देश प्रेमको भावना बोकेर
साहुको सामानलाई
राष्ट्र बिकासको भारी सम्झँदै
जीवनभर ढाकर बोकेर
उकाली – ओराली गर्ने
भरियाहरूलाई सलाम !
आफ्नै खेतबारी जोत्न नपाए पनि
सन्तानलाई देश बिकासमा लगाउन
बिहानै झिसमिसेदेखि नै
जग्गावाल्को हलो समाई
राष्ट्रिय हित गाउने
असंख्य कान्छादाइलाई सलाम !
अनपढ भएपनि दासत्व राम्ररी बुझेर
बिहान अँध्यारैदेखि मध्यरातसम्म
साहुको रिक्सालाई
बिचारमा देश बिकासको रथ सम्झी
बाहिरी हस्तछेपको बिरोधमा ओर्लने
अनगिन्ति
रिक्सावाल माइलाहरूलाई सलाम !
जीवन केही होइन … मात्र अवसर हो
अवसर केही होइन … मात्र चाहना हो
भन्दै
आफू निर्धन भए पनि
असहाय र अनाथहरूको सेवामा
निस्वार्थ लागिपरेका
सुद्ध आत्माहरूलाई सलाम !
आफूले पाएको अवसर पनि
अर्कालाई सुम्पदै
अन्याय र अत्याचारको बिरोधमा
चेतनाको प्रकाश फैलाउदै
देश प्रेमको भावनाले अर्काका लागि
आफ्नो जीवन उत्सर्ग गर्ने
असंख्य अग्रजहरूलाई सलाम !
— : बिराटनगर :- ४
