वरिपरि डाँडाकाँडाले घेरिएको उच्च पर्वतीय गाउँ घान्द्रुक एकातर्फ डाँडा भरिभरि लालीगुराँस फुलेर रमितलाग्दो देखिन्छ भने अर्कोतर्फ अन्नपूर्ण र धौलागिरि हिमालका श्रृङ्खलाले छरेको शोभाको अनुभूति हुन्छ । त्यहाँको हरियो वनजङ्गलको स्वच्छ प्राकृतिक सौन्दर्य,नागबेली बाटाहरूको दृश्यलाई कुन शब्दमा पो उतार्न सकिनेरहेछ र !
आँखा झिमिक्क नपारी हेरिरहनु जस्तो रहेछ घान्द्रुक । यसले विदेशी र स्वदेशी पर्यटकहरूलाई शक्तिशाली चुम्बकले फलाम तानेझैँ आकषिर्त गर्दो रहेछ । लाग्यो स्वर्गको एउटा टुक्रो खत्रक्क खसेर बनेको नेपालको वरदान नै रहेछ यो ठाउँ । घान्द्रुक पुगेपछि त्यहाँको प्रकृतिमा भोक, प्यास र थकाइ सबैकुरा बिर्साइदिने टुना रहेछ भन्नेलाग्यो मलाई । विद्यार्थी, केटाकेटी, पर्यटक जो कोही पुगेपनि त्यहाँको प्रकृतिसित आआफ्ना फोटा खिचाउनमै मग्न देखिन्छन् । घान्द्रुक पुगेपछि बिहानको खुला वातावरणमा आफूबसेको होटलको छतबाट त्यहाँका घर र अन्नपूर्ण, धौलागिरि हिमाली श्रृङ्खलालाई एकैसाथ आफ्नो क्यामेरामा कैद गरेँ ।
पर्यटकहरू नयाँपुलबाट चार पाँच घण्टासम्म लगातार पैदल हिँड्दै त्यस ठाउँमा पुग्दारहेछन् भन्े त्यहाँका रैथानेहरू तीनदेखि चार घण्टामा पुग्दा रहेछन् । कतिपय विदेशी पर्यटकहरू भने काठमाडौँबाट हेलिकप्टर चार्टर गरेर पनि सिधै त्यहाँको हेलिप्याडमा अवतरण गरी घान्द्रुकको प्राकृतिक सौन्दर्यको रसास्वादन गर्दा रहेछन् । त्यहाँबाट आफ्नै हातले छोइनेजस्तो भएर आँखाकै छेउमा देखिने हिमाली शृङ्खलाहरूले पर्यटकहरूलाई मोहनी नै लगाउँदा रहेछन् । त्यहाँको चिसो पानीले होला जे जे खाएपनि मीठो लाग्दोरहेछ । त्यहाँ हेरेर मन नअघाउने हरियाली रहेछ । जताततै ढकमक्क फूलहरूले शोभा बढेको । डाँडै रातो सिन्दुरछरेजस्तो भएर फुलेका लालीगुराँस, कतै लालुपातेले घान्द्रुकको श्रृङ्गार गरिदिएका थिए । मन लोभ्याउने वातावरण, आहा मन नै टम्म भरिने रहेछ यहाँको मादकतामा ।
समुद्र सतहबाट झण्डै सातहजार फिटको उचाइमा पर्ने घान्द्रुकको बस्ती पनि मनमोहक रहेछ । ढुङ्गाका पर्खाल लगाएर बनाइएका घरहरू, तिनै ढुङ्गा काटेर बनाएका छानाले घान्द्रुकवासीको मौलिकताको सग्लो परिचय दिँदोरहेछ । रातो माटोले लिपेर चिटिक्क पारेका घरहरू र पर्यटकहरूलाई मीठो बोलीवचन र नम्र मिजासले मख्ख पार्ने यहाँका रैथाने गुरूङहरू यहाँका अनमोल जुहारत रहेछन् ।
फोहर मैलाको व्यवस्थापन
घान्द्रुकका स्थानिय वासिन्दा फोहरमैला व्यवस्थापनप्रति निकै सचेत रहेछन् । उनीहरू आफ्नो घरबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न आफैँ सक्षम छन् । उनीहरूले त्यहाँका गाविस वा कुनै दातृसंस्थालाई गुहार्दैनन् । त्यहाँ पुगेका पर्यटकहरूले बाटाघाटाका छेउछाउमा फोहरका डङ्गुर देख्नुपर्दैन । रूमालले नाकमुख छोपेर हिंड्नुपर्दैन । सड्ने फोहरलाई मल बनाएर मोहरमा परिणत गर्ने गरिएको रहेछ । नसड्ने फोहरको हक्मा घान्द्रुकको सुरक्षित ठाउँमा फोहरमैलाको व्यवस्थापन गरिएको रहेछ ।
नियमित भेटघाट र सरसफाइ
घान्द्रुकलाई स्वच्छ, हराभरा र सुन्दर बनाउनका लागि घान्द्रुकका स्थानिय वासिन्दाको योगदानलाई नकार्न सकिँदैन । प्रत्येक शनिवार घान्द्रुकका महिला तथा पुरूषहरू निश्चित ठाउँमा भेला हुँदारहेछन् अनि उनीहरूको ढङ्गेन सिंढीको बाटो कतै बिग्रेको छ भने मर्मत गर्दारहेछन् , बाटाघाटाको सरसफाइ गर्दारहेछन् । बाटाका ढुङ्गामा लागेको लेउ खुर्कंदारहेछन् । घान्द्रुकको प्राकृतिक सौन्दर्य अझ बढाउन गर्नुपर्ने कामवारे छलफल गर्दारहेछन् । वृक्षरोपण गर्दारहेछन् । घान्द्रुकवासीका वीच कसैको मनमुटाव र बोलचाल बन्दको अबस्था छ भने त्यसलाई छलफल गरेर वीन वीनको सिद्धान्त अनुसार उनीहरूको मिलमिलाप गराइदिँदा रहेछन् । त्यहाँ कसैले हार्दैनन् जित्छन् मात्र ।
आत्मीय व्यवहार
घान्द्रुकको प्रकृति जति स्वच्छ र आकर्षक छ त्यहाँका स्थानीय बासिन्दाको बानी व्यहोरा पनि त्यस्तै रहेछ । आफ्ना बस्तीमा आएका परपाहुनाहरूप्रति औधि मिजासिलो व्यवहार , मुसुक्क मुस्कुराएर मात्र बोल्ने , आएका पाहुनाहरूलाई आदरसत्कार गर्ने , सरल व्यवहार बिर्सिनसक्नुको छ । त्यहाँ पुगेका पर्यटकहरूलाई मोहित पार्ने उनीहरूको शित्तल स्वभाव साँच्चै लोभलाग्दो र अनुकरणीय रहेछ ।
अधिकांशको रोजगारी बेलायती र भारतीय सेनामा
घान्द्रुकका जम्मा आठसय घरका लोग्ने मानिसहरूमध्ये ८० प्रतिशत बेलायती र भारतीय सेना काम गर्दारहेछन् । केही त नेपाली सेनामा पनि काम गर्दारहेछन् । राम्रो रोजगारीको प्रभाव उनीहरूका परिबारको चालचलनमा पनि स्पष्ट देखिन्थ्यो । उनीहरूको लवाइ खवाइबाट उनीहरूको आर्थिक समृद्धिको पनि सहजै अनुमान लगाउन सकिन्थ्यो ।
हिमालहरूको अनुपम दृश्यावलोकन
घान्द्रुक जानुको मूल अभिप्राय नै नजिकबाट हिमालको सौन्दर्य अवलोकन नै रहेछ । त्यस ठाउँबाट देखिने अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाहरूको अनुपम दृश्यले कसको मन पो पग्लिँदैन र ! त्यसमा पनि बिहान प्रत्येक घरमा बार्दली र कौसीबाट आँखाभरि आउने त्यो दृश्य कुनै शब्दमा अनुवाद हुनै कठिन रहेछ । बिहान सुनको झोल बगेजस्तो देखिने यहाँका हिमाली श्रृङ्खलाले जुनेली रातमा चाँदी जस्तो सेतो बनेर पर्यटकहरूलाई मोहित पार्दारहेछन् ।
अन्नपूर्ण आधारशिविरेको पैदलमार्ग
हिमाल खुलेको दृश्य हेर्नमात्र होइन अन्नपूर्ण आधारशिविर र घोरेपानी जाने आउने पर्यटकहरूको थकाइमार्ने ठाउँ पनि यही घान्द्रुक रहेछ । अन्नपूर्ण आधार शिविर जाँदा होस् वा र्फकंदा पर्यटकहरू यहाँ वास नबसी बाटो तय गर्दारहेनछन् । त्यसैले पनि घान्द्रुकको महत्व बढेको बढेकोरहेछ ।
घान्द्रुकका ट्रक खच्चड
घान्द्रुकमा नयाँपुलबाट सामान ओसारपसार गर्ने काम त्यहाँका खच्चडहरूले गर्दारहेछन् । त्यहाँका कतिपय व्यापारीले मालसामान ढुवानी गर्न व्यवसायिकरूपमा खच्चड पालेका रहेछन् । घाँटीमा घन्टी बजाउँदै नयाँपुलतिर ओरालो लागेका र नयाँपुलबाट सामान टनाटन बोकेर उकालो चढेका खच्चडहरूलाई बटुवाहरूले घान्द्रुकका ट्रकको ताँती आयो बाटो छोडौं भनेर ठटटा गरेको पनि सुँंिदोरहेछ । खच्चडको ताँती आएपछि डाँडाको भित्तातिर साइड लाग्नु पर्नेरहेछ नत्र खच्चडले धकेलेर भीरबाट लड्ने सम्भावना पनि हुँदोरहेछ ।
व्यवसायिक फोटोग्राफर र कलाकारहरूको घुइँचो
घान्द्रुकबाट देखिने अन्नपूर्ण, धौलागिरि हिमाल, त्यहाँको प्राकृतिक छटा, हरिया वनजङ्गल, गुराँसे डाँडा, ढुङ्गाले छाएका घरहरू आदिको तस्विर खिचेर पोस्टर बनाउन वा पोष्टकार्ड बनाएर देशविदेशमा विक्री गर्ने उद्देश्यले व्यवसायिक फोटोग्राफरहरूको पनि यहाँ घुइँचो लाग्दोरहेछ । कतिपय कलाकारहरू त्यहाँ गएर डाँडाकाँडा हेर्दै कला सिर्जनामा व्यस्त देखिँदा रहेछन् ।
गुरूङ सङ्ग्रहालयको महिमा
घान्द्रुकका अनेक आकर्षणमध्ये एक हो त्यहाँको गुरूङ सङ्ग्रहालय । त्यस सङ्ग्रहालयमा गुरूङ जातिका परम्परागत भाँडाकुँडा, गरगहना, लुगाफाटो सङ्ग्रह गरेर राखिएको रहेछ । ती वस्तुहरू हेरेर मानिसहरूमा आफ्ना पुराना मौलिकवस्तुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व हो भन्ने छाप पर्दछ । त्यहाँ भएका गुरूङ, गुरूङसेनी पोशाक र उनीहरूका परम्परागत गरगहना लगाएर तस्विर खिचाउने पर्यटकहरूको पनि त्यहाँ भिडभाड लाग्दो रहेछ ।
सङ्ग्रहालय हेर्दा र तस्विर खिचाउँदा पर्यटकहरूले दिएको रकम त्यही समुदायको विकासका लागि खर्च गर्ने अनुकरणीय चलन रहेछ त्यहाँको ।
आधुनिक महल निर्माणको क्रम
घान्द्रुकमा अचेल आरसीसी ढलान गरेर बनाइएका आधुनिक महलहरू प्नि धमाधम निर्माण हुँदैछन् । नयाँपुलबाट सिमेन्ट, डण्डी, गिटी र बालुवासमेत खच्चडलाई बोकाएर त्यहाँ लगेको पाइयो । यस्ता घरहरू निर्माण क्रम बढ्दै गयो भने भविष्यमा त्यहाँको मौलिकता धरापमा पर्न पनि बेर नलाग्ने देखिन्छ । त्यसकुराबाट त्यहाँका समाजसेवी होटलहरूबाहेक अरू घरहरू त्यसरी निर्माण गर्न रोक लगाउने अबस्थामा छन् ।
यी यस्तै अनुभव अनुभति साँचेर पर्यटकीय बस्ती घान्द्रुकको रमाइलो काखमा हाम्रो टोली तीनदिन तीन रात लुटुपुटु भएर चौथो दिन बिहानै आआफ्ना झिटिगुन्टा कसेर नयाँपुलको बाटो हुँदै पोखरा र पोखराबाट काठमाडौँ फर्कियो ।
शनिबार, गोरखापत्र
भाद्र १२, २०६७
