बनेपामा नेपाली कांग्रेसको नेतृत्वमा हुने हरेक कार्यक्रममा राजदास श्रेष्ठमार्फत नै सरकि हुने गर्थें । त्यसबेला बनेपामा कांग्रेस समर्थक कार्यकर्ता औँलामा गन्न सकिने संख्यामा थिए । तर, उनीहरूलाई परचिालित गरेर राम्रै उपलब्धि हासिल भएको थियो । राजदासका राजनीतिक गुरु भने सुन्दरराज चालिसे हुन् ।
त्यसो त बनेपाका उहिलेका कांग्रेसहरू सुन्दरराज चालिसेलाई बिर्सनै सक्दैनन् । किनभने, उनले नै यहाँ कांग्रेसको जग बसालेका हुन् । संगठन निर्माणमा क्रममा अन्य कांग्रेस नेताहरू पनि आए तर सुन्दरराज चालिसेको एक किसिमको भिन्दै ‘क्रेज’ थियो यहाँ । यहाँका कांग्रेसहरू साह्रै आदर गर्थे उनलाई । केही मानिसहरू त उनको राजा त्रिभुवनसँग सोझै सम्पर्क छ पनि भन्थे । त्रिभुवनले नै सेनासँग सम्बन्ध विस्तार गर्न उनलाई खटाएको भनाइ पनि चलेको थियो यहाँ । समयक्रममा त्यो पुष्टि पनि भयो ।
त्यसबेला हाम्रोजस्तो गाउँठाउँमा कांग्रेस हुनु ज्यादै गाह्रो थियो । तर, हामी हिम्मत गरेरै कांग्रेस भयौँ । लाए-अह्राएको काममा कहिल्यै नाइनास्ती गरेनौँ । ठूलो के जिम्मेवारी हुन्थ्यो र ! त्यस्तै, खबर पुर्याउने, चिट्ठी ल्याउने-लैजाने, मानिसको साथ लागेर कहीँ जानुपर्यो भने साथ दिने । अपरचित ठाउँको बाटो देखाइदिने । त्यस्तै काम हाम्रो भागमा पथ्र्यो, जो हामी पूरा गथ्र्यौं । तर, त्यति काम गरे पनि कांग्रेस बनेर हिँड्न साह्रै गाह्रो थियो । कांग्रेस भन्यो भने मानिसहरू टेढो आँखाले हेर्थे ।
विसं २००६ चैत महिनाको घटना हो । राणा शासनविरोधी अभियान चलाउने क्रममा घोडे जात्राका दिन सात गाउँमा पर्चा छर्ने कुरा भयो । त्यसदिन मान्छेहरू भेला हुने भएकाले त्यही दिन रोजिएको राजदासले हामीलाई सुनाएका थिए । अनि, पर्चा पनि यहीँ छाप्ने कुरा भयो । राजदासले मलाई त्यो कामको जिम्मा दिए । मैले पनि अह्राएको काम नगर्ने कुरै भएन । मेरै नेतृत्वमा पनौतीमा रातदिन गरेर करबि दुई भारी पर्चा छापियो ।
निकै दिन लगाएर ती पर्चा छापिएको थियो । कति दिन त मेरो दैनिकी नै पनौती गयो, दिनभर िपर्चा छाप्यो अनि राती घर फक्र्यो गरेर बित्यो । पर्चा छापेर मात्र पनि भएन, त्यसको थान्को पनि लगाउनुपर्यो । पर्चा थन्क्याउन महाभारत हुन्थ्यो । गाईगोठ, भकारी, परालको माच अथवा कहाँ हुन्छ लगेर थन्क्याइन्थ्यो अनि राती घर फर्किइन्थ्यो । कहिलेकाहीँ त घर फकिर्ंदा रातको १२ पनि बज्थ्यो ।
जसोतसो पर्चा छापेर त सकियो तर अब काठमाडौँ कसरी पुर्याउने भन्ने समस्या पर्यो । हामीले सल्लाह गरेर एउटा जुक्ति निकाल्यौँ । त्यसबेला सबै खादीकै कपडा लगाउँथे । गाउँले परविेशका कारण लोग्नेमान्छेले पनि पटुका बाँध्ने चलन थियो, जो हाम्रा लागि अनुकूल बन्यो ।
रातभर िगाउँ डुलेर साथीहरू जम्मा पार्यौँ । अनि, सबैलाई एउटै कुरा भन्यौँ, “काठमाडौँ जात्रा हेर्न जाने । महिलाहरू पनि जान चाहन्छन् भने कुनै बारबन्देज नलगाईकनै पठाउने ।” अनि, मैले रमाइलो गर्दै भनेँ, “राम्रो र मीठो खाने भन्छौ भने आ-आफ्नो घरबाट खाएर आउनू, होइन भने ढोकाटोलमा दाल, भात र तरकारीको व्यवस्था गरेका छौँ ।” बनेपाको ढोकाटोलमा कांग्रेसका पुराना कार्यकर्ताको घर थियो । त्यहीँ त्यो व्यवस्था गरएिको थियो ।
त्यसपछि मानिसहरू सबेरैदेखि त्यहाँ जम्मा हुन थाले । खाना ख्वाइवरी हामीले हरेक मानिसको पटुकामा दुई-दुई मुठीका दरले पर्चा राखेर कस्न लगायौँ र सानो सानो समूह बनाएर काठमाडौँतर्फ प्रस्थान गर्यौँ । हामीलाई पहिले नै अह्राइएको थियो कि ठीक १० बजे पर्चा छर्ने । त्यसभन्दा एक मिनेट अघि पनि होइन, पछि पनि होइन । हामीले काठमाडौँ पुगेर पर्चा छर्यौँ । ठूलै हलचल मच्चियो । तर, के गर्ने त्यसै राती राणाविरोधी अभियानमा सरकि भएको अभियोगमा ठूलो संख्यामा मानिसहरू पक्राउ परे । राजदासलगायतका व्यक्तिहरू टुँडिखेलमा पर्चा छरेको अभियोगमा गिरफ्तार भए । हामीलाई भने सहरभन्दा बाहिरको भागमा तोकिएको थियो । बनेपाबाट गएका हामीमध्ये पनि केही पक्राउ पर्यौँ । लाठी र बुट प्रहारको त कुनै गन्ती नै भएन । तर, लामो समय जेल बस्नुपरेन । छोटो समयमै रहिा गर्यो ।
राणाविरोधी अभियानमा काठमाडौँलाई बनेपाको राम्रो साथ थियो । कैयौँपटक यहाँबाट मानिसहरू लिएर काठमाडौँमा प्रदर्शन गरेको मलाई सम्झना छ । तर, त्यसको राजनीतिक फाइदा भने बनेपाले कहिल्यै पाएन । फाइदा यस अर्थमा कि यहाँका मानिसहरू पनि योग्य र सक्षम थिए । तर, अवसर उनीहरूले कहिल्यै पाएनन् । सधैँ पछाडि पारयिो । सायद, केन्द्रमा कोही नहुनुको पीडा हो कि ?
यसरी पटक-पटक जेल परे पनि मेरो कांग्रेसप्रतिको आस्था भने कहिल्यै मरेन । कहालीलाग्दो अहिलेको यो अवस्थामा आइपुग्दा पनि कांग्रेस पार्टी र कांग्रेस समर्थकप्रति माया नै लाग्छ । तर, मेरो सानो गुनासो पनि छ । त्यो के भने, कमसे कम पुराना मानिसहरू जसले राजनीतिक आन्दोलनमै लागेर आफ्नो ऊर्जा र मूल्यवान् समय बिताए, उनीहरूप्रति सक्ने जति न्याय गरयिोस् । अन्याय भएको उनीहरूले महसुस गर्नु नपरोस् । कांग्रेसमा लागेकै कारण छि कस्तो जीवन बिताउनुपर्यो भन्ने नपरोस् ।
कांग्रेस भएकै कारण पहिले त राणाहरूले अन्याय गरे । पञ्चको हामीमाथिको अन्याय पनि स्वाभाविकै थियो । किनभने, त्यस व्यवस्थाप्रति हाम्रो रत्तिभर विश्वास थिएन । तर,
सधैँभर िहामीमाथि नै अन्याय त हुनुभएन नि ! कमसेकम पुराना प्रजातन्त्र सेनानीहरूलाई इज्जत दिइयोस् । जीवन त जसोतसो दुःखसुखमा बितायौँ । अब मानिसहरूले ‘कस्तो मृत्यु भोग्यो’ भन्नु नपरोस् ।
प्रस्तुतिः ईश्वरी ज्ञवाली
नेपाल साप्ताहिक २५९
