प्रकोपको भुमरीमा रुमलिएको मेरो जीवन ब्यथित ग्रन्थ,
जब हूरीको प्रचण्ड वहावसँगै खुल्न पुग्दछ
तब आँसु र रगतले लिपिएका ती एकएक पन्नाहरूसँगै
स्वयंम मेरो पाषाणरुपेण कोमल मुटुमा काँडा बिझ्दछ ।
अनि सँधैजसो,
फेरि दुईचार आँसुका ढिक्काहरूले मुल्य चुकाउन खोज्दछन्
तर, अनौठो यो परिवेशमा आँसुको कुनै औचित्य छैन ।

जवानीमै फूलेका यी मेरा सेता केशहरू,
चाउरी परेका गालाहरू,
प्यासी तर विरक्तिएको यौवन,
लुटिएका मेरा खुसी र चाहनाहरू,
साथै म विशे आएका अन्य परिवर्तनहरू
जब एकएकलाई ऐनामा नियाल्छु
तब निस्कृय मेरा बङ्गारा कडकडाउन खोज्दछन् ।
म क्रोधले चिच्याउन खोज्दछु
तर भाँचिई सकेको मेरो जिब्रो स्तब्ध रहन्छ ।
तरङ्ग सुन्न भोका कानहरू ठाडाठाडा हुन्छन् ।
अनि सँधैजसो,
फेरि यो उत्तेजनाको कुनै उपलब्धी छैन,
कुनै ठोस सार नै छैन ।

वर्षौँ देखिन् जीर्ण कालो कारागारमा एक्लै कोचिएको म,
थोत्रिइसकेका मेरा दुबै गोलाकार नयनहरू,
जो अंशु र दृश्यको प्यासी छ ।
जब समयको उत्थलपुथ्थलसँगै उक्त लामो
रजनीबाट मुक्ति पाउँछु ;
तब प्रमोदले भरीपूर्ण म भित्र आशाका दीपकहरू
जल्दछन् ।

यही नितान्त बदलाबसँगै
म, सगरका जुनतारासित विगतमा जस्तै
समीप हुन खोज्दछु ।
उडिरहेका रङ्गिन पंक्षीसँग अपार दोस्ती
कायम गर्न खोज्दछु ।
समाजको कुनै कुनोमा प्रेमपूर्वक
जिउने कोशिष गर्दछु ।
नेपथ्यसँग जोडिईन खोज्दछु,
रङ्गमञ्चमा छबि बढाउन खोज्दछु,
प्रभातको मिर्मिरमा घामजस्तै उदाउने
प्रयास गर्दछु ।
साथै एकएक गरी अतीतका चोटहरू
बिर्सिने प्रयास गर्दछु ।

तब :
अचानक एक नवीन आभाष पाउँछु ;
लामा -लामा हिँस्रक कडकडाउने दाह्रा भएका राक्षस जस्तै,
कहाली लाग्दा त्रिलेचनयुक्त भुत पिचास जस्तै,
भएङ्कर, डरलाग्दो ढाँचामा अविरल ।
गगनका दिनेश, जुनतारा, मेघ,
भु-मण्डलका वायू, तेज, जल, वृक्ष
अहो ! कस्तो विडम्बना !
समस्त ब्रहमाण्ड,
एकैसाथ अनि ठीक एकपछि अर्को
क्रमैसँग :
गिज्याइरहेछन् : ‘म’ लाई ।
अनन्त रुपमा म विशे ब्यङ्ग्य प्रहार हुँदैछ ।
म काँप्दछु : डरले, क्रोधले ।
चिताजस्तै चरचर बल्न थाल्दछ मेरो खप्पर !
बचेका दुई सर्को श्वास पनि भाग्न खोज्दछन् ।
अनायसै:
म चिच्याउँछु -“मैले कुनै पाप गरेको छैन ।”
म कराउँछु-“म दोषी होइन ।”
तर सारा लोक आफ्नो हँसाइमै मग्न छ,
तर सारा लोक आफ्नो हँसाइमै मग्न छ,
मेरो हारमै सबैको जीत छ ।
मेरो शब्दकोषबाट फूत्किएका दुई शब्द-
फगत शुन्यतामै बिलाउँछ ।
यहाँ मेरो चित्कार सुनिदिने कोही छैन ।
मेरो विवशता बुझिदिने कोही छैन ।

चित्तमा गुम्सिएका कुण्ठाहरू, पीडाहरू
आफ्नो निर्दोशता, उच्च दक्षता
जब मित्रजन र समाजमाझ राख्न खोज्दछु,
तब डुङ्डुङ गन्हाउने कुहिएको समाजत्व-
उर्लीन्छ म विशे ।
फेरि म अपमानित हुन्छु, तिरस्कृत हुन्छु,
आरोप -प्रत्यारोप लगाइन्छ
मेरो अस्तित्वमाथि प्रश्नचिन्ह उठाइन्छ,
भनिन्छ-
“तँ अझै मरीसकेको छैनस ?”
“किन फर्किस् यहाँ ?”. . . . . .?
म सँधैजसो निराश हुन्छु,
फुटिसकेको मन अझ टुक्रन्छ
-स-साना चिरामा ।

यसै बेला, रक्सीले मात्तिएको,
अहमतावादी र सामन्तवादी व्यक्तित्वको कुवेर
मलाई जन्माउने व्यक्ती
निकोटेनले पहेँलिएका औँला ठड्याउँदै,
गन्हाउने श्वास शितल पवनमा फाल्दै भन्छ-
“तँ जस्तो कलङ्क त जन्मनुपूर्व नै मरोस् ”
अनि, क्रोधले मेरो खप्पर तातिन्छ
तर विवशताले म निशब्द रहन्छु,
आज मेरो आवाजमा कुनै तरङ्गपना छैन ।
म रात्तिइसकेछु, खोक्रिइसकेछु ।

जीवनका पानार्थहरू हारले रङ्गिए पश्चात
मानिसमा बाँच्ने रहर मर्दो रहेछ ।
म धेरै थकाइसकेँ,
अब यो असह्य पीडाबाट मुक्ति चाहन्छु,
-अनन्त कालसम्मका लागि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *