कोही मलाई देखेर दङ्ग पर्छन्
अनि भन्छन्
आहा ! कविता ।
कोही
मुन्टो बटारेर भन्छन्,
ओठ लेप्र्याएर भन्छन्
उफ् ! कविता ।
म चित्त दुखाउँदिन ।
म दुःखीहरूको आँसुमा बगेकी हुन्छु
म सुखीहरूको हाँसोमा रमेकी हुन्छु
म मायाको सागरमा तैरेकी हुन्छु
म बिछोडको वेदनामा तड्पेकी हुन्छु ।
मलाई त्यसले मात्र बुझछ
जसले
आँसु बगाएको छ
हाँसो घन्काएको छ
घृणा पिएको छ
मायामा हराएको छ
बिछोडमा छटपटाएको छ ।
मलाई अलिकति पनि पीर छैन
मलाई नबुझनेहरूसँग गुनासो छैन ।
अचानोको पीर खुकुरीले जान्दैन ।।
