Skip to content

टङ्कप्रसाद न्यौपाने

TankaPrasadNeupane

हङकङेली नेपाली भाषा र साहित्य

  • by

अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई तान्दै अग्रगमनतिर जान रोक्छ । विविधता नै प्रकृति हो। सयौँ किसिमका चराचुरुङ्गीहरूका कलरवले, रङ्गीचङ्गी वनकुसुमले नै वनजङ्गलको छटा आच्छादित हुन्छ । उन्नत समाजको प्रकृति पनि विषमरूपी हुन्छ । यहाँ बाहुन, छेत्री, लिम्बू, राई, मगर, नेवार, सुनुवार, तामाङ जस्ता सयौं थुङ्गाबाट नेपाली समाजको माला बुनिएको छ । यी सबैको आफ्नो पहिचान हुँदाहुँदै पनि यिनीहरूका समष्टिबाट एउटा देश बन्छ, नेपाल बन्छ, बनेको छ । नेपाली आफैंमा एउटा मौलिकपन हो । जहाँ विभिन्न जात, जाति, जनजाति, रहन्छन्, त्यहीं नेपाली मौलिक परिचयले बाँचेका हुन्छन् । यस्तै बहुलवाद र बहुकेन्द्रबाट देशको निर्माण हुन्छ । हङकङेली नेपाली समाज पनि लाग्दछ, नेपाल जस्तै बहुजाति, बहुसंस्कृति र बहुभाषाबाट बनेको एउटा विषमरूपी समाज हो ।