रातभर पानी परे पनि आकाश अझै छ्याङ्ग उग्रेको छैन । कालो बादलभित्र वर्षारानी लुकामारी खेल्दै हरियो पहिरनमा सजिएकी आमालाई जिस्क्याइरहेकी छ । कहिले वल्लो डाँडामाथि त कहिले पल्लो डाँडा गर्दै लुकामारी खेल्ने मेघराजाको धाकिटी-धाकिटी तबलाको आवाजमा कम्मर मच्चाई नाँच्ने रहर अझै पुगेको छैन वर्षारानीलाई । त्यो परको डाँडामा उभिएका सल्लाका रुखहरूले सुसेली हालेर गीत गाइरहेछन् । त्यही गीतको सुरिलो भाकाले त्यो कालो बादललाई तानिरहेको होला मानौं उसकी नवदुलही त्यही सल्लाघारीभित्र छ । घुम्टोभित्र लुकेर उसको आगमनलाई पर्खिरहेकी छ । त्यही भएर होला मेघराजा बाजागाजाका साथ आफ्नी दुलहीलाई लिन गडगडाहटका साथ त्यो सल्लाले बेरिएको हरियो डाँडातिर लम्किरहेको होला । ओहो ! त्यहाँ पुगेर उसकी नवदुलहीसँग स्वयम्वर गरेपछि जन्ती पर्सिएझैं जलवृष्टि गर्छ होला । पञ्चेवाजा सहित लम्किएको छ मेघराजा । झिलिक्क झिलिक्क विजुली चम्किदै नाच्दैछ नर्तकी झैं ।

मेघको यो गडगडाहटले केही बेर तानेपनि उसको निस्तेज अनुहारमा शुन्यताको कालो धब्बाको कुहिरोले फेरि छोप्दछ जब उसकी सौतेनी आमाको कठोर बचनवाणको वर्षा हुन थाल्दछ । उसको नामनै बिगारेर उसकी सौतेनी आमाले उसलाई सम्बोधन गरी बोलाउँदै काम अह्राउँछे । हुनत उसको नाम सरिता हो । उसकी आमाले माया गरेर सरु भनी बोलाउँथी तर उसकी आमाको माया सरुले ६ वर्षको उमेरसम्म मात्र पाउन सकी । ऊ र उसको दाइ सरोजलाई आफ्नी आमाले रातभर सुम्सुम्याउँदै सुँक्क-सुँक्क गरी रोएको सम्झनाले उसको आँखा अनायासै रसाएर आउँछ । आमा रुँदा आँसुले भिजेका परेली छाम्दै ऊ सोध्ने गर्थी – “आमा किन रुनु भएको ? हजुरलाई के भयो ?” आमाको छातीबाट टाउको उठाएर सोध्ने गर्थी । तर उसकी आमाले “नानी म कहाँ रोएकी हुँ र ? रुघा लागेर पो आँसु बहेको त !” भन्दै उसको वाल हृदयलाई सम्झाउने गर्थी । बिचरी उसकी आमालाई क्षयरोगले गाल्नसम्म गालेर लगेको थियो । मर्नेबेलामा उसकी आमाले दुबै छोराछोरीलाई बेस्सरी छातीमा टाँसेर हिक्क-हिक्क गरेपछि उसको बाबुले म तिम्रो आत्माको शान्तिको लागि यिनै दुइटा छोराछोरीको मुख हेरेर बाँच्छु, म जीवनभर अर्को बिहेगर्ने छैन, तिमीले दिने माया पनि म आफै दिन्छु तिमी पीर नगर भनेको थियो । उसकी आमाले मर्नेबेलामा मेरो सन्तानको बिचल्ली भएमा मेरो आत्माले शान्ति पाउनेछैन । यी मेरा आँखाका नानीहरूलाई फूलजस्तै गरेर हुर्काउनु होला । मेरो आत्माले सधैं मेरो सन्तानको हाँसो हेर्न पाओस् भन्दै प्राण त्याग गरेकी थिई ।

समयको बहाबसँगै उसको बाबुमा पनि परिवर्तन आउँछ । दिन महिना वित्दै गयो । उसले गरेको वाचा बिर्सदै गयो । उसलाई पत्नी वियोगले एक्लो महसूस हुन थाल्यो । वर्षदन बित्न नपाउँदै समाजको लाज पञ्छाएर पुनर्विवाह गर्छ । शुरुशुरुमा त उसकी सौतेनी आमाले सरु र उसको दाइ सरोजलाई माया ममतानै दर्शाएर समाजको मन जितेकी थिई । तर उनीहरूले यो माया १० महिनाभन्दा बढी पाउन सकेनन् ।

ओहो ! सरु र उसको दाइ कति खुशि भएका थिए, बाबुले आमा ल्याएकोमा । उनीहरूलाई आमाले खाना पस्काएर आफ्नै हातले फकाइ-फकाइ खुवाउने गर्नुहुन्थ्यो । राति पनि सुत्ने बेलामा कथा सुनाउँदै सुताउनुहुन्थ्यो । नुवाइदिनुहुन्थ्यो । बेलाबेलामा मामाघरमा लिएर घुमाउन जानुहुन्थ्यो । यी सब कुराहरू उनीहरूले बाबुबाट मात्र कहाँ पाउँथे र त्यसैले उनीहरू सधैं आमाको खोजी गरिरहन्थी । उनीहरूको बुबाले पनि उनीहरूलाई म आमालाई लिएर आउँछु, आमा मामाघर गएकी छ पापा लिन भन्दै सम्झाउने गर्नुहुन्थ्यो । उनीहरू दुबैजना बाबुको हात समातेर तान्दै ल चाँडै गइहाल्नुस् आमालाई लिन भन्थे । त्यसैले उसको बाबुले आमालाई लिएर आउँदा उनीहरू झुम्मिदै आमाको छातीमा टाँसिएका थिए । आमा अब हामीलाई छोडेर नजानुस् है भन्दै रुञ्चे स्वरमा आमाको गाला मुसारेका थिए । बिचरा अबोध बच्चालाई के थाहा ? यी त हाम्री सौतेनी आमा हुन् भनेर अनि सौतेनी आमाको बारेमा ।

जब सरुकी कान्छी आमाले बहिनी जन्माइन् उनी दिनप्रतिदिन सरु र सरोजलाई बेवास्ता गर्दै जान थालिन् । दिनभर माटोमा लडिबुडि खेलेर नखाइकनै भुइँमानै निदाएका छोराछोरीलाई सराप्ने गर्थी । गाली गरेको सुन्न नसकेर कान थुन्नु पथ्र्यो । सरुको बुबा कान्छी श्रीमतीलाई केही भन्न सक्दैनथ्यो । छोराछोरीलाई माया त गथ्र्यो तर आमाबाट पाउनुपर्ने मायाबाट बञ्चित भएपनि बाबुलेनै जसोतसो हुर्काएको थियो । सरु र उसको दाइले घरको सारा काम गरेर पढ्न जानुपथ्र्यो । गृहकार्य पूरा गर्न नसकेकोले विद्यालयमा पनि उसको दाइ सरोजले कुटाइ धेरै खानुपथ्र्यो । तर सरु भने टिफिन टाइममानै सबै गृहकार्य पूरा गर्थी त्यसैले ऊ पिटाइ खानबाट बच्थी । घरको काम पनि गर्नुपर्ने विद्यालयमा पनि सरहरूको माया पाउन नसकेपछि सरोज विद्यालयबाट घरनै फर्केन । ऊ आजसम्म नापत्ता छ ।

सरुको दाइ हराउँदा उसकी कान्छीआमा निकै खुशि भएकी थिई । किनकी अंश खाने सौतेलो छोरो हिँडेपछि सबै सम्पत्ति उसकै सन्तानको हुने भयो भनेर उसले त्यो दिन सरुलाई पनि थालभरी खान दिएकी थिई खुशियालीमा । सरुलाई भने दाइको अनुपस्थितिमा एक गाँस पनि छिरेन । आँखाबाट झरेका आँसुले उसको भोटो भिजेको थियो ।

तर त्यो निर्दयी आमालाई के थाहा ? सरु आफ्नो दाइको विछोडमा कति तड्पिएकी छ भनेर । बिचरी सरु बाबुको अगाडि कहिल्यै आँसु झार्दिन । उसलाई दुःख सहने बानी परिसक्यो । पीडालाई चपाएकी छ । आफ्नो दुःख अरुलाई बाँडेर दुःखी बनाउन चाहँदिन । सबै दुःख आफै पिइदिन्छे । परिस्थितिले उसलाई सिकाएको पाठ नै यही हो । हुनत उमेरले ऊ त्यही १०-११ वर्षी होली तर उसको व्यबहार एउटी परिपक्व केटीको जस्तो छ । ऊ हरेक कुरामा संवेदनशील छे । सानो-सानो कुरा पनि बोल्न सोच बिचार गरेर मात्र बोल्छे ताकी उसको बोलीले अरुलाई चोट नपुर्‍याओस् ।

एकदिन सरुले बहिनीको स्कूल ड्रेसमा आइरन लगाउँदा शर्ट अलिकति डढेको देखेपछि उसकी सौतेनी आमाले उसको हातनै तातो आइरनले डामी दिएकी थिई तर पनि उसले आफ्नो बाबुलाई केही सुनाइन । उसको पोलेको घाउबाट कति दिनसम्म पीप बगेको थियो । त्यो घाउको दाग अझै मेटिएको छैन । हुनत उसको बाबुलाई सुनाएर पनि हुनेवाला केनै पो थियो र ! उसलाई कान्छी स्वास्नीले थर्कमान बनाएर राखेकी थिई । अलिकति केही सम्झाउन खोज्यो भने घरमा भुइँचालोनै ल्याइदिन्थी । त्यही भएर पनि होला ऊ जे गरेपनि नतमष्तकनै थियो कान्छी स्वास्नीसँग ।

कान्छी आमापट्टीकी बहिनी भने दिदीलाई माया धेरैनै गर्थी । दिदीलाई आमाले खाना कम दिएको थाहा पाएर ऊ आफूलाई भनी मागी लुकाएर दिदीलाई दिन्थी । आमासँग नसुती दिदीसँग सुत्नुपर्ने उसलाई । दिदीलाई पनि आमाले आफूलाई जस्तै माया गरोस् भन्ने चाहन्थी । आमालाई आमा हजूर किन दिदीलाई मात्र काम लगाउनुहुन्छ ? दिदीले पढ्नु पर्दैन ? वहाँको पनि त होमवर्क गर्नुपर्छ होला नि ? वहाँलाई मलाई जस्तो किन माया नगर्नु भएको भन्दै सोध्थी ? छोरीको प्रश्नको जवाफ दिन नसकेर ऊ छोरीलाई जाऊ तिमी एकछिन साथीहरूसँग खेलेर आऊ भन्दै कुरा टार्थी ।

समय वित्न कतिनै लाग्छ र ! सरु पनि १६ पुगेर १७ कि भइछ । उसको रुप र गुण देखेर उसलाई आफ्नो बनाउन धेरैलेनै चाहेका थिए । गतिलो खानदानका मान्छेले पनि उसलाई मनपराएका थिए । तर सरुले थाहै नपाई उसकी कान्छी आमाले एउटा जँड्याहा केटो जो धनले सम्पन्न भएपनि बदमासको राजा हुन्छ । त्यसैलाई दिन भनेर बाबुलाई फकाउँछे । केटो सम्पन्न छ । एक्लो छोरो हो यसलाई दिन पाए त भाग्यनै चम्कने थियो भन्दै बाबुलाई सरुको बिहेको लागि कुरा चलाउन लगाउँछे । बाबु पनि सम्पन्न परिवारको एक्लो छोरो भनेपछि दङ्ग पर्दै कुरा अघि बढाउँछ । ऊ पनि छोरी भनेको अर्काको घरमा जाने जात अब धेरै पढाउनु पनि हुन्न पछि भनेको के हो हो कसलाई थाहा र ? बरु बिवाह गरी सब चिन्ताबाट मुक्त हुनुनै बेश भन्ने सोचेर छोरीको बिहे गरिदिनेनै निर्णय गर्छ । बिचरी सरुलाई यीसब केही थाहाछैन । ऊ आफ्नो हुनेवाला श्रीमानको बारेमा अनभिज्ञ छे । उसले बिवाहका वारेमा अहिलेसम्म केही सोचेकी पनि छैन । बहिनीले सब कुरा आमाबाट थाहा पाउँछे । उसले दिदीलाई आमाले भन्नु भएको बिहे गर्ने रे हजूरको भनेर सुनाउँछे । मैले त भिनाजुको फोटो पनि देखिसकेँ भन्दै नाच्दै भाग्छे । बहिनीको यस्तो कुरा सरुलाई विश्वास लाग्दैन । धत् लाटी भन्दै भान्सामा काम गर्न जान्छे । तर उसकी कान्छी आमाले केटाको फोटो देखाउँदै हेर त सरु यो केटा कस्तो छ ? तिम्रो यहीसँग विवाह हुँदैछ भन्दै सरुलाई फकाउँछे । उसलाई कसो गरेर हुन्छ घरबाट सौतेली छोरीलाई हटाउन पाए हुन्थ्यो भन्ने हुन्छ । यस्तो कुरा सुनेर सरु रुँदै आमा म अहिले बिहे गर्दिन । म अझै पाँच वर्षपढ्छु अनि आफ्नो खुट्टामा उभिएर मात्र बिवाहको बारेमा सोच्नेछु भन्छे । मलाई किन हजूरले मन नपराउनु भएको ? म किन धेरै भएँ ? मेरो पनि आफ्नो इच्छा हुन्छ । मैले पनि आफ्नो इच्छामा चल्न पाउनुपर्छ भनेर सरुले भन्ने बित्तिक्कै गालामा पाँच औंलाको छाप बस्ने गरी पिट्दै कपाल भुत्ल्याउँदै बिहे गर्ने भए गर हैन भने तँलाइ बास छैन कहाँ जानुपर्छ जा भन्दै गाली गर्छे ।

सरुको बिहेको दिन तोकियो । तर बाबुले छोरी धेरै रोएको देखेर उसलाई सम्झाउने प्रयास गर्दै भन्छ “छोरी हेर, एकपल्ट बिहे नगरी हुन्न केटो घरानिया परिवारको हो । ऊ सम्पन्न छ अनि एक्लो छोरो । तिमीले यहाँभन्दा सुख पाउँछौ । बिहे गरेर जाँदैमा तिमी टाढा हुँदैनौ छोरी भन्दै सम्झाउँछ । बाबुले पनि आफूलाई जबर्जस्ती दिएर पठाउन लागेको देखेर सरुको मन छियाछिया हुन्छ । उसले बुबाले त पक्कै पनि मेरो कुरा बुझनुहुन्छ भन्ने सोचेकी थिई । ऊ बुबालाई आफूले के नराम्रो काम गरेकी छु र पढ्न नपाई बिहे गरिदिन लागेको भन्दै अनुनय गर्छे :-” बुबा म छोरी हुँ भन्दैमा चाँडै बिहे गरी चुल्हो चौकोमै सिमित हुनुपर्छ भन्ने छैन, म पनि पढेर छोरा सरह केही गर्न चाहन्छु । मलाई आफ्नो इच्छामा चल्न दिनुस् । बिहेको बारेमा केही थाहै नपाइकन मेरो बिहेको कुरा छिन्ने अधिकार हजूरहरूलाई मात्र छैन । म पनि दान दिएर पठाउने गाई सरह लुरुलुरु हिँड्ने कुनै जनावर त होइन नि – मलाई पनि त आफ्नो बारेमा सोच्ने अधिकार दिनुपर्यो नि ” भन्दै छोरी रोएको देखेर उसको बुबा स्तब्ध बन्छ । अनि छोरीको मन दुखाउन चाहँदैन । उसले आफ्नी छोरीको बिहे नगर्ने निधो गर्छ र केटा पक्षका लाई खबर गरिदिन्छ ।

बुबाको मन पग्लेको देखेर सरुमा आफ्नो बुबाप्रति आदर र श्रद्धाको बिम्बको उचाइ झन चुलिन्छ आखिर उसको कुरो सुन्ने यो घरमा उसकै बुबा मात्र हुनुहुँदो रहेछ । सौतेनी आमाले सरुलाई पञ्छाएर आफ्नी छोरीलाई मात्र बाबुले एकलौटी माया गरोस् भन्ने चाहन्थी । तर उसको सपना चकनाचुर भयो । उसको मन क्रोधको मुस्लोले डढेलो लागेको छ । क्रोधको ज्वालाले डढाएको छ उसलाई । त्यसैले त्यो डढेलोले पूरै घर परिवार नै पो स्वाहा पार्ने हो कि भन्ने चिन्ता छ उसको बुबालाई । ऊ श्रीमती नजिक गएर एक शब्द पनि बोल्न नपाउँदै उसकी स्वास्नी साँपले डस्न फण उठाएझैं क्रोधले बलेका आँखा उठाएर चिथोरौंलाझैं गरेर झम्टन्छे । ऊ केही बोल्न नसकी बाहिर निस्कन्छ ।

आज लक्ष्मीपूजाको दिन घरको सरसफाइमा जुटेकी छ सरु । बेलाबेलामा उसकी बहिनी आएर काम सघाउँदै उसको अतितको स्मरणलाई खल्बल्याउँछे । ओहो ! पर्सी त भाइपूजा । यसपाली कसलाई टिका लगाइदिने होला ? दाइ पनि कहाँ होला ? के गर्दै होला ? मलाई त पक्कै पनि सम्झन्छ होला । सयपत्री र मखमली फूलको वास्नाले उसलाई घर र्फक भन्छ होला नि ? तिहारमा सानो बेला दाइले भट्याउने अनि म देउसी रे भन्दै हिँडेको त कहाँ बिर्सन्छ होला र ? देउसी खेलेर जम्मा भएको पैसाले मलाई राम्रो जामा किनिदिनु भएको थियो । त्यही जामा लगाएर उनीहरू दाजुबहिनीले खिचेको फोटो हेरेर ऊ दाइको नियास्रो मेटाउँछे । कपी किन्नलाई बासँग पैसा नभएपछि दाइले आमाको दराजबाट पैसा चोरेकोले गर्दा उसकी सौतेनी आमाले वेहोसै हुनेगरी पिटेकी थिई । उसको दाइलाई मात्र होइन उसको कपाल पनि कति लुछीलुछी उसकी आमाले एकदिन बहिनीले खेल्दाखेल्दै टिभी सोकेस फुटाउँदा उसकी आमाले उल्टै सरुलाईनै दुबै हातमा लोहोरोले अचार पिसेझैं पिसेकी थिई । पिटाइ खानु त यी दुइ दाजुबहिनीको लागि दालभात सरहनै थियो । त्यही भएर सहन नसकी उसको दाइले घर छोडेको हो । सोच्दासोच्दै बेलुकी साँझबत्ती बाल्ने बेला हुन्छ । सबैतिर झिलिमिली बत्ती । ओहो ! कत्ति रमाइलो है दिदी भन्दै बहिनी पुतलीझैं नाच्दै बत्ती लिएर भित्र पस्छे, उसकी आमा लक्ष्मीपूजा गर्न बसेकी ठाउँमा । लक्ष्मीपूजा पनि सकियो । रात छिप्पियो तर उसको बुबा घर र्फकनुभएन । बुबा कहाँ जानुभएको हो ? आमालाई सोधौं भने चिथोरौंलाझैं गर्नुहुन्छ । उसलाई रातभरि निन्द्रा लाग्दैन । कहाँ खोज्न जानु -?उसको मन त्यसैत्यसै अत्तालिन्छ । के भयो ? केही बिपत्ती पो पर्यो कि उसको छटपटी शुरु हुन्छ । कोठा तातेजस्तो लाग्छ । आँखामा निन्द्रा पटक्कै छैन । रातको ११:३० बजिसकेको छ । यत्तिक्कैमा आमा चिच्याएको सुन्छे । बाहिर निस्कँदा त पूरै आगो घरमा लागेको छ । ऊ सुत्ने भनेको तल्लो भुइँतल्लामा, आमा र बहिनी माथिल्लो तल्लामा । आमा त कसो कसो गरेर बाहिर निस्कनु भएछ । तर बहिनीलाई उठाउन बिर्सनु भएछ, बहिनी अब भित्रै । हे भगवान ! अब के गरौं भन्दै ऊ गुहारगुहार भन्दै कराएको सुनेपछि छिमेकीहरूले हत्त न पत्त मेशिन चलाएर पानी खन्याए पनि आगो निभ्न सकेन । आमाले छोरी ! बाहिर आऊ भन्दै चिच्याइरहेछ । भित्र जान कसैले आँट गर्न सकेनन् । तर सरु दौडिएर गएर बहिनीलाई माथिबाट तल बारीमा फालिदिन्छे । बारीमा गोवरको थुप्रोमा परेर बहिनी बाँच्छे । उसको भने शरिर आधा डढेको छ । छातीमा गहिरो पोलेको छ । बहिनीलाई भने खासै पोल्न पाएनछ । उसको भने भित्र पस्दैखेरीनै शरीरमा लगाएको कपडा सल्किएर शरीर धेरैनै डढेको रहेछ । बहिनीलाई सकुशल बचाउन सकेकोमा ऊ आफूलाई पोलेको पत्तै नपाई बाहिर हत्त न पत्त निस्कँदा छिमेकीहरूले कसो कसो उसलाई पनि बचाउन सके । घर पूरै जलेपनि तत्काल भने मानवीय क्षती हुन पाएन । तर सरुलाई भने अस्पताल पुर्याउनु पर्यो । डक्टरको भनाइ अनुसार सरु गम्भीर घाइते भएकी छे । ऊ भगवान भरोसा भएकी छ । उसको छाती नराम्रोसँग डढेको छ । अहिले उसकी आमा पनि सरुले आफ्नी छोरीलाई बचाइदिएकोले गर्दा आफूले सरुमाथि चिताएको पापवोधले गलेकी छ । उसको हृदय पश्चात्तापले पोलेको छ । ऊ आफ्नो घृणित व्यवहार सम्झेर भक्कानिएकी छ । कसरी सरुको अगाडि उभिएर माफी माग्ने होला भन्ने भाववोधले घुम्टिएर सोचिरहेकी छ । आज उसको कालो हृदय सरुको निस्वार्थ प्रेमले पखालिएको छ । त्यसैले ऊ सरुको अगाडि दुबै हात जोडेर माफी माग्छे मनमनै । आफूले सरु र सरुको दाइप्रति गरेको व्यवहार सम्झेर पापवोधले ओइलाएको सागझैं लत्र्याकलुत्रुक हुन्छे । आफूलाई पापीनी सम्झेर धिक्कार्छे मनमनै । उसले माफी मागेपनि सरु सुन्न सक्ने अवस्थामा छैन । ऊ बेहोस छे । उसको कत्तिबेला होस खुल्छ र माफी माग्न पाउँली भनेर ऊ पर्खिरहेकी छे । पापको प्रायश्चित गर्न पाउँ सरुको अगाडि उभिएर, अनि सरुलाई ममताले आफ्नो छात्तिमा टाँसेर उसको जलेको घाउमा थोरै भएपनि शित्तलता प्रदान गर्न पाउँ भन्दै भगवानसँग प्रार्थना गरेर शरुको बेड अगाडि उभिरहेकी छे । उभिरहेकी छे ।

टिका खरेल सुवेदी
कुलेश्वर काठमाडौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “प्रायश्चित”

  1. प्रायश्चित (टीका खरेल)
    कथाको प्रस्तुति सह्रानीय छ । विशेष गरी मूख्य पात्रप्रतिको सहानुभूतिले पाठकको मनमा पनि त्यस्ति सहानुभूति पैदा गराउँछ । भाषिक तिर्खरता पनि उच्च छ । लेख्तै जानुभो भने अँझ राम्रो कथाहरू पैदा गर्न सक्नुहुन्छ ।

  2. कथा उहिलेको रामको र यो कथा अहिलेको सरुको ।
    भगवान रामको पालामा कैकेयीले यातना दिएका थिए । त्यसरीनै यस कथामा सरिता यानेकी सरुलाई सौतेनी आमाले यातना दिएको छ । जसरी भगवान रामको निस्वार्थ प्रेमले कैकेयीको कालो हृदय पखालेको थियो त्यसरीनै सरुको निस्वार्थ प्रेमले सौतेनीआमाको कालो हृदय पखालेको छ । कथा उहिलेको रामको र यो कथा अहिलेको सरुको । यस्ता वास्तविक कथा अनगिन्ती छन् । कथाकार यस मामिलामा सफल छन् । …………….बिजु सुवेदी “विजय”

Leave a Reply to Biju Subedi Cancel reply

Your email address will not be published. Required fields are marked *