–––पाएँ,
प्रिय भाइ,
शुभाशीर्वाद !
आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ । पम्पसेटले पानी तान्न महङ्गो पर्छ । अर्कातिर चाहिएको बेलामा डिजेल उपलब्ध हुन्न । जसोतसो सिँचाइ गरेर रोपे पनि बीउ नसरीकनै मर्न थाल्छ । पटकैपिच्छे पम्पसेट प्रयोग गर्ने हो भने फसल राम्रो उब्जदैन । थोरै उब्जे पनि लागत जोडजाड पार्दा सुन र धानको मोल बराबर हुन जान्छ । र, पनि हामीले बाँच्नु परेको छ । स्वतन्त्र जन्मेको मान्छे चाहेर पनि संसार छाड्न सक्दैन । स्वतन्त्र बाँच्न पनि सक्दैन । बन्धनभित्रै आफूलाई खोज्नुको विकल्प उससँग हुन्न ।
भाइ जनार्दन ! तिमीलाई पढाउने बेलामा पानीको झेलोखेलो थियो । आकासे पानीले पनि त्यत्ति साह्रो धोका दिँदैनथ्यो । सानोतिनो पानी पर्दा पनि धेरथोर रोपाइँ हुन्थ्यो । महङ्गीले आकाश छोएको थिएन । प्रदूषणले गाउँलाई बन्दै खाएको थिएन । प्राकृतिक प्राङ्गारिक मल नै पर्याप्त हुन्थ्यो । अहिलेकोजस्तो मलका लागि सामलखाजा बोकेर एक साता राजधानीमा कुर्नु पर्दैनथ्यो । युग सोझो थियो । सोझो तवरले दिनचर्या चलेको थियो ।

अरू त के ! नेतानेतृ कम थिए । खाने मुख कम थियो । भ्रष्टचार कम थियो । महङ्गी बढ्न पाएको थिएन । नेता हुन छैटीमा भावीले भाग्यमा लेखेको हुनुपर्छ भन्ठानिन्थ्यो । मानसिक होस् या शारीरिक, सामथ्र्य हुनेले काम पाउँथ्यो । हात बाँधेर भोकै मर्ने अवस्था थिएन । अहिले जमाना उल्टेको छ । स्वच्छ दिमाखले सोच्न पनि पाइएको छैन । गरिवलाई बाँच्नकै लागि रातोदिन जोतिँदा पनि हम्मे हम्मे छ । धनीलाई चारैतिरबाट धन ओहिरिएको छ । राजनैतिक चेतनाले सबै जसोमा उग्र विकृत मानसिकता जन्माइदिएको छ । मभन्दा जान्ने र बुझ्ने अरू कोही छैनन् र हुनु पनि आवश्यक छैन भन्ने आभाष फैलिएको छ । धेरै जसो नागरिक राजनैतिक गुट/उपगुटको नेतानेतृ बन्न लालायित छन् । साधरण नागरिक भई बाँचिरहेकाहरू अल्पसङ्ख्यामा छन् । के–के छन्, छन् ! कहिरन उतारेर साध्य छैन । गाउँले धेरै खाले नेतानेतृ जन्माएको छ ।
यही युगको एक अनागरिक बनेर हामी बाँचिरहेका छौँ । नागरिक बनाउने महाअभियानमा सोलुखुम्बु पुगेका तिमी चाहिँ अहिले केकसरी बाँचेका छौ ! त्यो हामीलाई थाहा भएन । पानी नपरेर खेतमा घाँसैघाँस भएको कहिरन बताएर डिजेल र मलका निम्ति पैसा पठाइदेऊ भन्न चिठी लेखेको हुँ । तिमीले पठाएका पुराना पत्रहरू पढ्दा तीन छक्क परेको छु । पैसाको माग गर्ने हिम्मत पुगेको छैन । जति तलव भए पनि खान र बस्न पनि धौधौ भएको कथन अघि सारेका थियौ । चौमासिक तलवको प्रतीक्षामा भोकै बस्न नसकिने रहेछ । यता र उताको उधारो टालटुल गर्दागर्दै पाएको तलव तुरिने गरेको इतिहास बरोबर दोहोर्याएका थियौ । तिम्रो विवशता अवगत हुँदाहुँदै पनि म यत्ति कुरा लेख्न बाध्य भएँ । अब कसो गर्छौ, सम्झीबुझी काम गर्नू ।
(१)

–––हुत्याएँ,

प्यारी शारदा,
सप्रेम सम्झना !
म छु यहाँ, तिमी छ्यौ त्यहाँ । सरकार छ उहाँ, भोकमरी छ जहाँतहाँ । खबर छ मकहाँ, महङ्गी छैन र कहाँकहाँ ? तिमी कहाँ पनि त्यही होला, म कहाँ पनि यही छ । अतः महङ्गीले शिखर चुमेपछि, हाम्रो व्यवहारिक खर्चबर्चको सिलसिला तल नझारीकन रहन सक्ने अवस्था छैन ।

सरकार परिर्वनसँगै बजार भाउ परिवर्तन हुन्छ । यस दुर्गम भेगमा सानो जागिर छ । तराईको मान्छे, चामलकै खाना चाहियो । अरू कुराले छाक टार्न सकिँदो रहेनछ । म ठूलो मूल्य चुकाएर मात्र रहन सकेको छु । विशेषत खानपिनकै सवालमा समस्या छ । शुद्ध तलव र भत्ताभन्दा अरू आम्दानी छैन । छोरी लिएर तिमी सहरमा छ्यौ । म धेरै किसिमका वाध्यता र वन्धनमा छु ।
सदाझैँ यस सरकारले पनि गौरवमय परम्परालाई अक्षुण्ण राख्यो । हामीलाई चाहिँदा/अचाहिँदा सबै वस्तहरूुको भाउ बढायो । सरकारको निउ बनाएर पौँठेजोरी खेल्दै निजी निकायहरूले पनि वस्तुको भाउ प्रायः शतप्रतिशत बढाए । बढाबढ गर्दागर्दै अब बढाउने ठाउँ नै रहेन । तिमी पनि बढ्यौ, म पनि बढेँ । बढ्दाबढ्दै हामीले छोरी थपेर अझ बढायौ । र, पो आज म अलिक फरक धारमा पत्र लेख्न वाध्य छु ।

प्यारी शारदा ! धन्दा नमान । अबका कामकुरा व्यापारिक प्रयोजनका हुनुपर्छ । खास कामका बारेमा हुनुपर्छ । अबका विचार अग्रगामी हुनुपर्छ । फजुल खर्च गर्ने युग विदा भयो । जे चाहना थियो, त्यसलाई पनि विदावारी नगरी भएन । मेरा यसखाले वाध्यताहरूलाई समझदार बनेर सम्झनेछ्यौ भन्ने आशा र भरोसामा छु । साथै, अलिखित रूपमै पनि वाध्यता सम्प्रेषण भएको महसुस गर्नेछ्यौ । लेखेरभन्दा नलेखेरै, गरेरभन्दा नगरेरै अनि भनेरभन्दा नभनेरै मान्छे व्यावहारिक युगमा आयो भने त्यसभन्दा अर्को उत्तम काम नहोला ।
हेर, सरल युग थियो । आम्दानीसँग महङ्गी समायोजन हुन्थ्यो । त्यसैले भनेजस्तो गरी कार्य गर्न सकिन्थ्यो । खर्चले धान्ने खालको थियो । अब आम्दानी चाहिँ जहिँको त्यहीँ छ, खर्च भने कहाँ छ, कहाँ ! आम्दानी फेदमा छ, वस्तुको मूल्य भने टुप्पामा छ । आम्दानी टुप्पामा नपुगी खर्चको समायोजन गर्ने एउटै बाटो छ । त्यो हो– चुपचाप सहिरहनु । चुपचाप हेरिरहनु । चुपचाप भोगिरहनु । यही अचूक अस्त्र अपनाउने निर्णय लिन पनि सकिनँ । अतः यस महिनामा तिमीलाई खर्च पठाउन नसक्ने अवस्थामा छु । अरू महिनामा पनि यसै भन्न सक्दिनँ । पहिलेको झंै रकम पठाउन त सकिँदैसकिँदैन । सबै कुरामा बढाएर कहाँ समायोजन गर्न सकिन्छ र ! मिलनबिन्दु भेट्न माग र पूर्तिका बीच अन्तरक्रिया हुनैपर्छ । त्यसबाट नै बाँच्न सकिन्छ, त्यसबाट नै टिक्न सकिन्छ । मैले टिक्नुछ । अतः मैले युगबाट सिक्नुछ । तिमीले पनि बुझ्नुछ । अनि कार्यमा ढाल्नुछ ।

हेर शारदा ! जमाना बदलियो तर मितव्ययी हुने विचार जन्मिएको छैन । जमानाअनुसार चल्न नसक्ने मान्छे काम नलाग्ने भएको छ । म पनि त्यसकै अनुयायी भएको छु । अबका दिनमा गुलिया लाग्ने कतिपय अनावश्यक शब्दलाई आवश्यक बनाएर म तिम्रो अन्तःस्करणमा धक्का पुर्याउन चाहन्न । बोलेअनुसार काम फत्ते हुनुपर्छ । मेरो जीवनको गति त्यतैतिर लयबद्ध हुनेछ ।
हेर शारदा ! म र तिमीमा धेरै अन्तर छ । निक्कै मात्रामा भौगोलिक दूरी छ । हरेकका आ–आफ्ना शारीरिक व्यथाहरू छन् । कुनै भित्रभित्रै दबिरहेका छन् । कुनै बाहिर प्रकट हुने अवस्थामा छन् । फेरि, महङ्गीको महासागरमा पौडिरहनु पर्दा को पो कुसल रहन सक्ला र । यता फर्कंदा पनि पोल्छ, उता ढल्कँदा पनि पोल्छ । यस्तो पीडादायी क्षणमा जीवन सहज रहेको ढोंग रच्ने मन छैन ।
शारदा ! अबदेखि आकासकुसुम कुरा गर्ने चाहना छैन । सत्यको रङ्ग बेग्लै हुन्छ, उज्यालो हुन्छ । असत्यको रङ्ग कालो हुन्छ, अँध्यारो हुन्छ । म सूर्यलाई बादलले छोपोस् भन्ने चाहन्न । बादललाई सूर्यले छिन्नभिन्न पारोस् भन्ठान्छु । म मनको बेखुशीलाई उदाङ्गो पारेर संसार हँसाउन चाहन्न । असत्यको सिँढी चढेर भूलको महाजालमा फँसाउन पनि रुचाउँदिनँ । तिम्रो कार्यशैलीमा प्रश्न तेर्साउन चाहन्न । तिमीले पोखे पनि म चाहिँ गुनासो पोख्दिनँ । पारिवारले सहयोगको अपेक्षाले हात बढाउँदा रित्तो फर्काएर म अझै बर्बादीमा फँस्न चाहन्न । उनीहरू पनि महङ्गीको युगबाट अछूतो रहन सकेका छैनन् । परेको बेलामा सहयोग नगरेर पछि गरूँला भन्यो भने ‘लगन पछिको पोतेको के काम !’
शारदा ! मेरो विवसता बुझिनौ भने त्यसले एक किसिमको उल्झन ल्याउँछ । म आफ्नी पुत्रीको पूर्ण स्वास्थ्य लाभ चाहन्छु । त्यसैले त तिमीलाई सहरमा बसाएको छु । रहरमा बसाएको हैन । उधारो काम लिएर साराका सारा स्वास्थ्यकर्मीहरू र औषधी पसलेहरूको मन खल्लो हुने अवस्था दिलाउँदिनौ भन्ने आशामा छु । अब त केही भरथेग आफूबाट पनि होस् भन्ठान न । कुनै महिना भरणपोषणमा कमी हुँदा आफूले पनि होसियारी अपनाउन सक्नुपर्छ । सहरमा बाँच्न थोरै कसरत त गर्नैपर्छ । खर्चबर्चमा मितव्ययी बन । कसलाई पो सन्तान अस्वस्थ होस् भन्ने मन हुन्छ र ! कसलाई पो धन सञ्चय नगरूँ भन्ने हुन्छ र ! म अरूको मन कुड्याउन चाहन्न । दाजुले खोलेको मुख निरर्थकरूपमा बन्द नहोस् भन्ने चाहन्छु । त्यसकै लागि सहयोग गर्नुपरेको हो ।

विगतका चर्चापरिचर्चामा दिमाख गिजोल्न चाहन्न । हाम्रा कुरा ऐरेगैरेले पढेर, बुझेर खिल्ली नउडाऊन् भन्ने कुरामा म सचेत छु । घरपरिवारको समस्यालाई हल्कारूपमा मूल्याङ्कन नगरियोस् भन्ने चाहन्छु । अतीतलाई सम्झेर वर्तमानको पीडालाई भुल्न खोज्दिन । वर्तमान जस्तो छ, त्यसलाई त्यहीरूपमा भोग्न चाहन्छु । नदुखेको कपाल दुखाउन चाहन्न । दुखिरहेको कपाललाई वेवास्था गरी दर्द सहिरहने मन पनि छैन । बाध्यताका अगाडि झुक्न पनि जान्नुपर्दो रहेछ । घरलाई नहेरी तिमीहरू आमाछोरीलाई मात्र हेर्ने हो भने म परिवारको जागिरे सन्तान भएको के काम भयो र ?

शारदा ! शेष कुराका लागि तिमी नै जानिफकार छ्यौ । आजसम्म मैले भनेका एउटै कुरा पनि तिम्रा लागि पच्य भएका छैनन् । मान्य ठहरिएका छैनन् । मेरो सोच तिम्रो सोच हुन सकेको छैन । मेरो कुरा तिम्रो हुन पाएको छैन । म गर्छु आग्राको कुरा तिमी गर्छेयौ गाग्राको कुरा । मेरो सत्यलाई असत्य देख्छ्यौ । मेरो कर्तव्यलाई बन्धन सम्झन्छ्यौ । मेरो कामलाई बदनाम ठान्छ्यौ । मेरो व्यक्तित्वलाई मगन्तेको जीवन बुझ्छ्यौ । मेरो बचत प्रवृत्तिलाई मख्खिचुसको लीला ठहर्याउँछ्यौ । म पूर्व फर्के तिमी पश्चिम हेर्छेयौ । म आनन्दित भए बेचैनमा पर्छेयौ । भो अब भो अरू भूल गर्ने छैन । कसैको मनको तीतो बन्न चाहन्न । प्रष्ट कुरा प्रष्ट राख्न रुचाउँछु । यस महिना तिमीलाई सहयोग गर्न सक्दिनँ ।

यस्तै भइरहे, यस्तै सहिरहे अवश्य केके पर्ला पर्ला ! परिवारले नै पतिपत्नीको व्यवहारमा तगारो हाल्ला भनौली । नबल्ने आगो पनि हुरहुरी बल्ला भन्ठानौली । हेर, तिमी नामकी मात्र शारदा नभई कामकी पनि शारदा बन । मख्ख नपर । बौद्धिक दरिद्रता हटाऊ, आत्मियता बढाऊ । हो, तिम्रो मनझैँ महङ्गो हाम्रो समय भयो । बाँच्न कठिन हुने भो । दिनानुदिन मूल्य बढाएर केके पार्ने भो, भो । भोकै राख्ने भो । नाङ्गै पार्ने भो । हुने नहुने सबै एकै पटक ल्याउने भो । भो अब भो, कलमलाई दुःख दिन चाहन्न । अरू कुनै शब्द लेख्न चाहन्न । धन्यवाद !

(३)
–––किक्लिक्क भएँ,

प्रिय श्रीमान्,
सप्रेम सम्झना !
पत्र पाएँ, भाउन्निएँ । मसँग केही थियो धेरै पहिलेदेखि लुकाए/दबाएर राखेको, आज त्यही दिँदै छु । र, रोएको मनलाई मलहम लगाउने जमर्को गर्दै छु । त्यसबाट पर्न जाने असुविधाप्रति म जिम्मेवार रहने छैन भनी निवेदन गर्दछु ।
म यहाँ सोखका साथ बसेको ठान्नुभएछ । आफू चाहिँ मेरै लागि नौ डाँडा पारी गएर कहर काटिरहनु भएको विश्लेषण गर्नु भएछ । शब्दले पनि कति मार्नु हुन्छ ? सीमामा रहेर शब्दबाण चलेको भए, म चुपचाप हुन्थेँ । सम्झनुस् त, मेरा रहर कति मरे, मरे । ती रहरहरूलाई कुल्चेर मैले तपाईंलाई साथ दिएकी थिएँ । म स्वतन्त्र जीवनलाई परतन्त्री बनाउन राजी भएकी थिएँ ।
तपाईंले बिर्सनुभयो होला । मलाई त यादै छ, अमिट छाप बनेर मेरो मस्तिष्कमा बसेको छ । म अवोध युवती आफ्नै जीवनशैलीमा रमाएकी थिएँ । मेरो तपाईंप्रति न घृणा थियो न द्वैष नै । मसँग प्रेम रे, त्यो पनि एकलौटी । प्रेम गर्न कसैलाई कुनै शक्तिले रोकेको छैन । तर, प्रेमको नाममा जीवनलाई नै बलिदानी दिने तपाईंको दुस्साहस कस्तो प्रेम थियो त्यो ! मैले बुझ्न सकेकी थिइन र अझै छैन पनि । मैले हँसियाले त्यो डोरी काटेर तपाईंको जीवनलाई बचाउनु त मेरो मानवता थियो । प्रेमको प्राप्तिका लागि मैले त्यो कर्म गरेकी पनि थिइन् । बाध्यताबस्, तपाईंको जिद्दीको दासी बनेर प्रणयसूत्रमा आवद्ध हुन मञ्जुरी दिएँ । त्यो त मेरो महानता थियो, रहरहरूको वलिदानी थियो । तपाईं कुन पृष्ठभूमिमा मेरो जीवनमा गाँसिनुभएको हो ? त्यो आफैं सम्झनुस् । अर्को कुरा, तपाईंको धन मैले खर्चेकी छैन, केवल प्राण धान्न र इज्जत लुकाउन मात्र केही खर्च गर्ने गरेकी छु । बाँकी सबै छोरीको उपचारमा नै स्वाहा भइरहेको छ । त्यस कुराबाट न तपाईं अनविज्ञ हुनुहुन्छ, न परिवारजनहरू नै । कुनै घडीमा मबाट कुनै गल्ती भएको भए मलाई महसुस गराउनुस्, म तपाईंको सजाय भोग्न राजी छु । तर, हातमा हतकडी भएको यस घडीमा कठोर नबनिदिनुस् । नबन्नुस् भनेर धेरै प्रार्थना गर्ने पक्षमा समेत छैन । तर, बन्धन काटिदिएर आफ्नो वाध्यताको सीमाभित्र रहनुस् ।

सन्तान रहरको उपज हुनुपर्छ, बाध्यताको उपज हुनुहुन्न भन्ने मेरो अडानको पर्खाललाई शब्द जालमा फँसाएर तोड्नुभयो । रोगी छोरी जन्मिई । लामो समयसम्म उपचार गर्नुपर्ने र डाक्टरको निरगानीमा रहनुपर्ने बाध्यताका कारण सहरमा मलाई बसाउनु भयो । रोगीको कुरुवा बनेर म जीवन व्यतित गरिरहेछु । र, पनि यसो भयो, उस्तो समय आयो भन्दै खर्च पठाउन असमर्थता चाहेर गर्नुहुन्छ भने बुझ्नुस् म तपाईंकी दासी होइन, म एक्काइसौं शताब्दीकी नारी हुँ । नारीले जीवन चलाउन श्रीमान्को धोती पक्रिरहनुपर्छ भन्ने छैन । तपाईंको कृपामा श्वास फेर्नुपर्छ भन्ने छैन । मसँग पनि सुन्दर संसार छ, मसँग पनि सहास छ । केवल मेरो हात सिक्रीले नबाधिदिए पुग्छ । जीवनयात्राको मार्ग म पनि बनाउने थिएँ ।

सक्नुहुन्न भने सक्नैपर्छ भन्ने छैन । तपाईंको इच्छा पूरा होस्, मेरो शुभकामना ! तर, मेरो हातमा लागेको यो जन्जिर खोलिदिनुस् । मेरो यही निवेदन छ । यहाँभन्दा अर्को कुनै इच्छा पूरा गर्नुस् भन्ने चाहना र कामना गर्ने छैन भनी बाचा गर्दछु ।

(४)

दाजुको पत्रले म धर्मसङ्कटमा फसेँ । सहयोग गरूँ, परिवार धान्न गाह्रो । नगरूँ, दाजुको व्यथा बुझेर पनि बुझपचाएको आरोप लाग्ने त्रासमय अवस्था ! विवाहपूर्व दाजु नजिक थिए, विवाहपश्चात् टाढा भए । टाढा भएकाहरूलाई भन्न विचार गर्नुपर्छ । नजिक रहेकाहरूलाई मन लागी भन्दा पनि त्यत्रो बिग्रन्न । सजिलो टाढा रहेकाहरूसँगभन्दा नजिक बसेकाहरूसँग नै हुन्छ । दाजु मेरो पत्रको अभिलाषी हुनुहुन्नथ्यो । सहयोग पाउने आशा सङ्गालेर रहनुभएको थियो । धर्मपत्नी सहयोगका साथमा पत्रकी अभिलाषी थिई । मैले दुबै कुरा पठाउने हैन एक–एक कुरा पठाएँ । दाजुलाई पैसा पठाएँ, प्रत्युत्तर भेटिनँ । श्रीमतीलाई चिठी हुत्याइदिएँ । गजबको महाभारत पढ्न भेट्टाएँ ।

व्यथै व्यथा ! मुटु कुटुकुटु खाने व्यथा ! एउटा जोड्यो, अर्को फुट्ने डर ! एउटा समायो अर्को छुट्ने डर ! भय नै भयमा श्वास फेर्नुपर्छ यहाँ । त्रासभित्र जीवन खोज्नुपर्छ यहाँ । मन पन्छाएर हिँड्न र चल्न सके गन्तव्य चुमिएला । नत्र भने हातमा शून्यको शून्य नै । त्रासदी निर्णय नगरी भएको छैन । अब एक पटक मुटुको व्यथा निको पार्न मुटुलाई नै धक्का नदिई भएको छैन । सोच्दासोच्दै निद्रा देवीको शरणमा पुगिएछ । आनन्द ! बडो आनन्द !!

०६९.०४.२२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “पीडाको बखान”

  1. नमस्कार छ ।
    यस्तै व्यहोराको छ

    नमस्कार छ ।
    यस्तै व्यहोराको छ किनकी बहुत समय नई अछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *