आजका नेपाली विद्यालयमा मूल्यशिक्षा र ध्यानको महत्व


हरेक शिक्षकले आफ्ना विद्यार्थीहरू असल बनून भन्ने चाहन्छन् अनि हरेक अभिभावकले पनि आफ्ना सन्तानहरू राम्रा बनून भन्ने चाहना राख्नु स्वभाविकै हो तर आज ती कोमल मस्तिष्कका बालबालिकाहरूलाई हामीले कस्तो शिक्षा दिइरहेका छौं, त्यो पक्ष विचारणीय छ । एउटा बिरुवा रोपेपछि त्यसलाई सप्रनका लागि नियमित रूपमा मलजल गर्नु पर्ने हुन्छ तर त्यो मलजल हामीले बिरुवाको जरामा गर्नुको साटो बिरुवाको पातमा हालेर हुँदैन । बिरुवाको जरामा मलजल गर्नु र पातमा गर्नु धेरै फरक पर्छ । हामी बालबालिकालाई राम्रो बनाउन चाहन्छौं तर कोमल मस्तिष्कका बाल बालिकाहरूलाई उसको अवचेतन मनमा कस्ता विचारहरूको प्रवाह गरिरहेका हुन्छौं, त्यो ध्यान दिनु जरुरी छ । आजकल भौतिकवादी चिन्तन चरमोत्कर्षमा पुगिरहेका बेला नैतिक मूल्यमान्यता, आध्यात्मिक शिक्षा एव म योग, ध्यानको कमी भइरहेको छ । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनका शब्दमा भन्नुपर्दा ‘Spirituality is lame without materiality, Science is blind without spirituality’ “भौतिकता विना आध्यात्म लङ्गडो हुन्छ भने आध्यात्मिकता विना विज्ञान अन्धो हुन्छ ।” त्यसैले जीवनमा सन्तुलन गर्नका लागि भौतिकताको साथसाथै आध्यात्मिक, नैतिक मूल्य मान्यतामा समेत जोड दिनु पर्दछ । आध्यात्मिकता र भौतिकका दुवै मानव जीवनका परिपूरक हुन् । बालबालिकाहरू भनेका काँचो माटोजस्तै हुन्छन्, उनीहरूलाई शिक्षक, अभिभावक र वातावरण रूपि कुमालेले जस्तो पनि आकारको भाँडामा परिणत गर्न सक्छन् । सानो हुँदा बालबालिकाहरूले सत्य कुरा बोल्ने, इमान्दारिताका साथ व्यवहार गर्ने गर्दछन् । पछि उनीहरूलाई असत्य बोल्न बाध्य बनाउनमा नजानिदो हिसाबले हाम्रो पनि केही हात हुने गर्दछ । उदाहरणका लागि सानो बच्चाले जब विद्यालयबाट आफ्नै साथीको पेन्सिल चोरेर ल्याउँदा उसले घरमा आफ्नो आमालाई खुसी हुँदै भन्ने गर्दछ कि “आमा मैले पेन्सिल चोरेर ल्याएँ ।” आमाले त्यो बच्चालाई सुधार्ने उद्देश्यले गाली गर्ने, पिट्ने आदि नकारात्मक व्यवहार गर्ने गर्नुहुन्छ, जसको फलस्वरूप बच्चाको बाल मष्तिष्कमा कस्तो प्रभाव पर्छ भने “यदि मैले सत्य बोले भने गाली र पिटाइ खानुपर्ने रहेछ ।” अब बच्चाले घरमा कहिले पनि चोरी गरेको कुरा भन्दैन, तर चोरी गर्न पनि छाड्दैन । आमाबुबाले के सोच्नुहुन्छ भने “मैले गाली गरेपछि, पिटेपछि मेरो बच्चा सुधृयो ।” तर बच्चा सुधृनुको बद्लामा झन् बिग्रदै गएको हुन्छ । पहिला सत्य बोल्ने, इमानदारिताका साथ कुरा गर्ने बच्चामा झुटो बोल्न बाध्य बनाउने संस्कारको विकास अभिभावकबाट भइरहेको हुन्छ । सो कुराको बारेमा अभिभावकहरू अनविज्ञ नै हुन्छन् । बरू सो समयमा अभिभावकले उसले सत्य बोलेको कुरालाई प्रोत्साहन गर्दै चोर्न नहुने कुरालाई सकारात्मक रूपबाट शिक्षा दिन सकेको भए बच्चाको चोरी गर्ने आदत पनि छुट्थ्यो र सदा सत्य बोल्ने बानी स्थायी रूपमा संस्कार बन्दथ्यो ।

हामीले आजकाल मन नपर्दा नपर्दै पनि भ्रष्टाचारका बारेमा धेरै समाचारहरू सुन्नु परिरहेको छ । भ्रष्टचारलाई न्यूनीकरण गर्नका लागि जबसम्म मानिसको मेन्टल सेटलाई परिवर्तन गर्दैनौ तबसम्म त्यो असम्भव छ । सानो होस् वा ठुलो परिमाणमा केही न केही झुठ व्यवहार गर्ने प्रायः स्वभाव नै बनिसकेको छ आजकालका मानिहरूमा । यहाँ गलत कार्य गर्नेलेभन्दा सही कार्य गर्नेले मुन्टो लुकाएर हिँड्नु पर्ने अवस्था दिनानुदिन वृद्धि हुँदै गइरहेको छ । यसको मूल कारण भनेको आजको शिक्षामा नैतिक मूल्यशिक्षा र आध्यात्मिकताको कमी हुनु हो ।

एउटा सामाजिक सञ्जालमा भेटेको रमाइलो प्रसङ्गलाई लिऊँ । एउटा विद्यालयले विद्यार्थीहरूको सामूहिक फोटो खिच्ने भएपछि प्रिन्सिपलले फोटोग्राफरलाई भन्नुहुन्छ, “प्रति फोटो रू.४०/– त बढी भयो, अलि मिलाउनुस् न” फोटोग्राफर भन्छ, “सर चलेको रेट त रू. ५०/– हो, ठीकै छ, म हजुरका लागि रू. ३५/–सम्म गरिदिउँला ।” प्रिन्सिपल भन्नुहुन्छ, “रू. ३५/– होइन, ५०० जना विद्यार्थी छन्, रू. ३०/– गर्नुस् न ।” फोटोग्राफरले “हुन्छ” भन्छ । अब प्रिन्सिपलले सबै क्लास टिचरलाई बोलाएर भन्नुहुन्छ, “सबै विद्यार्थीलाई ग्रुप फोटोको लागि रू.६०/– लिएर आउन भन्नुहोला ।” क्लास टिचर कक्षामा गएर भन्नुहुन्छ, “भोलि तिमीहरूको ग्रुप फोटो खिच्ने कार्यक्रम छ, घरबाट रू.१००/– लिएर आउने” विद्यार्थीहरू आपसमा खासखुस गर्न थाले, “बजारमा रू. ५०/–मा खिच्ने फोटो यहाँ रू. १००/–? यो सब टिचर र फोटोग्राफरको मिलेमतो हो, भलाइको त जमाना नै छैन” घरमा गएर विद्यार्थीले आमासँग भन्छ, “मम्मी भोलि स्कुलमा ग्रुप फोटो खिच्ने रे… रू. १५०/– चाहियो रे ?” आमाले जवाफ दिनुहुन्छ, “हैन यो स्कुलले नि कति लुट्न सकेको ? कैले के भनेर पैसा माग्छ….कैले के भनेर…छ्या नसक्ने भएँ म त ? पख, भरे तेरो बाबा आएपछि मागिदिउला ।” आमाले बुबासँग भन्नुहुन्छ, “स्कुलमा फोटो खिच्न रू. २००/– चाहियो रे बाबुलाई ।” अब विचार गरौं यो भ्रष्टाचार कसरी निर्मूल होला त ? जबसम्म हरेक तहमा नैतिक मूल्यको बारेमा जनचेतना हुँदैन तबसम्म यस्ता क्रियाकलापले बास गरिरहन्छ, यो त प्रतिनिधि उदाहरण मात्रै हो ।

केही बच्चाहरू सानामा अत्यन्त जिद्दी स्वभावका हुन्छन्, हामीलाई के लाग्छ भने जिद्दी गर्नु राम्रो होइन, तर त्यो जिद्दीलाई सकारात्मक रूपमा रूपान्तरण गर्ने हो भने त्यो नै सफलताको आधार बन्न सक्दछ । आज अल्बर्ट आइन्स्टाइनको नाम जो कोहीलाई पनि थाहा छ, जसलाई साइन्सका पिता भनेर संसार भर चिनिन्छ । अल्बर्ट आइन्स्टाइन बच्चा बेलादेखि नै अत्यन्त जिद्दी स्वभावका थिए । एक पटकको कुरो हो, अल्बर्ट आइन्स्टाइन करिब ८ वर्षका मात्र थिए, जुनेली रातमा आकासमा जुन (चन्द्रमा) चम्किरहेको देख्दा एकाएक अल्बर्ट आइन्स्टाइनका मनमा चन्द्रमा छुन पाए पनि हुन्थ्यो भन्ने विचार आउँछ र उनले जून (चन्द्रमा) छुने भन्दै आफ्ना बुबा हेर्मन आइन्स्टाइनलाई अनुरोध गर्छन्, तब उनका बुवा हेर्मन आइन्स्टाइनले छोरालाई सम्झाउँदै भन्दछन्, “बाबु जून (चन्द्रमा) छुनु असम्भव छ ।” तब अल्बर्ट आइन्स्टाइनले “नाइ बाबा नाई” भन्दै रूँदै कराउदै जिद्दी गर्दै बुवालाई भन्छन् “बाबा मलाई जसरी पनि जून (चन्द्रमा) छुनै पर्छ…छुनै पर्छ…”तब बुवा हेर्मन आइन्स्टाइनका मनमा एउटा विचार आउँछ, र उनले माटाको भाँडामा पानी राखेर पानीमा टल्किएको जून (चन्द्रमा)लाई औंलाले देखाउँदै भन्नुहुन्छ, “ल बाबु तिम्रो चाहना बमोजिम यसलाई छोएर हेर ।” तब अल्बर्ट आइन्स्टाइनले अत्यन्त खुसी हुँदै त्यो पानीमा टल्किएको जून (चन्द्रमा)लाई छुँदै भन्छन, “बाबा, बाबा यो जुन (चन्द्रमा) छुन कुनै असम्भव रहेन छ ।” यस घटनाले वास्तवमा संसारमा असम्भव भन्ने केही छैन भन्ने विचार अल्बर्ट आइन्स्टाइनको अवचेतन मनमा गढ्यो, जसको फलस्वरूप अल्बर्ट आइन्स्टाइन एउटा महान् वैज्ञानिक बन्न पुगे । यसर्थ बाल बालिकाहरूलाई हामीले कहिले पनि निरूत्साहित गर्नु हुँदैन । बालबालिकाहरूले आफ्ना अभिभावकलाई बारम्बार अनेकौ प्रश्नहरू गर्ने गर्दछन्, त्यसलाई हामी बेवास्ता गरिरहेका हुन्छौं, बालबालिकाहरूले गरेका प्रश्नहरूलाई बेवास्ता गर्नुका बद्लामा गम्भीरतापूर्वक लिनुपर्दछ र सरल शब्दमा कारण सहित व्याख्या गर्दै उचित जवाफ पनिदिनु पर्दछ । बालबालिकाहरूका हरेक प्रश्न र व्यवहारलाई सकारात्मक रूपमा लिई उनीहरूलाई सधैँ प्रेरित गरिरहनु पर्दछ ।

विद्यालयमा विद्यार्थीहरूलाई पाठ्यक्रम अनुसार शिक्षकले विभिन्न विषयहरू पढाउने गर्नुहुन्छ । सो पढाइका आधारमा विद्यार्थीहरूको I.Q. (Intelligence Quotient) लेबल त बढिरहेको हुन्छ तर व्यावहारिक रूपमा असल नागरिक बन्न E.Q. (Emotional Quotient) र M.Q. (Moral Quotient) को बारेमा सिकाउँदैनौं, जसकाकारण भोलि त्यही विद्यार्थीहरू डाक्टर बन्छन्, आर्थिक प्रलोभनमा फँसेर बिमारीका मृगौला चोरी गर्छन्, इन्जिनिएर बनेर कमजोर घर तथा पुल निर्माणका लागि सिफारिस गर्दछन्, प्रशासक बनेर भ्रष्टचार गर्छन्, न्यायाधीश बनेर सही न्याय गर्दैनन्, । राजनेता बनेर जनताको हितमा काम गर्दैनन् भने यस्तो शिक्षाको कुनै अर्थ छैन । त्यसैले अबको शिक्षामा नैतिक मूल्यमान्यता, आध्यात्मिक ज्ञान र कर्मको गहन गतिको विश्लेषण सहितको शिक्षा हुनु जरुरी छ । कर्मको गहन गति आध्यात्मिक रूपमा भन्नुपर्दा न्यूटनको चाल सम्बन्धी तेस्रो नियम “प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरित प्रतिक्रिया हुन्छ ।” (Each action has an equal but opposite reaction.) जबसम्म मानवले गरेको कर्मको हिसाबकिताब जसरी पनि चुक्ता गर्नु पर्छ भन्ने ज्ञान मानवलाई हुँदैन तबसम्म जति अधिक डिग्री हाँसिल गर्नुले कुनै तात्वित अर्थ राख्दैन । शिक्षाको उद्देश्य नै असल, नैतिकवान् नागरिक तयार गर्नु हो । तर हामीले उत्पादन गरेका विद्यार्थीहरू कति नैतिकवान् छन् त ? बालबालिकाहरूलाई हामी के भन्छौभन्दा पनि हामी उनीहरूको अगाडि कस्तो व्यवहार गर्छौं भन्ने कुराले महत्व राख्दछ । आजकाल बालबालिकाहरूलाई शिक्षाका नाउँमा कुशिक्षा दिइरहेका छौं भने कुशिक्षाभन्दा त अशिक्षा नै बेस हुन्छ । कुशिक्षा एव म कुसंस्कारयुक्त शिक्षाको बद्लामा सुशिक्षा एव म सुसंस्कारयुक्त शिक्षा आजको आवश्यकता रहेको छ । आमाबाबुले अत्यन्त दुःख, मेहनत गरेर आफ्ना बालबालिकाहरूलाई शिक्षित बनाइरहेका हुन्छन्, बुढेसकालमा तिनै छोराछोरीहरू आफ्ना बुबाआमाका लागि रत्तिभर समय दिँदैनन्, त्यस्तै पर्यो भने वृद्धाश्रममा पठाइ दिन्छन्, आफ्ना बाबु आमाहरूलाई ।

शिक्षाको अर्को उद्देश्य आफ्नो राष्ट्र र राष्ट्रियताप्रति सदा बफादार रहने नागरिक तयार गर्नु पनि हो । राष्ट्रियताका सन्दर्भमा कुरा गर्दा स्वामी विवेकानन्दको एउटा प्रसँग याद आउँछ । सन् १८९३मा अमेरिकाको सिकागोमा आयोजित ‘सर्व धर्म सम्मेलन’का लागि भारतको तर्फबाट प्रतिनिधित्व गर्दै स्वामी विवेकानन्दले दिनुभएको भाषणले संसार हल्लाएको थियो । सोही क्रममा विवेकानन्दलाई भेट्ने क्रममा जब एक अमेरिकनले आफ्नो हात अगाडि बढाउँदै’Hello’ भन्दछन, तब विवेकानन्दले दुवै हात जोडेर “नमस्ते” भन्नुहुन्छ, अनि सो अमेरिकन सोच्दछन् कि सायद् विवेकानन्द अङ्ग्रेजी बुझ्दैनन् क्यारे भनेर हिन्दी भाषामै सोध्छन्, “आप कैसे हें ?” तब विवेकानन्द जवाफ दिनुहुन्छ, I am fine, Thank you. तब अमेरिकन छक्क पर्दै विवेकानन्दसँग प्रतिप्रश्न गर्छन् । मैले पहिले अङ्ग्रेजी बोल्दा तपार्इँले हिन्दी बोल्नुभयो, अनि मैले सोचेँ, तपाईंलाई अङ्ग्रेजी आउँदैन होला भनेर मैले हिन्दीमा बोल्दा तपार्इँले किन अङ्ग्रेजीमा जवाफ दिनुभयो ? तब विवेकानन्दले मार्मिक जवाफ दिनुभयो, “जब तपार्इँले पहिलोपटक आफ्नो देशको अङ्ग्रेजी भाषा प्रयोग गर्नुभयो, त्यतिबेला मलाई पनि मेरो देश, मेरो मातृभूमिको याद आएर मैले मेरो मातृभाषा हिन्दीमा बोलेँ अनि दोस्रोपटक तपार्इँले मेरो मातृ भूमिलाई सम्मान गरेर मेरो मातृभाषा हिन्दीमा बोल्नुभयो अनि मैले पनि तपाईंको मातृ भूमिप्रति सम्मान गर्दै तपार्इँको मातृभाषा अङ्ग्रेजीमा बोलेँ ।” कुरो सामान्य जस्तो लाग्छ, तर कति राष्ट्र र राष्ट्रियताको भावनाले ओतप्रोत भएको महान् विचार थियो विवेकानन्दको । जबसम्म आजको शिक्षामा नैतिक मूल्य शिक्षा एव म आध्यात्मिकतालाई साथसाथै जोडेर लगिन्न तबसम्म यस्ता आदर्श पुरुषको उत्पादन राष्ट्रमा कमी नै हुन्छ ।

नैतिक मूल्य शिक्षाको साथसाथै शिक्षामा योग एव म ध्यानको पनि आवश्यकता छ । हामी बालबालिकाहरूलाई हरेक कार्य गर्दा ध्यान दिएर गर भन्ने गर्छौं । ध्यान दिएर पढ, ध्यान दिएर बस, ध्यान दिएर खाऊ…आदिआदि । हरेक कार्य गर्दा ‘ध्यान दिएर गर’ भनिरहेका हुन्छौं तर ध्यान के हो भन्ने कुरा आजको शिक्षा प्रणालीमा कमी हुनु सबैभन्दा ठुलो दुर्भाग्य र विडम्बना हो । पश्चिमा मुलुकहरूले अहिले योग र ध्यानलाई महत्व दिएर उनीहरूका शिक्षा प्रणालीमा योग र ध्यानलाई समावेश गर्न थालिसकेका छन्, जब कि योग र ध्यान हाम्रो पूर्वीय दर्शनमा आधारित भए पनि हामी निकै पछि छौं । यो विषयमा सन् २०१५बाट भारतका प्रधानमनत्री नरेन्द्र दामोदरनाथ मोदीको पहलमा २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन लागिएको छ । महर्षी पताञ्जलीका अनुसार योग चित्तवृत्तिनिरोधः अर्थात् योगले मानिसको चित्तको वृत्तिलाई चञ्चल हुनबाट रोक्दछ । योगः कर्मसु कौशल म (गीता २/५०) अर्थात् योगले मानिसको कर्ममा कुशलता प्रदान गर्दछ । वास्तवमा ध्यान भन्नाले त्यस्तो कुनै अप्ठ्यारो कुरा होइन, बरू हरेक कार्य गर्दा मन र बुद्धिलाई एकाग्र गरेर होशपूर्वक गर्नु नै ध्यान हो । हाम्रा पूर्वजहरूलाई राम्रोसँग थाहा रहेछ कि हाम्रा भविष्यका पुस्ताहरू बेहोशी हुन्छन् भनेर होला, हरेक शब्दको पछाडि “होस्” शब्द प्रयोग गर्नुहुन्थ्यो । जस्तैः बस्नुहोस्, खानुहोस्, पढ्नुहोस्, आउनुहोस्, जानुहोस् आदि । हरेक कार्य गर्दा होशपूर्वक गर्नु नै ध्यान हो । विद्यार्थी जीवनमा यसको अति नै आवश्यकता हुन्छ । शिक्षकले कक्षामा पढाइरहनु भएका बेला उसको ध्यान कक्षामा नै हुन ध्यानको अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हरेक दिन नियमित रूपमा राजयोग ध्यानको अभ्यासले विद्यार्थीहरूमा एकाग्रताको क्षमतामा विकास भई अवचेतन मनलाई सक्रिय बनाइराख्ने भएको हुदाँ स्मरण शक्ति समेत बढ्दछ । राजयोग ध्यानको अभ्यासले मनमा उत्पन्न हुने विचारहरूको अधिक संख्यालाई कम गरी शक्तिशाली विचारको संख्यांमा बृद्धि गर्दछ । जति हामी ध्यानको अभ्यास गर्छौ, यसले हाम्रो आन्तरिक क्षमता तथा मनोवल बढ्दछ साथै कोपिङ्ग पावरको वृद्धि हुने हुदा मनमा सकारात्मक विचारको प्रवाह बढ्ने हुँदा तनावलाई कम गर्न मद्दत गर्दछ । जीवनमा आइपर्ने कैँयौँ चुनौतीपूर्ण परिस्थितिहरूलाई सामना गर्न राजयोग ध्यानले सघाउ पुर्याउँदछ । साथै नैतिक मूल्य शिक्षा एव म आध्यात्मिक शिक्षाका साथै ध्यानको अभ्यासले असल, गुणवान् र चरित्रवान् नागरिक निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले विद्यालय शिक्षामा यसको आवश्यकता एव म अपरिहार्यता रहेको छ । यो कुरा शिक्षाविद्, प्रशासक र अभिभावकहरूले पनि अब त बुझिसकेका छन् त्यसैले अब निर्माण गर्ने पाठ्यक्रमहरूमा योग एव म मूल्य शिक्षालाई सानै तह वा कक्षादेखि नै अनिवार्य जस्तै बनाउनु पर्दछ ।

ब्रह्माकुमार भरतकुमार श्रेष्ठ
सहायक प्राध्यापक
मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

1 thought on “आजका नेपाली विद्यालयमा मूल्यशिक्षा र ध्यानको महत्व”

Leave a Reply

Your email address will not be published. Required fields are marked *