Skip to content

टुप्पी महिमा


हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए । उनको मुठ्ठे टुप्पी देखेर कुइरेलाई अचम्म लागेछ र तीनछक पर्दै सोधिहालेछ, excuse me please what is this ?

चटपटानन्द पनि के कम, वीर गोरखालीका सन्तति, दिनको सत्र घर डुलेर खीर लप्काएका धूर्त पण्डित कस्सिएर कुइरेले घाँटीमा लगाएको टाई समाउदै This what is this ? भनेर सवाल तेर्स्याएछ ।

विचरा कुइरे वीर गोरखालीको देशमा के हो के हो डरले लुगलुग काँप्दै नम्र भएर जवाफ दिएछ, This is my neck tie!

त्यसपछि चट्पटानन्दले गर्विलो स्वरमा जवाफ दिएछन् This is my head tie!

कुइरेको जिज्ञासा पनि मेटिएछ । भय र सन्त्रासले केही पनि नभनी आफ्नो बाटो तताएछ ।

विज्ञान र प्रविधिको विकासले विश्व अग्रगतिमा फड्को मारिरहको अवस्थामा बाहुनको टुप्पी न एन्टेना न इरेल हुन्छ । महानगरको बीचमा ठीङ्ग उभिएको भीमसेन स्तम्भ अथवा धरहरा झै टाउको मण्डलको बीचमा लर्किएको टुप्पी मुसार्दै उनी गाउँ भरिका सबै घरघरमा पुग्थे । गाउँघर डुल्ने उनको दिनचर्या नै बनिसकको थियो । सबैलाई उरालधुराल पारेर यताको गफ उता, उताको गफ यता लान खप्पिस थिए । नानाभाँती उखानटुक्का जोडेर भए नभएको कुरा गर्दै मान्छेलाई मख्ख पार्न निकै निपूर्ण थिए । आधुनिक नारदभन्दा कुनै फरक नपर्ने । अरुलाई फुक्र्याउन, सुर्क्याउन, लडाउन, भीडाउन, पखाल्न, पगाल्न ज्यादै सिपालु थिए । कुन घरमा कति चौपाया छन् ? कसलाई कुन चौपायाको आवश्यकता छ । कसको के बिक्री गर्नु परेको छ । उसलाई सबै कुरा थाहा छ । कसको घरमा के पाक्दैछ, को कसले के के खान्छन् सबै नालीबेली बेलिविस्तार लगाउन सक्छन् ।

त्यति मात्र हो र वल्लो गाउँ पल्लो गाउँ तल्लो गाउँ सबैठाउँमा सबैलाई उनको चरित्र ऐना जतिकै छर्लङ्ग छ । विवाहको लगनको समयमा त उनको व्ययसाय चौपट्टै सप्रन्थ्यो तर आजकाल त थ्री एम यानकि मोवाइल, मोटरवाइक, मिनिस्कटले गर्दा तुषारापात भएको छ । आफै केटा वा केटी रोजी रोजी जोडा बाध्न थाले ।

कता फेसबुकमा च्याट गर्ने रे । मोवाइल नम्वर माग्ने गफ चुट्ने । विद्यालय वा कलेज जाने वहानामा घरबाट निस्केर डान्स रेष्टुराँतिर हुइकिने गर्छन् । तैपनि विवाह योग्य कन्या हुन थालेपछि त्यस्ता कन्याहरूको फोन नम्वर मागेर समय समयमा फोन गर्ने विवाह गर्ने भए म राम्रो वर वा वधुको व्यवस्था मिलाइदिन्छु भन्ने काम गर्न पनि पछि पदैनन् । मोटरबाइक चढ्न भनेपछि केटीहरू हुरुक्कै हुन्छन् । त्यसैले केटीहरूलाईआफतिर आकर्षित पार्न बुबा आमासँग झगडा गरेर भएपनि बाइक किन्न लगाउछन् ।

अर्को कुरा कलेजमा पढ्न जानेभन्दा पनि फेसनसोका लागि जान्छन् मिनी स्कट लगाएर । बैशले उन्मत्त भएको बेला मिनी स्कट सजिएका अप्सराहरू देख्दा केटाहरू सकेसम्म नजिकिन खोज्छन् । मायाजालमा फस्छन् ।

पण्डितको कुरामा कसैले समर्थन जनाए भने त के चाहियो र भुइमा न भाँडा झै फुरुङ्ग फुर्किएर गाउँघरमा पन्ध्र-वीस वर्षका किशोरकिशोरीहरू, तरुनी तन्नेरीहरू पण्डित बाजेको नजरमा पर्नै नहुने ल अब त जोडी खोज्नु पर्छ है बेलैमा घरजम बसाए पो त सुख पाइन्छ । बेकारमा किन यौवनका रहर लाग्दा अवस्थाहरू त्यसै खेर फाल्नु ? मौसम अनुसारको फल खान जान्नु पर्छ । प्रममा पागल भएर किन जवानीका रातहरू शून्यमा भूलाउनु ? मौका आउँछ पर्खदैन । त्यसैले मौकामा हिरा फोर्न सक्नु पर्दछ ।

कसो त नानी हो ? कसो त बाबु हो ? समयमा नै जिन्दगीका रहस्यहरू बुझ्यौ ? समयमा नै जिन्दगीका रहस्यहरू बुझ्न सक्नु पर्दछ । तब पो समयको नायक नायिका बन्न सकिन्छ । समयमा नै मोजमस्ती गर्नु पर्दछ ।

पण्डितको यस्ता भावनात्मक कुराहरू, मन बहलाउने कुरा सुन्दा कति त लाजले भुतुक्कै हुदै रातो मुख पारेर कुलेलाम ठोक्दथे । त्यसरी भाग्नेहरूलाई झन् खेदोपाइलो गरेर जिस्क्याउँथे हत्तुहैरान पार्थे । कतिपय चाहिँ रमाइलो मानेर ठट्टा गर्थे, इत्तरिन्थे, छिल्लिएका गफ गरेर उल्टै पण्डितलाई हुनसम्मको लाजसरममा पार्थे । अश्लिल शव्दहरू बोलेर भाग्न विवश बनायउथे भने कति त रीसले आगो हुदै कस्तो छिल्लिएको नकचरो काठा भन्दै सातो जानेगरी हकार्दथे । त्यसपछि आफू बाँच्न धूर्त पण्डित राम राम त्यस्तो त कहाँ भनेको हो र । खिस्स हाँसेर पछिपछि पनि भेट्दै गर्नु है भन्दै टुप्पी मुसादै सुइकच्चा ठोक्दथे ।

रवाफका साथ पण्डित चट्पटानन्दले “त्यसै टुप्पी पालेको छैन बुझ्नु भो ? कस्ता कस्तालाई त लटरपटर पारेर आफ्नो काबुमा ल्याई काम फत्ते गरिसके । जाबो फलानो त त्यसलाई त पलभरमा गलाउन सक्छु के सोच्नुभएको छ ? अँछ्यु खाँए बँछ्यु खाँए झुसे बारुलो” भन्दै मुखै च्यातिने गरी दैत्य हाँसो हाँस्दै हतारहतार टुप्पी मुसार्छन् ।

अँझ कुर्ली कुर्ली मपाइँत्व छाँट्न पछि पर्दैनन् । पण्डितको सल्लाहबेगर गाउँमा जग्गाजमिनको खरिद बिक्री हुदैन । यसरी जग्गाको मोल मिलाई दिए वापत दुवै तर्फबाट कमिसन पाउथे । छोराछोरीको विवाह गर्नु पर्यो भने पण्डित कै सल्लाह चाहिन्थ्यो । चौपाया किनबेच गर्नु पर्यो उही पण्डित कै सल्लाह चाहिने भइसकेको थियो । पण्डित सरसल्लाह नगरी सिन्को भाच्ने काम पनि हुदैन थियो । यसरी पण्डित बाजेको टुप्पीको करामतले व्यवसाय खुबै फस्टाएको छ ।

सबभन्दा कंगाल अर्थात् बिहान खाए बेलुका के खाउको अवस्थाको पण्डित बाजे आजकाल त्यस गाउँको सबभन्दा धनी भएर रवाफ र सानका साथ मीठा मीठा खानेकुराहरू खाएर डम्म मोटाएर बसेको छ । संविधानसभाको निर्वाचनले नयाँ नेपालको मार्ग त्यसरी कहाँ खुल्न सक्यो र ? तर टुप्पीको करामतले उनको जीवन आकास पाताल भएर सुधारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *