समुद्र हेरेका छौ तिमीले ?
ल भयो, खुला आकाश त देखेका हौला नि !
कति गहिरो, सफा, स्वच्छ, नीलो
अनि विशाल छ हगि !
हो, मेरो मन पनि त्यस्तै छ
तर, तिमी बुझ्दैनौ मेरो भाषा
कता कता मन दुख्छ
तिमीले बुझ्ने प्रयत्न पनि नगरेको देख्दा ।
सँगै हिँड्न मज्जा हुन्छ
अझ तिम्रो साथ
उकाली-ओराली गर्न पाए
यात्रा कति रमाइलो हुँदो होला
तिमी भन्न त सँगै हिँड्नुपर्छ भन्छौ
तर, तिमी यति छिटो हिँड्छौ
कि म भेट्नै सक्दिनँ
तिमीलाई थाहा छ नि
म किन पछि छु !
म नाच्दैछु
आफैँमा लीन भएर नाच्दैछु
मलाई थाहा छ, तिमीले चाहेजस्तो
म नाच्नै सक्तिनँ
म खुसी छु
तर तिमीले मेरो खुसी देख्न सकेनौ होला
तिम्रो ढुकढुकीजस्तै छ
मेरो खुसी, मेरो गीत, मेरो मन ।
मलाई हाँसो मन पर्छ
त्यसैले मैले
कसैलाई रुवाइनँ
मलाई उज्यालोको विश्वास लाग्छ
त्यसैले म रातसँग कहिल्यै डराइनँ
मलाई तिमी मन पर्छ
तिम्रो स्पर्श मन पर्छ
आमाको अँगालोजस्तै
तिम्रो मायालुपन मन पर्छ
तर, खै तिमी मौन छौ !
के साँच्चै तिमीलाई थाहा छैन म को हुँ ?
तिमी दुःखी भयौ होला
मेरा गुनासाहरू सुनेर
मलाई क्षमा गर
तिमी दुःखी भएको हेर्नै सक्तिनँ म
किनभने, म तिमी हुँ
तिमीले हेर्न नभ्याएको
सुन्न नसकेको
स्पर्श गर्न नसकेको
महसुस गर्न नसकेको
तिम्रो एउटा अंश हुँ म
एउटा अंश ।
(आमअपाङ्गहरूको अनुभूतिमाथि लेखिएको कविता)
नेपाल साप्ताहिक अंक ४१३
