कालो–कालो रूप थियो गालामा थियो कोठी
चाँदीझैँ कपाल थियो छोटो लगाउँथिन् धोती
आँखा थिए निर्मल ठूला सलक्क परेका आँखीभौँ
गए तिनका दिन कठै ! राम्रो नलाईकनै ।

न बाँध्थिन् चोलीका तुना, न धोती मिलाउँथिन्
मोतीझैँ कपाललाई सधैँ गुजुमुज्ज बनाउँथिन्
आफ्नो पीडा बाँध्दै अरूका पीडामा छट्पटाउँथिन्
कोही भोकैनाङ्गै भए भोको भुँडी भराउँथिन् ।

न गरिन् तिनले कहिले साँधसँधियारका कुरा
खाइन् यातना तिनले हुर्काउन धेरै भुरा
न गर्जिन् मेघ भै कहिले न लगाइन् एक लपेटा
धर्ती नै हुन् तिनी सहिन् कति चोटचपेटा ।

छालमै डुब्यौँ हामी मायाका भोका भएनौँ
छटपटाउँदै कहिल्यै पनि हामी पाखा गएनौँ
अर्को जन्म भए कतै तिम्रै काख पाऊँ
त्यही मायालु काखमा निर्धक्क भै निदाऊँ ।

ज्योति– २०६९
बुद्घनगर काठमाडौँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *