एउटा तुलनाः थुप्रेको र मेरो जिन्दगीका माझ


कुरा थाल्नु अघि अलिकति परिचयको खाँचो पर्न सक्छ । म भनेको एक सादा जीवन बाँचेको मान्छे हुँ । नेपालीको औसतमा पढेलेखेको र सरकारी सेवाको प्रथमश्रेणी सरहको सेवामा जीवनका साठी वर्ष बिताउन लाग्दै गरेको व्यक्ति हुँ । अब केही वर्ष मात्र छ अवकास पाउन । यी मेरो जिन्दगीका साठी वर्ष कुनै नकाम गरेर बितेनन् । सादा दिनचर्या, कर्मप्रति एकनिष्ठा, जागिरप्रति वफादारी, परिवारप्र्रति जिम्मेवारी, छोराछोरीको पढाइ लेखाइमा सजगता, भ्रष्टाचारको नामै नलिने लगभग निस्कलङ्क । मेरो जिन्दगी यस्तै छ । यी मेरा कुरामा कसैलाई पत्यार नलागे मेरो घर हेरे भइहाल्छ । मेरो लवाइ, खवाइ हेरे पनि भइहाल्छ । मेरो पारिवारिक स्थिति सहजताका साथ बुझिन्छ । मेरा जिन्दगीका यी साठी वर्षहरु कम से कम अखाद्य नखाई, अन्याय र अत्याचार तथा अनैतिकता र भ्रष्टाचार नगरी वा बेइमानी नगरी बिते । यही वाक्य भन्दा माथिको वाक्यले कहेका कुराहरु अर्थात् अन्याय गरेर एक छाक, एक रात र एक घन्टा पनि नबिताइकन मैले यो उमेर पारें । अरुलाई सोधे पनि मेरा बारेमा यिनै बेहोरा मिल्छन् । अरुले पनि मलाई त्यस्तै भन्दछन् । कडा एक वचन कसैलाई बोलें कि मलाई केही छिनपछि आफैं पछुतो हुनथाल्छ । बढी पिरो खाएँ भने पेटको बिरामीले बितिन्छ होला भन्ने डर पर्छ । बढी चिसो खाएँ भने रुघाखोकीले सताउने त्रास जन्मन्छ । बिहानै उठेर चिसो पानी खान्छु, हलुको हुन्छु । कथम् सानो तिनो बिरामी परे अतालिन्छु । सानो काम गर्न सक्तिनँ सास बढेर आउँछ । सानो कुराले पनि मनै भरि त्रासले ढाक्छ । सही शिक्षादीक्षा दिन नसकिएला, सही रुपमा खानपान गराउन नसकिएला र उचित भरण पोषण गर्न नसकिएला भनेर मैले छोराछोरी पाउनमा नै कटौती गरें । पत्नीको आग्रह रहँदा रहँदै पनि दुई सन्तानको परिवारको सीमामा रहन बाध्य भएँ । छोराछोरीहरुमाथि कुनै अनिष्ट नआइपरोस् भनेर सधैं अदृश्य शक्तिको प्रार्थना गरिरहन्छु । पत्नीको स्वास्थ्य ठिक रहोस् भनेर सधैं सतर्क हुन्छु । अनि आफू पनि सकेसम्म कुनै कुराको अतलवितल नपारीकन समयको गतिलाई अघि बढाइरहन्छु । सधैं सतर्क, सधैं अनुशासन र सधैं तलमाथि नपारी जीवन धानिरहन्छु । यो भयो मेरो परिचय । अर्थात् अनुशासनको कडा पगरी गुतेर चलेको मेरो जीवनको परिचय ।

उता थुप्रे छ । मेरो छिमेकी । ऊ र म उही उमेरका छौं । ऊ निरक्षर छ, उसकी पत्नी छे, छोरा छोरी हुर्किए । साँच्चै भन्ने हो भने उसले आफ्ना छोराछोरीको संख्या बताउन सक्तैन । अर्थात् उसले सात आठ भन्दा माथिको संख्या जानेकै छैन । ऊ आफू अलमस्त छ । बिहानै उठेर तातो पानी पिउनुपर्ने सिद्धान्त मेरो छ । तर उता थुप्रे भने मैले पानी खाने मौकामा एक गिलास सादा ठर्रा पिउँछ । केही नमिसाइकन । अनि कामको खोजीमा लाग्छ । अर्काको घरघर चहार्छ । बिहान उठेर पहिले एक गिलास खरो पानी लाउन पाएन भने उसको शरीरले कामै गर्दैन । कसैले बिहानै काममा बोलायो भने ऊ प्रस्टसँग भन्दछ—“इन्जिनमा पेट्रोल लगाएको छैन, अलिकति पहिले पेस्की दिनुहोस्, पेट्रोल हालेपछि मात्र गाडी चल्छ ।”

ऊ बडो रमाइलो प्रकृतिको मान्छे छ । वास्तवमा ऊ रमाइलो पनि गर्छ । उसका भनाइअनुसार रक्सी भनेको खरो पानी हो, पेट्रोल हो, जिउ तताउने सलाइन वाटर हो । यो चिज पाएन भने ऊ थरथर कामेर लडुँला झै गर्छं । जब खरो पानी खायो अनि उसमा जिन्दगीको स्वाद जागेर आउँछ । मिठा मिठा गीत गाएर आनन्दित हुन्छ । बडो ठट्टा गर्छ, उधुमैसँग जिस्किन्छ । पाउनुपर्ने ज्याला भन्दा पनि बढी ऊ कमाउँछ । काम लगाउनेहरु उसको रमाइलो देखेर सन्तुष्ट हुँदै उसको ज्याला थपिदिन्छन् । अझ भर्खरका तरुनीहरु देख्यो कि तिनलाई नाचेर दङ्ग पार्छ । अन्तिममा माग्छ— “अलिकति खरो पानी खाऊँ न साहेबनी ।” कतै र सकैको पनि उसलाई डर त्रास वा लाज सरम छैन । मरिने डर उसबाट कता भाग्छ कता ? उसलाई न भय छ, न चिन्ता छ, न सुखसयलको चाह छ न काम नपाइएला कि भन्ने सुर्ता छ । न जीवनदेखि न त मृत्युदेखि नै उसलाई डर छ, न उसलाई मानसिक पिर र केही विषयको चिन्ता छ, न सोक छ न सुर्ता छ ।

भर्खरैको कुरा हो, सहन सक्ने भन्दा निकै नै बढी खरो पानी खाइदिएछ, यसै कारण उसले रगतै बान्ता गरेछ । उसकी स्वास्नीले सारै गाली गरिछे, छोराछोरीहरुले खरो पानी अचाक्ली गरेकोमा सारै हपारेछन् । यसैको परिणाम उसले केही दिन खरो पानी छोडेको बुझियो । अस्पताल गएर औषधि खाएपछि ऊ केही दिनमा तङ्ग्रियो । तङ्ग्रिएपछि पनि उसको स्वभाव यथावत् छ । उसको स्वभावमा कुनै परिवर्तन छैन ।

“मरिन्छ त खाएर मरिन्छ, अस्ति रगत छादेको बखत पनि लुकीलुकी खरो पानी मैले खान्थ्यो । अब त हाकाहाकी खान्छ ।” ऊ उद्घोष गर्छ । उसको यो उच्च जीवन दर्शन छ । तर मलाई भने उसले बान्ता गरेको कुराबाटै एक प्रकारको त्रास पैदा भएको छ ।

मेरो र थुप्रेको जीवनबारे अब म सम्झन थालेको छु, तुलना गर्न थालेको छु । म पढेलेखेको मान्छे । नियम र अबदबमा बसेको मान्छे । खाने र नखाने कुराको छ्यानब्यान गरेर खाने मान्छे । मात्रामा तलबितल नपारी खाने र समयमा नियमपूर्वक शौच गर्नुपर्ने मान्छे । टायममा दिसा लागेन भने चाहिन्छ मलाई नानाभाँतीका चूर्णहरु । समयमा निद्रा लागेन भने मैले औषधि सेवन गर्नुपर्छ । अजीर्ण हुने डर, भोको परिने त्रास, मधुमेह, रक्तचाप, ज्वरो लगायतका रोगहरुले दिमाग सडाइसकेको छ । तर थुप्रेमा यो सबै कुरा मरुभूमिको पानी जस्ता छन् तर मलाई भने चारैतिरबाट त्रासैत्रास छ । थुप्रे आनन्दको जीवन बिताइरहेको छ । कतै रोगका कीटाणुले छोलान् भनेर बाहिर हिंड्दा मुखमा बुजो लगाएर हिंड्नुपर्छ मैले । रुघा लागे तुरुन्त डाक्टरको शरण पर्नुपर्छ मैले । खानामा लाउनेमा बोल्ने लवजमा सधैं तलमाथि पो होला कि भन्ने भयले मलाई टोकसिरहन्छ । यसबाट म अनुभव गरिहेको छु, आज मलाई यी नानाभाँतीका अनुशासन र तलबितलका बन्धनका बिचमा बाँच्न निकै कठिन परिरहेको छ । अनुशासन र पहरेजका बीचमा बस्ताबस्ता वाक्क भएको छु । रुटिनका ख्याकले मलाईं तर्साइरहन्छ, दिक्क भएको छु । वास्तवमा मलाई यही थुप्रेजस्तो जिन्दगी बाँच्न पाएको भए कति असल हुने थियो भन्ने लागिरहन्छ ? उसको जीवनको मिठास मानिसले कहाँ पाउने ? यही थुप्रेको जस्तो जीवन बिताउन पाएको भए कति सन्तोक लाग्ने थियो भन्ने लागिरहन्छ । पढ्नु र लेख्नु अनि जीवनबारे संसारबारे जान्नु भनेको महामूर्खको काम रहेछ भन्ने लागिरहेको छ । लेख पढ गरेर ज्ञानगुनका कुराहरु जानेपछि त्रास जन्मदो रहेछ । मलाई अलिकति कतै पेट दुख्यो भने डाक्टरको ढोका कुर्नुपर्छ । लुगा मैलो धैलो भयो भने मैले घरबाट निस्कनुहुन्न । आज भोलि ता क्रिज लगाएको प्यान्ट लगाउनु पर्छ । सकिन्छ भने अत्तर छर्किएर महकाउँदै मैल समाजमा देखिनुपर्छ । सेतो भएको कपाललाई कालो नपारी बाहिर निस्कन मलाई पहरेज लागेको छ । थुप्रेको कपाल एउटा पनि सेतो भएको छैन । म सधैं तलबितल होला कि भनेर त्राहित्राहि छु । तर थुप्रेलाई के हो क्रिज, के हो अत्तर, के हो अनुशासन, के हो पथ पहरेज, के हो कपाल रगाँउने विधि केही थाहा छैन । उसलाई न सोक छ सुर्ता छ । थुप्रेले न कुनै डाक्टरको नाम लिन्छ न उसले रगत बान्ता गर्दा समेत डाक्टरका सल्लाहको पर्बाह गर्छ । उसको परिवारका सबै सदस्यहरु छठ माताको वर्त बस्छन्, ऊ ठर्रा पिउँछ र गीत गाएर नाच्न थाल्छ । भर अभरमा मेरो घरमा काम गर्न सधैं थुप्रे नै आउँछ, चिया दियो भने ऊ खान मान्दैन, उनसालई चियाको कुनै अर्थ छैन । कुनै दिन भात खान पनि दिेन मन लाग्छ । अनि भात खान दियो उसको अकै तर्क हुन्छ । “मलाई भात किन चाहियो ? बरु मलाई खरो पानी खान देऊ न !” वास्तवमा उसको खरो पानीले ऊ बडो आनन्दित भएर संसारको रापतापबाट पर कतै रहेर जीवनको आनन्द भोग गरिरहेको हुन्छ । हरेक कुरामा उसको आग्रह बेलै प्रकृतिको हुन्छ । यही थुप्रेको जस्तो भए पनि ता हुने नि मेरो जिन्दगी । बरु खरो पानी नै खाएर भए पनि जीवनमा केही ता सन्तुष्टिको सास फेरिँदो हो ।

अब ता मलाई जिन्दगीको कहालीलाग्दो अवस्थादेखि वाक्कब्याक्क् लाग्ने थालेको छ । अझै आज लाग्न थालेको छ, थुक्क बेर्थैमा पढिएछ, पढेपछि बुझिने रहेछ नानाभाँतीका कुराहरु । कता कुन कुरा राम्रो, कता कुन कुरा नराम्रो, के गर्ने हुने, गर्नु नहुने । कुन कुराले स्वास्थ्यलाई हानी गर्छ, कुन कुराले स्वास्थ्यलाई लाभ पु¥याउँछ भन्ने जस्ता कुराको ज्ञान भएकाले आज पाइलापाइला होसियारीका साथ चाल्नु परिरहेको छ । बरु नपढेको भए, टोलटोल चहार्ने साँढे जस्तो वा यही थुप्रे जत्तिकै भएको भए पनि ता सधैको सन्त्रास भयबाट ता मुक्त भइने रहेछ ! यो जीवनलाई पीडा, कष्ट र भविष्यबोधको समस्या एवम् अनुशासनको खाडलबाट जोगाइने रहेछ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *