आदरणीय स्व. रामकुमार शर्मा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली !

BhairabKC


स्व. रामकुमार शर्मा न्यौपानेको जन्म २०१० वैशाख ९ गते भोजपुर जिल्लाको गोगने गाउँमा भएको हो । वहाँको वाल्यकाल बिराटनगरमा सूर्यबहादुर थापाका ठाईंला भाइ स्व. देवेन्द्रबहादुर थापाको संरक्षणमा गंगादेवीले गर्नु भएको हो ।

स्व. रामकुमारले अध्ययनमा अर्थशास्त्र र नेपाली विषय लिएर बी.ए. गरी मास्टर अफ साइन्स इन रिर्सोस एसेसमेन्ट फर डेभेलोपमेन्ट ल्पानिङ्ग पढ्नु भई एप्रोस्क, राष्ट्रिय योजना आयोगको माननीय सदस्य, सि ए ए तथा कृषि विकास बैंकको महाप्रन्धक, स्थानीय विकास मन्त्रालयको सल्लाहकार, कृषि मन्त्रालयको अधिकृतको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भयो । त्यस्तै गरी बिभिन्न प्राइभेट फर्म देखि लिएर आइ यु सि एन जस्ता संस्थाहरूमा सन्चालित आयोजनाहरुमा संलग्न हुने गर्नु हुन्थ्यो । । नेस भन्ने एक फर्मको कार्यक्रमको सिलसिलामा स्थलगत भ्रमणको क्रममा वहाँको त्रिशुली नदीमा खसेर, मृत शरीर समेत फेला नपारि मिति २०७१ माघ १ गते निधन भयो ।

सन्दर्भ − “प्रेरक व्यक्तित्व, रामकुमार शर्मा – स्मृतिग्रन्थ – २०७३”

आदरणीय स्व. रामकुमार शर्मा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली !

आदरणीय स्व. रामकुमार शर्माज्यूको वार्षिक तिथिमा स्मारिका प्रकाशन गर्न लागेको खबर पाएर वहाँसँग सम्बन्धित केही लेख्ने जमर्को गरेको छु । जन्म र मृत्यू एक अन्योन्यास्रित सत्य भएपनि वहाँको एक अपत्यारिलो दुर्घटनाले ज्यान गयो । वहाँलाई मैले पहिलो चोटी ‘एप्रोस्क’ भन्ने संस्थामा देखेको हुँ र अन्तिम पटक मैले ‘नेस’मा भेटेको थिएँ । मलाई माया गर्ने सरहरू मध्ये रामकुमार सर एक हुनुहुन्थ्यो । वहाँ काठमाण्डौ बाहिर गइरहनु हुन्थ्यो र फर्केपछि कम्प्युटरमा समस्या परे वा कम्प्युटर सम्बन्धी काम गर्नु परेमा मलाई सम्झनु हुन्थ्यो । संधै मलाई “भैरवजी, म रामकुमार बोल्या” भनेर फोन गर्दा कहिलेकाहीं टेलिफोनको समस्याले वहाँको स्वर झट्ट चिन्न गाह्रो हुन्थ्यो, अँझै फोन आउँछ कि भन्ने झल्को गएको छैन । अब हामीसँग वहाँको सम्झना र वहाँसँगै भए गरेका मिठा सम्झना बाहेक केही छैन । निधनको तेह्रदिन पछि मात्र वहाँको परिवारजनलाई भेट्न जान सकें म, जाने बित्तिकै म्याडमले “भैरवजी, सरले तपाँईलाई पैसा दिनु थियो कि ?”भन्दा मन थाम्न सकिन मैले । वहाँको निधनले परिवारमा त अकल्पनीय दुर्घटना तथा नसोचेको शोक त पर्यो नै, साथीभाइ माझ र यस राष्ट्रले एक होनाहार व्यवसायिक अर्थशास्त्री तथा समाजशास्त्री व्यक्तित्व गुमायो ।

रामकुमार सर सबैसँग समान व्यवहार गर्नु हुन्थ्यो, “तपाँई” भनेर सम्बोधन गर्ने वहाँको बानी नै थियो, निम्नस्तरको कर्मचारीको पनि पिरमर्काको उचित समाधानको चासो लिनु हुन्थ्यो । काम गर्दा गर्दै केही नबुझेमा वा नयाँ कुराको बारेमा वहाँसँग कसैले जिज्ञासा राखेमा त्यसको बारेमा विस्तृतरुपमा बुझाउने गर्नु हुन्थ्यो । कसैले जागिर वा आँशिक काम माग्न आएमा, चिनेजानेका साथीभाइका प्राइभेट फर्ममा बायोडाटा पठाइ दुवै पक्षलाई एक अर्काको सम्भाव्यताको समेत अवगत गराइदिनु हुन्थ्यो । पूर्ण व्यवसायिक व्यक्तित्व तथा खरो स्वाभावको महानुभाव हुनुहुन्थ्यो । कुनै पार्टी विशेषको बखान वा चाकरी वा कसैलाई “यो यस्तो, त्यो त्यस्तो” भनेर पछि लाग्न वा झण्डा बोक्न कसैलाई भन्नु भएन । मेरो आर्थिक तथा घरको अवस्थाबारे वहाँले धेरै चासो हुन्थ्यो । एक दिन अफिसमा, कुरै कुरामा, म लैनचौरबाट डेरा सर्दा कम्प्युटर टेबल/मेच नयाँ कोठामा अटेन सरभन्दा “कति पैसा परेको हो म दिन्छु, मेरो घरमा ल्याइदिनु” भन्नु भै, जतिमा किनेको हो त्यत्तिनै पेसा दिनुभो । जग्गा किन्ने कुरा चल्दा, वहाँले “मैले कोटेश्वरमा जग्गा किन्दा, मलाई पनि फसाएकै हुन तर मलाई फाइदै भो” भन्ने गर्नु हुन्थ्यो हामी माझ । वहाँले पनि, मैले घर बनाउँदा व्यक्तिगत सहयोग गर्नुभयो र “बाहुनहरू कन्जुस हुन्छन् तर म छैन” भन्नु हुन्थ्यो । अलि पछि वहाँले पनि गेट र माथि बैठक/अफिस बनाउँदा केही सामान चाहिए लिएर जानु भन्नुभएको थियो ।

रामकुमार सर ‘टेक’मा केही वर्ष पूर्णकालीन विशेषज्ञ भई काम गर्नुभयो । ‘टेक’ मार्फत खानेपानी, मर्स्याङ्दी जलविद्युत तथा अन्य प्रोजेक्टहरुमा वहाँ संलग्नु हुनु भयो । ‘टेक’मा आए पछि वहाँसग धेरै नजिकको सम्बन्ध भयो मेरो । पहिलो चोटी ‘ग्रीन टी’ वहाँले नै खाएको देखेको हुँ र काम गर्ने अफिसमा आफै किनेर ल्याउनु हुन्थ्यो । फुर्सदमा मसँग पनि देश/विदेशका धेरै कुराहरू हुन्थ्यो, वहाँ विशेष गरी देशको बिग्रंदो परिस्थितिका बारेमा चिन्ता व्यक्त गर्नु हुन्थ्यो । ‘टेक’मा आउँदा वहाँलाई कम्प्यूटर चलाउन आउँदैन थियो । वहाँले लेखेको हामीले टाइप गर्ने गर्थ्यौं । डाटाको नतिजा निकाल्न वहाँले सिकाउनु हुन्थ्यो भने, हामीले निकालेको परिणाम क्याल्क्युलेटरबाट चेक गर्नु हुन्थ्यो । एक दिन, मलाई डाटा टेबुलेसन गर्न लाउनु भो तर जति गरे पनि सही नतिजा मैले निकाल्न सकिन र “भो म आफै गर्छु” भन्नुभयो । सबै काम कम्प्यूटरबाटै गर्नु पर्ने हुनाले बिस्तारै कम्प्यूटर सिक्ने इच्छा गर्नु भो र “बिग्रेमा म बनाउँला सर, चलाउनु भए हुन्छ” भनेर मैले वहाँको टेबलमा एक सेट कम्प्यूटरको व्यवस्था गरेपछि बिस्तारै माक्रोसफ्ट वर्डबाट वहाँले कम्प्युटर चलाउन सुरु गर्नुभएको हो । हटमेल तथा जिमेल आदि खोलेर, मैले नै वहाँको पासवर्ड राखिदिन्थें र त्यो कहिल्यै बदल्ने गर्नु हुन्थेन । वहाँको कम्प्यूटरमा हात बस्न थालेपछि नयाँ डेस्कटप सेटनै घरको लागि किन्नुभयो र म वहाँको आइटी सहायकनै भएको थिएँ । ‘टेक’मा छँदा, पिएचडीको तयारी समेत गर्नुभयो र दुई/तीन वटा विदेशी विश्वविद्यालयमा समेत अप्लाई गर्नुभयो तर भनेजस्तो स्कलर्सिप मिलेन । “४५ वर्ष भित्रकालाई मात्र सजिलै स्कलर्सिप दिन्छ” भन्नु हुन्थ्यो र मलाई पनि ट्राई गर्नु भन्नु हुन्थ्यो । फेक मेलले झुक्यायो — यूएनबाट थुप्रै विशेषज्ञको माग सहित एउटा मेल आयो त्यो मैले रामकुमार सरलाई फर्वाड गरें । वहाँले पनि आफूलाई मिल्ने भ्याकेन्सीको तयारी गरेर अप्लाई गर्नु भएछ । दूई/तीन चरण पार भए पछि पैसाको डिमाण्ड भएछ, साथी मार्फत यूएन हडक्वार्टरमा बुझ्न लाउनु भएछ । लोगो, लेटरहेड, हस्ताक्षर सबैकुरा यूएनसँग मिलेकोले फेक होइन भन्न सकेनछन् । तर तात्कालीन समयमा विशेषज्ञहरुको माग नभएको भन्ने यूएनले जानकारी दिएछ । “के गर्नु, कस्तो राम्रो तलब/भत्ता थियो तर फेक रहेछ, कस्तो दुःख पाइयो” भनेर मलाई पछि भन्नु हुन्थ्यो । सन्तोष बाबुको ग्राजुएशनमा अमेरिका गएर फर्केपछि – “भैरवजी, अमेरिका त तपाँईजस्तो पो जानु पर्ने रहेछ, हामी जस्तो गएर काम रहेनछ” किनभन्दा त्यहाँ आँशिक काम जत्ति पनि पाइने रहेछ भन्नु हुन्थ्यो ।

सँगै हिड्दा वा हुँदा, वहाँले चिनेका माथिल्लो तह वा ठाउँमा पुगेका साथी भेटेमा “लौन भैरवजीलाई जागीर दिनु पर्यो” भनेर आदेशात्मक अनुरोध समेत गर्नु हुन्थ्यो । बिस्तारै वहाँले आफू संलग्न तथा साथी भाइको फर्म तथा कार्यालयमा मेरो आँशिक संलग्नताको सुरुवाति समेत गरी दिनु भयो । ‘डिभिएन’ बानेश्वरमै हुँदा वहाँले मलाई आँशिक कामको जिम्मा समेत दिनु भाथ्यो । बारा/रौतहटको काम ‘डिभिएन’ले दोहोर्याएर गर्दा डाटा एनालाइसिस र प्रतिवेदन टाइपिटङ्ग/फम्र्याटिङ्गको काम मलाई नै जिम्मा दिनु भो । मेरो सानी छोरीको समस्याबारे वहाँले त्यस्तै समस्या भै भारतमा समेत उपचार गरी आएका साथीसँग समेत भेट गराइदिनु भयो । मेरो ठूली छोरीले स्नातक सकेपछि ‘डिभिएन’मासँगै लगी वहाँसँग भेटाएको थिएँ र वहाँले नै समकक्षीसाथीहरुलाई भनेर आँशिक काम छोरीलाई दिलाई दिनु थियो ।

वहँले एकदिन फोन गरेर, “घरेलु प्रशिक्षण केन्द्रमा बिनोद उपाध्याय सर हुनुहुन्छ गएर भेट्नुहोस् भन्नु भो” तर मैंले फोनमा वहाँले भनेको कुरा राम्ररी बुझ्न सकिन, बिनोद सरलाई भेट्न गएँ । रामकुमार सरले पठाउनु भएको भनेपछि बिनोद सरले सहजै त्यहाँको सिस्टम हेर्ने जिम्मा दिनु भयो । बिनोद सर त्यहाँबाट सरुवा भएपछि पनि मर्मत तथा सिस्टम हेर्ने काम देखि प्रशिक्षकको समेत आँशिक भूमिका केही वर्षसम्म वहाँकै कारणले प्राप्त भएको हो ।

एक पटक “महासचिवज्यूकाहाँ गएर वहाँले भनेको काम गर्नु” भन्नु भो । वहाँले भने अनुसार माधवकुमार नेपालज्यूको घर गएर काम गरीदिएको थिएँ । पछि एक दिन अफिसबाट घर फर्कंदा वहाँको फोन आयो “भैरवजी महासचिवज्यूकाहाँ गएर एक चोटी हेरिदिनु पर्यो”, तर मैंले “ चिया पनि दिंदैनन् म त जांन्न सर” भनें । वहाँले “ल ल म भन्दिऊँला, जानुस् है” भन्नु भो र त्यसपटक महासचिवज्यूकाहाँ भिआइपि चिया नास्ता भेटियो ।

नेपालमा टाइपराईटर बिस्थापित भएपछि प्रोजेक्ट प्रतिवेदनहरू कम्प्यूटरबाट तयार गर्ने चलन आए पनि सबैलाई कम्प्यूटर चलाउन आउँदैन थियो । ‘इकार्ड्स्–नेपाल’मा पनि रामकुमार सरले नै मलाई आँशिककामको लागि सिफारिस गरिदिनु भएको हो । उसबेला प्राजेक्ट प्रपोजल/प्रतिवेदन फर्माटिङ्ग/टाइप सेटिङ्ग गरेकोको प्रति गोटाको हिसाबले समेत पारिश्रमिक दिने चलन थियो ।

वहाँको सिफारिस तथा चिनजान मार्फत धेरै आँशिक काम गर्ने मौका मलाई मिलेको थियो र अँझैपनि गर्दैछु । मेरो व्यवसायिक जीवनमा, कम्प्यूटर सिस्टममा काम गर्नको लागि दरो सिफारिस तथा विश्वासिलो अभिभावककोरुपमा मैले वहाँलाई पाएर पनि गुमाउनु पर्दा मलाई धेरै दुःख लागेको छ । यस स्मरिका प्रकाशनले रामकुमार सरलाई परिवारजनको साथै हामी जस्ता साथी/भाइ माझ संधै सम्झना गराउनेछ भन्ने विश्वास लिएको छु । वहाँको व्यवसायिक योगदान के केमा र कुन कनु संस्थामा छ भन्ने कुरा सबैले जानकारी समेत पाउने छन् भन्ने मलाई लागेको छ । अल बिदा रामकुमार सर ! हजुरको आत्माले चीर शान्ति पाऊन ……………………… ।

प्रेरक व्यक्तित्व, रामकुमार शर्मा – स्मृतिग्रन्थ – २०७३
नुवाकोट, तलाखु; हालः बूढानिलकण्ठ, काठमाडाैं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *