Skip to content

सुमन

सिकाएनौ गुरू बा

छली ढाँटी चोरी गर्न सिकाएनौ गुरू बा
इमान जमान तल पर्न सिकाएनौ गुरू बा

जन सेवा देशभक्ति यही मूल मंत्र भन्यौ
आफ्नो लागि भाइ मार्न सिकाएनौ गुरू बा

एउटै गति

प्रकाश होस कि चञ्चल मनको एउटै गति
असी कटे पछि तन तनको एउटै गति

कोही रोडपति त कोही करोड़पति हुन्छन्
भुंइचालो झुल्के पछि जन जनको एउटै गति

कल कल झरना वग्ने हराभरा उपवन हुने
उजाड भए पछि वन वनको एउटै गति

मायामा उडीरहुं प्रेममा डुबीरहुं लाग्ने
विरक्त लागे पछि मन मनको एउटै गति

सात सुरको सुरीलो संगीत हुन्छ भन्छन्
बहिरो भए पछि सबै छम छमको एउटै गति

भरम

भरम हो भरम हो भरम हो
यो जिन्दगानी एउटा भरम हो

आलो पालो गर्नु पर्ने
ऐंचो पैंचो तिर्नु पर्ने
गर्नु पर्ने तिर्नु पर्ने
यो जिन्दगानी एउटा परम हो
परम हो परम हो परम हो
यो जिन्दगानी एउटा भरम हो

दिन रात खट्नु पर्ने
मरी मेटी जुट्नु पर्ने
खट्नु पर्ने जुट्नु पर्ने
यो जिन्दगानी एउटा करम हो
करम हो करम हो करम हो
यो जिन्दगानी एउटा भरम हो

सफल मात्रै हुनु पर्ने
नाफा मात्रै लिनु पर्ने
हुनु पर्ने लिनु पर्ने
यो जिन्दगानी एउटा चरम हो
चरम हो चरम हो चरम हो
यो जिन्दगानी एउटा भरम हो

आफु पहिलो हुनै पर्ने
जीत आफ्नो हुनै पर्ने
हुनै पर्ने हुनै पर्ने

पत्तै भएन

कैले बालपन वित्यो जवानी कैले पत्तै भएन
आई सकेछ काल सिरानीमा कैले पत्तै भएन

गर्ने मन थियो उनीसंग पेटभरि मनका कुरा
उम्कि सकेछ राम्रो साइत उहिले पत्तै भएन

काम कति थिए शुरू गर्न कति पुरा गर्न
गोधूलि सांझ ढली सकेछ पैले पत्तै भएन

साहु जति सबै आए भेट्ने बहाना गरी
तिर्ने वचन दिएको रैछु मैले पत्तै भएन

कोशिश जति गयो खेर जोगाउन ज्युने दियो
रित्याइ सकेछ सबै तेल उसैले पत्तै भएन

अचम्म

दु:ख गरे दह्रो हुन्छ सुख गरे दुख्छ
कुकुर चांहि लमक लमक हात्ती किन भुक्छ?

आकाशको जून पनि बिना बादल लुक्छ
कुवामा छ ज्वारभाटा सागर किन चुप छ?

फलेको रुख ठाडो छ रे नफलेको झुक्छ
सधैं अचूक मेरो तारो आज किन चुक्छ?

रामनामी साधु पनि बिहान देखि धुक्छ
कोठा भरी सुगन्ध छ लिखे किन थुक्छ?

डांडा कांडा हिन्ने मान्छे कालोपत्रे फुक्छ
हूलका हूल केटालाई केटीले पो ढुक्छ

म कविता लेख्छु

उनले आँखा फिराए म कविता लेख्छु
आँखा बाट गिराए म कविता लेख्छु

मायाको डोरी तान्ने वल गरेकै छु
असत्तीले पिराए म कविता लेख्छु

हरेक दिन सगरमाथा चढीरहेकै छु
चीसोले ठिराए म कविता लेख्छु

कुरूक्षेत्रमा गाण्डीव मैले तानेकै छु
कृष्णले विराए म कविता लेख्छु

राजा हुने दौडमा सामेल भएकै छु
सिंहासनले चिढाए म कविता लेख्छु

पर्खाई

सास रहुञ्जेल सम्म तिम्रो सन्देश पर्खें
चाँडै नउठाऊन भनी तिम्रो आदेश पर्खें

शोकमग्न मलामीहरु संग हार गुहार गर्दै
चाँडै नजलाऊन भनी तिम्रो समादेश पर्खें

कसैले हेर्दा पनि मेरो मुटु जल्छ भन्थ्यौ
खरानी हुँदा सम्म तिम्रो आवेश पर्खें

ज्वाला शान्त भयो मेरो चिता सेलायो
जलेको मुटु संगालून भनी परमादेश पर्खें

भरिएर घडामा शान्त छु कुनामा
लान्छौ कि घुमाउन भनी अनिमेष पर्खें

हिसाब किताब

दुईमा दुई जोडिए चार हुन्छ
दुईले दुई घटाए समाचार हुन्छ

दुईले दुई गुणन गरे चार हुन्छ
दुईले हात समाए घरबार हुन्छ

दुईले सताए अत्याचार हुन्छ
दुईले चिन्तन गरे बिचार हुन्छ

दुईले एकलाई कुटे अचार हुन्छ
दुईले दुईलाई सघाए लोकाचार हुन्छ

दुईले दुईलाई सुनाए प्रचार हुन्छ
दुईले दुईलाई जनाए सञ्चार हुन्छ

दुईले घमण्ड गरे मिथ्याचार हुन्छ
दुईले अपराध गरे व्यभिचार हुन्छ

दुईले सुटुक्क हेरे आँखाचार हुन्छ
दुईले मन नपराए तिरस्कार हुन्छ

दुईले आँखा चिम्ले अन्धकार हुन्छ
दुईले समर्थन गरे सरकार हुन्छ

दुईले टन्न खाए डकार हुन्छ
दुईले गाली खाए हकार हुन्छ

बाँकी छ

छोटो जिन्दगीको हर हिसाब बाँकि छ
तिम्रो मेरो पनि हर हिसाब बाँकि छ
.
तिमिलाई लाग्योहोला बादल फाटि सक्यो
मुटुको दरार हेर मनमुटाव बाँकि छ

जे भन्नु थियो तिमिले भनि सक्यौ होइन
मन थामेर सुन मेरो सुझाव बाँकि छ

न आत्तिनु जाबो बोतल रित्तियो भनेर
मधुशालामा हेर शराब बाँकि छ

धेरै भएको छैन तूफान शान्त भएको
बाहिर निस्केर हेर बहाव बाँकि छ

धेरै खुशी नहुनु नयाँ युग आयो भनी
आकाश तर्फ हेर टकराव बाँकि छ

घाँटी नहेरी तिमिले हाड मात्र निल्यौ
आफ्नै थालीमा हेर कबाब बाँकि छ

महाभारतको तयारी पुरा भयो भन्थ्यौ
भण्डारमा हेर असबाब बाँकि छ

तिमिले प्रेम प्रस्ताव पठाएर मात्र हुन्न
पर्खी हेर आउने जबाब बाँकि छ

कुन छ?

उसको खानामा पनि नून छ
त्यसको पसिनामा पनि नून छ

भन्सार बाट मात्र आउने होइन
उसको धनसारमा पनि सुन छ

उसको तेल मालिसमा मात्र होइन
त्यसको बूट पालिसमा पनि गुन छ

उसलाई बचाउदा मात्र चाहिने होइन
त्ससलाई मार्दा निस्कने पनि खून छ

आकाशमा मात्र उदाउने होइन
दुइ छाक टार्न चाहिने पनि जून छ

मान्छेमा हराउँदै गएको छ भन्छन्
आत्मा हराएको जन्तु पनि कुन छ?

थोरै माया

साँचो भए देउ न “सुवा” थोरै माया
मनकि रानी मलाई दिनु कोरै माया

देखाउन सकिन होला सपनाका महल हरु
छाती चिरी हेर्नु दिलको खोरै माया

दुख्यो होला तिम्रो मन मेरो बेहोशीले
योमन छामे हात लाग्ला अघोरै माया

पानी बिना माछा सरि तडपेको छ यो मन
हुन्थो होला शीतल तिमिले दिए थोरै माया

छिन छिनमै नमाग प्यारी प्रेमको प्रमाण
बसि सक्यो अटुट तिमिसंग पोरै माया

साँचो भए देउ न “सुवा” थोरै माया
मनकि रानी मलाई दिनु कोरै माया

दृश्य बदलिन्छ

दिन भरि डमडम डमडम रातमा ताल बदलिन्छ
छिन् छिन् मा मौषमको यहाँ हर हाल बदलिन्छ

खुशी थिए सबै त्यहाँ रंग विरंगी माहौल थियो
जब आए वहांहरु त्यहाँ सबको चाल बदलिन्छ

नियम न कानूनले हुन्छ भन्थे सबले त्यहाँ
क्षण भरमै हुने भयो जब सुनको थाल बदलिन्छ

पक्रिन सकेन उसले सुनौलो त्यो ठूलो माछा
गा-हो छ रे भन्छन् जबसम्म जाल बदलिन्छ

तँ पनि चनाखो नभई भएन “सुमन”
अचम्म छ यहाँ त इशारामा काल बदलिन्छ

याद छ र?

उकाली कटे हुन् कति ओराली कति याद छ र?
चाल आज सम्म चाल्यौ कति याद छ र?

घायल भई तड्पिए कति हुन् मरे हुन् कति
झुटो कसम खान थाल्यौ कति याद छ र?

दाह्रा किटी पागल सबैले तिम्रो नाम लिन्छन्
मन कतिका मुटु जलाएर फाल्यौ कति याद छ र?

सुनैको छ महल तिम्रो मन मुटु पनि सुनैको
ढुकुटी क-कसको नियाल्यौ कति याद छ र?

जलेको मुटु बोकी ‘सुमन’ आएथ्यो याद छ र?
त्यही मुटु जोखेर मोल्यौ कति याद छ र?

बात लागेन

तिम्रै नजरको तीरले म मरें तिमिलाई कुनै बात लागेन
वैंशालु नशा भरपूर थियो तिमिलाई कुनै मात लागेन

तिम्रा खुशी खरीद गर्न सबै रहरहरु धितो राखें
चढाएं आफ्नै वली तिमिलाई कुनै सौगात लागेन

ज्वालामुखी विस्फोट भयो तहस नहस भयो ज़िन्दगी
चर्क्यो मेरै बिचरो मुटु तिमिलाई कुनै औकात लागेन

आंसुहरुको बाढी आयो प्यास बुझोस भनी मरुभूमिको
तड्पे कल्पे बरबाद भएं तिमिलाई फिका बरसात लागेन

आउने जाने सबले सोधे के भयो तिमिलाई “सुमन”
तिम्रै प्यारमा पागल भएं तिमिलाई सानो मुलाकात लागेन

भयो जीवन खलाँती

जिउने आगो फुक्दा फुक्दै भयो जीवन खलाँती
रुने आँखा सुक्दा सुक्दै भयो जीवन खलाँती

रोग दोष राजा देउता सके जति उपचार गरें
विशेक होला ढुक्दा ढुक्दै भयो जीवन खलाँती

जरूरी छैन

हामी मिले उनी खुशी होलान जरूरी छैन
तिम्रो मेरो चिना पनि मिल्नु जरूरी छैन

भुवा सरी कपास झैं मन उडे भयो
दुई चार बोतल ढल्नु जरूरी छैन

जीवन ज्यूनुको अर्थ भेटे भयो
ज्यू हजुरको पाउ मल्नु जरूरी छैन

एकआपसमा हाम्रो मन बुझे भयो
हाउभाउ र चालढाल बदल्नु जरूरी छैन

गर्विलो विजयी मुस्कान छर्न सके भयो
शत्रु महानको सेना गल्नु जरूरी छैन

डर

थिचिएर निस्सासिएको भासु भीरको ढुंगो म
कर्मी हाथहरुले भेटे देउता बनाइने डर छ

भेलले पछारिएको काली बगरको ढुंगो म
माझी दाइले पक्रे देउता बनाइने डर छ

ठक्करले लछारिएको छतरी चौराहको ढुंगो म
स्वामी बाबाले टेके देउता बनाइने डर छ

पींधमा घुसारिएको पंच देवलको ढुंगो म
बाल बुद्धले देखे देउता बनाइने डर छ

झ्याउ फिजारिएको धुराको अलपत्र देउता म
तीर्थालु भक्तले जपे फेरी देउता बनाइने डर छ

मर्ने तयारी

कायम राखौं ईमान पृय, तयारी मर्ने गरौं
गरौं सबको सम्मान पृय, तयारी मर्ने गरौं

विष मनको वमन गरौं, माया प्रेमका कुरा गरौं
खाऔं अमृतको जाम पृय, तयारी मर्ने गरौं

आत्मा आफ्नो साछी राखी, परमात्माका कुरा गरौं
जाऔं यस्तो धाम पृय, तयारी मर्ने गरौं

अन्तरमनको पुकार सुनौं, ढुक ढुकीका कुरा गरौं
छरौं यस्तो ग्यान पृय, तयारी मर्ने गरौं

नाता गोता छर छिमेकमा, सुख दुःखका कुरा गरौं
छाडौं यस्तो पैगाम पृय, तयारी मर्ने गरौं

रीस राग अहंकारका, महल गाल्ने कुरा गरौं
छरौं यस्तो मुस्कान पृय, तयारी मर्ने गरौं

स्वाभिमानको तरवारले, शत्रु ढाल्ने कुरा गरौं
बाचौं यस्तो शान पृय, तयारी मर्ने गरौं