मन्दिरका गजुरमा बस्ने परेवाहरू
एकाएक स्तब्ध भएका छन्
समान धड्किने सानो शिशुको मुटु
एकाएक असमान भएको छ

हो, एउटा भयङ्कर भूकम्प गएको छ ।

दु:ख–कष्टमा पनि चाउरिएका गाला र
थोते दाँत देखाएर
निष्पाप मुस्काउन सक्ने
हजुर बा र हजुर आमालाई
र्निममतापूर्वक
भारी दलीनले थिचेर गएको छ
हो, एउटा भयङ्कर भूकम्प गएको छ ।

यही धर्तीबाट पाएको
रातो कमेरे माटोले लिपेको
पाखाभरी सौन्दर्य छर्ने
सुन्दर घर
माटोमै मिलेको छ
भत्किएको घरसँगै
जीवनका कलात्मक स्वप्नहरू पुरिएका छन्

प्रेमका गजुरहरू
चकनाचुर भएका छन्
लाश र भग्नावशेषहरू थुपारेर
वीभत्स दृश्य बिस्कुन लगाएर
हो, एउटा भयङ्कर भूकम्प गएको छ ।

काख रित्तो पारेर
सिउँदो खाली गरेर
साना साना दुधे बालकहरू टुहुरो बनाएर
भीर–पाखा, गाउँ–शहर जगैबाट हल्लाएर
आतङ्कको बज्र आएको छ
हो, एउटा भयङ्कर भूकम्प गएको छ ।

पराई र आफन्तहरू चिनाएर
सबैलाई एउटै त्रिपालमुनि छिराएर
बाँडीचुँडी खाने
मिलीजुली बस्ने
एउटा पुरानो परम्परालाई
सम्झाइदिएर
नयाँ नेपाल बनाउँन
एउटा ढोका खोलिदिएको छ
हो, एउटा भयङ्कर भूकम्प गएको छ ।

:नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2015/05/blog-post.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *