Skip to content

गीत

टुकी बालिराखया छुु

च्यातिएको मायालाई टालिराख्या छु
तिमी आउने आसमा टुकी बालिराख्या छु ।।

मेरो देव मेरो प्रिय सबै तिमी हौ
आशीर्वाद माग्न धूप हालिराख्या छु ।।

खपिसक्नु छैन जाडो चिसो बढेर
तिमी आउँछौ भन्दै ओछिन खाली राख्या छु ।।

नसम्झनु मैले माया मारे भनेर
तिम्रो आशा मनमा सधंै पालिराख्या छु ।।

ढोका खुला राख्न पनि डरमर्दाे छ
तर मैले पारदर्शी जाली राख्या छु ।।

आँसु झार्न नपाएर सारै सकस भो
भित्रै थुन्ने परेलीका आली राख्या छु ।।

तिमीलाई पूजा गर्ने फूलबारीमा
राम्रा राम्रा फूल गोड्ने माली राख्या छु ।।

ईश्वर भनौं दैव भनौं सबै तिमी हौ
पूजा गर्न सजाएर थाली राख्या छु ।।

कुनै दयालुले (गीत)

कुनै दयालुले उहाँ पुगी यति भनिदिए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……

न चिठ्ठी पत्र आउँछन् न तार नै पठाउँछन्
कसो गरी विदेशमा बसेर दिन कटाउँछन्
यता म आधी भै सकें उता उनी कसो भए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए

केही लेख

देशबाट बाचा खाएर लेख केही
स्रष्टाहरु सबैले आएर लेख केही ।

हज्जार पाखुरा छन् कामै विना बसेका
यो ठाउँमा सबैले गाएर लेख केही ।।

लेखेर हुन्न केही भन्ने नसोच्नु होला
थोत्रो भएछ छानो छाएर लेख केही ।।

टाढा समीप भन्ने व्यर्थै छ सोच हाम्रो
जे हुन्छ हुन्छ टाढै धाएर लेख केही ।।

तिम्रै अगाडि नौला सन्देश आउँदैछन्
सन्देशबाट माया लाएर लेख केही ।।

नागवेलीको यात्रा

नागवेलीको यात्रा मेरो
साहस वोकि हिड्नु पर्छ
मिर्मिरेको उषाकिरण
पलपल रम्न सक्नु पर्छ
चाँदनीझैं पाइला टेकि
संस्कारमा बाँच्नु पर्छ
याद आए बिपनिमा
सपनिमा भेट्नु पर्छ
आँखा चिम्लि यादहरु
दिलमा साँचि बाँच्नुपर्छ
जीवन स्वर्ग वनाउन
कसम पुरा हुनु पर्छ
हाँसिराखे जीवनमा
रोदन त्यसै बिलाउँछ
चंचल मन आकाशमा
जुनताराझै चम्किरहन्छ
कति खेल्नु भावनामा
भावुक बन्न सक्नु पर्छ
जीवनको यात्रा भित्र
पहिचान सजाइ राख्नु पर्छ
हासिँ हाँसि बाँच्न सक्दा
स्वर्ग ढोका खुल्नु पर्छ
के चाहियो र जीवनमा
जीवन खुशी बन्नु पर्छ ।।

गजल

गजलः
नक्कल गरेर नेता थाप्लो ठटाउँदैछन्
काठमान्डु वासीलाई धूलो चटाउँदैछन्,
धूलो चटाउँदै छन् धूलो चटाउँदैछन् ।।

मेलम्चीबाट पानी ल्याएर बाँड्छु भन्दै
आफ्नो उचाइ आफैं नेता घटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

जनता हरु सबैलाई हालेर पिन्जडामा
तोता सधाउँदा झै राम राम रटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

नेता हुनै नपाई छन् धेर खुम्रिएका
लौ हेर धुन्दुकारी चप्पल फटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

आँखाभरि

पर्खाइ छ आँखाभरि रुवाइ छ आँखाभरि
आँखा हिँडे धेरै बाटो थकाइ छ आँखाभरि

धेरैपल्ट झस्काई हिँडे बाटो हिँड्ने बटुवाहरू
कैयौंपल्ट झुक्याई हिँडे उस्तै लाग्ने मुहारहरू
रित्तै हिँडे आँखा मेरा बिझाइ छ आँखाभरि
आँखा हिँडे धेरै बाटो थकाइ छ आँखाभरि

D8E5C172-EBD9-4A2C-9589-522FE4508C82

गीत: आऊ न राजै

केटी:- हलो जोत्न खेतैमा आऊ न राजै आऊ
जिउमा तागत छँदैमा आऊ न राजै आऊ
केटा:- आउन खोज्छु खै केमा अल्झिरन्छ पाउ
प्यारी मलाई नसम्झाऊ बल्झिरन्छ घाउ
**********************
केटा:- पल्ला घरे दाजुले ढलान घर ठडाए
तल्ला घरे काकाले दुई-तीन तला बढाए
केटी:- घर घँडेरी चाहिन्न पुरानै छ टालौँला
सिलाई बुनाई सिकेर म’नि इलम थालौँला
केटा:- बाछा बाछी भोकै छ्न् खुशी छैन माउ
केटी:- हासौँ खेलौँ साथैमा आऊ न राजै आऊ
*************************
केटी:- लैनो भैँसी पालौँला गुइँठा गाइँठी बालौँला
छोरा छोरी पढाउन गाउँकै स्कूल हालौँला
केटा:- बा-आमा नि भन्दाहुन् थोत्रै घरमा सडाए

युवाहरुलाई

युवा हाम्रा रुँदै भोकै उता सौदी पसेका छन्
नपस्ने जो थिए तिनले यता गुन्टा कसेका छन्

कबोलेको पुरा पैसा बरा के पाउँथे होला
दलालीका भरौटेले यहाँ झन् झन् डसेका छन्

जिन्दगी

अग्लो हिमाल हाम्रो यो देशमै सुहाओस्
चिसो बतास जस्तो माया त्यहाँ सुसाओस्
पारै नपाइने छन् यात्रै हिंडेर आओस्
यो निन्दगी नदी झैं गन्तव्य भेट्न धाओस् ।।

इच्छाहरु अनेकौं बासी हुँनै नपाऊन्
नारी कतै नजाऊन् लोग्ने फिरेर आऊन्
मौका छ न्याउलीले यो प्रेम गीत गाओस्
यो निन्दगी नदी झैं गन्तव्य भेट्न धाओस् ।।
होम सुवेदी

मनमा देवता

विधाता छन्द याे रोजी सबैले गीत यो गाअाैं
उता खोजेर के मिल्छन् नखोजी देवता पाअाै‌ं
सुनाई सक्नु के हामी स्वयंलाई लखेट्तै छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं ।।

सजाएका सबै मूर्ति यहाँ हामीहरु पुज्छौं
उता यो स्वार्थमा पर्दै यता हामीहरु जुध्छौं
वृथा यो जिन्दगानीमा पराइको गला रेट्छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं
होम सुवेदी

आज मन उडेर भाग्छ

आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ
उनकै नजिक जाऊँ
उनीसँगै माया लाऊँ

यो बादल, यो पहाड, यी फूलभन्दा सुन्दर छे
यो खोला, यो झरना, यी पंक्षीभन्दा चञ्चल छे
स्वर्गकी परीलाई चुलबुले मोरीलाई
अङ्गालोमा बेरिरहुँ एकनाश हेरिरहुँ

हिक्क हिक्क

कति जाति हुन्थ्यो प्रिये, सम्झ्यौ भने ठिक्क ठिक्क
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क

भन्दिन म सम्झ धेरै, तिम्रो आफ्नै सुर्ता होलान
कहिलेकाहीं त अरुले नि, तिम्रो बाटो कुर्दा होलान
डर लाग्छ हाम्रो माया, हुने हो कि फिक्का फिक्का
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क

राेऊँ राेऊँ किन हुन्छ

जहाँ जहााँ पुगे पनि मेराे मन किन रुन्छ
नरोऊँ भन्दा भन्दै फेरि राेऊँ राेऊँ किन हुन्छ ?
जहाँ जहाँ……………….

कतै छैन मनकाे भारी बिसाउने ठाउँ किन यहाँ
त्यो भारीलाई बिसाउन मैले जानु अब कहाँ
जता गयाे उतै उतै मन अमिलाे यसै हुन्छ
नरोऊँ भन्दा भन्दै फेरि राेऊँ राेऊँ किन हुन्छ ?
जहाँ जहाँ……………….

बाचा बन्धन बिर्सिएर तिमी डाँडा काटी गयाै
हिजाे सम्म मेरै थियौ अाज तिमी कस्का भयाौ
उत्तर पाउने हैन तर साेध्न मन किन हुन्छ
नरोऊँ भन्दा भन्दै फेरि राेऊँ राेऊँ किन हुन्छ ?
जहाँ जहाँ……………….

PramodDhungana

झुटो बोल्न सक्दिन

तिम्रै मात्र सपना देखेको होइन भन्न सक्दिन
घृणा सहन सकुँला मायामा झुटो बोल्न सक्दिन

कुनै रात तिमी जून बनेर आएझैँ लाग्छ
मलाई छोएझैँ लाग्छ, मसँगै निदाएझैँ लाग्छ
मैले कहिल्यै बिटुलो सोचिन भन्न सक्दिन
घृणा सहन सकुँला मायामा झुटो बोल्न सक्दिन

PicsArt_12-29-11

बैसको रहर (पूर्वेली लोक गीत)

आज भोलि भन्दा भन्दै जीवन गै गयो ।
सन्जोक ले कि केले हो फेरि भेट भयो ।
खोरुङ्वाको सिरैमा मेन्छायेम डाडा ।
जमानामै छुट्यो नि पिरती गाडा।

Read More »बैसको रहर (पूर्वेली लोक गीत)

तप्पतप्प

तप्प तप्प जलधारा चुल्ठाबाट चुहाउन मनाही छ
मुलायम केशलाई भनिदेऊ धेरै सुहाउन मनाही छ ।

सक्छौ भने रेसमी रुमालले बेर त्यसलाई
खुला राखेर जथाभावीकाहरुसँग छुवाउन मनाही छ ।

बरु चुवाको फूलमालाले विन्यास गर त्यसलाई
हामी आँखा छोपौंला बरु धेरै हरेस खुवाउन मनाही छ ।

कति भाग्यमानी र प्यारो रहेछ त्यो चुल्ठो
उसको श्पर्श सुखसम्म नपाएकालाई रुवाउन मनाही छ ।