Skip to content

शुक्लाफाँटामा एकबिहान


शुक्लाफाँटा वन्यजन्तु आरक्षतर्फ जान महेन्द्रनगर विमानस्थलको छेउ पार गर्दै थियौँ, एउटा खुट्टाले साइकल अड्याउँदै हाम्रो गाडीलाई साइड दिइरहेकी एउटी षोडसीको मुस्कान छरियो हामी वरपर । धेरै दिनदेखि खुलेको आकास र उज्यालिएको अनुहार देख्न पाएको थिइनँ । तब, संरचनाले सम्पन्न लाग्ने सहरभन्दा हरिया गहुँबारीबीचका स–साना गाउँबस्ती सुन्दर लाग्यो मलाई ।

मुस्कान कसका लागि भन्ने बहस साथीहरूबीच यसरी चल्यो, त्यसले हँसिमजाकसहित सबैका मुहारमा एउटा खुसीको ज्वारभाटा नै पैदा गरिदियो । यो हँसिमजाकले अविवाहितलाई भावी जीवन साथीबारे सोच्न बाध्य बनाउनुपर्ने भन्दै अविवाहित साथीहरूलाई हेरेथेँ मैले । र, मनमनै सोचेथेँ, शायद सबैबाट यही निष्कर्ष निकालिए होला, जीवन जिउन भरपर्दो र रमाइलो साथ चाहिन्छ ।

मझगाउँस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्षको कार्यालयभित्र पुगी निमराज भट्टराईले आरक्ष डुल्ने निःशुल्क प्रवेश पास लिएर आउनुभयो । एकजना शुभेच्छुकले सम्झनुभयो । शुभेच्छुकले सम्झदा जीवनको दुरुह गोरेटो सुगम लोकमार्गमा मिसिएझैँ लाग्छ मलाई ।

जिन्दगीमा फटाहाहरूको सङ्गत खोजिएन, भ्रष्टाचारीहरूको चाकडी रोजिएन, चोरहरूको पिछलग्गु भइएन, यात्रा गर्न पाउनुलाई जीवनको एउटा अनमोल वरदान ठानिरहेछु मैले ।

असल मित्रहरू सधैँ नजिक हुन्छन् र दुःख आपतमा साथ दिन्छन् भने शत्रुहरू स्वार्थका लागि सुरूमा नजिकिए पनि अन्ततः टाढिँदै जान्छन् । ती नजिकै देखिए पनि मौका पर्दा घात गरिहाल्छन् । साथीको प्रसँग चल्दा एकजना आदरणीय गुरुले भनेको सम्झिरहन्छु सधैँ ।

फोहोर नफाल्ने, आगो नबाल्ने, क्याम्पिङ गरेको ठाउँ छोड्नु पहिले सफा गर्ने, सूर्योदयदेखि सूर्यास्तभित्र मात्र डुल्ने, छेउको बोर्डमा टाँगिएको सूचना हेर्दै गर्दा खुलेथ्यो आरक्ष गेटको तगारो ।

‘बाह्रसिङ्गे, मृग, मयुरलगायत अनेक थरिका चराहरूका लागि प्रसिद्ध छ यो आरक्ष‘ साथीहरू जानकारी दिँदै हुनुहुन्थ्यो । साल, सिसौसमेतका रुखहरूको जङ्गल र घाँसे मैदानले बनेको आरक्ष क्षेत्रमा भर्खर गुड्दै थियौँ, एउटा मयुरले बाटो काटेर घाँसभित्र लुक्यो ।

धमिराका भव्य देवल देखाउँदै कसैले भनेका थिए, ‘तपस्या गर्दा यस्तै धमिराका गोला बनेका थिए रे वाल्मिकी, गुच्चासरि टल्केका उनका आँखामा कसैले घोच्दा बगेथ्यो रे रगत ।‘ साथीहरूले ठट्टा गरे, वाल्मिकीका सन्तान अँझै तपस्यामा त छैनन् ।

धमिरा र कमिलाहरू त होलान् नि तिनका सन्तान जसले मेहनतपूर्वक उभ्याएका छन् यत्रायत्रा देवलहरू, कसैले ठट्टैमा भए पनि प्रकृति प्रेम दर्शाइएथ्यो ।

टाढाबाट हेर्दा कुहेका ठुटाका अनेक आकृति जनावरझैँ देखिन्थे । बिहान घाँसको शित नसुक्दै आरक्षभित्र छिरेकोले जीवजन्तु नदेखिएका हुन् कि भन्ने आशंका थियो सबैका मनमा । साथीहरू भनिरहेथे, ठुटा र बुटामात्रै देखिए जता पनि ।

बाटोमा आहाल परेको पानी हुत्याउँदै गाडी अगाडि बढ्दा केही छिटा झ्यालबाट छिरेर भित्रै आइपुग्थे त केही अगाडिको सिसामा लपक्कै टाँसिन्थे । हिलो देखेर नाक खुम्च्याएको साथीलाई भनेथेँ मैले, आफ्नो मुलुकको शुद्ध माटो प्रत्येक वर्ष भित्रिने बहुराष्ट्रिय कम्पनीका महङ्गा क्रिम पाउडरभन्दा उच्चकोटीको छ । आफ्नो माटोको बास्नाले मलाईजस्तै मोहित गरेहुन्थ्यो सबैलाई ।

एउटा मयुर एक्कासि हामीलाई देखेर उफ्रँदै भित्र भाग्यो, त्यो प्राण रक्षाका लागि भागेको भए पनि साथीहरूले नाचेको मानिदिए । त्यतिबेलै पाठो लिएर भाग्दै झाडीभित्र पस्यो एउटा मृग, करिब बीस वर्ष अघि म्याग्दी र पर्वतको सीमानाको महाभारत लेकमा शिकार खेल्न जाँदाको सम्झना दिलाएर ।

शिकार खेल्दै जाँदा एउटा मृगको बथान नजिकै आइपुगेथ्यो र बन्दुकेले चलाएथे भरुवा बन्दुक । एउटा मृगलाई लागेर एकछिन ढले पनि फेरि जुरुक्क उठेर भागेथ्यो । पच्छ्याउँदै जाँदा एउटा ठूलो चउरनेर पुगेपछि अलप भएथ्यो त्यो । फेरि शिकार खेल्दा लागेथ्यो एउटा मृगलाई, त्यसको भाँचिएको चेपु देखेर थाहा भएथ्यो अघिल्लोपटक भागेको मृग पनि त्यहिरहेछ ।

मारिएको त्यो मृग सम्झेर म विष्मित हुन्छु, त्यसलाई नमारेको भए यसरी नै पाठो साथमा लिएर दौडँदो हो वनका रमणिय सियाँलहरूमा ।

हरेक आमाबाबुलाई बच्चाको सुख र सन्तुष्टिमा सबैभन्दा बढी सांसारिक आनन्द प्राप्त हुन्छ । आफ्नो बच्चाको दुःख, पीडा र अभावमा नरुने आमाबाबु शायदै होलान् यो दुनियाँमा । एउटा कालखण्डको रमाइलो वर्तमानको पीडा बनेर हृदयमा व्यथापूर्ण कथाका पानाहरू थपिदियो । समयले थुपारिदिएका अनुभूतिका रङहरू घोलेर होलीको अनुहार बनाउन चाहेथेँ, अनेक रङ खुइलिएर भएछ झन् बेरूप अनुहार । एउटा प्रण भने गर्दै थिएँ, तिनै पानाहरू पल्टाएर फुर्सदमा अव्यक्त तर छटपटीपूर्ण क्षणहरू उधिन्ने छु मैले । त्यसबाट रिचार्ज हुनेछ मेरो जीवन र चल्नेछ अनन्त अनन्त । कल्पेर अनेक तर्कना आफूभित्रै हराएको हुन्छु म ।

एकजोर मयुर उडेर भाग्दा हाम्रो गाडी रानी तालको किनारमा रोकिइसकेको थियो । झाडीभित्र सिमसार लुकाउँदै फैलिएको रानी तालमा नपुग्दै एउटा चराले कलात्मकतवरले पानी छुँदै भुइँभुइँ उडिरहेथ्यो । उता झाडीमा मयुर बासिरहेथ्यो । तलाउ किनार र छेउको काँसे झाडीमा खिचिएथ्यौँ हामी । क्यामराका पर्दाले उज्यालिएका मन देखाउन नसके पनि खाइलाग्दा काया र टलकदार आवरण साँचेथ्यो दीर्घकालका लागि । नजिकको टावरमा चढेर हेरेथ्यौँ विशाल जल संसार र वनेली सेरोफेरो ।

ठूलो झाडी र खर छिचल्दै गरुडदल गणको ग गुल्ममा पुगिएथ्यो । पोष्टमा खटिएका सैनिकलाई सोधेर शुक्लाफाँटाको विशाल घाँसे मैदानतिर हानिँदै थियौँ, मयुर र मृग बाटो तर्केर घाँटी तानीतानी हेर्दै थिए । म गद्गद भएँ, वन जङ्गलको छेउछाउ पुग्दा वा त्यसको कल्पनाले मात्र पनि मेरो मनमा सधैँ बुर्लकबुर्लक उफ्रने भए मृगका पाठाहरू, हरदम नाच्ने भए रङ्गीन मयुरहरू ।

पक्की पुल बन्दै गरेको ठाउँबाट कच्ची काठे पुल तरिएथ्यो । पाडा गाडा चढेर आएका करिब आधादर्जन मान्छे छोडिएथे, गाडीको समान गाडाको गति नहुँदा । साथीहरू भन्दै थिए, राधापुरबाट आएका हुनुपर्छ यिनीहरू । दायाँबायाँ चिफ्ले निउराको झाडीले ढाकिएको सिमसारका बीचबाट खोलिएको बाटोबाट घस्रिरहेथ्यौँ हामी, तब एकजोर पुतली आपसमा प्रेमालिङ्गन गर्दै हाम्रो गाडीमा ठोक्किन आइपुगेथे । प्रकृति नियाल्न हिँडेका अधवैँसेहरूलाई के चाहियो र । पुतलीको रसिक चुम्बन भन्दै इत्रिने वहाना मिलेथ्यो ।

घाँसे मैदानको छेउ टेक्दा नटेक्दै एकजोर तित्रा दौडिँदै खरको झाडीभित्र पसेथे । तित्रा देख्दा बाल्यकाल सम्झन्छु मैले । बाँदर रूँघ्न बस्दा बारीछेउमा नजिकै तित्रो कराउँथ्यो, तिनतारे तित्रित । तित्राको मुखै वैरी भन्दै दौडँदै त्यसलाई छोप्न जाँदा त्यो सास दबाएर लुक्दथ्यो । जसै हार मानेर फर्कन लाग्थ्यौँ, भुतुतु गर्दै उडेर फुत्कन्थ्यो । कहिलेकाहीँ भने गोलकाँक्रीका झालमा खुट्टा अड्केर धेरैबेरसम्म भुत्भुताइरहन्थ्यो । जब फुत्केर जान्थ्यो, अनि बल्ल नसमातेकोमा पछुतो लाग्थ्यो । सम्झेर बाल्यकालका ती दिनहरू घाँस काट्न, बाँदर रूँघ्न जाने चाह पलाउँछ अहिले पनि । अनि मनमा एउटा रमाइलोले कुत्कुत्याउँछ, आशा अपेक्षा सकिएर निरस बनेको रहेनछ जिन्दगी ।

हात्तीको मलका रास कुल्चँदै गाडी एउटा टावरछेउ पुगेर रोकियो । टावरबाट सुख्खा चौर, मृग र बाह्रसिङ्गेको बथान हेरिएथ्यो मजाले । यसरी नै उचाइबाट आफ्नो दिनचर्या आफैले हेर्दै रमाउन पाए कति रमाइलो हुँदो हो जिन्दगी, कति सजिलै बितेर जाँदो हो दुइदिनको जिन्दगी । एउटा बिनसित्तिको अपेक्षाले हँसाएथ्यो भित्रभित्रै ।

धर्तीका यस्तै भू–खण्डमा पाइला राख्दा जीवनका नवीन अनुभूति मात्र होइन, साहित्यको आकासमा कोरिएका केही धर्साहरू पनि देखेको छु मैले । हर्ष–विष्मात्, राग–अनुराग, उल्लास–पश्चाताप् आदि रङका कलेवरले धुनपखाल्न नसकेको मेरो अन्तरकुन्तर एकाध हरफ समातेर बसेको डिकाले अलेली चिस्याउनथालेझैँ लाग्छ । जीजीविषाका रन्काले रगत, आँसु र पसिना बगाउँदै अनि जीवनले पसारेका माखेजाल पन्छाउँदै भाग्दै जाँदा म झन् थलिएको छु । थलामै लडिरहे पनि सकिनसकी कागज कलम समात्दा मनमथिड्डलले केही बोलेझैँ लाग्छ । त्यो बोलीको भाव मेरो लेखनीले कोरेका पङ्गतिभित्र छिर्न खोज्छ कहिलेकाहीँ । त्यसको मृदु भाषा सुनिरहन मन लाग्छ मलाई ।

हात्ती हेर्ने इच्छाले अनुगमन केन्द्रको हात्तीसारभित्र छिर्न लाग्दै थियौँ, रित्तै देखिएको थियो हात्तीसार र बाहिरिएथ्यौँ, जसरी पसियो उसरी । शायद चर्न गइसकेका हुनुपर्छ हात्तीहरू । ठूलो शरीर र ठूलो भुँडी हुनेहरू सधैँ खानमै जुट्छन् यो दुनियाँमा भनेर एक्लै हाँसेथेँ म ।

फोरह्विल प्रयोग भएका पाङ्ग्राले भारी आवाज निकालिरहेथे जसरी वृद्ध शरीर थर्थराउँछ आवाज निकाल्न र धङधङाउँछ पाइला चाल्न । बाटाको आहाल छल्न गाडी घरि घाँसे चउरको अबाटै अबाटो दौडिन्थ्यो त घरि वन्यजन्तुका पदचिन्ह देखेर सुस्ताउँथ्यो । हाम्रो चाहअनुरूप दौडनु थियो त्यसलाई, अनि घडीपलाले नापेका समयको गतिसँग समानान्तर बग्नु थियो हामीलाई ।

कतै सुकेको खर त कतै डढेलाले निलेको चौर हेर्दै थिएँ भुइँमा खसेका बाह्रसिङ्गाका सिंगउपर परेथे नजर गाडीको झ्यालबाट ।

कालगतिले आफै मरेर झरेका होलान् कि कसैले तिनलाई मारेर फालिदिए होला तिनका सिङ छरपष्ट ।

तस्करले मारेको भए कसैलाई थाहा नहुने गरी लुकाउँथ्यो होला बरू जुधेर फुक्लेका होलान् तिनका अजङ्गका सिङहरू ।

सकारात्मक सोचले मिलेथ्यो राहत । टाउकाबाट सकारात्मक सोच खन्याइदिएर चोरहरूले चकारी गरेको देख्दा भने रिस उठेर आउँछ कहिलेकाहीँ । लाग्छ, चोरहरू चोरी गर्नुपूर्व यस्तै शब्दजालमा मान्छे थुनेर आनन्दले ढुकुटी रित्याउन चाहन्छन् ।

सडकमा जम्मा भएको पानी विस्थापित गर्दै स्टिमर जसरी गुडिरहेथ्यो गाडी, हाम्रो अगाडि पखेटा फटफटाएर नाच्दै एउटा सुन्दर चरो उडिरह्यो । क्यामरा हातमा भए पनि म अवाक भएर हेरिरहेँ । सोचिरहेँ, यसले जीवन दर्शन सिकाइरहेछ, समस्याका वैतरणीमा फसे पनि यसरी नै रमाउनुपर्दछ । केही नबुझ्नेले ठूल्ठूलो स्वरमा हो हो भन्दै सही थापेझैँ म त्यसलाई हेरेर टोलाएँछु । केही देखिए खिच्लान् भनेर साथीहरूले मलाई सम्मानसाथ अघिल्लो सिटमा राखेको कामै लागेन । तन्द्रामा लोलाएका आँखामा खुल्न आइरहेथ्यो स्वप्नील संसार, पर क्षितिजको कालो छायाँको ग्रहण तेर्सिइहाल्यो । दुईचार बकम्फुसे शब्द टिपेर अरूका चाहनामा तुषारापात गर्नुपर्दाको पीडाबोधले रन्थनिएँ म आफै ।

बर्कौला पोष्टनेर पुग्दा एकजना सैनिकले गाडीको नम्बर दर्ता गर्दै सोधेथे हामीलाई आरक्ष पस्नाको उद्देश्य । जीवन जिउनाको उद्देश्य र गरिरहेका गतिविधिबारे सोध्ने चेकपोष्टहरू भइदिए ठाउँठाउँमा, थोरै भए पनि अवश्य सुधृन्थ्यो होला जिन्दगी । गलत बाटोमा छिराएर सबैलाई मिलिभगतको नाफादारी खेल खेल्नमा उद्दत छ दुनियाँ । कसरी सुधृन्छन् जिन्दगीहरू अनि कसरी हुन्छ समाजको उँभोगति ।

गाडीले घरि गेग्रान त घरि हिलो स्पर्श गर्दै कुदिरहेथ्यो । मुलायम स्पर्श दिलाउने मखमली दुबो होस् वा हिलो नै किन नहोस् त्यो पुनरावृतको आकांक्षामा अल्झिँदै मान्छेका सझनामा टाँसिदोरहेछ सजिलै । चट्टानी संघर्ष त्यागेर पहिलो मुलायम स्पर्शको तुलना गर्दै जीवनभर त्यस्तै स्पर्शको खोजी गरिरहेछ मान्छे । साथीहरूका खासखसुबाट त्यही भाव प्रष्टिन्थ्यो । केही फोहोरी हातले छुनआइपुगेझैँ लागेर स्पर्शदेखि मनमनै घृणा जागेको थियो मलाई भने ।

ठुटालाई जनावरका आकृतिमा रूपान्तरण गर्न छोडेका थिएनन् आँखाहरू । तिनै ठुटालाई सिङ्गारेर सजाउन पाए, कल्पनाले नवीन सिर्जना गरिरहेथ्यो । तब लाग्यो, कल्पना सिर्जनाको जननी हो । मुलुकको सर्वाङ्ग पक्षको विचार विमर्श गरी सापेक्ष कल्पना गर्ने सच्चा कल्पनाकार नजन्मेकोमा मन पोलिरह्यो ।

हात्तीसार जाने बाटो पार भयो र एउटा सुन्दर चौर देखियो । पुच्छर हल्लाउँदै आनन्दले चरिरहेका गाईवस्तु देखेर अतुलनीय आनन्दमा रमाउँछु म । सोच्दै थिएँ, घामपानीमा सुक्दै, भिज्दै नथाकेर संसार डुल्ने बटुवा हूँ म । नहिँडे बरु चोट लागेका घाउहरू पाक्न सक्लान् पैतालाका, खाटा उप्कन सक्लान् हृदयका र नथामिनेगरी उर्लला आफैलाई बगाउने पिरहरूको कर्णाली ।

शुक्लाफाँटाका वन्यजन्तु, बुटावृक्ष, तालतलैया र रमणीय सियाँलहरू नियाल्दै त्यहाँको जीवनजगत लेखनीका डिकामा समेट्न चाहन्थेँ तर म हराएँछु शून्यमा शून्यसरी ।

या त म अर्कैका लगाममा बाँधिएर खिचिएको छु अन्तै, कि त यात्रा गर्नै जान्दिनँ । नाकको सिधा पसारिएको बटुवाबिनाको बाटो मात्र टिपी दौडिन्छु । बटुवा कोर्दा उसका आँसु, रगत र पसिनाहरू छुटाउँछु । आँसु, रगत र पसिनाको धारिलो बहावमा बगे पनि म तिनका चोट, वेदना र पीडादेखि अनभिज्ञ रहन्छु । हात लाग्यो शून्य जसरी आधा उमेर खर्चेको मैले शुक्लाफाँटामा देखेका अनगिन्ती जीवनलाई पनि चीरस्मृत बनाउन नसकी एकझोक्का हावामा उडेको एकबुँद पानीसरि खसालिदिएँ नजरबाट ।

तर,पश्चाताप छैन । जानीजानी कुबाटो हिँडेको भए पोपश्चाताप । सुल्टो बाटो हिँड्दा अनेक भोगाइले खारिँदै छ जीवन । एउटा आशाको त्यान्द्रामा नझुण्डिई कहाँ सकिन्छ र अगाडि बढ्न ।

मसानघाट जस्तो एअरपोर्ट र आरक्ष देखेर टोलाउँदै एकाध फोटो र केही अस्पष्ट शब्द बोकेर शुक्लाफाँटाको गेटबाट बाहिरिएको थिएँ म । मसँग साथ लागेको थियो बर्खेपानीले बगाउने सडक किनारको पतिङ्गर र धुलो जस्तो एउटा धमिलो स्मृति पनि ।

1 thought on “शुक्लाफाँटामा एकबिहान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *