गाउँलेको नाटक


उदयपुरमा बेलका तरी नामको एक वन थियो । त्यस वनका उपभोक्ताहरू वरवरका गाउँलेहरू थिए । तिनै गाउँको हरिया खेतीपाती गरेर गुजारा गर्थ्यो । उसकी श्रीमती प्याकुलीसँग ठाकठाकठुकठुक परिरहन्थ्यो ।

हर्दमको लोग्नेस्वास्नीको रडाकोले गाउँलेहरू आजित थिए । उनीहरूले हरियाको परीक्षा लिने विचार गरे । सके उसलाई सुधार्ने नसके पनि अत्याउने भनेर कामको विभाजन गरे ।

योजना अनुरूप हरिया र शुक्रे साधन वा सत्तिसालको हरिस र अनौँ काट्न वन गए । हरियालाई शुक्रेले धेरै टाढा पुर्यायो । र, आफू कतै अलप भयो । हरियाले जोडतोडका साथ बोलायो तर शुक्रेको अत्तोपत्तो लागेन ।

हरियाले बाटो भुल्यो । चारैतिर दगुर्यो, चिच्यायो, सुसेल्यो । वन्यजन्तुका सत्र्याङसुत्रुङ आवाज बाहेक अर्थोक केही सुनेन । त्यही आवाजले ऊ झन् अत्तालियो । र, चालचुल नगरी ठुलो रूखमुनि थच्चियो ।

आँखाभरि आँसु पारेर पुकारा गर्न थाल्यो, “हे वन देवता ! मलाई यस प्रलयबाट बचाउनुस् । मलाई बाटो देखाउनुस् प्रभु ! म घर पुगेको हप्ता दिनभित्र एक जोर परेवा ल्याएर हजुरलाई चढाउँछु ।”

अकस्मात् वनदेवता प्रकट भए । देवताले लगाएको टल्कने वस्त्र र शरीरको शृङ्गारपटार देख्नासाथ हरियाका आँखा तिरमिराए । झट्टै वनदेवता बोले, “ए मनुष्ये ! आँखा बन्द नै गरिराख् । र, मेरा कुरा सुन् ।”

हरियाले आँखा खोल्न पनिसकेन र बोली निकाल्न समेत सकेन । झन् हल न चल भयो र ऊ काँपेका हात जोडेको जोड्यै रह्यो ।

वनदेवताको बोली सुनियो– “हरिया ! देवबलीको नाममा आफ्नो जीव्राको स्वादको लागि निर्दोष पशुपक्षीलाई काटमार गर्नु अर्को अपराध हो । परेवा वनमा उडाइदिनू । म तँलाई खबरदारीका साथ घर पुग्ने बाटो देखाइदिन्छु ।”

हरिया कुप्रो परेर काँपिरह्यो । वनदेवता भन्दै गए, “तँ प्याकुलीसँग सधैँ भगडा गरेर गाउँलेहरूको पनि अमनचयन छिन्दो रहेछस् । प्याकुलीका बगेका आँसुको पापले तँ सङ्कटमा फसिँस् । जति झमेला गर्छस्, उती दुःख पाउँछस् ।”

आँखा नखोलीकन हरियाले विन्ती बिसायो, “अब कहिल्यै त्यस्तो अधर्म गर्ने छैन, प्रभु !” वनदेवताले दिशा सङ्केत गरेतिर हरिया गयो । र, साँझमा आफ्नो घरको आँगन टेक्न पुग्यो ।

प्याकुली र गाउँलेलाई सारा कुरा वतायो । र, मायालु नजरले हेर्दै प्याकुलीको हात समाएर घरभित्र पस्यो ।

शुक्रे अलप हुनु र वनदेवताको पदार्पण हुनुमा गाउँलेकै नाटक थियो भन्ने कुरा हरियाले कहिल्यै चाल पाएन ।

–नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *