Skip to content

मेरो सम्झनाका माष्टर मित्रसेन

  • by


मैले माष्टर मित्रसेनलाई भारतको शिलाङ्गमा सन् १९३५ तिर देखेको हुँ। केही दिनसम्म उहाँसंग संगत पनि भयो । उहाँ एक राष्ट्रवादी सेवक हुनुहुन्थ्यो । यद्यपि उहाँको जन्म भारतमा भएको हो । र केही समय उहाँले फौजमा पनि काम गर्नुभएको कुरा उहाँको जीवनी पढ्दा थाहा हुन्छ । किन राजीनामा गर्नुभयो, त्यो त उहाँले नै जान्ने कुरा हो तापनि उहाँ आफ्नो गायन कला मार्फत् समाजमा रहेका नराम्रा रीतिथितिहरूलाई उजागर गर्नुहुन्थ्यो । उहाँको साथमा मैले बहादुर सिंह बराललाई पनि शिलाङ्गमै देखेको थिएँ । माष्टर मित्रसेनलाई आफ्नो गायन यात्रा जारी राख्न बहादुर सिंहको पनि सहयोग थियो क्यारे ।

उहाँमा नेपाली भाषामा गीत, भजन लेख्ने चाख र त्यसमा स्वर भर्ने साह्रै राम्रो गुण थियो । जब ‘बरालको आंशु’ पहिलोपटक प्रकाशित भयो त्यो आकारमा सानो थियो तर त्यसमा छापिएका गीत भजन गाउन मलाई अझ पनि मन लाग्छ । ती गीतहरू म लय मिलाएर गाउन सक्थें । र अझ पनि ८६ वर्षे उमेरमा मलाई त्यो सम्झना छ । हामी शिलाङ्गमा पुस्तकालय सञ्चालन गर्न होली र भैलो खेली अर्थ संकलन गर्दथ्यौं । यसै क्रममा हाम्रो अनुरोधमा माष्टर मित्रसेनले होलीको लागि गाना लेख्नु भै हामीलाई गाउन तालिम दिनुभएको थियो । त्यो गानाको केही अंश यस्तो थियो :

फागुनको महिना यो ऋतु चाड
फूल फुल्यो बगैंचा भरि
बाँचुञ्जेल सम्म खेलौं न होली
के लानु छ मरेर भोलि
राधा र कृष्ण झैं होली
खेल्न आउन गोरी
राधा र कृष्ण झैं होली
बोलाउँदाखेरि नबोली बस्ने
के गर्नु अर्काकी छोरी
गोरी आउ खेलौं न होली

तर पनि माष्टर मित्रसेनको नेपाली भाषा प्रति यतिको स्नेह थियो कि उहाँले अरू गानाको प्रयोग केवल एक पटक मात्र गरेको सुनें । कुरा यस्तो थियो :

शिलाङ्गमा एक जना शिशुपाल ठकुरी बाबुसाहेबलाई रु.१६,०००।- को चिट्ठा पर्‍यो अघि सानो जागिर खाएर ससुरालीमा बसेका व्यक्तिमा पैसाको तुजुक बढ्न गएछ । र उनले आफ्नो छुट्टै घर बनाए र त्यहीं बस्न लागे । त्यस बेलामा रु.३०० मा एक नयाँ गाडी किन्न पाइन्थ्यो । उनले एक दिन सत्यनारायणको पूजा गरेर माष्टर मित्रसेनलाई निम्त्याए । माष्टर मित्रसेनको गायन कला थाहा पाएर त्यो घरमा मित्रसेनको गाना, भजन सुन्न मानिसहरू जम्मा भए । बाहिरको बैठक ठूलो थियो । माष्टर मित्रसेनको भजन शुरु भयो । यसरी सबै रमाई रहेको समयमा भित्रको ठूलो कोठामा मणिपुरी केटीको नाचको आयोजना रहेछ । माष्टर मित्रसेन गाउँदै हुनुहुन्थ्यो । एक्कासी नाचको बाजा घुँघुँरुको आवाज आउन थाल्यो । मानिसहरू त्यतातिर लागे । तथापि हामीजस्ता केही ठिटाहरू उहाँको साथैमा थियौं । यो देखेर माष्टर मित्रसेनलाई रिस उठ्यो । उहाँले नेपाली गाना गाउन छोडेर हिन्दी र उर्दू मिश्रित गाना यसरी गाउन थाल्नुभयो कि नाँच हेर्न गएकाहरू फर्किएर आए । भित्र शायद दर्शकहरू घटे होलान् । यो देखी माष्टर मित्रसेन हारमोनियम (फोल्डिङ्ग) लाई बन्द गरेर त्यहाँबाट हिड्ने तरखर गर्न लाग्नुभयो । घर मालिक आएर नजानको लागि हात जोड्दा पनि उहाँ रोकिनुभएन र तुरुन्तै हिड्नुभयो । हामी मध्ये केही ठिटाहरू पनि उहाँको साथैमा लाग्यौं । त्यस समयमा उहाँले भन्नुभएको कुरा मलाई सम्झना छ । “मलाई यस्ता हिन्दी गानाहरू थुप्रै आउँछन् । तर म केवल नेपाली गाना भजन गाउँछु । अब म यहाँ बस्दै बस्दिन ।”

मानिसलाई सित्तैंमा पैसा आए मात लाग्दोरहेछ । केही दिनपछि शिशुपालज्यूको खर्च गर्ने रकम शायद सकिएछ क्यार, पुनः ससुरालीमा गएर बस्न थाले । उनको ससुराली हाम्रो घरसंगै थियो । मर्ने बेलामा उनकी सासुले राम नामी किनेर दिनु परेको थियो !

२०६२।१०।१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *