बिमारीको बिहान एक घण्टा


०८ असोज, २०७५मा विहान ३ः०० बजे नै आँखा खुले । शरीर कक्रेकै थियो । सायद नशा रोगी भएकाले नशा सक्रिय भएका थिएनन् । सकसले उठेँ र शौचकर्म सिद्धयाएँ ।

ओछ्यानमा पल्टिएँ । सुतिरहन मन लागेन । ध्यान मुद्रामा बसेँ र बुद्ध भजन सुन्न थालेँ । ७२ मिनेटको भजन अवधिभर त्यसमै हराएँ । अपूर्व आनन्दानुभूति भयो ।

अघिल्लो दिन डा. ओम मूर्ति अनिलको ‘उच्च रक्तचापमा औधषीको विकल्प’ शीर्षकको लेख पढेको थिएँ । लेखमा विरामीको अनुशासन र आत्मविश्वास साथ भए उच्च रक्तचापमा औधषी खाइरहनु जरुरी छैन भनिएको थियो ।

लेखको मुख्य आशय थियो– उच्च रक्तचाप नियन्त्रण राख्न दैनिक ३० देखि ६० मिनेटसम्म (३ देखि ६ किलोमीटरसम्म) साँझ–विहान शरीरमा पसिना आउने गरी र स्वाँस्वाँ हुने गरी पैदल यात्रा गर्नुपर्छ । स्वस्थ आहारको सेवन गर्ने, मोटोपना घटाउने, मदिरा र चुरोट सेवनबाट टाढै हुने, मानसिक तनाव नलिने जस्ता कुराहरू उल्लेख थिए ।

त्यसबेला तन र मन दुवै शान्त भए पनि मनको एक कुनामा एउटा प्रसङ्गले घोचिरहन्थ्यो । कुरा के थियो भने– २ दिन अगाडिसम्म चालकहरूले गाडी हडताल गरेका थिए । तीजको दर खान गएका आफ्ना मान्छे उत्तै रोकिएका थिए । दर खान आएकी आफ्नी चेली पनि गोलबजारमै थुनिएकी थिइन् । उनीहरूको शिक्षा आयोगको परीक्षा मुखैमा आएको थियो । तयारीमा बाधा अवरोध भइरहेको थियो । त्यसै कारण मेरो मन भुट्भुटिइरहेको थियो ।

मेरो प्रेसर बढेर माथि १९५ तल १२५ पुगेछ । चेली डरले काँप्न थालिन् । गाडी चल्दैन एम्बुलेन्स बोलाऔँ भन्न थालिन् । म भने हाँस्न थालेँ । आफ्नो जीवनसँग ख्यालठट्टा नगर्न सुझाव दिइरहिन् । म भने बाहिरी रूपले हँसीमजाकमा मस्त थिएँ, भित्री रूपले भने गम्भीर थिएँ ।

भनेँ, “धैर्य गर, कन्ट्रोलमा आउँछ । जति तनाव लियो उति बढ्ने त हो नि ! मनका घैलामैला फाल्न देऊ, प्रेसर काबुमा आउँछ । अढाई घण्टा पर्ख । अनि जाँची हेर, नियन्त्रणमा नआए, जे भन्छ्यौ त्यही गरौँला ।”

लगातार ४५ मिनेट अनुलोमविलोम गर्न समय दिएँ । ४५ मिनेट कपालभाँती, भस्त्रीका र उच्चाइ प्राणायामलाई खर्चिएँ । र, केही समय मोर्निङ वाकमा बिताएँ ।

नभन्दै प्रेसर जाँच्दा माथि १४५ र तल ९२मा झरेको रहेछ । चेली पनि खुशी म पनि खुशी ! यसबाट उच्च रक्तचाप नियन्त्रण गर्न आफैँले सकिँदो रहेछ भन्ने बुझ्न सकेँ ।

यद्यपि मान्छेको मन न हो । आफ्नो नियन्त्रणमा राख्दा पनि सधैँ राख्न सकिन्न । चेतन मनलाई लगाम लगाउन सकिएला अवचेतन मन त नियन्त्रण बाहिर हुन्छ । एकपटक नियन्त्रणमा आएको उच्च रक्तचाप सधैँ आउँछ भन्ने छैन । मनमा अनेक कुरा खेले । शान्त पार्न खोजेँ तैपनि खेली नै रहे ।

त्यसैले असोज ०८ गते विहान ५ः३४ बजे मोर्निङ वाक प्रारम्भ गरेँ । स्वामी रामदेवले मजस्ता उच्च रक्तचाप र पक्षाघातका बिरामीलाई लक्षित गर्दै भनेका कुरा सम्झेँ, “हाम्रा दुवै हातका हत्केला र खुट्टाका पैतालामा एक्युपङ्चरका प्वाइन्ट हुन्छन् । तिनलाई विहान–बेलुका दबाउने हो भने सबै खाले रोगीका लागि विशेष लाभ मिल्दछ ।” बिराटनगरका अर्जुन गौतमले पनि खाली खुट्टामा गिट्टीमा हिँड्न सके लाभ मिल्छ भनेको कुरा सम्झेँ । सडकभरि गिट्टी ओछ्याइएका थिए । तिनले खाली खुट्टामा घोच्दा एक्युपङ्चरका प्वाइन्ट स्वतः दाबिने हुँदा म पनि खाली खुट्टै हिँड्न थालेँ ।

बाटाभरि मोर्निङ वाकमा निस्केका मान्छे लावालस्कर थियो । मेरो शिर निहुरिएको र ध्यान मोवाइलमा बजिरहेको श्रुतिसंवेग कार्यक्रमको अडियोमा थियो । आँखा भने मान्छेका पाउ जाँच्नमा मग्न थियो । करिब सयको हाराहारीमा मान्छेहरू ओहोरदोहोर गरिरहेका हुँदा हुन् । सबैले जुत्ता–चप्पल लगाएको अवस्थामा फेला परे । सिर्फ म एक्लो खाली खुट्टाले यात्रा तय गर्दौ थिएँ ।

केही मान्छेहरूले भने फर्किफर्की मतिर हेरिरहेको पाएँ । सायद तिनीहरू मेरै विद्यार्थीहरूका अभिभावक होलान् । माष्टरी पेशा समातेको कारण प्रत्येक्ष नचिने पनि अप्रत्क्षयरूपले मलाई चिन्ने थुप्रै होलान् भन्ने लाग्यो । किनभने तिनका विद्यार्थीहरूले मेरो हालतको अवगत गराउँदै यसो भनेका हुन सक्छन्, “हमर स्कुलमे एकटा लवका माष्टर आयल छै । लेकिन निक सँ बाजैला आ लरैला नही सकैछै । पढवैला निक रहे, दिनदशा लागले विचाराके !”

सबै विचार पन्छाएर श्रुतिसंवेगमा अच्युत घिमिरेको आवाजसँग डुब्दै गएँ । उनी शंकर लामिछानेको ‘एब्स्याक्ट चिन्तन प्याज’ निबन्ध सङ्ग्रहका निबन्धहरू बाचन गरिरहेका थिए । आत्मपरक शैलीका मनोहारी निबन्धहरू सुन्दै गिट्टीको बाटो हिँड्दै गर्दा खुट्टामा तीखा गिट्टीले दिएको पीडा पनि भुसुक्कै भुलेको थिएँ ।

जनता माविको चौरमा ५० जना जति मान्छेहरू थिए । कोही कराँते खेल्दै थिए । कोही हात उचालेर दगुर्दै थिए । कोही भने फुटबल खेल्नमा मग्नमस्त थिए । मलाई पनि त्यही हुलमा मिसिन मन लाग्यो । यद्यपि मजस्तो अर्ध–अपाङ्ग त्यहाँ कोही थिएन । श्रुतिसंवेगको मधुर आवाज सुन्ने वातावरण थिएन । सबैभन्दा बढता त मलाई चाहिएका तीखा गिट्टीहरू थिएनन् ।

म सोझै पश्चिमतिर लागेँ । त्यो बाटो कहिल्यै हिँडेको थिइनँ । सायद पुरानो चोहर्वातिर जाँदो हो । बलराम यादव सरको घर पनि चोहर्वा नै हो भन्ने सुनेको थिएँ । उत्तै पुगे पुग्छु । नयाँ ठाउँ पनि हेर्छु । डा. ओम मूर्ति अनिलका अनुसार धेरै हिँडेर धेरै रक्तचाप घटाउँछु ।

हिँड्दा हिँड्दै एउटा काठ मिल सामुन्नेमा देखियो । मेरा घरमालिक सुवर्ण दाहालको मिलकोभन्दा बढता दाउराको रास देखेर छक्क परेँ । दाउरा त के काठै कुहेर जान्छन् तर बिक्री हुँदैहुँदैनन् । यहाँका काठमिलको मालिकको समस्या बुझेर एकक्षण टोहोलाउन वाध्य भएँ ।

काठको साटो फलामको प्रयोग बढ्यो । दाउराको साटो ग्याँस र बिजुलीको चलन चल्यो । अनि मिल बन्द गरे भइगयो नि ! भन्ने आशाराम मण्डल मिस्त्रीका कुरा सार्थक भएको अनुभूत भयो ।

गाउँघरतिर पनि मान्छेले दाउरामा खाना पकाउन छाडेछन् । मान्छे सुविधाका भोगी भएछन् ।

श्रीमान्÷छोराहरूलाई विदेश पठायो, परिवारको आम्दानी बढायो । र, सुविधाको लत बसाल्यो । सुहाउँदिलो खर्च गरेर दुई÷चार पैसा बचत गर्न सके पो नेपालीहरूको दरिद्रता हट्थ्यो । राष्ट्रिय आम्दानी बढ्थ्यो । एक त विभिन्न नाममा नेताहरूले नै नेपालीहरूलाई गरिब पारे । अर्कातिर जेल बाहिर बसेर र जेलभित्र रहेर अपराधीले दरिद्र बनाए । सबैभन्दा बढ्ता त नबुझेर हैन बढी जान्ने भएर नेपालीहरू स्वय म गरिबीको दलदलमा फँसेँ । मनमा यस्तै विचार आए, गए ।

हिँड्दै जाँदा सुमित्रा योञ्जन म्याडमले किनेको घडेरी नजिक पुगिएछ । त्यहाँबाट लोकमार्ग उक्लने बाटो गएको रहेछ । उत्तै लागेँ । भर्खर रोपेका बैगन र गोलभेडाका बिरुवाहरू भएको करेसाबारी देखियो । ती कलिला बिरुवाले पानी खान मागेजस्तो लाग्यो । दयालु नजरले मतिर हेरिरहेजस्तो लाग्यो । मुन्तिरपट्टी बोरिङले पानी फ्याकिरहेको थियो । यद्यपि त्यसको कुलो तल्तिर धानबारीमा लगेको थियो । मलाई कुलो फर्काएर करेसाबारी सिँचाइ गर्न मन लाग्यो । मनले चाहेको गर्न मिल्दैन भनेर मनलाई बुझाएँ । नत्र त्यता डुल्न पनि मनाही हुन्छ भनेर सम्झाएँ ।

लोकमार्ग उक्लँदा त हटिया छिर्ने पश्चिमी मार्गमा पो पुगियो । छक्क परेँ । कहाँ न कहाँ पुगेँ भनेको त घुम्दैफिदै रुम्जाटार भनेझैं पो भयो । तल्तिर उपेन्द्र अधिकारीको घरमा कल्पनाथ नामको बिरुवा रोपेको रहेछ । अधिकारी बाजे सधैँ बिहान–बिहान आएर ३÷३ वटा पात टिपेर चपाउनु र निल्नु उच्च रक्तचाप त के डाइबिटिजको समेत दोहोलो काड्छ, अरू ओखती खानै पर्दैन भन्थे । अर्का माष्टरजी चाहिँ संसारकै सबैभन्दा तीतो बनस्पति भनेकै कल्पनाथ नै हो भन्थे ।

मैले पनि ३ वटा पात टिपेँ र चवाएँ । तीतो, अति नै तीतो निल्न त के चपाउनै नसकिने तीतो रहेछ । साँच्चै संसारकै तीतो चीज रहेछ भन्ने विश्वास भयो । उच्च रक्तचाप काबुमा आउने आशले आँखा चिम्लेर चपाएँ र निलेँ । आफ्नो डेरामा आउँदा ठ्याक्कै विहानको ६ः३४ बजेको रहेछ । एक घण्टा मोर्निङ बाकमा बितेछ ।

लक्ष्मीले एक गिलास मन तातो गाईको दूध टक्र्याइन् । मैले सुरुप्प–सुरुप्प पारेर सिद्धयाएँ । काँचो लसुन र भिजाएको मेथी पनि खुवाइन् । र, थकाइ मरेपछि उनले मेरो बीपी चेक गरिन् । मेरो बीपी माथि १३५ र तल १८८मा सीमित भएछ ।

मन शान्त भयो । दैनिक आहारविहारमा ख्याल गरे चाँडै उच्च रक्तचाप र पक्षाघातबाट छुटकारा पाउन सकिने आशा पलायो । मलाई परोक्ष शुद्धिबुद्धि दिने दार्शनिक ओशो, स्वामी रामदेव, राजीव दीक्षित, अर्जुन गौतम, डा. ओम मूर्ति अनिलहरूलाई हृदयदेखि नै नमन गर्दै लेखपढमा व्यस्त भएँ । धन्यवाद !!!

–नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।
मो.नं. ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *