Skip to content


अखबारमा उसको आत्महत्याको खबर छापियो ।

ऊ आफैँले आफ्नो आत्माको स्वविवेक हत्या गरेको थियो । उसका बारे लेखिएको खबर पढेपछि मेरो आँखामा यस्तो दृश्य नाच्यो ः

इन द डार्क टाइम्स्
विल देयर अल्सो बी सिंगिङ् ?
यस्, देयर विल अल्सो बी सिंगिङ्
अबाउट द डार्क टाइम्स् ।
– ब्रतोल्त ब्रेख्त

यी कवितांश पढ्दा ऊ मसँग ढेप्पिएर बसेको थियो विश्वविद्यालयको हरयिो पाखे चौरमा । अरू पनि यसरी बसेका थिए । मन्द हावामा रूखका पातहरू एकअर्कामा ठोक्किएर निस्केको आवाजले हाम्रो आवाज दबाउन सकेको थिएन । हामी बोली पनि रहेका थियौँ र कविता पढी पनि रहेका थियौँ । रूखको सियालमा बसेकाहरूको हातमा थियो नोटकापी र अंग्रेजी साहित्यका किताब । कतिका हातमा गेसपेपर । कोही जोडी बनेर गफिइरहेका । तिनले खित्का छाडेर हाँस्दा हामी बेलाबेला त्यता नजर दिन भ्याइरहेका हुन्थ्यौँ ।

“ह्या…कति पढ्नु ! जति पढे पनि दिमागमा घुस्दैन,” ऊ बोलेको थियो ।

त्यसपछि उसले छ्याङ्ग आकाशमा आँखा कुदाएको थियो । तर, बोलेको थिएन । आँखा चिम्लेको पनि थिएन । म कवितांश दोहोर्‍याएर उसलाई सुनाइरहेको थिएँ । यसरी एउटा साँझ हामी त्यस चौरबाट बाहिरिएका थियौँ ।

०००

आत्मा कहिल्यै नउघारिएको एउटा अद्भुत रहस्य हो । आत्महत्या झन् रहस्य । समाजशास्त्री/मानवशास्त्रीले यसबारे गर्ने व्याख्या पूर्ण छैन । संसारमा पूर्ण पो के छ र ? त्यसैले होला, अखबारमा छापिने आत्महत्याका अरू खबरजस्तै यो पनि रहस्यमयी नै थियो ।

अखबारका पानामा घोप्टिएर म हत्या भएको आत्मालाई भेट्न हतारिएको छु । त्यो भड्किरहेको/नभड्किएको आत्मा यतै कतै छ कि ? म पुस्तकालयको कुना, चेप र टेबुलतिर पनि आँखा दौडाउँछु ।

बाहिर फुस्रो घाम लागेको छ । नरमाइलो ।

“यहाँ आत्मा भेट्ने कुनै सम्भावना छैन,” मनमनै सोच्छु । मलाई आत्मासित कुरा गर्नु छ । मेरो प्रिय साथीको आत्मासित ।

मैले यस्तो सोचिरहँदा विश्वविद्यालयको मूल सडकमा तालुखुइले प्रोफेसरहरू अंग्रेजीमा गफिँदै हिँडेका छन् । टाइ लगाएर भलाद्मीझैँ देखिएका लेक्चररहरू हतारिएर क्याम्पसतिर लम्केका छन् । विद्यार्थी हूल आफ्नै तालमा मस्ताराम हिँडिरहेको छ । विद्यार्थी संगठनका केही नाराबाजी गर्दै विश्वविद्यालयको मूल भवनतिर झरेका छन् । तिनको आत्मामा के कुदेको होला भन्ने पनि सोच्छु । जिउँदो आत्मा चेतनामा छ । यी मरेका छैनन् । यिनले आफ्नो आत्माको हत्या गरिसकेका छैनन् । र, त यी सग्लो हिँडिरहेका छन् ।

सायद परीक्षा र्फम खुलेको छ, थुम्कोमा रहेको बैँकमा विद्यार्थीको लाम निकै लामो छ । तिनको हातमा एउटा लामो चिरकट्टो छ । त्यो भौचर हुनुपर्छ । परीक्षा शुल्क तिर्न भौचर बोकेका यी आत्माहरू आपसमा गफिइ पनि रहेका छन् ।

०००

ऊसित मेरो पहिलो भेट यहीँ बैँकमा भएको थियो । म पनि र्फमको शुल्क बुझाउन भौचरको चिरकट्टो लिएर लाइन बसेको थिएँ । ऊ पनि लाइनमै थियो । अन्तिम समय भएर होला, लाइन तुरुन्तै घटी हाल्ने खालको छोटो थिएन ।

“कति पढ्नू ?” अल्छीलाग्दो दिग्दारीमा बोलेको थियो ।

“पढेर कहिल्यै सकिन्न । जीवन एउटा लामो सिकाइ हो,” मैले नचिनेरै पनि उत्तर फर्काएको थिएँ ।

भौचर बुझाएपछि र्फम भर्ने बेला उसले मसित केही सहयोग माग्यो । नबुझेका अंग्रेजी शब्दबारे । मैले भनिदिएँ, अर्थ्याइदिएँ । ढिलो गरी अंग्रेजीका अक्षरहरू र्फममा भर्‍यो । हामीले परीक्षा नियन्त्रण कार्यालय गएर सँगै र्फम बुझायौँ ।

त्यसपछि विश्वविद्यालयमा प्रायः नियमित भेट हुन थाल्यो । कम बोल्थ्यो । धेरैसित उसको हिमचिम थिएन । कसरी कसरी हामीचाहिँ घनिष्टझैँ भयौँ ।

म उसलाई कथा र कविता सुनाउँथेँ । नेपाली, अंग्रेजी दुवै । ऊ प्रेमका कविता खूब मन पराउँथ्यो । अंग्रेजी कविता सुनाउँथे, ऊ टोलाउँथ्यो । “साला, यो अंग्रेजी नजानी जीवन सकिने भयो । जति गरे नि आउन्न । के हुन्छ यो अंग्रेजीमा ?,” अंग्रेजी कविताको भाव नेपालीमा अर्थ्याएपछि ऊ बोलेको थियो, “मेरा बाआमा म हेडमास्टर भएको देख्न चाहन्छन् । मेरी मैया म अंग्रेजीमा खरर बोल्न सकोस् भन्ने चाहन्छे । आफूलाई अंग्रेजीको भूतले कहिल्यै छाड्दैन । कहिले पास हुनू खै यो तालले ?”

उसले भनेकी मैया उसकी प्रेमिका थिई । जसलाई ऊ औधी माया गर्थ्यो । बेलाबेला चिट्ठी लेख्थ्यो । केही वाक्य अंग्रेजीमा पनि । नेपालीमा लेखेका वाक्यलाई अंग्रेजी अनुवाद गर्न कहिलेकाहीँ मेरो सहयोग माग्थ्यो । ती शब्द सामान्य अर्थका हुन्थे । कुनै चिट्ठीमा उसले प्रेमकविता पनि पठाएको थियो । ती सारेका कवितालाई उसले कहिल्यै आफ्नो दाबी गरेन । लेख्नचाहिँ आफू पनि प्रेम कविता लेख्थ्यो ।

त्यो केटी उसितै स्कुल पढेकी थिई । एसएलसीमा अंग्रेजी विषयमा ऊ दुईपल्ट फेल भई । त्यसपछिको तेस्रो परीक्षामा सफलतापूर्वक उसको मार्कसिटमा अंग्रेजीमा ३२ नम्बर देखियो । “अहिले गाउँको प्राथमिक स्कुलमा ऊ मास्टर भएकी छ । व्यवस्थापन समितिमा उनका बा अध्यक्ष छन्,” उसले सुनायो ।

“मैले पनि तेस्रोपल्टमा पास गरेको, त्यही पनि बल्लबल्ल । धन्य त्यो मास्टरलाई, जसले मेरो किरङिमिरङि अक्षर लेखिएको कपी जाँच्यो । मैले तेस्रोपल्टमा पनि पास नगरेको भए म कहाँ विश्वविद्यालयको अनुहार देख्न पाउने हुन्थेँ र ? कामका लागि कतार, दुबई वा मलेसिया पुगिसकेको हुन्थेँ,” उसले आफ्नो एसएलसीबारे मलाई यस्तै सुनाएको थियो । आफू पास भएकामा पनि ऊ साह्रै खुसी थिएन ।

“एसएलसी पास भए पनि ऊ सहर आइन,” आफ्नी प्रेमिकाबारे उसले एक साँझ भन्यो, “आएको भए यो सहरमा हात समाएर सँगै घुमघाम हुन्थ्यो । त्यस्तो भाग्य कहाँ ? अंग्रेजीले खोस्द्यो नि !”

उसले मलाई यस्तो पनि सुनाएको थियो, पटकपटक गरेर भए पनि आईएड पास भएकामा सयौँ माइल परको सुदूर गाउँमा रहेकी उसकी प्रेमिका निकै खुसी छे । ऊचाहिँ त्यति धेरै खुसीले उफ्रिसकेको छैन । “मैले उससित वाचा गरेको छु, खरर अंग्रेजी बोल्ने नभई म गाउँ फर्किन्नँ,” एक साँझ उसले गम्भीर भएर सुनायो, “फर्केर ऊसित भेट होलाजस्तो पारा छैन । आईएडमा बल्ल पाँचौँपल्टमा अंग्रेजी पास गरेँ । बीएडको यो सातौँपल्ट परीक्षा दिँदैछु । अब पनि फेल भएँ भने मैले कसरी उसलाई फेल भएको अनुहार देखाउनू ? त्यतिखेरसम्म त उसले अर्कैसित बिहे गरिसकेकी हुन्छे होली ।”

एक साँझ उसले जतनसाथ पर्समा राखेको प्रेमिकाको तस्बिर पनि मलाई देखाएको थियो । मैले यो पनि सम्झेँ, दाह्री र कपाल तिलचामले भएको प्रोफेसरले अंग्रेजी पढाइरहँदा उसले एक दिन केही प्रश्न पनि सोधेको थियो ।

“सर अंग्रेजी नजाने के हुन्छ ?” उसले अत्यन्त गम्भीर भएर नेपालीमा सोधेको थियो, “के सारा संसार अँध्यारो हुन्छ ? ज्ञानका सबै ढोका बन्द हुन्छन् ? संसारका सबै मान्छे अंग्रेजीमै वात मार्छन् ? सपना पनि अंग्रेजीमै देख्छन् हो सर ?”

प्रोफेसरले गालाका झपक्कै तिलचामले दारी दाहिने हातले मुसार्‍यो । एकछिन अकमक्क पर्‍यो । प्रोफेसरको उत्तरको प्रतीक्षामा कक्षा चकमन्न भयो । उत्तर दिने शब्द भेटेन र हो वा कस्तो लद्दु विद्यार्थी रै’छ, जाबो अंग्रेजी पनि जान्दैन भन्ने सम्झेर हो, त्यो दिन प्रोफेसरले उसको प्रश्नको उत्तर दिएन । प्रेफेसरको भृकुटी खुम्चेको प्रस्ट देखियो । पावरदार चस्मालाई दाहिने हातको चोरी औँलाले हल्का माथि धकेलेर प्रोफेसर फेरि पूर्ववत् ब्रेख्तको उही कविता व्याख्यामा लाग्यो । कविता बुझ्यो, बुझेन प्रोफेसरले सोधेन । कक्षा शान्त थियो, ऊ पनि शान्त भएर बस्यो । कति विद्यार्थी प्रोफेसरलाई ट्वाँ परेर हेरिरहेका थिए । केही विद्यार्थी आफ्नो नोटकपीमा प्रोफेसरले भनेका वाक्यहरू हतार-हतार टिपोट गरिरहेका थिए ।

त्यसपछि उसले कुनै पनि प्रोफेसरलाई कहिल्यै कक्षामा प्रश्न सोधेन ।

०००

प्रहरीले आत्महत्याको मुचुल्का उठायो । रपिोर्ट बनायो । सुदूरगाउँबाट सयौँ नदी, जंगल र पहाड छिचोलेर सहरको विश्वविद्यालय आइपुगेको केटोले किन आत्महत्या गर्‍यो ?

“उसका केही डायरी र सुसाइड नोट हात परेको छ,” अनुसन्धानमा संलग्न एउटा प्रहरी अधिकृतले पत्रकार सम्मेलनमा भन्यो, “कुनै गहिरो मानसिक चोटले आत्महत्या गरेजस्तो लाग्छ । डेडबडीलाई हेर्दा पनि त्यस्तै देखिन्छ ।”

मानसिक चोट डेडबडी हेर्दा कसरी थाहा लाग्छ ? प्रहरी अधिकृतले अनुसन्धानबाट सबुतका रूपमा एउटा सुसाइड नोट, नोटकपी, अंग्रेजीको डिक्सनरी र एउटा कविताको किताब फेला पारेको पनि बताए ।

सबुत ः १

२१ अप्रिल १९८१

तिम्रो पत्र पाएँ ।

म उत्तर लेख्न सक्ने अवस्थामा छैन । कसरी ? म फेरि अंग्रेजीमा फेल भएको छु…। अब बीएड चारवर्षे हुँदैछ, सात वर्षसम्म परीक्षा दिन पाउने अन्तिम मौका मैले गुमाएको छु । मैले फेरि पहिलो वर्षदेखि पढ्नुपर्छ । फेरि पास भएर तिमीलाई भेट्न आउने बेलासम्म सायद म बूढो भइसक्छु । त्यहाँ तिम्रो बिहे भइसक्ने छ । तिमी बच्चाबच्चीको आमा भइसक्ने छ्यौ ।

अंग्रेजीले के गरििदयो ? यतिखेर म मार्कसिट हेर्दैछु र तिमीलाई सम्झिरहेछु, तिम्रा मसिना परेला र मोटो आँखाको डिल कस्तो भयो होला ? कस्तो भयो होला जुरेलीका जस्ता तिम्रा आँखा ? ती आँखामा म सग्लो हेर्न नसक्ने भएँ ? तिम्रो प्रेम-परीक्षामा उत्तीर्ण भएँ । अंग्रेजीमा यसपालि पनि १९ मात्रै आएको छ ।

प्रिय !

म यहाँ तिम्रो थाप्लामा बस्ने नाम्लोको डाम सम्झिन्छु, मलाई अंग्रेजीले पिर्छ । गारो भत्किएको र बेन्ची नभएको तिम्रो स्कुल सम्झिन्छु, मलाई अंग्रेजीले पिर्छ । अंग्रेजी पढेर छोरो हेडमास्टर हुन आउँछ भन्ने आश पालेर बसेका आमाबाबुको प्रेम सम्झिन्छु, मलाई अंग्रेजीले थप्पड हान्छ । अंग्रेजीमा १९ लेखिएको त्यो मार्कसिटले मेरो दिमाग घोचिरहन्छ । मलाई एउटै पीडाले सताइरहन्छ, मैले किन यो अंग्रेजी बुझिनँ ?

मैले कहिल्यै नबुझेको अंग्रेजीसँगै सबै कुरा अब एकसाथ बिर्सन चाहन्छु । जस्तो म हिँड्ने बेला तिमीले दिएको रुमाल र कस बसेको पुरानो औँठी । तिमीले दिएको कलम, जसले केही कविता लेखेँ । म कविता बिर्सिंदै छु । एउटा परीक्षा पनि लेखेँ, संयोगले त्यो अंग्रेजीकै परीक्षा थियो । तर, म अंग्रेजीमा पास भइनँ । मेरो मनमा गाँठो परेर बसेको तिम्रो प्रेम पनि बिर्सन चाहन्छु । म सबैलाई बिर्सिन चाहन्छु ।

उही तिम्रो

सबुत ः २

२१ अप्रिल १९८१

प्रोफेसर !

कक्षामा तिमीले मेरो प्रश्नको उत्तर दिएनौ । मैले तिम्रो कक्षाको स्वाद कहिल्यै लिन पाइनँ । तिमीले त्यसको जवाफ दिएको भए सायद म फेरि अंग्रेजीमा १९ आएर फेल हुनु पर्दैनथ्यो । प्रोफेसर ! यसको दोषी मै हुँ । तर, यसको आंशिक दोष तिमीसित पनि जोडिएको छ । सातौँपल्ट विश्वविद्यालय फेल हुँदा पनि मेराबारे कुनै प्रोफेसरले सोधेन । मजस्ता धेरै विद्यार्थी झरझराउँदो कोइला भएर विश्वविद्यालय छिरेको र चिसो खरानी भएर त्यहाँबाट हिँडेको कसैले देखेको छैन । अब त्यो कक्षाकोठामा हाम्रो भेट हुँदैन । फन्टुस प्रश्न सोध्ने एउटा विद्यार्थी अब कहिल्यै तिम्रोछेउ पर्दैन । म सबैथोक हारेको अनुभव गर्दैछु र जीवन यहीँ बिसाउन चाहन्छु । बिदा प्रोफेसर ।

०००

मेरो आत्माले केही सोचेन । अखबारलाई एकातिर थन्क्याएँ । एक्लो थिएँ । ब्रतोल ब्रेख्त फेरि खोजेँ । कवितांश फेरि एकपल्ट दोहोर्‍याएँ ः

विल देयर अल्सो बी सिंगिङ् ?
यस्, देयर विल अल्सो बी सिंगिङ्
अबाउट द डार्क टाइम्स् ।

नेपाल साप्ताहिक अंक ४६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *