तयार भई पर्खी बस्नू सत्य भोलि लिएर आउँछु
घोडामा चढी जन्तीसहित म त डोली लिएर आउँछु
नौमती बाजा दुई सय जन्ती सबै तिमीले भने जस्तो
सिन्दुर पोते सुनको औठी मखमली चोली लिएर आउँछु
त्यो सिउँदोमा सिन्दुर भर्दा नरुनु घुम्टोको आड लिई
नक्कली आसुँ चाहिन्छ भने बरुमा खोली लिएर आउँछु
घरमा बालाई भनिदिनू तिमी बाहेक चाहिन्न केही
तिम्रो त्यो मायाले भरिदिनू रित्तो झोली लिएर आउँछु
चर्खा जसरी घुम्छ जीवन यो त संसारको रीत नै हो
तिम्रा चाहाना भावना फुल्ने गोधुली म लिएर आउँछु