एक्कासि उनले एक जोडदार चड्कन हानेर मेरो मुख छोपिदिए ।
के र किनजस्ता प्रश्न आँखामा फैलनुअघि नै उनले भनिहाले, “तैँले ऐया पनि भन्न पाउँदैनस् ।”
यो आदेश हो वा धम्की, केही सोच्न पाएकै थिइनँ, बरु अब केही गर्नै पाउँदिनँ, मलाई लाग्यो किनकिन । मान्यजन हुन् उनी, विरोध र प्रत्याक्रमणभन्दा पनि बढी सम्मानको क्ष्ाेत्रतिर पनि विस्तारित हुने सन्दर्भ थियो हामीबीच । अब के गर्ने ? सम्भावित युग बनेर त्रास पनि फैलिन थाल्यो मनभित्रभित्रै ।
मैले अपशब्द कहिले भनेको थिएँ र ? जिज्ञासा नउठेको त हैन तर उनका सामु राख्ने कसरी, मुख्य समस्या यही नै हो । उनले घोषणै गरिसकेका थिए, केही नसुन्ने । मैले आफ्नो आकाङ्क्षा व्यक्त गर्दा उनको अधिकारक्षेत्र कहिल्यै भत्काउने कुरा गरिनँ, तैपनि किन यस्तो ? उफ् ! अनि मेरो आकाङ्क्षा हातमुख जोड्नलाई सजिलो बनाउने उपाय खोज्नेबाहेक अरू के हुन सक्थ्यो र !
आमाले एक थप्पड हानेकी थिइन्, जब मैले उनलाई हामीले किन सम्मान गर्नुपर्ने भनेर प्रश्न राखेको थिएँ । यसकारण र त्यसकारण भन्नेभन्दा बताइयो, हामीले उनलाई मान्नैपर्छ किनभने उहाँहरूले मानिआउनुभएको छ । उहाँहरू अर्थात् मातापिता । स्पष्ट छ, उहाँहरू पनि त्यसैकारण मान्नुहुन्छ, उहाँहरूका मातापिताले पनि मानिआएको कुरा थियो वा उहाँहरूका गालामा पनि थप्पड बज्रेको थियो, सम्भवतः ।
“बाबु ! उनलाई भगवान् मान्नू है ।” यही तथ्य युगौँदेखि चलिआएकै थियो, मेरा मातापिताका मातापिता … थुप्रै मातापिताको पालादेखि ।
भने, म कहिल्यै उनको अहितको कुरा गरुँला र आज यस्तो … ?
तरक्क ! आँसु चुहाउन पाए पनि हुन्थ्यो । खै, आँखा पनि सपाट भइसकेछन् ।
“बा ! भोक लाग्यो ।” मेरो सानो भुन्टुङ अघिदेखि नै बोलिरहेको रहेछ । सुन्न पनि छाडेँ कि क्या ? कठै ! उसको के दोष, भोक लाग्यो, व्यक्त गरिदियो । आफ्ना बाबुको अघि नभने कसलाई गएर उसले भन्नु, विचरा ! अब मचाहिँ के गरुँ ?
आफ्ना साना हातले उसले मेरो सुरुवालको च्यातिएको भाग तानेर मेरो ध्यान तान्ने प्रयास गर्न थाल्यो, मेरो ध्यान उसमाथि नै छँदै थियो, अब झन् थपियो, उसको क्रन्दनले पनि र झन् च्यातिन थालेको सुरुवालको भागले पनि । केही सीप नलागेपछि उसलाई बोकेँ र ठानेँ, कम्तीमा आश्वासन त दिउ“m … तर कहाँ ? मेरो त मुखै टालिएको छ ।
मेरो छोरो, मेरो भविष्यको पेटका लागि के जोहो गरुँ ! विचरा, उसको बाबुको खल्ती सधैँ चिसै रहन्छ । खल्ती नै यस्तो प्रकृतिको रह्यो, जहाँ दिउँसभरिको पसिना चुहाइले मात्र केही मनतातोको क्षमता जाग्दथ्यो । अब यस अवस्थामा खल्ती तताउने कसरी, नबोली मेरो परिश्रम देखा पर्दैनथ्यो ।
परिश्रम त हातैले गर्ने हो तर मुख बाँधेर गर्दा के होला ? अँ … बुझेँ, मुख स्वतन्त्र भए हातले गर्ने धेरै काम माग्छ भनेर पो हो कि ! ठीक छ, त्यस्तो गर्नु नराम्रो हो भने नगरुँला तर आफ्नो परिवारको पेटलाई शान्त बनाउने उपाय त गर्न सकूँ .. । यही सोचाइ लिएर उनलाई हेरेँ तर उनी त मेरो मुखमा बाँधिएको पट्टीलाई अझ कस्दै भन्न पो थाले, “यो तिमीहरूकै लागि हो ।”
कसरी हो, कुन्नि ? हो भनेपछि बस्, हो । मान्नैपर्यो ।
राती अकस्मात् मेरी अर्धाङ्गिनीलाई पेटमा असह्य वेदनाले छोप्यो । उनी पेट समातेर दोबि्रन थालिन् । अब के गरुँ ! यताउता हेरेँ, नजिकैका सबैलाई गुहार माग्ने प्रयत्न गर्न थालँे, तर … कठै ! मेरो मुखै टालिएको थियो । अब कसलाई बोलाऊँ, कसरी बोलाऊँ … !
त्यस अवस्थामा मैले जे सक्थेँ, त्यही गर्न थालेँ । उनलाई बोक्न त बोकेँ तर सानो भुन्टुङलाई कहाँ राखूँ । चिन्ता, त्रास, निरीहता सबैले एकैपल्ट आक्रमण गर्न थाले ।
हे भगवान् ! यो कस्तो विडम्बना हो ? मैले कुन पाप गरेको छु र आज यस्तो … भोग्नु परिरहेछ ?
बेस्सरी चिच्याईचिच्याई रोऊँजस्तो लाग्यो, तर अहँ, एक शब्द बोली निक्लिरहेको थिएन ।
केही दिनपछि उनी स्वयम् मेरासामु उभिए । एकपटक टिठलाग्दो पाराले हेरिरहे । बरु मलाई डरले छुन थाल्यो, रुन खोजेर मैले अपराध गरेँ कि क्या ?
उनले नरम हुन खोज्दै भने, “यस्तो केही दिनका लागि मात्र हो । हेर न, कति दूषित हावा चलिरहेछ, कति खतरनाक किटाणुहरू उडिरहेछन् … तिम्रो मुखभित्र पस्न सक्छन्, त्यसैले … यस्तो ।” पट्टीको राम्ररी निरीक्षण गरेर उनी फेरि गए ।
यो सबै के भइरहेछ ? मैले सोच्न सकिरहेको छैन… तर कहिल्यै बुझ्न सक्तिनँ, कतै उनी यही नै जताउन खोजिरहेका त छैनन् ? लगभग यस्तै जिज्ञासा लिएर हेरेँ आफैँलाई, अस्तव्यस्त … पृथ्वीको सबैभन्दा अनौठो प्राणी पो देखिएछु !
आफ्नो घर छ । आफ्नो आँगन छ । आफन्त छन् । आफ्नो हावा छ । आफ्नो पानी छ । सब छ । नभएको केही छैन तर पनि आफ्नै घरआँगनीमा मैले दीनहीन भएर बाँच्न परिरहेछ … ।
उनी त आफ्नै हुन्, उनैले हाम्राे भलाइ गर्छन्, यसै बताइएको थियो हामीलाई वर्षौंदेखि … तर भलाइचाहिँ यही हो ? परपरको क्षितिज हेर्दै आफैँसँग एकपल्ट प्रश्न राखेँ ।
उत्तरचाहिँ क्षितिजले पनि दिन नसकेर रुन थाल्यो ।
भएको चाहिँ के थियो त मलाई यस्तै गर्नुपर्ने ?
अहिले मात्र होइन, धेरै पहिलादेखि यस प्रश्नले घोचिरहेकै थियो । यस्तो प्रश्नको उत्तरचाहिँ कसले देओस्, त्यसैले आफैँले हेर्न थालेँ, दायाँबायाँ । यताउति ।
राताकाला अनुहारहरू कराइरहेका रहेछन्, कानै खाने गरी । नसुनेझैँ गर्नुपर्ने हो कि ? वा कान थुन्नुपर्ने हो ? तर, कसरी सकिन्छ जब नजिकै सुनिन थालिसक्यो । कान काट्न पनि त सकिँदैन ।
अपराध त होइन नि, त्यसैले तिनीहरूलाई हेरेँ । मेरी बास्सै ! ती त अरू को नै हुन् र ! मेरै गाउँले त रहेछन् नि … उ ः उ ः नरे, हर्के, वीरे … मेरै दाजुभाइ, मेरै रगत । ज्या, के भएछ यस्तो ?
के ? मैले सङ्केतले सोधेँ । चाहेरै पनि मुखले कसरी सोध्न सक्थेँ र !
मैले हेरेर हो वा कुन्नि किन हो, तिनीहरू एकछिन कराउन छाडेर खुसी देखिए ।
किन यस्तो …? फेरि सङ्केत गरेँ ।
खै, के के भनेर उपि|mन थाले ती त । मैले चाहिँ कसरी बुझ्नु !
अब तिनीहरू फेरि चिच्याइको स्तरमा उक्ले । साथसाथमा उपि|mन पनि । तिनीहरूको उप|m्याइ … खै, के भन्ने, आकाश छुनलाई हो वा जमिन छेड्नलाई … केही भेउ पाउन सकिँदैनथ्यो ।
जिज्ञासाचाहिँ यही हुन सक्थ्यो, मान्छे पनि कहीँ त्यसरी उपि|mन्छन् त ?
लौ, अब त तिनीहरू एकदम बेस्सरी कराउन थाले, एकदम । कानको जाली नै फुटाल्ने पो हो कि क्या ? उफ् ! यो के ? अब तिनीहरू वरिपरि मिहिनेत गरी रोपिएका बोटबिरुवाहरू उखेल्दै फ्याँक्न पो तम्सिन थाले । अब के हुने होला, लौ !
फटाहाहरू ! आफूले के भन्न चाहेको हो, केही नभनी के यस्तो उपद्रो गरिरहेको होला । उनलाई सुनाउन चाहेका हुन् भने भन्नलाई के आपत्ति ? उनी मात्र बहिरा त छैनन् नि, सुन्नलाई कष्ट हुने पनि त होइन नि !
मेरो कानचाहिँ किन खाइरहेको हो … के अब मेरो कान पनि सस्तो भइसक्यो ?
म यस्तैउस्तै सोच्दै थिएँ, बडो जोडदार उपस्थिति भयो, उनको । अरू कसको हुनु ! मैले उनलाई हेर्न भ्याएको थिइनँ, उनले कालो पट्टीले मेरा आँखा छोपिदिए ।
अब यो पनि … ?
आश्चर्यभन्दा पनि मलाई दुःखले छोपिहाल्यो । अब के यस्तो दिन पनि आउने भयो ? यति सजिलै ?
मेरो जिन्दगीभन्दा पनि ठूलो आकारको पीडाले कति नराम्ररी गाँजिरहेको छ … म कसरी हिसाब बताऊँ !
उनी … ? उनको त के छ र ! आफ्नै सुरमा बोल्दै मलाई पट्टी बाँध्न थाले, “केही समयका लागि मात्र हो… सबै तिम्रै भलाइका लागि हो । सुर्ता गर्न पर्दैन ।”
उनी छँदै छन्, अब यतिभन्दा सुर्ता किन गर्नु ! त्यसमाथि उनको हाम्रो भलाइ चाहने विशाल हृदय छँदैछ । किन र केलाई सुर्ता गर्नु ! अहँ, गर्दिनँ । ढाँटेको होइन, उनी छन् नि साथैमा । साँच्चै, यसै त भनिएको थियो नि, हामीलाई । पुर्खौंपुर्खादेखि ।
आँखामा कालोपट्टी बाँधिएपछि त, स्वाभाविकै छ, अँध्यारैअँध्यारो देखिनेछ, चारैतिर । मुखमा पहिलादेखिकै बन्देज छँदै थियो । अब यतिभन्दा के चाहियो ? छैन, पटक्कै सुर्ता छैन । जे भइरहेछ, राम्रैका लागि त होला नि ! हैन त ईश्वर ?
ईश्वरले के भन्थे कुन्नि, यहाँ भने मेरा दायाँबायाँ, अघिपछि, सबैतिर डाङडुङ आवाज आइरहेको बुझिरहेकै थिएँ । लौ, मैले त थाहा पाइरहेकै थिएँ । घरी ढ्याक्र्याक्ढुक्रुक, घरी ढ्याङ्ङढ्याङ्ङ आवाज आइरहेको, कहिले कोही दौडिरहेको, कहिले कोही दौड्दादौड्दै पछारिएको आवाज आएको मैले बोध गरिरहेकै थिएँ, क्रमशः केके हुँदै थिए … ।
बाहिर हेर्ने आँखा, आँखामा पट्टी, पट्टीभित्रका आँखामा अँध्यारो … तर … तर ईश्वरलाई धन्यवाद, मभित्र अलिकति उज्यालो चुहियो … ई यसरी … !
म जान्दिनँ, मलाई यस अवस्थामा राखेर उनले कुन कुराको पुस्ट्याइँ गर्न खोजेका हुन् तर जेजति पनि भइरहेछन्, त्यसलाई बोध गर्ने मेरो विवेकलाई रोक्न/छोप्न/टोक्न सक्छन् र !
नेपाल साप्ताहिक
अंक १३६
