Skip to content

Kedar_Thapaliya

गजल

गजल
कुरी बसेक‍ो छु इशारा कसैको
पाउँछु कि भनी सहारा कसैको

खोज्दैछु बस्न अन्तरमन भित्र
बनेर चन्द्र अनि तारा कसैको

भुलेर सबथोक पनि भुलिएन
नजरै नजरका झटारा कसैको

प्यासीहरूले मेटाउँदैमा प्यास
रित्तिंदैन फेवा, रारा कसैको

भन्दैछ गरीब चाहियो राहत
भोभो पुग्यो अब नारा कसैको

बचाइ प्राण उम्किदैछ सिकार
चिनेर पासो अनि चारा कसैको

केदार थपलिया
नुवाकोट

गजल

बालकबाट बृद्दसम्म उमेर सरे जस्तै
झर्छ जीवन बोटबाट फूल झरे जस्तै

सुखदुःख जीवनमा आउनेजाने हुन्छ
हरेक दिन साँझ,बिहान,रातपरे जस्तै

संतुष्टी र खुशियाली भर्दै जानु पर्छ
कुवाबाट गाग्रीभित्र पानी भरे जस्तै

विश्वास र भरोसालाई छरौं जताततै
किसानले अनाजको बीउ छरे जस्तै

भाग्नु हुन्न डराएर जीवनको दुःखबाट
जंघारबाट पार लागौं खोला तरे जस्तै

केदार थपलिया
नुवाकोट