शिथिल शरीर, वाक्य बसिसकेके अवस्था, लम्पसार परिरहेकै थिएँ । झिँगाहरू अनुहार, घाँटी, हात, खुट्टा, नाकका प्वालभरि ठेलमठेल गरेर पस्दथे, जहाँजहाँ मन लाग्यो त्यहाँत्यहाँ आउँथे, निर्धक्क बस्थे, आफ्नै सुरमा मस्तले चर्थे र उडेर जान्थे । यस्तो लाग्थ्यो कि अब मलाई झिँगाहरुले एकलौटी रुपमा आफ्नो नाममा नामसारी गरिसकेका छन् । घरका सदस्यहरू छेउछाउमा रहुन्जेल झिँगा आक्रमणबाट म मुक्त भए पनि एक दुई दिनको कुरा नभएको र महिना दुई महिनासम्म झिँगाको गोठालो लागेर साध्य नहुने भएकोको घरका सदस्यहरू यता उता भएपछि झिँगाको साम्राज्य मेरो शरीर हुने गरेको थियो । त्यही माथि फुर्सद पनि त मिल्नुपर्यो नि ।