कानै चिरेका सबै

TikaMilan-06


जोगी मालिक भै पसे महलमा छन् सिंह दर्बारमा ।
यौटाको बदला सयौँजन मिली खान्छन् लुटी देशमा l।
लाखौँ सम्पति जो भए नि उनको हिड्छन् मगन्ते हुदै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।

गर्थे भोज भतेर त्यो समयमा हामी डकार्दै गयौँ ।
धोका आज भयो समस्त जनमा ऐले खकार्ने भयौँ ।।
हामी दीन सबै बस्यौँ अभरमा; हेर्छन् तमासा तिनै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।

बन्ला देश भनी गयौँ रहरले झोला भिरी जोसमा ।
झोले नाम दिई बसे महलमा निर्लिप्त भै सोखमा ।।
थैली भर्नु थियो भरे कति लुटे निर्लज्ज बन्छन् अझै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।

पैलेका नभएर फेरि अरुनै छानी पठायौँ त्यहाँ ।
जोगी नै त भए उतैतिर मिले चिम्टा लिए हातमा ।।
हामी उल्लु भयौँ बस्यौँ र घरमै बाठा भए ती अझै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।

हामी नोकर सार्वभौम जनताका हुन् उनै मालिक ।
हाम्रै भोट लिएर त्यो महलको समृद्धिमा स्थापित ।।
राजा एक हटाउँदा मुलुकमा राजा बनेछन् तिनै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *