मानिसको चित्त चञ्चल हुन्छ । यो चञ्चले चित्त स्थिर रहन मान्दैन । यो चञ्चल मात्र हुने होइन, अशुद्ध पनि हुन्छ । त्यसैले यसको शुद्धिकरणको निमित्त हामी प्रार्थना पनि गर्नेगछौँ । यो चञ्चल किन हुन्छ ? हामीलाई थाहा छैन । मनोवैज्ञानिकहरू भन्छन्— स्वाभाविक प्रकृया हो । ‘हुन्छ’। ‘किन चञ्चल हुन्छ ?’ प्रष्ट उत्तर पाइँदैन । दार्शनिकहरू भन्छन्—चञ्चले चित्तलाई नियञ्त्रण गर्नु पर्दछ । यसलाई स्वतन्त्र र छाडा छोडी दिन हुँदैन । यसले आदर्शतिर शंकेत गर्दछ र भन्छ— ‘चञ्चलता नियञ्त्रण गर्नुपर्छ’ । तसर्थ चित्त नियञ्त्रण गर्नुपर्छ भन्ने सम्बन्धमा गरिने विचार तर्क र अभ्यास दर्शन शास्त्रको एउटा अंश हुन जान्छ ।
चित्त चञ्चल भएर के हुन्छ र ? भन्ने प्रश्न पनि उत्पन्न हुन सक्दछ । चञ्चल चित्तले मानिसलाई सकारात्मक क्रिया राम्रोसित गर्न दिँदैन । आदर्शतिर लाग्न दिँदैन । चञ्चल चित्त भनेको ब्रेक र स्टेयरिङ भाँचिएको सवारी साधन जस्तो हो । यो चालकको नियञ्त्रणमा हुँदैन । यसले सवारसाई जहाँकहीँ पनि लगेर खाल्टामा हाल्न सक्दत । चञ्चल चित्तको कारणबाट ध्वम्सात्मक प्रवृत्तिको विकास हुन्छ । मानिसले वासनालाई नै सम्पूर्ण जीवनको लक्ष ठान्दछ । त्यसैले समाजमा हत्या, हिंसा, बलात्कार, चोरी, डकैतीजस्ता असामाजिक गतिविधिको विकास हुन्छ । यो कुरा प्रतिदिन प्रकाशित हुने पत्र–पत्रिकाहरूमा भरिएका समाचारहरूले प्रमाणित गरेका छन् । चञ्चल चित्तको परिणाम स्वरूप कानूनबाट दण्डित र समाजबाट अपहेलित हुनु परिरहेको छ । कतिपय त कानूनले दण्डितहुनुभन्दा पहिले नै स्वयम् आफैलाई दण्डित गरेर आत्महत्यासम्म पनि गर्नुपर्ने अवस्थामा पुग्दछन् ।
त्यसकारणले चित्तलाई नियञ्त्रणमा राख्न आवश्यक भएको हो । तर यसलाई कसरी नियञ्त्रण गर्ने भन्ने प्रश्नको उत्तर पत्ता लगाउन सजिलो भने छैन । कुनै पनि कार्य, कारणबिना उत्पन्न हुन सक्दैन । कार्य–कारणको अभिन्न सम्बन्ध हुन्छ । तसर्थ के कारणले चित्त चञ्लल भएको हो भनेर यसको कारण पत्ता लगाउनु आवश्यक हुन आउँछ । त्यो कारणको उपचार गर्ने हो भने चित्त नियञ्त्रणमा आउन सक्दछ । त्यसरी कारणहरूको खोजी गर्दा मानिसको वासना (सामाजिक परिवेश, शिक्षा, छाडा इन्द्रीय जन्य क्रियाकलाप, पारिवारिक तथा सामाजिक संस्कार) र प्राणवायुको कारणले चित्त चञ्चल भएको हो भन्ने वैदिक दार्शनिक/साहित्यकारहरूको निष्कर्ष देखिन्छ ।
‘हेतुद्वयं हि चित्तस्य वासना च समीरणः ।
तयोर्विनष्टएकस्मिंस्तद्द्वावपि विनस्यतः ।१।’
चित्त चञ्चलताका दुई कारण वासना (पूर्वाजित संस्कार) र वायु (प्राण) हुन् । यी दुई मध्ये कुनै एक नियञ्त्रित भएमा दुवै नियञ्त्रित हुन्छन् ।
वासना र प्राणवायु पनि एक अर्कामा आधारित हुन्छन् । तसर्थ यदि वासना नियञ्त्रण हुने हो भने प्राणवायु नियञ्त्रण हुन्छ । त्यसै गरी प्राणवायु नियञ्त्रण हुने हो भने वासना पनि स्वतः नियञ्त्रण हुन्छ । किनकि यी एक–अर्कामा आश्रित छन् । यी दुवै स्वतन्त्ररूपमा सक्रिय रहन सक्दैनन् । यही कुरालाई महर्षि पतञ्जलीले पनि योगसूत्रको पहिलो सूत्रमा नै ‘योगः चित्तवृत्ति निरोध’ भनेका छन् ।
चित्तलाई कसरी नियञ्त्रण गर्ने हो भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा योग कुण्डलिनी उपनिषद्मा यसलाई नियञ्त्रण गर्ने उपाय पनि उल्लेख भएको भेटिन्छ । त्यो उपाय हो— योग । योग कुण्डलिनी उपनिषद्को पहिलो अध्यायको दोश्रो मन्त्रले यो कुरा स्पष्ट गरेको छ ।
‘मिताहारश्चासनं च शक्तिचालस्तृतीयकः’ ।२।
चित्तलाई नियन्त्रण गर्ने साधन — मिताहार, आसन, प्राणायाम र शक्तिचालिनी मुद्रा हुन् ।
योग कुण्डलिनी उपनिषद् कृष्णयजुर्वेदको एउटा अङ्ग हो । वेद अनादि र अपौरुषेय मानिन्छ । यदि वेद अनादि र अपौरुषेय मान्ने हो भने योगशास्त्र पनि अनादि र अपौरुषेय नै मान्नु पर्दछ । यो शास्त्रको प्रमुख उद्देश्य चित्तको वृत्तिलाई नियन्त्रण गरेर उसलाई आदर्श कार्यमा लगाउनु नै हो । तसर्थ प्रत्येक योग साधक दार्शनिक हो । इन्द्रीयहरूको दास होइन । यदि यिनीहरूको दास हुन्छ भने, त्यो योगी वा दार्शनिक हुन सक्दैन ।
चित्तको चञ्चलतालाई नियञ्त्रण गर्न वासनालाई नियञ्त्रण गर्नु पर्दछ । वासनालाई नियञ्त्रण गर्न प्राणवायुलाई नियञ्त्रण गर्नु पर्दछ । प्राणवायु मिताहार, आसन, प्राणायाम र शक्तिचालिनी मुद्राको प्रयोगबाट नियञ्त्रण हुन्छ । अथार्त् योगाभ्यासबाट नै चित्तको वृत्ति नियञ्त्रित भएर स्वस्थ्य जीवन, स्वस्थ्य समाज र स्वस्थ्य राष्ट्र् बन्दछ । यही नै ‘डटपेन’ले बुझेको योगशास्त्रको निचोड हो ।
पद्मराज काफ्ले
dotpen@gmail.com
