Skip to content

राम्रै थ्यो मयलपोश त्यो भेष जल्यो

  • by


राम्रै थ्यो मयलपोश त्यो भेष जल्यो किन आमा
ज्वाला कतै देखिदैन देश जल्यो किन आमा

गौरव गर्थें हिजोसम्म छोरो भन्न नेपालको त्यो
शिरको टोपीसँगै मेरो त्यो सान ढल्यो किन आमा

रित्तो भयो ढुकुटी त्यो भोका नांगा यसै मरे
पीडा तिम्रो दुखाइ मेरो आत्मा गल्यो किन आमा

थाहै होला ‘हावा नआई पात हल्लिन्न’ भन्ने कुरा
ठोसिए झैं अगुल्ठो त्यो मुलुक बल्यो किन आमा

चपेटामा सधैं निर्धो छेक्थ्यो कसले बलिष्ठलाई
नसोचेकै दुष्टका ती पाइला चल्यो किन आमा

साच्चै हो कि जस्तो पारी बाड्ने मिथ्या सपना ती
खोक्रा आशा साट्नेले ती हाम्लाई छल्यो किन आमा

राम्रै थ्यो मयलपोश त्यो भेष जल्यो किन आमा
ज्वाला कतै देखिदैन देश जल्यो किन आमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *