झण्डा-दण्डा, असि बल कसी, तीव्र बन्दुक-गोला ।
ठोक्ने-टोक्ने, भयकर छली, हुन्न बैंसालु चोला ।।
नारा ओढ्दै, सडक-रणमा, उग्र-आतङ्क बन्दै ।
तन्नेरीका, बल व्यय गरी, बन्छु नेता म भन्दै ।।१ ।।
चर्को बोली, जड-भरत भै, युद्ध-सर्दार उठ्छन् ।
मिच्दै चोखा, विधि-नियमनै, क्रुद्ध गद्दार जुट्छन् ।।
तारा जस्तै, चहक तिनले, जाल फालेर नारा ।
तन्नेरीका, मन-मगजमा, झोसियो ध्वंश सारा ।।२।।
हत्या-हिंसा, अपहरणका, दानवी रूप छर्दै ।
तन्नेरीका, बल ‘खल’ गरी, सिर्जना नै निमोठ्दै ।।
नौला-नौला, सिप प्रविधि वा, उच्च-प्रज्ञा-प्रसाद
खोज्ने रोज्ने, तरुण-मतिमा, बन्दछन् यो विशादा ।।३।।
आँखा खोल्द्यौ, अब तरुण हो, गोटी-रोटी नबन्नू ।
आˆनै आविस्करण कृतिका दीपमा दीप्त बन्नु ।।
झेली-खेली, चरम-भँडुवा, नीच सत्ता-पिपासु ।
नेता हैनन्, गुटपति सबै, छाती सानु बिरानु ।।४।।
