नयाँ पालुवा रुपी
शैशवकाल लिएर आयौ
नयाँ बर्ष,
धन्य छ तिम्रो आगमन
बिगतमा झैँ तिमी
रगतको अक्षर बनेर नलेखिनु
हर नेपालीको मनभित्रको
आक्रोश र हिँशा बनेर
तिमी नमात्तिनु ।
तिम्रो आगमनले फेरि
त्यो माटोलाई उर्वर बनाओस्
त्यो धर्ती छाडेका पाइलाहरूलाई
फेरि त्यही माटोमा समाहित हुन
कर गराओस् ।
लाग्छ तिमी त,
कस्सिएर भित्रिँदै छौ कि !
जलेका हर आत्माहरूको
शितल पवन बनेर,
थाकेका ति आँखाहरूको
राहत बनेर ।
हो,यस्तै यस्तै आशाका
पछ्यौरीहरू ओढेर
हर मुस्कान खोसिएका मनहरू
प्रतिक्षारत छन् यत्तिखेर ।
तिम्रो आगमनमा
शुभकामनाहरू बोकेर ।
तिमी आउँदा अवश्य ल्याउने नै छौ
सद्भाव र मैत्रिभावका कथाहरू,
प्रेम र मित्रताका अध्यायहरू,
समानता र आत्मीयताका रंगहरू,
एकता र अप्नत्वका ब्यथाहरू,
हो हामी झोली फैलाएर
थाप्ने छौं तिम्रा हर
प्रज्ज्वल कोशेलीहरू
जस्मा हामी सबैको
एउटै अभिष्ट बन्नेछ
हामी सबै नेपाली एक भनी ।
हामी सबै नेपाल आमाकै
सन्तान भनी ।
तिमी आउँदा बिगतका
कुकृत्य र युद्ध संग्रामको
अन्त्येष्टिको शक्ति
बोकेर आउनु,
तिमी आउँदा मात्रित्वको
बैचारिक ओखती
लिएर आउनु,
तिमी भित्रिँदा परिवर्तनको
कोशेली साँचेर आउनु,
अनि सारा बैमनष्यताको
सम्हार गर्ने पराक्रमी
बनेर आउनु ।
बस् यस्तै आशाको
प्रतिक्षार्थी बनेर तिम्रो
आगमनको पर्खाइमा
निर्लिप्त छौं सबै ,
२०६८ को नयाँ आगमनमा ।
अप्रिल ११, २०११ बिहान ।
