Skip to content


ऊ असाध्यै सोझो थियो। छक्कापञ्जा केही गर्न पनि जान्दैनथ्यो। अति मेहनती र परिश्रमी थियो। देशमा गरीखान अनुकूल समय नभएकोले गाउँका उसका साथी भाइहरू रिन काढेर भए पनि अरब मुलुकतिर हानिएका थिए।
आफ्नै आँखासामुन्ने घरखेत बन्धकी राखेर गएकाहरू एक दुई वर्षमै घरखेत निखनी ठाँटका लाहुरे भएका देख्ता उसलाई पनि अरब जाने सकसकीले सतायो। रिन काढेरै भए पनि अरब जाने निश्चय गर्‍यो।
चिनेजानेको आफन्तबाट प्रक्रिया अगाडि बढायो। दुई चार महिनापछि अरब जाने दिन पनि आयो। राम्रोसँग काठमाडौं घुम्न पनि नसक्नेलाई एयरपोर्टमा कुन इन्टरनेशनल कुन डोमेष्टिक आदिबारे थाहा हुने कुरा पनि भएन।
उसको यही सोझोपनको फाइदा उठाएर अरब पठाउने एजेन्टले उसलाई कतार जाने भनी सोलुको सल्लेरी जाने विमानमा चढाइ पठायो। नेपालीभन्दा धेरै विदेशी भएकोले उसलाई त्यति शङ्का पनि भएन। सल्लेरी विमानस्थलमा झर्दा नेपालीहरूलाई देखेर झन् खुशी भयो। तर वास्तविकता थाहा पाएपछि छाँगोबाट खसेझैँ भयो।
प्रहरीको सहायताले जसरी तसरी भएपनि काठमाडौं आई बुझ्दा मेनपावरको ढोकामा भोटे ताल्चा लगाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *