प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना

SaugatShrestha


यो समय कति छिटो छिटो चल्छ है ? थाहै हुँदैन समय बितेर गएको । तिमीसँग चिनजान भएको पनि आठ वर्ष पुग्न लागिसकेछ । अनि यो पुग नपुग आठ वर्षको यात्रा खै कसरी कसरी बिते थाहै भएन । मलाई यकिन याद त छैन कि तिमीसँग पहिलो पटक कहाँ बोलेको थिएँ तर मलाई सम्झनामा भएसम्म विद्यालयमा रेडक्रसको पुर्नगठनबाट परिचय भएको थियो हाम्रो ।

त्यो परिचय त्यतिमै सीमित रह्यो म अध्यक्ष, तिमी उपाध्यक्ष अनि अरु साथीहरू अरु अरु पदमा । चलि नै रह्यो यात्राहरू आफ्नै गतिमा, आफ्नै रफ्तारमा । जति जति समय अघि बढ्दै गए परिस्थितिहरू फरक हुँदै गए । हुन त पहिले पनि परिस्थितिहरू आफ्नो अनुकुल त कहाँ पो थिए र ? जब एस.एल.सी.परीक्षा नजिकिन थाल्यो टिउसन पढ्नको लागि भुरिगाउँ जानु पर्ने । घरदेखि ४ किलोमीटरको दुरी । अहो निकै गाह्रो लाग्थ्यो त्यो चार किलोमीटरको यात्रा पनी, अँझै त्यसमा पनि सदरमुकाम रोड भए पनि कच्ची बाटो, माघ–फाल्गुणको महिना त्यसै त धुलाम्मे सडक झनै हावाको वेग सँगसँगै उडिदिन्थे ती धुलोहरू पनि ।

घरबाट धुलाम्मे सडकको केही दुरी (झण्डै २ किलोमीटर) पार गरेपछि भुरिगाउँ पुग्नका लागि दुई वटा बाटो छुट्टीन्थे एउटा बाटो त्यही धुलाम्मे सडकको निरन्तरता थियो, अर्को केही नयाँ धुलाम्मे सडक अनि त्यस पछिको २ किलोमीटरको पिचबाटो, अहो पिचबाटो भनिसकेपछि कसलाई पो रहर लाग्दैनथ्यो होला हिँड्न रु केही क्षण पिचबाटो हिँड्न पाइने अपेक्षाले दुरी लामो परे पनि प्राय जसो म त्यही बाटो हिँड्ने गर्थे । खासै साथीहरू पनि कोही थिएनन बस एक्लो यात्रा हुन्थ्यो । आफ्नै सुरमा ।

टिउसन गयो पढ्यो फर्कियो, दैनिकी यही हुन्थ्यो । मलाई ती विगतका क्षणहरू त्यति स्पष्ट सम्झना छैन कि कहिले हो म दिन भन्न सक्दिन । तर टिउसन जाने आउने देैनिकी कार्यकै बीच कुनै दिन तिमीलाई त्यही बाटोमा फेरि देखेको हुँ । सायद त्यो बाटोमा पहिले पनि देखेको थिएँ होला तिमीलाई, तर नचिन्दासम्म यहाँ कसले कसको पो मतलब राख्छ र रु र फेरि अर्को पटकको देखाई पछि थाहा भयो कि त्यो बाटो जुन बाटो म एकै छिन भए पनि पिचमा हिड्ने अपेक्षाले हिँड्ने गर्थे तिम्रो घरको अगाडिबाटै जाने रहेछ र कैयौँ पटक म तिम्रो समिपबाटै गएको रहेछु । अहँ कुनै बेचैनी थिएन पहिले त्यही बाटो हिँडिरहँदा तर जब तिम्रो घर यहीँ पर्छ भन्ने थाहा भयो अनि हुन थाल्यो छुट्टै अनुभव त्यही बाटो हिँड्दा । तिमीलाई देख्न लालच गर्न थाले आँखाले पनी, साविकभन्दा अलि बेसी धड्किदिन थाल्यो धड्कन पनि त्यो बाटो हिँडिरहँदा, मस्तिष्कले पनि केही फरक सोँच्न थाल्यो, मनले केही अनुभव गर्न थाल्यो र त म आफू, आफैभन्दा केही बेसी लाग्न थाल्यो । खै के के हो के के सोँच्छ यो मनले पनि ।

दिनहरू वित्दै गए, परिस्थितिहरू फरक बन्दै गए । एस।एल।सी। परीक्षा पनि सकियो, र सकियो एउटा अवस्था । त्यो बेलाको उमेर पनि त त्यस्तै थियो । परीक्षा सकिएसँगै म कहीं कतै गएँ । हरेक पलमा तिमीलाई देख्न चाहनु आर्कषण थियो जुन आकर्षण सकियो त्यो दुरीले । म आफ्नै यात्रामा तिमी तिम्रै यात्रामा । समय अघि बढिरहेको थियो तिम्रो पनि एस.एल.सी. सकिएछ । केही समय पछि खबर आयो तिमी नेपालगञ्ज पढ्न थाल्यौ । यसै बीचमा हामी फेसबुकमा जोडिएका थियौ । कहिलेकाहींको बोलचाल बाहेक खासै केही हुँदैन थियो । म अँझै पनि सम्झिन्छु त्यो दिन जति बेला आफ्नै आफ्नै यात्रामा हिँडेको केही समय पछि नेपालगञ्ज हस्पिटल रोडमा देखेको थिएँ तिमीलाई । म पढ्ने क्याम्पस क्षेत्रीय रंगशाला नजिक थियो (नेपालगञ्ज टेक्निकल कलेज) अनि तिमी पढ्ने त खै थाहा नै कहाँ थियो र ? देखियो फेरि आफ्नै दिनचर्यामा हिँडियो, केही त्यस्तो थिएन । केही समय पछि फेरि बागेश्वरी मन्दिर नजिक देखियौ तिमी, मनमा केही हलचल भयो । आफ्नै गाउँठाउँको त्यो पनि एउटै समूहमा रहेर काम गरेका हामी केही आत्मीय अनुभव भयो । बजार जाँदा आउँदा फेरि फेरी पनि देखिरहने आश हुन थाल्यो । तर हुन्छ कहाँ त्यस्तो, जस्तो हामी सोँच्छौं ।

एक, दुई हुँदै महिनौँ बिते तर फेरि त्यसै गरी नेपालगञ्जमा देखिन तिमीलाई । साप्ताहिक बिदामा घर आउन टाढा पर्ने हुँदा दिदीको घर खजुरा जाने आउने हुन्थ्यो । त्यसै क्रममा फेरि एक पटक देखियौ तिमी खजुरा रोडको कुनै घरको बार्दलीमा । त्यसको केही समय पछि थाहा भयो नेपालगञ्ज फुपूको घरमा बसेर पढ्दै रहिछौ तिमी र मैले अर्को पटक तिमीलाई देखेको घर/स्थान तिम्रो फुपूको घर रहेछ ।

यो समयमा तिमीसँग सामाजिक संजालमा कहिलेकाहीं कुराकानी हुन थालेको थियो । कुनै दिन तिमीले फेसबुकमा आई।डी। प्रमाणित गर्नका लागि मोबाईल नम्बर हालेकी थियौ निकै थोरै समय मात्र लगत्तै नदेखिने बनाएर । एउटा संयोग भनौँ, त्यही बेला नै हो मैले तिम्रो मोबाईल नम्बर पाएको र त्यस पछिका केही समय ९झण्डै एक वर्ष० हरेक दिन जसो कुराकानी हुन्थ्यो, हरेक क्षण सन्देश आदान प्रदान हुन्थ्यो, प्रगाढ आत्मीयता बढेको थियो । समय बितिरह्यो । भौगोलिक रुपमा केही दुरी भए पनि हामी बीचमा, मनको दुरीमा भने निकै नजिक थियौँ हामी ।

*****

जिन्दगी भोग्दै गर्दा, जिन्दगी जिउदै गर्दा अनुभवहरू अनेकन हुँदै जान्छन । यात्रा बीच गोरेटोहरुमा थुप्रै यात्रीहरू भेटिदै जान्छन र छुट्टिदै जान्छन । सुनेको थिएँ यात्रामा कोही एक्लो हुदैन भनेर र हो पनि यात्रामा कोही एक्लो हुँदैन, केही समयका लागि कोही भेटिन्छ अनि अलि पर पुगेपछि छुटिन्छ, यस्तै भइरहन्छ । भेटिएका सबैसँग बोल्नै पर्छ र बोलिन्छ भन्ने पनि छैन तर कोही हुन्छन जससँग थाहै नपाएर मन साट्न पुगिंदो रहेछ । हो यस्तै केही भएको छ मेरो यात्रामा पनि ।

यो दोबाटोहरू कहिल्यै एक आपसमा मिलन हुन सक्दैनन् र सक्दैनन कोही कसैलाई मिलाउन पनि । हुन त यो गोरटो अनि चौताराहरुको के दोष ? कोही भेटिनु र छुट्टिनुसँग । म पनि के के हो के के भनिरहेछु । यो समय अनि यो परिवेश र यो मनलाई कसैले आफ्नो अनुकुल चलाउन नसक्ने रहेछन् । मैले पनि यो मनलाई आफ्नो अनुकुल चलाउन सकिन र त लेखिरहेको छु मनको संवेगहरू ।

समयसँगै यात्रा गर्न सिक्नु पर्दो रहेछ । समयले हामीलाई पर्खने होइन हामी समयसँगै अगाडि बढ्नु पर्ने रहेछ । यही बीचमा कैयौ दिनहरू यस्ता पनि आए जहाँ हामी पूर्णतः बेखबर जस्तै रह्यौ एक अर्काबाट । नबोलेरै बिताइए धेरै दिनहरु, न कुनै फोन, न कुनै सन्देश, सामाजिक सञ्जाल सब्बै सबैबाट बेखबर भइरह्यौ ।

निकै शंकालु मान्छे म र घमण्डी पनि (यस्तै सोँच्दिहौ तिमीले मलाई) । सायद त्यही बानीले गर्दा नै आज हामी एक अर्काबाट निकै टाढा भएका छौँ यो समयमा । म त आफ्नै मर्जीको मान्छे । जता जता खुशी लाग्यो उतै उतै हिँडिदिने । थिएन त्यस्तो पुग्नै पर्ने गन्तव्य, र राखेको छैन अँझै त्यस्तो गन्तव्य पनि । जसरी यो समय चलिरहेको छ त्यसै गरी म पनि चलिरहेको छु । हो यती कि म मेरो खुशीको लागि मात्र नभएर अरुको खुशीको लागि पनि यात्रा गरिरहेको छु । कहिले आमाबुवाको लागि, कहिले साथीहरुको लागि, कहिले यो समाजको लागि, र अहिले यो मनले आफ्नो सोँचेको तिम्रो लागि । आखीर यात्रा नै त रहेछ नि जिन्दगी पनि ।

यो मन पनि अनेक सोँचिरहन्छ । थाहा छ तिमी मेरी होइनौ । तिमी त अर्कैकी मान्छे । तिमी त आफ्नै दुनियाँ, आफ्नै संसार, आफ्नै परिवेशमा रमाइरहेकी मान्छे । अनि म, म पनि त आफ्नै दुनियाँ, आफ्नै संसार, आफ्नै परिवेशमा रमाइरहेको मान्छे । तिमी तिम्रो मान्छेलाई सम्झिएर तिम्रो मान्छेसँगै रमाइरहेकी अनि म मैले आफ्नै सोँचेकी तिम्रो सम्झनामा रमाइरहेको मान्छे । जसरी सम्झिन्छु भनेर सम्झिन सकिन्छ, कहाँ सकिँदो रहेछ र प्यारो मान्छे विर्सिन्छु भनेर विर्सन ।

*****

सम्बन्धहरू भनेको निकै नाजुक हुँदा रहेछन् । कति खेर कसरी छुट्छ थाहै ह्ुँदैन । पहिलो बोल्न छोड्छ, दोस्रोले बोलाउन छोड्छ कारण पहिलोलाई समस्या नहोस भनेर । केही सम्बन्धहरू यसै सकिन्छन । कहीँ पहिलो बोलिरहेको हुन्छ तर दोस्रो बिस्तारै टाढिई दिन्छ । कारण पहिलोलाई समस्या नहोस भनेर । र सम्बन्धहरू सकिन्छन । आखिर दुवै अवस्थामा सम्बन्ध सकिनुको कारण एउटै हो पहिलोलाई समस्या नहोस । तर अवस्था केही फरक छ, हो म दोस्रो तरिकाबाट सम्बन्ध सकिएको/सकाएको मान्छे । मेरो कारणले तिमीलाई त्यस्तो कुनै पनि समस्याहरू नआओस हरेक समयमा यही चाहने मान्छे । यही कारणले म तिमीबाट टाढिएको हुँ बिस्तारै बिस्तारै । निकै सकस परिरह्यो सुरुवाती दिनहरुमा । केही पनि कुरा भुल्छु भनेर भुल्न कहाँ सजिलो हुँदो रहेछ र रु त्यसमा पनि तिमी त मनको मान्छे पो त ।

भुल्छु भनेर भुल्न खोज्नु भनेको झनै बेसी सम्झिनु रहेछ । हरेक समयमा तिमी नै याद आइरहने । अफिस गयो तिमी याद आउने, रेडियो स्टेसन गयो तिमी याद आउने, कतै साथीहरूसँग गयोसँगै तिमी भएको भए जस्तो लागिरहने । केही महिना त यसै गरी बितेका हुन मेरा । यती भनिरहँदा तिमीले यो सोँच्ने भूल कदापि नगर्नु कि अहिले भने याद आउँदैनौ तिमी, कि बिर्सिसकेँ तिमीलाई, अहँ होइन त्यस्तो हुँदै होइन । हरेक पल नियालिरहेको हुन्छु । अँझै बेसी सम्झना बनेर आइदिन्छ्यौ हरेक क्षणमा तिमी ।

जीवन यात्रा हो । हामी यात्री हौँ, हिँड्दै गर्दा यात्रामा उकाली ओरालीहरू आउँछन, भञ्ज्याङ चौतारीहरू आउँछन । उकालीसँगै उक्लीनु पर्छ, ओरालीसँगै ओर्लिनु पर्छ । यो त यात्राले बिना कुनै बिकल्प अघि सारेको चुनौती हो । जसलाई चुपचाप स्वीकार्नु पर्ने बाध्यता सबैलाई हुन्छ । हो त्यस्तै बाध्यता आयो हामी बीचमा पनी, जसको कुनै बिकल्प नै थिएन ।

यात्रा अघि बढिरहँदा दोबाटो अनि चौबाटोहरुलेसँगै हिँडिरहेका यात्रीहरुलाई अलग गराई दिन्छ । दोबाटोमा छुट्टिएका कोही कहीं कतै भेटिन्छन त कोही उसै गरी चौबाटोमा नभेटिन पनि सक्छन । अज्ञात पीडाहरुको भारी बोकेर हिँडिरहेको मान्छे म । निकै पर पुगिसकेको छु । एउटा आफ्नै एक्लोपनको साम्राज्य खडा गर्ने सपना बोकेर । जहाँ म हुँ, मेरा सपना हुन, अनि होस केवल तिम्रा सम्झनाहरू मात्र र सम्पूर्णरुपमा तिमीलाई सम्झिन सकुँ ।

आखिर जिन्दगी भनेको सपना अनि सम्झनाहरुको संग्रह त रहेछ । जहा हजारौं अपुरा चाहनाहरु, अनि पुराना यादहरू जम्मा भएर बस्दा रहेछन् । मैले पनि संगालेको छु निकै यादहरू अनि सम्झनाहरू । त्यति मात्र पनि होइन, मैले संगालेको छु यही जिन्दगी नामको संग्रहमा निकै धेरै माया, तिम्रो लागि अनि संगालेको छु सुन्दर सपनाहरू आफ्नै लागि पनि ।

*****

कसैले भन्थ्यो एउटा केटा र केटी सधैं असल साथी मात्र रहिरहन सक्दैनन, सम्बन्ध अघि बढिरहँदा अनीहरू बीचमा प्रेम नामको टुसा पलाउन थाल्छ अनि राख्छ कोही एउटाले प्रेम प्रस्ताव । जरुरी छैन कि सबैे प्रस्तावहरू स्वीकार्य हुन्छन । केही सम्बन्धहरू यसै बीचमा सकिन्छन । केही सम्बन्धहरुले यसै बीचमा नया“ मोड लिन्छन, अनि कुनै सम्बन्धहरू रहन्छन दोधारमा अलपत्र परेर, जसरी बाटो बिराएका यात्रीहरू रुमल्लिन्छन बाटोमा, जसरी गुड बिर्सिएको चरी उडिरहन्छ यत्रतत्र ।

यस्तै केही भयो हाम्रो सम्बन्धमा पनि । कसैले भनेको त्यही कुरा लागु भयो हामीमा पनि । जब राखियो प्रस्ताव प्रेमको‘ कुनै एकले चाहेको त्यो नयाँ सम्बन्धको सुरुवात स्वीकार्य हुन सकेन दुवैमा र सुरु नहु“दै सकियो त्यो नया“ सम्बन्ध । अलपत्र पर्यो त्यो पुरानो सम्बन्ध, मित्रताको सम्बन्ध । र दोधारमा नै रहिरह्यो ।

म त आफ्नै गतिमा अघि बढिरहको थिएँ । थिएन त्यस्तो कुनै पुग्नै पर्ने गन्तव्य, थिएन हासिल गर्नै पर्ने सफलता पनि । तर पनि थियो एउटा चाहना, थियो अधुरै सपना, थियौ तिमी जसलाई मैलै सजाएर राखेको थिएँ, आफ्नो मानसपटलमा । सम्बन्ध अलपत्र परेपछि धेरै आरोह अबरोहहरू आए, र पनि चलि नै रह्यो यात्रा । तिम्रो साथ बिना, तिम्रो सामिप्यता बिना म रमाउने प्रयास गरिरहेँ । तर कहाँ त्यति सजिलो हु“दो रहेछ र कसैको यादमा रमाइरहन ? यही समयमा आभास भयो कति फरक हुँदो रहेछ, कि कोही हुनु र नहुनुमा ।

यो माया प्रेम भन्ने कुरा आफूलाई परेपछि मात्र थाहा हुन्छ भन्थे, हो रहेछ । जब पर्यो आफैलाई सही नसक्नु भो । याद दिए जस्तो कहाँ सजिलो रहेछ र साथ दिनलाई । मुस्कुराएर बिरोध गर्ने तिम्रो बानिरहेछ, म भने त्यसैलाई प्रेम सम्झिरहेँ । म सम्पूर्ण रुपमा तिम्रो सम्झनामा रमाइरहँदा तिमी भने अरु नै कसैसँग रमाइरहेकिरहिछ्यौ । जब थाहा भयो तिमी मेरो सपनाको संसारबाट टाढा बन्दै छ्यौ, म आफ्नै सपनाको धरातलबाट भा“सिदै गए“ । मेरो सपनाको साम्राज्य ढल्यो त्यसै समयमा । म एक्लिएँ आफैबाट, म टाढिन चाहेँ आफैले सजाएका सपनाहरुबाट । तर यती सजिलो पनि कहाँ हुँदो रहेछ र रु सपना सजाए जस्तो त्यही सपनाहरुबाट टाढिन ।

जबजब तिमी र तिम्रो यादहरुबाट म केही टाढा जान खोज्थें, झनझन तिम्रो यादहरुमा म निथ्रुक्कैसँग भिज्थें । सजिलो भएन बिर्सिएर बस्न जति सजिलो तिम्रो कल्पनामा रमाउन थियो । र पनि रमाए जस्तो गरिरहें जसोतसो तिम्रो अनुपस्थिति मै, तिम्रो आधार बिना नै । निकै सकसका साथ, निक्कै अभावहरुमा, निकै दबाबहरुमा । अभाव थियो तिम्रो सामिप्यताको, तिम्रो साथको, दबाब थियो तिमीलाई मात्र साथीको दर्जामा राख्नु पर्ने । तिमी सोंच्न सक्छ्यौ म कुन अवस्थाबाट गुज्रिएको थिए, कस्तो मोडहरुबाट चिहाइरहेको थिए“ जिन्दगीलाई ।

कसैले भन्यो सम्बन्धमा कहिलेकाहीं आँशु भएन भने त माया गर्नुको मिठास पनि कम हुन्छ । हो त्यस्तै महसुस गरें मैले पनि । आजसम्म आई पुग्दा केही पाएँ, केही गुमाएँ र अँझ भनौँ कैयौं बेसी यादहरू सम्हालें यो समयमा, समग्रमा एउटा निकै यादगार पल बन्यो यो समय मेरो लागि । एउटा सुन्दर मिठास । जुन मिठासहरुमा म तिम्रै आकृतिहरुको परिकल्पना गरिरहें तिम्रो साथको कल्पना गरिरहें ।

कुनै पनि कुरा प्राप्तिभन्दा बेसी पाउन खोज्नु मान्छेको स्वभाव नै हो । र त्यस्तै महत्वाकांक्षी बनेर जिन्दगीलाई विस्तार गर्नुछ मैले पनि । छुट्टिनु पहिले तिमीबाट जुन आत्मियताको अनुभव गरेको थिएँ त्योभन्दा कैयौँ बेशी सामिप्यताको आभास गर्नु छ तिमीलाई सम्झिएर । सपनै सपनाको भारी बोकेर हिँडेका सपनाहरूसँगै अलि पर पुगेर तिम्रो खुशी खोज्ने प्रयास गर्नुछ । रमाउने प्रयास गर्नुछ ।

*****

म केही पर पुगिसकेको छु । र जिन्दगीमा निरन्तर आइरहने अभावको भंगालो पुर्ने प्रयासमा छु । सामिप्यताको अभाव, आत्मियताको अभाव, प्रेमको अभाव, स्पन्दनको अभाव, समग्रमा तिम्रो अभाव ।
म सानो छँदा हजुरआमाले भनेको सुन्थेँ नफल्नुु रहेछ र यतीका धेरै फूल फुलेका । त्यतिबेला म आगन भरी पहेँलै फुलेका आँप र लिचीका बोटहरू हेर्थेँ रमाउँथे । उमेर बढ्दै गयो अनि फेरि कहीँ सुनियो धेरै माया थोरै दिन, थोरै माया धेरै दिन । थोरै बुझे झैँ लाग्यो । यसरी नै समय वित्दै गए । केही सिकीयो, केही बुझियो । को आफ्ना को पराई छुट्टीँदै गए । आफ्नाहरुलाई आफ्नै बनाई राख्न गर्नु पर्ने अनेकन क्रियाकलापहरू सिकियो । केही सिकाए परिवारले, केही गुरुहरुले, केही देखाई भोगाईहरुले, केही कल्पनाहरुले यावत तरिकाले सिकियो । सिक्ने क्रममै मुस्कुराउन सिकियो, कसैलाई दुःख परेको छ भने उसलाई सहयोग गर्न र नसके ऊ सँगसँगै दुःखी हुन पनि सिकियो । अरुलाई सम्झाउन सिकियो । सिक्दै गर्दा र अरुलाई सम्झाउँदै गर्दा आफ्नै मनलाई सम्झाउन भने कसै गरी पनि सकिएन ।

अब त समय पनि निकै अगाडि बढिसकेको छ । अनि तिमी पनि तिम्रो यात्रामा निकै अगाडि पुगिसकेकी छ्रयौ । यात्रा हिँड्दै गर्दा कहीं कतै एक्लोपनको आभास भयो भने फर्किएर हेर्नु, अलीअली झिनो आश, अलिकति निरासा लिएर म यतै कतै बसिरहेको हुनेछु । बोलाउनु आफ्नै सम्झिएर । म पलाउनेछु खडेरीले सुकेको विरुवा वर्षात पछि पलाए जस्तै ।

*****
हिँड्दै गर्दा जिन्दगीको २१ वर्ष पुरा भइसकेछ । अलिकति दुःख अनि धेरै खुशीहरुको बीच आजबाट २२ औँ वर्षको यात्रामा छ्यौ तिमी । र कामना यत्ति कि यो यात्रा कतै नडगमगाओस । नरोकियोस कतै, निरन्तर चलिरहोस उस्तै रफ्तारमा । जसरी चलिरहेको छ अहिले, बरु केही बेसी नै होस यात्राको रफ्तार तर यात्रामा बाधा बनेर नआउन कोही । प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना ।

*****

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *