पाँच दिने हाइकुको महाकुम्भ

नेपालमा गाणतन्त्र नामक तत्व प्रभुहरुको आशीर्वादमा झिकाइएपछि धेरैलाई मुख्य राजा उपराजा सहायक राजा हुने मौका मिलेको हो । यस्तैमा म एक नगरपिताको सपनाका बारेमा केही सुनाउन लागिरहेको छु । आज्ञा भए सुनाउँछु । जो आज्ञा ।
अँ यता गाणतन्त्र आएपछिको नेशै भरि नगर भए अनि नगरपिता पनि । सबै नगरपिताहरूले गरिखाइरहनु भएकै छ । म यस्तै एक नागरका पिताको कैरनमा छु ।
नगरपिताका रुपमा सुपरिचित श्री नगरपिताको लोकप्रियताले नगरपालिकाको धेरै क्षेत्रबाट उचाइमा पुगेको भए पनि गजलकार हाइकु र कविता आदि लेखकका कित्ताबाट पर्मुखज्यूको साख अलिक गिरेको बेलाको कुरा हो । आफ्नै पुत्र गजल र हाइकुकार भएकोले र इलाकाभरिका गजल र हाइकुकारहरुलाई थमौती गरिरहने जिम्मा पुत्रलाई पर्मुखज्यूबाट लगाइएकोले यस कित्ताको गतिविधि उहाँलाई जाहेरी छ । तर नगरभित्र अस्तिको कविता गजल वाचनपछि त्यस वृत्तबाट पूरा विरोध चलेको छ । सबैले पुरस्कार पाउँदैनन् यो उनीहरुलाई भलिभाँती थाहा छ । तर सबैले कविता सुनाउन नपाएकोले नै यसो हुन पुगेको हो लोकप्रियता गिर्न पुगेको हो । यो काव्य फाँट हेर्ने र यस विभागको पिता नेताका पुत्रको भागमा परेकोले पर्मुखज्यूलाई नगरका असन्तुष्टहरुको मनोविज्ञानबारे थाहा पाउन कुनै समस्या छैन ।
उपस्थित सबै कविहरुले र गजलकारहरुले कविता गजल आदि सुनाउने मौका पाएनन् निहुँ यति नै हो । पहिलो दोस्रो तथा अन्य मै हुनु पर्ने भनेर पर्खेकाहरु बरु सन्तुष्ट भए । कम बुझ्झकी छन् र कविहरु । तर जसले गजल हाइकु र कविता सुनाउन पाएनन् उनीहरुले पर्मुखको कार्ज्यालय नै घेराउ गर्लान् भन्ने सूचना राष्ट्रिय अनुसन्धान विभागका पर्मुख आफ्नै माइला पुत्रबाट नगरपितालाई जानकारी भो । यसो लख काट्ता अनुसन्धान प्रमुखले दिएको गोप्य रिपोर्ट सही नै अड्कल हुन थाल्यो । आफ्नी पत्नी स्वकीय सचिबका सामु पनि उनले अब कसो गर्ने भनेर सोधे । समाधानका उपायहरु बारे पिता माता पुत्र पुत्रवधुहरुका बिचमा लामो चर्चा भयो तर निचोड निस्केन । छलफलको निचोड नआएपछि भोलिपल्ट सभा गर्ने गरी स्थगित गर्नु भो । अझ भोलिपल्ट विशेष सल्लाहकार निजका जेठा ज्वाइँ साहेबलाई पनि बोलाउने निर्लय भयो । पर्मुख गले । निजलाई निद्रा लाग्यो । भुसुक्क दिधाए ।
पहिले हाइकुकै प्रतियोगिता गर्ने निर्णय भो र सोअनुसार इलाका भरिका हाइकुकारहरुको पालो आयो । नगरको सभाभवनको कुरा हो । भव्य समारोह छ । हाइकु सुनाउनेहरु टनाटन छन् । लाम लागेको छ । सबैलाई अवसर दिने नीतिअनुसार एक जनाले दस सेकेन्डमा सक्ने गरी दुई ओटासम्म हाइकु सुनाउन पाउनेछन् । चौतिस अक्षर पढ्न जति नै ढिलो गरे पनि दस सेकेन्ड न लाग्छ । यसैले इलाका भरिका सत्रहजार हाइकुकारहरुको नामाङ्कन भएको छ । स्टेचरमा हालेर ल्याउन गारो हुने भएकोले नब्बे वर्ष भन्दा माथिका र आमाको दूध नछाडेका नानीहरुलाई यसबाजि अवसर नदिने निर्णय भएको छ । नगरपालिका भरिको जनसंख्या नै हाइकु लेखनमा जौडे जौडे भएको हुँदा सबैको नाम नगरपालिकाले सङ्कलन गरेर आमन्त्रण गरेको छ । हरेक दिन बार घन्टा लगातार अखण्ड हाइकु वाचन हुने कुराको निर्णय छ । यसो खानपिन पनि हुनु पर्यो नि । दिनमा त्यति भन्दा बढी ता कता सकून् बिचराहरु हाइकु सुनाउन । थाकिन्छ पनि लाम लागेर खुट्टा गल्छन् । खानु पर्यो । सुत्नु पनि पर्यो । यसो लघुदीर्घ सङ्का पनि गर्नु पर्यो । तबैतारे । जे होस् तलमाथि गरेर एभ्रेजमा प्रतिदिन ३६०० सय हाइकुकारहरुले आफ्ना रचना सुनाउने बन्दोबस्त नगरपालिकाले मिलाएको छ । यसो गर्दा सत्र हजारलाई पाँच दिन र यसो भासनभुसनका लागि अर्को एक दिन गरेर छैटौं दिनमा कार्जेकर्म सक्ने तय भएको छ ।
यही अनुसार हाइकुकारहरु पहिलो दिनमा आफ्ना रचना सुनाउन लाइनमा बसेका छन् । लाइन सरिरहेको छ । सभावनबाट बाहिर पल्लो टोलसम्म लाइन छ । बडो अनुशासित लाइन छ । तिर्खाउनेहरुलाई नगरपालिकाले पानीको बन्दोबस्त गरेको छ । विदेश जान मरिहत्ते गर्नेहरु र भिसाका लागि फार्म फर्नेहरुको लाइन यतै पो सुरु भएछ कि भनेर केही बाहिरकाहरुले अनुमान गरिरहेका छन् । हैन नेपालमा चुनाव आइहाल्यो कि के हो कोही कोही लाइन हेरेर अनुमान गरिरहेका छन् । हैन के कुराका लागि यो लाइन हो कोही दुविधा जाहिर गरिरहेका छन् । सभाभवन बाहिरको अवस्था यो छ ।
सभाभवनमा छिरेर पालो आएपछि कसैले सातै सकेन्डमा आफ्ना दुई हाइकु सुनाएर अरुलाई समय बचाइदिइरहेका छन् । अर्काको ख्याल गर्ने उनीहरुको जुक्ति देखेर पत्रकारहरु पनि मख्ख छन् । यसरी सबैले समय बचाइदिने हो भने ता आजै छ हजार जतिले अवसर पाउलान् भन्ने प्रबल आशा सभामा जाग्रित भइरहेको छ ।
पहिलो दिनको हाइकुबाचनको कार्यक्रम सकिन लाग्यो । फटाफटी चौतिस अक्षर भन्नेको गन्नेको लाम अघि बढिरहेको छ । ताली पड्काउने अब कोही देखिएको छैन । आफ्नो सुनाएपछि अरुको कसले सुनोस् । यसैले सभामा सुन्नेहरु भनेका सभाभवनका रक्षक र सरसफाइ कर्मचारीहरु मात्र रहेको बेला छ । कामिलाको लाइन जस्तो देखिएको छ । नगरपिता आफ्नो सोफामा बसेका छन् उङ लागेर धेरै पटक उनी निदाइसके । पहिलो दिनको सभा विसर्जन गर्नु छ ।
अचानक यसै बेला आँधीतुफान सहित चट्याङ् परेकोले नगरपिताको निद्रा भङ्ग हुन्छ ।
ज्या सपना पनि कस्तो । ए कान्छी त्याँ झ्याल लगाऊ है । हावाहुरी चलेर लुगाहरु भिज्लान् । हेरविचार गर है । नगरपिता फेरि निधाए । अबको सपना के देख्ने हुन् देखिरहून् । उनको निद्रा भङ्ग हुनुहुन्न ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *