जस्तो पनि बन्न सक्ने कस्तो आनी-बानी
कहिले हिउँ, कहिले बाफ कहिले तरल पानी

पौडी खेल्न नुहाउन र तिर्खा लाग्दा पिउन
पानी नभई सम्भव छैन जीवन त्यसै जिउन
यही पानीले पोल्छ कहिले, कहिले शीतल हुन्छ
यही पानीले फोहोर ल्याउँछ यही पानीले धुन्छ

समुद्र र नदी-खोला छाँगा-छहरामा
पोखरी र इनार अनि अग्लो पहरामा
खहरे भई बग्छ पानी तालसँगै जम्छ
पहरामा रसाए’नि यही धर्तीमा रम्छ

खाँदा स्वाद छैन हेर्दा रङ्ग पनि छैन
लुगा लाउन मिल्लाजस्तो अङ्ग पनि छैन
पानीजस्तो नहोऊ तिमी भन्ने कोही छैनन्
कुलको छोरा मूलको पानी त्यसै भन्या हैनन्

बाढी आई घर-बस्ती लतारेर लाने
पानीसँगै माटो बग्ने पहिरो पनि जाने
बाढीसँग जिस्क्यो भने नसोचेको हुन्छ
थोरै बैगुन भए पनि यसको धेरै गुन छ ।

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *