइनसमेत गरी ठुलो रकम तिरेका थिए । तीन लाख रुप्या भन्दा पनि बढी उठिसकेको थियो । अहिले बैंक दाखिला गर्ने बेला अलिक भइसकेको थिएन । दुई बज्न अझै केही समय थियो । घुइँचो कम भएको मौका पारेर उनलाई पिउनले चिया ल्याइदियो । अनि बिनाबिथ्थामा गनगनाउन थाल्यो—“तपाईंको इमान्दारिता नै तपाईंको उन्नतिको बाधक बन्यो मास्साप !” चिया खाएको बेला पारेर आज पनि भन्यो पिउनले उनलाई । अस्ति कता हो कुनै दिन पनि यसै भनेको थियो त्यसले दामोदरलाई ।
“तिमीले यही पैसा कुम्ल्याएर चम्पट कस्ने सल्लाह दिएको कि के ? अब के गरौं त ? म पनि चोर्न थालूूँ ? कि कसैको घर फोर्न थालूँ ?” अलिक झोकिएर भने तिनले ।
“आ मैले त्यसो भन्या काँ हो र मास्साप पनि !”
“अस्ति कुनै दिन पनि मलाई तिमी यसै भन्थ्यौ । आज पनि यसै भन्दै छौ । होइन यो के भन्या हँ तिमीले ? के मेरो इमान्दारितालाई मैले छाड्नु पर्ने कुरा ग¥या हो ? कि यही काउन्टरको जम्मा भएको पैसा लिएर चम्पट कस भनेको हो तिमीले मलाई ? हँ ?” पिउनसँग अझै झोकिए दामोदर मास्टरसाहेब । यत्तिकैमा बाहिर अर्काे ग्राहक पानीको महसुल बुझाउन आयो । उनी लागे रसिद काट्नतिर । पिउन लाग्यो अर्काेतिर । पिउनको प्रतिक्रिया उनले सुन्न भ्याएनन् ।
ग्राहकले निकै ठूलो रकम ति¥यो । अनि ऊ आफैं गनगन ग¥यो— पानी दिन सक्या होइनन् चोरहरुले, हावा मात्र पठाउँछन् धारामा । तैपनि तिर्नै प¥यो …..मेलम्ची भन्छन् चोट्टाहरु, तिनले घुस खाने बाटो ता हो नि…….
रसिदको बुक चलाउँदा चलाउँदा यी दामोदरता ता रसिदको प्याड जस्ता मात्र भइसकेका छन् । कुनै प्रतिक्रिया दिन नजान्ने ? उनका कानमा यी सबै कुराहरु पस्छन् मात्र । कुनै प्रतिक्रिया उनबाट हुन्न । प्रतिक्रिया के हुनु उनको घरमा पनि पानीको थोपो आउँदैन । खाली बिल बुुझाउनु त छ ! उनी मनमनै सोच्छन् र काममा लागिरहन्छन् । बाहिरको मान्छेको कुराको उत्तर वा कपी गर्न सक्तैनन् यद्यपि उनी कार्बन कपी राखेर रसिदको कपी गर्न भने कहिल्यै पनि बिर्संदैनन् ।
महसुल तिर्ने समय सकियो । पैसा गने, एक्लै । उनी यसै गर्छन् । जोसुकैलाई विश्वासै गर्दैनन् । तर आज के भयो कुन्नि काटिएको रसिदको बिटोमा र पैसामा गन्दा ठ्याक्कै एक हजार तीन सय पचहत्तर रुपियाँ पुगेन । अनि उनी तिलमिलाए । फेरि गने, फेरि गने, अझै गने । अहँ पैसा पुगेन । के भयो ? कसकोमा छुट्यो । कता गडबड भयो ? कसले पैसा कम दियो ? उनका मनमा अनन्त खुल्दुली चले । टेबुलको ओरिपरि, बसेको कुर्सी मुनि र कोठै भरि छ्यानब्यान गरे । आफ्नो गोजी छामे, चिटचिट पसिना आयो । पैसा नपुगेकै हो । अब के गर्ने ? उनी बडो अप्ठेरो अवस्थामा परे । कम भएपछि ता जिम्मेवारी उनैको हो । उनैले बुझाउनु पर्छ । बढी हुने ता कुरै भएन, कमै मात्र हुन्छ । कहिले सय, दुईसय, कहिले पचास साठी, आज ता हजारभन्दा माथि नै कम हुन गयो । अब के गर्ने ? उनको मनभरि खुल्दुली मचियो । एक गिलास चियाको पैसा पनि उनी अपचलन गर्दैनन् । तर आज यो कसरी भयो ? मनभरि पिरै पिर बोकेर भएजति पैसा जम्मा गर्ने र बाँकी भोलि गोजीबाट जम्मा गर्ने निधोमा पुगे । तर उनको मन सारै बिग्रियो ।
गरुङ्गो मन लिएर उनी अफिसबाट निस्किए । कसैसँग नबोली नजिकको बैंकमा लगेर अपुरो पैसा दाखिला गर्ने काम गरे र नपुग रकम आप्mनो थाप्लामा रहने गरी मिलाए । अघिपछि बडो सजिलैसित उनले यो काम गर्ने गर्थे तर आज उनलाई यो काम गर्न बडो बोझ लागेर आयो । गोजीमा पैसा भए नपुग पैसाको भरपाइ आजै गरिहाल्ने विचारले एकपटक ता खल्ती पनि छामे । खल्तीमा ता साँझ सागसब्जी किनेर लानलाई र बस भाडाका लागि राखिएको चानचुन तीन सय रुप्या मात्र रहेछ । के सकुन् त्यत्रो रुपियाँ भरपाइ गर्न ?
साँझतिर झोलामा केही तरकारी, अलिकति फलहरु र केही खाद्य सामग्री लिएर घर पुगे बडो मलिन मुद्रामा ।
‘आज किन ढिलो भयो ?” सोधिन् पत्नीले ।
“हँ……..” उत्तर दिन सकेनन् ।
“किन ढिलो भयो भनेर सोधेको मैले ।” फेरि सोधिन् ।
“खै किन किन ।” उनले जवाफ दिन चाहेनन् । अन्यमनष्क भएर उनी लुगा फेर्न लागे ।
अब भोलिदेखि जान्न अफिससफिस, के जानु, हर्जाना तिर्न, सर्धै तिरेको छ तिरेको छ । कति मात्र तिर्ने हँ, उनी आफैंसँग भित्रभित्रै झोकिए । तर अफिस नगए कता जाऊन् त ? के छ र उनको जीविकाको बाटो ? उनले सम्झे अघि दिउसो उनका पिउनले भनेको जस्तो काम गर्न सकिएनछ । बरु गर्नु नै पो पर्ने रैछ त्यस्तै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “काउन्टरको रसिद बुक”

  1. एकै साग्री दुइृ पटक परेकोमा
    एकै साग्री दुइृ पटक परेकोमा क्षमा चाहन्छु सम्पादकजीसँग । अनि मेरो फोटो पनि मिलाएर अपलाैड गिरिदनुभए कति राम्रो हुने थियाे । अरु सबैको फोटो देखिन्छ मेरो भने शून्य । दुइ पटक पर्नु मैले नजानेर पनि होला भन्छु । राम्रोसँग यसमा पोष्ठ गर्न पनि जानेको छैन । सिकाइदिनु भए अाभारी हुने थिएँ ।

  2. तस्बीर दिनुहोस्, राखिहाल्नेछु
    तस्बीर दिनुहोस्, राखिहाल्नेछु । मेलमा पठाए हुन्छ ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *