http://suman24.blogspot.com/

कुन छ?

उसको खानामा पनि नून छ
त्यसको पसिनामा पनि नून छ

भन्सार बाट मात्र आउने होइन
उसको धनसारमा पनि सुन छ

उसको तेल मालिसमा मात्र होइन
त्यसको बूट पालिसमा पनि गुन छ

उसलाई बचाउदा मात्र चाहिने होइन
त्ससलाई मार्दा निस्कने पनि खून छ

आकाशमा मात्र उदाउने होइन
दुइ छाक टार्न चाहिने पनि जून छ

मान्छेमा हराउँदै गएको छ भन्छन्
आत्मा हराएको जन्तु पनि कुन छ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

थोरै माया

साँचो भए देउ न “सुवा” थोरै माया
मनकि रानी मलाई दिनु कोरै माया

देखाउन सकिन होला सपनाका महल हरु
छाती चिरी हेर्नु दिलको खोरै माया

दुख्यो होला तिम्रो मन मेरो बेहोशीले
योमन छामे हात लाग्ला अघोरै माया

पानी बिना माछा सरि तडपेको छ यो मन
हुन्थो होला शीतल तिमिले दिए थोरै माया

छिन छिनमै नमाग प्यारी प्रेमको प्रमाण
बसि सक्यो अटुट तिमिसंग पोरै माया

साँचो भए देउ न “सुवा” थोरै माया
मनकि रानी मलाई दिनु कोरै माया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दृश्य बदलिन्छ

दिन भरि डमडम डमडम रातमा ताल बदलिन्छ
छिन् छिन् मा मौषमको यहाँ हर हाल बदलिन्छ

खुशी थिए सबै त्यहाँ रंग विरंगी माहौल थियो
जब आए वहांहरु त्यहाँ सबको चाल बदलिन्छ

नियम न कानूनले हुन्छ भन्थे सबले त्यहाँ
क्षण भरमै हुने भयो जब सुनको थाल बदलिन्छ

पक्रिन सकेन उसले सुनौलो त्यो ठूलो माछा
गा-हो छ रे भन्छन् जबसम्म जाल बदलिन्छ

तँ पनि चनाखो नभई भएन “सुमन”
अचम्म छ यहाँ त इशारामा काल बदलिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

याद छ र?

उकाली कटे हुन् कति ओराली कति याद छ र?
चाल आज सम्म चाल्यौ कति याद छ र?

घायल भई तड्पिए कति हुन् मरे हुन् कति
झुटो कसम खान थाल्यौ कति याद छ र?

दाह्रा किटी पागल सबैले तिम्रो नाम लिन्छन्
मन कतिका मुटु जलाएर फाल्यौ कति याद छ र?

सुनैको छ महल तिम्रो मन मुटु पनि सुनैको
ढुकुटी क-कसको नियाल्यौ कति याद छ र?

जलेको मुटु बोकी ‘सुमन’ आएथ्यो याद छ र?
त्यही मुटु जोखेर मोल्यौ कति याद छ र?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्याय

भक्कानियो मुटु मेरो रक्ताँसु पिउनु पर्ने
चिरिएको कलेजोलाई लुकि लुकि सिउनु पर्ने

पूर्वकै हो दोष यो कि यो जन्म त याद छैन
आफ्नै मुटु तड्पिएको लुकाई पीडा जिउनु पर्ने

अन्जानमै गल्ती भए जस्तो सुकै सजाय पाउँ
आफ्नै मुटु टुक्र्याएको हेरी ओठ सिउनु पर्ने

तड्पिएको थाहा छैन टुक्रिएको थाहा छैन
निर्दोष मुटु खुशी हुँदा जलाई आत्मा रिउनु(रुनु) पर्ने

चाह भए तेरो मनमा न्याय भए तेरो घरमा
टुक्रिएको मेरो मुटु लगाई नौनी लिउनु पर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विरायौ कि कतै ?

तर्कि तर्कि हिंड्छौ तिमि, विरायौ कि कतै ?
मन पनि खोल्दिनौ नि, विरायौ कि कतै ?

चमक छैन मुहारमा, चाल ढाल पनि सुस्त
नजर पनि लुकाउंछ्यौ नि, डरायौ कि कतै?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्यहाँ भित्र के छ

तडक भडक बाहिर त्यहाँ भित्र के छ
चम्किलो छ परिधि त्यहाँ भित्र के छ

रसिला छन अधर छन चम्किला नयन
कोमल छ त्यो मन त्यहाँ भित्र के छ

अभेद्य छन पर्खाल उन्नत अट्टालिका
सुन्दर छ आँगन त्यहाँ भित्र के छ

थुप्रै छन पाना बाक्लो आवरण
असंख्य शब्दावली त्यहाँ भित्र के छ

गोलो छ पृथ्वी व्रद्माण्ड पनि गोलै
गोलै छ शुन्य त्यहाँ भित्र के छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निरीह मान्छे

धर्म र दर्शनको ज्ञान र बिज्ञानको
व्याख्या गर्दछ यहाँ एक निरीह मान्छे ।

युद्ध र वीरताको इतिहास र राजनीतिको
पाना पल्टाउँदैछ यहाँ एक अबोध मान्छे ।

भौतिकता र समाजवादको साम्यवाद र रसायनको
अनेक प्रयोगमा व्यस्त छ एक निस्प्राण मान्छे ।

जलमा र थलमा वायु र नभमा
राज गर्ने प्रयासमा छ एक विद्रोही मान्छे ।

आफुलाई सर्वमान्य ठानि ए निरीह ‘सुमन’
प्रकृतिलाई न जिस्का एक अज्ञानि मान्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रात रमाईलो हुन्छ

मैले सुन्या छु यहां रात रमाइलो हुन्छ
तिमिले चाल पायौ कि रात रमाइलो हुन्छ ।

हजारौं मान्छे आउँछन जान्छन आफ्नै तालमा
म कसरी भनौं कि रात घमाइलो हुन्छ ।

आज सम्म म बसे कसैको आसै आसमा
मलाई सम्झना छैन कि रात तम्तमाइलो हुन्छ ।

मलाई सबैले सम्झाए फर्क आफ्नै संसारमा
आउ तिमि नै भन कि रात मताइलो हन्छ ।

बुझ्नै न सकिने रहेछ यो दुनियां ‘सुमन’
मलाई पत्याउनै गाह्रो भो कि रात रमाइलो हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मीठा कुरा

तितो मनको मनमै राखि कुरा मात्रै मीठा गर
जाल चाहे तिमि बुन कुरा मात्रै मीठा गर ।

धराप चाहे तिमि थाप सल्काइ देउ संसार
बालक झैं अबोध भई बोली मात्रै तोते गर ।

व्यापारी भई सपनाको आशा चाहे तिमि बांड
भाशिए नि उसको भोली झोली मात्रै भर्ने गर ।

दियो उसको निभे पनि आउ तिमि हुरी बनी
पुछिए नि उसको सिन्दुर पोली मात्रै जाने गर ।

तर खोलो बिस्र लौरो ‘सुमन’ यस्तै छ संसार
चिताए नि सबको भलो कुरा मात्रै मीठा गर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मौन बस्नु जाति

सुन्दैनन् अर्ति भने मौन बस्नु जाित
गन्दैनन् तिमिलाई भने मौन बस्नु जाति ।

नकमाउनु बैरी संधै उपदेश मात्रै दिई
चित्त तिम्रो नबुझे नि ओठ कस्नु जाति ।

सांचो संधै तितो हुन्छ औषधि नि तितै
मह तिमि दिंदै दिन्नौ मनै झोस्नु जाति ।

थाप्नै पर्छ तिमिले हैंसे ठूलाको होस्टेमा
जुध्नै हुन्न भित्ता सित चिप्लो घस्नु जाति ।

बस्नै परे विपक्षमा गर्नु मौन विरोध
तुहि जाने विरोध भन्दा घुंडा धस्नु जाति ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म यस्तै छु

बुझिन तिम्रो ईशारा म यस्तै छु
सुनिन तिम्रो कुरा म यस्तै छु ।

आफ्नो सम्झे जसलाई मैले जसलाई चाहे
बुझाउन सकिन आफ्नो कुरा म त्यस्तै छु ।

गरे लाखौं कोशिष सयौं मन्दिरमा गए
हुन सकिन म तिमि जस्तो म जस्तै छु ।

कालै भने कालो लाई सेतो भन्नै सकिन
दिनलाई रात भनिन के गरौ म मस्तै छु ।

तिमि जे हौ आफ्नै रुपमा वस ‘सुमन’
न छोप हत्केलाले मलाई म अभ्यस्तै छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुरा काट्ने हरु

टोल चोक र गल्लीहरुमा बग्रेल्ती छन् कुरा काट्नेहरु
खाली हातै तैनाथ छन् कुरा काट्नेहरु ।

तिलको पहाड बनाई सक्छन् आंखाको झिम्काईमा
कुरा काट्छन् बगरे झैं कुरा साट्नेहरु ।

रोजगारी प्रसस्तै छ प्रमाण पत्रै नचाहिने
विदेश तिमि जांदै नजाउ ए कुरा चाट्नेहरु ।

सजिलो छ काम धेरै मात्रै कुरा रेटि राख्ने
वाउलाई पनि किन छाड्नु कुरा छांट्नेहरु ।

शत्रु पनि सलाम गर्छन् रणभूमिमा मर्नेलाई
मरेकालाई नि गोली हान्छन् कुरा ढांट्नेहरु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहाँ छ दुनिया

यहाँ छ कि त्यहाँ छ कहाँ छ दुनिया ?
आकाश कि पातालमा कहाँ छ दुनिया ?

गाउँमा कि शहरमा वनमा कि जंगलमा
सिर्जना कि बिनासमा जहाँ छ दुनिया ?

मिलन कि बिछोडमा सरलता कि कपटमा
विशालता कि सूक्ष्मतामा वहाँ छ दुनिया ?

शान्तिमा कि विद्रोहमा आत्मीयता कि तिरस्कारमा
हल्ला कि सत्यतामा त्यहाँ छ दुनिया ?

गीतामा कि वाइवलमा त्रिपिटक कि कुरानमा
अह ‘सुमन’ यहाँ छदै छैन यो दुनिया मा दुनिया ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

होस न हराउनु

चन्द्रमा नै छोए पनि नहराउनु होस
तिमि आफै हराए नि नहराउनु होस ।

सागर मै डुबे पनि ब्रह्माण्ड मै अल्झे पिन
भाशिए नि रसातल मै नमराउनु जोस ।

पाए पनि हिरा मोती कुवेर आफै भए पिन
क्षण भर मै गुम्न सक्छ नदेखाउनु रोष ।

मेनका नै हुन सक्छिन आउन सक्छिन उर्वसी नि
ईन्द्र पनि हार्न सक्छन् नकेलाउनु दोष ।

धर्मराज नि हारेकै हुन् रावण पनि हारे
सम्राट हरु सबै हारे हराएरै होस ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असल मान्छे

ठूलो मान्छे न बन्नु है बन्नु तिमि असल मान्छे
नभए नि तिमि सफल बन्नु तिमि असल मान्छे ।

आफै गर्नु काम आफ्नो दोष तिमि न दिनु है
कुराउंदैमा अर्कालाई बिनंदैन ठूलो मान्छे ।

कमि आफ्नो पहिल्याउनु न कोट्याउनु दायां बायां
असक्तलाई सघाउनु है बन्नु तिमि दह्रो मान्छे ।

कुरा गरि ठूला ठूला कोरा सपना नबांडनु है
भए पनि तिमि नेता राख्नु मनमा सबल मान्छे ।

मूर्ति सरि मन्दिरको न हुनु है अचेत मान्छे
घण्टि ठूलो बजाउनु जगाउनलाई असल मान्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •